हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

एआरपीको प्रसङ्ग

बासु श्रेष्ठ, (उडब्रिज, भर्जिनिया )

"...चाहेको थिएँ

तिम्रो पुरानो हटाई नयाँ रुप पाउन

पासपोर्ट भन्ने शब्दमा मेशीन रिडेबल थप्न |

तर, तिम्रो ब्रम्हाले नाक नक्शै फेरेछन्

कुन्नी के खाएको बेलामा कोरेछन्

हुनुपर्ने एउटा, अर्कै हालेछन्

नाम, मिति र लिँग नै फेरीदिएछन्

अकारमा उकार हालेछन्

उकारमा अकार हालेछन्

त्यतिमात्र हो र?

म जन्मेको देश नै फेरिदिएछन् |

अनि,

फेरी आवेदन हाल्नुपर्ने बनाएछन्

हालेको छु पुनः आवेदन मनमा चूक छरेर

के गर्नु,

पठाएकै हो शुद्ध फाराम भरेर ।...."

समयमा एमआरपी आइ नपुगेको अवस्थामा आफैंले लेखेको कविताको अंश |
बाँकि यहाँ पढ्नुहोस |

 

श्रीमतीको राहदानीको म्याद समाप्त हुन अझै १८ महिना बाँकि नै थियो | तर २०१५ नोभेम्बरपछि एमअआरपीको अनिवार्य आवश्यकताले गर्दा अन्तिम समयसम्म कुर्नु बुद्धिमत्ता होइन भन्ने लागेर अप्रिल महिनामा एमआरपीको लागी आवेदन दिने मनशाय गरियो | सो अनुसार, अमेरिकास्थित नेपाली दूतावासको वेब साइटमा जानकारी लिंदा बुझाउनु पर्ने फारमको आकार चाहिं भेट्न गाह्रो हुने रहेछ | किनभने अमेरिकामा A4 साइजको कागजको प्रचलन नै छैन | या त ठुलो परिमाणमा किन्नु पर्यो या त खाली हात बस्नु पर्यो | खाली हात बसे राहदानी नबन्ने | तर दूतावासमा फोन गरेर डीबी तामांग दाईलाई अनुरोध गरेपछि सो प्रकारको फाराम घरमै आइपुग्यो | धन्यवाद दूतावास र डीबी दाई !

अप्रिल महिनामा बुझाएपछि तिन चार महिनाको भाका पाएको हामीले जुलाईको पहिलो हप्तातिर राहदानी आइपुगेको खवर आयो | समय मिलाएर राहदानी लिन गइयो | नयाँ बाध्यकारी राहदानी हातमा लिएर ओल्टाई पल्टाई गर्दै सबै सूचनाहरु रुजु गर्ने क्रममा श्रीमतीको जन्म मिति गलत भएको रहेछ | अङ्क दाँया बायाँ परेको पनि होइन | आकाश जमीनको फरक थियो | कसैको जन्म मिति सरक्क ल्याएर राखेजस्तो | भटमास खाएर आएको बुहारी भने झैँ भयो | त्यहाँका पासपोर्ट सम्बन्धि उद्धव भाइलेपनि दिक्क मान्दै भने 'क्यै छैन दाजु, हामी फिर्ता पठाउँछौं | केहि हप्तामा आइपुगिहाल्छ |'

त्यो राहदानी जसरी हात परेको थियो त्यसरी नै छोडेर रित्तै हात घर फर्कीइयो | तर दूतावासमा पासपोर्ट सम्बधि कामको चापाचाप र कर्मचारीको कमीको अनुभव गरें | झन्डै तीनलाख नेपाली रहेको अनुमान गरिएको अमेरिकावासीहरुमध्ये तीन राज्य बाहेकका सम्पूर्ण वासिन्दाहरुको कार्य यही दूतावासले हेर्दो/गर्दो रहेछ | न्यु जर्सी, मास्याच्युसेट्स र न्यु योर्कका वासिन्दाले चाहिं न्यु योर्कमा सम्पर्क गर्नु पर्ने रहेछ |

त्यसरी जुलाईको पहिलो हप्तामा सच्याउन छोडिएको राहदानीको अगस्तको अन्तिम हप्तासम्मपनि कुनै अत्तोपत्तो थिएन | यसैबिच मुलुक बाहिर जानुपर्ने काम पर्यो | त्यसकोलागी बीस डलर तिरेर अस्थायी राहदानी बनाउन पर्ने भयो र बनाइयो | पहिलो पटककोलागी १५० डलर बुझाइ नै सकिएको थियो | यदि सो पासपोर्ट समयमै शुद्ध आएको भए यो झन्झट नै हुने थिएन | तर पासपोर्टको ब्रम्हाले कुन चिन्तन र मननको अवस्थामा लेखेथे कुन्नी फलतः अनावश्यक समय र पैसाको नष्ट भएको अनुभव गरियो |

केहि हप्ताको म्याद पाएको मैले बल्ल केहि महिनापछि अर्थात् डिसेम्बरको दोश्रो हप्तामा दूतावासबाट पासपोर्ट आइपुगेको खवर आयो | फोनबाट नै पासपोर्टमा भएको सूचनाहरु रुजु गरियो | अगुल्टोले हानेको..., विजुलीदेखि तर्सिन्छ भने झैँ थियो | तर सबै ठिक छ भनेर ढुक्क भईयो | समय मिलाएर दूतावास गई राहदानी हात पारियो | ओल्टाई, पल्टाई, दोहोर्याई, तेहर्याई नाम, जन्म मिति, ठेगाना, जन्म स्थान, र देश हेरियो | एकएक अक्षर हेरियो | सबै ठिक रहेछ | अब मेरी श्रीमतीले सन् २०२४ सम्म कुनै चिन्ता लिनु परेन भनेर ढुक्क भएँ | राहदानी हात परेपछि दूतावासमा परिचित जीतबहादुर कार्की, डीबी तामांग दाई, उद्धवजीहरुसँग केहिछिन भलाकुसारी गर्दै थिएँ | म आफैं त्यहाँ जानुको एउटा कारण वहाँहरुसँग भेटघाट गर्ने मोह पनि थियो | यसै बेला दूतावासका डिसीएम ऋषिराम घिमिरेपनि त्यहिं आइपुग्नु भयो | कुरैकुरामा म त्यहाँ हुनुको कारण सुन्दै मेरो हातमा रहेको पासपोर्ट हेर्नु भयो | र अन्तिम पातोमा हेर्दै भन्नु भयो 'तै पनि यहाँ फेरी बिगारेछ' | मैले हतार हतार पासपोर्ट हेरें | नभन्दै 'ओ' को सट्टा 'आई' लेखेको रहेछ | मरेछ | फेरी अर्को गल्ती | तर यो नाम आपत्कालीन सम्पर्क (इमर्जेन्सी कन्ट्याक्ट)कोलागि थियो | खास्सै फरक नपरेपनि परराष्ट्र मन्त्रालयको त्यस राहदानी विभागका ति कर्मचारीहरुको चरम लापरवाहीको प्रष्ट उदाहरण थियो | पहिले जन्म मिति नै फरक, अहिले फेरी नाममा फरक | म त्यो खोटे पासपोर्ट लिएर खिस्रिक्क मनले घर फर्कें |

केहि अघि राहदानी विभागका ति राहदानीका ब्रम्हाहरुले देशको नाम नै फरक गरेर नेपालको सट्टा लेबनान उल्लेख गरिएको समाचार पढेको थिएँ | सो समाचारमा त्यस राहदानीको फोटोकपी नै प्रकाशित भएको थियो | नेपालीको पासपोर्ट नेपालीले नेपालमा बनाउँदा कुन मनस्थितिमा लेबनान उल्लेख गर्न पुगे, बुझी नसक्नु छ | यो लापरवाहीको चरम उदाहरण थियो | यस्ता लापरवाहीले गर्दा पासपोर्ट वाहकले कति समस्या र मानसिक तनाव बेहोर्नु पर्छ त्यो कसले बुझ्ने होला ?

जे होस् त्यस बेला मैले दूतावासमा अनुभव गरेको चाहिं के हो भने यसरी राहदानीका ब्रम्हाहरुको गल्तीले राहदानी वाहकमात्र होइन कि यि दूतावासका कर्मचारीलेपनि दुख पाएका छन् | कतिपय सेवाग्राहीहरु यसप्रति अन्जान भएर यिनै कर्मचारीहरुप्रति आक्रोश पोख्छन् | जबकि राहदानी बाहेक अन्य थुप्रै कामहरुपनि सिमित यिनीहरुको थाप्लोमा छ |

त्यसो भन्दैमा यि कर्मचारीहरुबाट गल्ती हुँदैन भन्नेपनि होइन | हालै मेरो एकजना साथीले नेपाल जानु अघि एमआरपी बनाएर केहि दिन नेपाल बसी फर्किने बेलामा काठमाण्डौ एयरपोर्टमा सो पासपोर्टमा छाप नदेखेर झण्डै उतै अड्किनु परेको कथा सुनेको छु | तर धन्न, अन्य ट्रान्जिटमा र अमेरिका आउने प्लेनमा चढ्ने बेलामा कसैले केहि भनेछन् र साथीको सजिलै अमेरिका आगमन भयो |

अहिले एमआरपीको चटारो छ | बहुसंख्यकहरु अन्तिम घडिसम्म चुपचाप बस्ने र समय घर्किन लागेपछि आतुर गर्ने हुन्छन् | नोभेम्वर २०१५ पछि सामान्य राहदानीले यात्रा गर्न पाउँदैन | त्यसकारण समय छँदै सबैले एमआरपी बनाए सबैलाई सुविधा हुन्छ र यो नै बुद्धिमानी ठहरिन्छ | यदि माथिको जस्तै खोट भएको राहदानी आयो भने त त्यसलाई सच्याउने अर्को समय थप लाग्ने हुँदा तपाईंले चाहेको समयमा यात्रा गर्न नपाउने हुनसक्छ |

राहदानी कार्यको चाप मत्थर गर्नकोलागी यदि दूतावासले हामी स्थानीय व्यक्तिहरुको या सँघसँस्थाको सहयोग माग गरे हामी तयार रहनुपर्छ भन्ने मेरो राय छ | वास्तवमा सो दिन जितबहादुर कार्कीजीले मलाई 'परे दूतावासलाई सहयोग गर्नुहुन्छ?' भनेर सोध्नु भएको थियो र मैले तत्काल 'म तयार छु' भनेको थिएँ | आखिर हामी नेपाली नै हौ, विदेशमा बसेका हामीले नेपाल सरकारलाई सानो स्वयमसेवा गरे आफनै मन खुशी हुने मैले पाएको छु |

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |