हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मदन आयो –मदन गयो

परशु प्रधान, (काठमाडौं)

कथोपन्यास: सम्बन्ध–९

(सम्बन्ध कथोपन्यासको संख्या अर्थात क्रमवद्धतासँगै शीर्षक भए सम्झन सजिलो हुने धेरै पाठकहरुको राय आयो । यसैले म सम्बन्ध–९ देखि शीर्षक पनि दिन लागेको छु र पहिलेका सम्बन्धहरुलाई पनि शीर्षक दिउँ भन्ने सोचमा छु । )

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन नपढ्ने नेपाली कमै होलान् । मुना मदनको कथा धेरै पुरानो नेपालको कथा हो – अर्थात् लगभग सय वर्ष अर्थात एक शताब्दि अगाडिको हो । जुन कालखण्डमा नेपालीहरु धनसम्पत्ति कमाउन ल्हासा (तिब्बत) जाने गर्थे । मदनको आमालाई बुढ्यौलीमा पाटी–पौवा बनाएर धर्म कमाउने ईच्छा हुन्छ । आमाको सपना पूरा गर्न मदन आमाको आर्शिवाद र टीका ग्रहण गरेर साथीका साथ वाटो लाग्छन् । तर श्रीमती मुनाको छाती चर्कन्छ र उनी रोएर बस्छिन् । मदन विदेश अर्थात ल्हासासम्म हिंडेर पुग्छन र काममा अल्मलिन्छन् । मुनाको साथी नैनीले अर्को केटा खोजेर नयाँ घरजम गर्ने सल्लाह दिन्छे । तर मुना अस्वीकार गर्छिन् । उनको खराव सपनाहरुले अनिष्टको शङ्का आइरहन्छ । नभन्दै केही धनसम्पत्ति जोडेर फर्कदा बाटोमा नै हैजा लाग्छ । बाटोमा अलपत्र परेका बेला स्थानीय भोटेले मदनलाई लिएर आफ्नो घर लान्छ र औषधोपचार गराउँछ । आफ्नो जिन्दगी बचाइदिएकोमा खुसी हुँदै मदनले ल्याएको सुनको थैली भोटेलाई दिए पनि उनले लिन मानेनन् । भोटे भावुक भएर रुन्छन् । यता जसोतसो गरी मदन आफ्नो घर फर्कन्छन् ।
 अब दृश्य बदलिन्छ । मदन घरमा आइपुग्नासाथ आमा अचेत हुन्छिन् र मुना भने हराएकी हुन्छिन् । बूढी आमाको हेर विचार मदनको दिदीले गरिरहेकी हुन्छन् । बेहोस् भएकी आमाले मदनको टाउकोसम्म सुम्सुम्याउँछिन् र मुत्युग्रहण गर्छिन् । आमा र मुना दुवैको मृत्यु वियोगले मदनको मानसिकता बिग्रन्छ र उनी पनि मृत्यु ग्रहण गर्छन् । मदनले ल्याएको सुनको थैली दिदीले लिन्छिन् ।
 मुनामदनको संक्षिप्त कथा यही हो – पाठकहरुलाई मैले स्मरण गराएको हुँ । तर मेरो कथा भने आजको मदनको कथा हो । समकालीन नेपाली युवकको कथा हो । मेरो पात्र पनि मदन नै हो, बरु श्रीमतीको नाम भने मुना नभएर ठूल्नानी हो ।
 ठूल्नानी गाउँ जस्तो शहर, शहर जस्तो गाउँमा बस्छे । ऊ यहीं जन्मी, सानातिना झोले पाठशालामा पढ्दै थिई । आमा बा लाई बिहे गरेर धर्म लुट्ने लोभ लाग्यो । दाजु भाइ कोही थिएनन् । बिहे गर्ने मदने वा मदन पनि जु¥यो । गुह्वेश्वरीको मन्दिरमा टीका–टालो भई बिहेको रीति सिद्धियो । मदनेका आमा बा ले पनि अव आफ्नो पाखुरा चलाई खाओ भनेर छाडीदिए । ती दुई कुनै अज्ञात बाटोमा भेटिएका यात्री जस्ता भए । बल्लतल्ल सानु होटेल खोलेर जीविकोपार्जन गर्न थाले । त्यो होटलमा नपाईने के थियो र ! आजका युवा –युवतीलाई मन पर्ने ममचा देखि लिएर ऐला, छोएला, चाउचाउ बेचेर तिनले जीवन निर्वाह गर्न थाले । केही वर्षको फरकमा एक छोरा र छोरी पनि भए । आफूले भोगिरहेको जिन्दगीबाट दुवै सन्तुष्ट भए । तर पैसा कमाउने भोक जागि नै रह्यो । त्यो होटेल भट्टी मात्र रहेन, आवश्यक यौन तृप्तिको अखडा पनि बन्यो । यस्ता सर्वभोगी, सर्वयोगी टोल–टोलमा बढिनै रहेका थिए । छोरा–छोरी सानुतिनो प्ले–स्कूल नर्सरीमा भर्ना भई शिक्षाको प्रारम्भ पनि गर्न थाले ।
अव शुरु भयो – मदनेको कथा । एक राति, पिशाब फेर्न वाहिर निस्केको मदने रातभरि फर्केन । भोलिपल्ट पनि दिनभरि आमा र नानीहरुले आफ्नो बालाई खोजिरहे । अँह–कुनै केही अत्तो पत्तो छैन । मोवाइलमा फोन गर्यो – अफ छ । केही नलागि मदन हराएको रिपोर्ट पनि नजिकको प्रहरी सेलमा दिइयो । अब भट्टी–होटेल चलाउने पूरा जिम्मेवारी ठूल्नानीमा आयो । ३/४ वर्षका साना भल्ट्याङ्ग भुल्टुङ्गको पालन पोषणदेखि लिएर होटेल संचालनको पूर्ण जिम्मेवारी पनि उसमा आयो । आफ्ना भन्नेहरुले मुख फर्काए, नचिने जस्तो गर्न लागे । न आमा–बाले चासो लिए, न सासु–ससुराले । दुवैतर्फका परिवारको आर्थिक स्थिति मात्र कमजोर होईन, समय भन्दा अगाडि आइपरेको रोगसँग पनि संघर्षरतः थिए । दुवै परिवार बूढ्याईसँगै बाँच्नुको दवाई–पानी गर्नुको लडाई भोगिरहेका थिए । समयको गतिसँगै मदनेलाई सवैले बिर्सन थाले अर्थात ऊ एकादेशको कथाको पात्र मात्र बन्यो । तर ठूल्नानीको आँखामा, मुटुमा मदनेको छायाँले छाडेन । ऊ कहाँ गयो, किन गयो ? उसलाई उसले के पिडा दिएकी थिई र घरबाट भाग्नुपर्ने बाध्यता आयो ।
केही वर्ष यस्तै शङ्का उपशङ्का र अड्कलवाजीहरुले विते । कोही अपहरणमा पर्यो भन्थे, कोही मन परेको केटी लिएर भाग्यो भन्थे । कोही मलेसिया गए भन्थे, कोही कतार । प्रहरीमा रिपोर्ट गर्नु नगर्नुको कुनै अर्थ रहेन ।
समयसँगै शङ्का/उपशङ्का, हल्लाको लहर आइरहे । जिन्दगीलाई जसरी पनि भोग्नै पर्छ भन्ने शाश्वत सत्यलाई ठूल्नानीले बुझी–भोगी । तर संत्रासको अन्त्य भएन, लोग्नेको टुङ्गो लगाउने आकांक्षाको खोला सुकेन । छोरा–छोरी ठूला हुँदै गए । तिनले आफूले सकेको सहयोग गर्न लागे । ठूल्नानीले आफ्नो भाग्य वा कर्म यस्तै रहेछ भनी चित्त बुझाउन वाध्य भई ।
तर कुनै बेवारिसे लास वाहिरवाट आएको समाचार, वा कहिं कत्तै सानो ठूलो दूर्घटनाको समाचार सुनेपछि उसको मुटु नराम्ररी हल्लिन थाल्थ्यो । ऊ यताउता छर–छिमेकमा बुझ्न दौडन्थी । ती प्रत्येक दिन विदेशवाट नेपाल आउने लासको वास्तविक नाम बु्झ्न खोज्थी । अथवा कहिले कहिं पशुपति आर्यघाटसम्म पुग्थी–लासको अनुहार हेर्न । कहिं कतै अर्कै नाम राखेको होला भन्ने शङ्का गर्थी र अनुहार नै हेर्न दौडन्थी ।
यो पनि आजको मदनको कथा हो । यो पनि आजका नेपाली नारीले भोग्नु परेको कथा–ब्यथा हो । ठूल्नानी कुनै सपना जस्तो विगतलाई, मदनलाई भूल्न चाहन्थी । तर छोरा–छोरी दुवैको अनुहारमा आउने मदनको विम्ब, प्रतिविम्बले ऊ झस्कन्थी र कहिं कत्तै लुकेर आँसु झार्थी । यही क्रममा १२/१४ वर्ष वित्यो । यौटा शङ्कामा, विश्वास र अविश्वासमा, यथार्थ र भ्रममा ठूल्नानीले यौवनकाल विताई । समयले कसलाई छाड्ने र ! ऊ बूढ्याईतिर मात्र लम्कने होइन, बाथ र दमको रोगको शिकार पनि भई । उसले यस लामो कालखण्डमा एक किसिमले मदनलाई बिर्सिई, विगतलाई बिर्सिई । अव खालि ऊसँग वर्तमान रह्यो । जेनतेन होटेल चलिरह्यो र छोराले एस.एल.सी. पास गरेर क्याम्पस भर्ना भयो ।
एक रात अचानक क्रम भङ्ग भयो । घरको मूलढोकामा ढकढकाएको र जोर लात्तीको आवाजसँगै परिचित–अपरिचित स्वर आयो – ए ढोका छिटो खोल ! ए खोल ढोका । परिवारका सबै जराकजुरुक उठे । आमाले छोरा–छोरीको अनुहार हेरिन्, युवा छोरा छोरीले आमाको । ती सबैको मनमा विविध मनस्थिति आयो – पक्कै डाँका आयो, नत्र यस्तो मध्यराति को आउँछ ? ....... पक्कै कुनै जँड्याहा आयो ......... अव के हुने हो ? सबै भयले कक्रिए ..... कहाँ जाउँ, के गरुँ भयो । त्यो आवाजले झनै टोल थर्कायो । छेउ छाउका छिमेकीहरु आए र आवाज दिए– ठूल्नानी ढोका खोल । वाहिर यौटा रोगी बूढा आएको छ । म ठूल्नानीको लोग्ने हुँ भन्छ ! धेरै आवाजहरुपछि म ढोका खोल्न वाध्य भएँ ।
वाहिर हेर्छ – यौटा बूढा जस्तो मान्छे लम्पसार परेको छ । वेला वेलामा लरबराएर बोल्छ – 'म यी केटाकेटीको बाउ हूँ । धेरै वर्ष वाहिर थिएँ । अहिले बिरामी भएर आएको ।'
“के भो । के रोग लाग्यो ? ............ “ कसैले सोध्छ ।
“क्यान्सर भन्छन् । त्यही उपचार गर्न आएको !” ऊ सकी नसकी बोल्छ । उसको हाड–छाला मात्र छ ।
“ठूल्नानी ! जे होस् – तिम्रो वेपत्ता भएको बूढो आएछ । पहिले अस्पताल लग !”
छोरा–छोरीले विस्मयपूर्वक हेरे–टोलाइरहे । ठूल्नानीलाई लाग्यो –अरुलाई त सहयोग गर्नु पर्छ, यी त आफ्नै बूढा हुन् । छोरा छोरी लिएर उनी नजिकैको अस्पतालको इमरजेन्सीमा लगिन् । सुख दुःख उपचार शुरु भयो । विस्तारै ठिक हुन लाग्यो । अव ठूल्नानीको थप दुःख शुरु भयो । होटेल पनि चलाउनै पर्यो –बुढाको हेरविचार पनि गर्न वाध्य भईन् । छोरा–छोरीको सहयोगले उनी समर्थ भईन् । अव विस्तारै बूढाले आफ्नो सत्य–असत्य खोल्न लाग्यो ।
म मलेसिया गएको थिएँ । उत्तै २/४ वर्ष बिते । यौटा कारखानामा काम गर्दा एक्सिडेन्टमा परें । त्यहाँको जागिर छाडेर बेकार भएँ ।“ कुनै दिन ठूल्नानीले सुन्न वाध्य भई ।
उनलाई लाग्छ–जे भए पनि आफ्नो बूढो हो । भगवानलाई साक्षी राखेर बिहे भयो । कुनै सरसल्लाह नगरी चोर जस्तो भाग्ने यस बूढोको बेइमानी र पापको के कुरा गरौं ? तै पनि ....... जे भए पनि आफ्नै बूढो हो ।
अर्को दिन उसको मनगढन्त कथा सुनिन्छ ।
“म कतार गएको थिएँ । बल्लतल्ल उँट चराउने काम गरियो । त्यहाँको गर्मी र रापको के कुरा गर्नु ! जहाँ हेर्यो –बालुवाको थुप्रो । रुख –लहरा कहाँ देख्नु । हाम्रो जस्तो देश हो र । ”
“तर रातभरि ए.सी.को चिसोमा बस्दा शरीर त मुर्दा जस्तो हुन लाग्यो । दिनभरिको ४०/४५ डिग्रीको तापक्रम अनि रातभरिको माइनस डिग्रीको ठण्डीमा । त्यहाँ पनि टिक्न सकिएन .....” मदने रुने जस्तो गर्छ ।
ठूल्नानी यस्ता धेरै सत्य–असत्य घटनाहरु सुन्छे । तर उसलाई केही हो जस्तो लाग्छ, केही होईन जस्तो  । फेरि मदनेले आफ्नो कथा छाड्दैन ।
“म केही वर्ष धनगढी र बिर्तामोड पनि बसें । त्यहाँका होटेलहरुमा काम गरें । पूर्व पूर्वै हो –पश्चिम भने पश्चिम नै । जत्ति मेहनतका साथ काम गरे पनि एक पैसा जोगाउन सकिएन ठूल्नानी ! सवै आफ्नै कर्मको कुरा रहेछ ।” ठूल्नानीको मनमा लाग्छ –यो बूढो कुरा बनाउँछ । सँधै कुराकै खेलाडी हो ।
एक दिन उसले घुमाउरो प्रश्न गर्छे – तिमीलाई कसैले बुटवलमा देखेका थिए रे नि ! किन गयौ हँ बुटवल ?
यसको ऊ कुनै जवाफ दिंदैन । खालि टोल्हाइ रहन्छ । गजबको लोग्ने भेटिएछ.......... गजबको आफ्नो कर्म रहेछ । भाग्यसँग कसको के लाग्ने !
नेपालका अस्पताल न हुन् । न रोगको पहिचान राम्रो हुन्छ, न औषधि – उपचार । खालि बिलमात्र बढ्ने हो । उसका निरीह छोरा छोरी केही बोल्दैनन् । ती जहाँ भए पनि, जे भए पनि बालाई देख्न र भेट्न पाइयो भनेर यसै दङ्ग छन् । किनभने तेरो बा उहिलै मरे भनेर साथी– भाइले गरेको व्यङ्ग्यले दिक्क थिए । आमालाई बरोबर सोध्थे । तर आमाको जवाफ खालि आँसु हुन्थ्यो । अनि ती आमाको मूडअफ नगराउन पिताजीको बारेमा सोध्ने कष्ट गर्दैनथिए । जेनतेन जिन्दगीको गोरेटोमा ती हिंडिरहेका थिए र भोलिको बारेमा, क्यारियरको विकासमा सोचिरहन्थे । किनभने दुवैले आफ्नो र राष्ट्रको पिडादायक स्थिति बुझिसकेका थिए । तिनको सपना–विपना कहाँ जाने, कुन देशमा जानु राम्रो होला भन्ने मात्र सोच्थे । नेपालबाट बर्सेनी लाखौं नेपाली युवाहरु विदेशिन वाध्य भएको सत्य तिनका आँखा अगाडि सिनेमाका दृश्यहरु आउँथे निद्रामा समेत ।
केही आराम भएपछि मदनलाई घर ल्याइयो । उसका कङ्कालतुल्य शरीरमा केही थपथाप भई बन्दै गरेको देखियो । तर होटेलको आम्दानी भने क्रमशः सुक्दै जान थाल्यो । टोलका घरैपिच्छे छन् –होटेल र खुद्रा पसलहरु । ठूल्नानी न रुन सक्थी –न मुस्काउन । न केही बोल्न, न केही सोच्न । ऊ मात्र टोल्हाइरहन्थी .......... विश्वास र अविश्वासहरुले उसको अविश्वासको आकाश नै अँध्यारो हुँदै गए ।
एक राति उसले अनुकूल समयमा मदनलाई सोधी – तपाई त केटी लिएर भाग्नु भएको हल्ला थियो नि !
मदन होईन भनी टाउको हल्लाउँछ । अनि केही नबोली आकाश हेरेर, दलिन गनेर टोल्हाइरहन्छ ।
–तपाईले पल्लो गाउँको कमलालाई लिएर जानुभयो भन्छन् । यत्रो ब्यवहार भएको मान्छे तपाई बौलाउनु भएको थियो कि कसो ? ........
बरु ढुङ्गा बोल्ला, ऊ बोल्दैन । वास्तवमा उसले सुनेको हल्ला नै सत्य हो । यो कुरौटे फटाहा कुनै देश गएको होईन । १२/१४ वर्ष बुटवलतिर केही काम गरेर खायो अनि बिरामी भएर औषधोपचार गर्न परेपछि फर्क्यो –ठूल्नानी यही सत्यमा अड्छे “लोग्नेलाई देवता मान्नु पर्छ स्वास्नीले, नत्र नर्कमा परिन्छ” भन्ने सत्य पनि ऊसँग छ । यस्तो असत्य र झुठको खेती पनि ठूल्नानीभित्र छ । जिन्दगी संझौता पनि हो । ती दुई र परिवारको सम्बन्धलाई के कसरी परिभाषित गर्न सकिन्छ ? समाज स्वयम् प्रश्न चिन्हमा थियो र छ । फेरि कुनै सामान्य निम्न स्थितिको परिवारिक विखण्डनबारे कसले किन सोच्ने ................।
अनि एक अर्को रात आयो अर्थात त्यो कालरात्रि जसरी आयो –त्यसरी नै समाप्त भयो । मदनको स्वास्थ्यमा केही सुधार भएपछि अव के कसरी अगाडि बढ्ने सोचाई आउन आवश्यक भएन ।
एक राति मदन फेरि घरबाट हरायो । कहाँ र किन गयो ? घर–परिवार र छिमेकी कसैलाई केही न थाहा भयो, न कसैलाई केही मतलव भयो । अर्थात मदन आयो – मदन गयो ।
‘मुनामदन’ मा मदनको मृत्युपछि कथा टुङ्गिएको थियो । तर आज र आजका मदनहरुको कथा कहिले टुङ्गिएला अनि आजका मुना अर्थात ठूल्नानीहरुको जिन्दगीको जवाफ कहिले आउला !

समाप्त

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |