उज्यालो छर्दै आउने जून
इन्द्रकुमार श्रेष्ठ ‘सरित्’, (काठमाडौँ)
एकटक लाएर जूनेली रातमा
जून हेर्नुको आनन्द बर्णन गरिसक्नु छैन
ओछ्यानमा पल्टिएर
आँगनमा बसेर
जङ्गलको घाँसे मैदानमा खाली खुट्टा हिंड्दै
पूर्णआकारको जून हेर्नुको स्वर्णिम तृप्ति भनेर साध्य छैन ।
सफा आकाशको ठीक माझमा
टिका झैं गोलो आकार लिएर
अँध्यारो उज्यालो झन धेरै उज्यालोछर्दै
जगतबाट अँध्यारो हटाउने यो पूर्ण जून
यसलाई एकपटक न्यानो अ“गालोमा राख्न मन लाग्छ ।
मेरो मनोभाव बुझेर हो कि
मुसुक्क हाँसेर जूनले भन्छ— यो त सम्भव छैन ।
हुन्छ
अँध्यारोको साम्राज्यलाई जित्ने
टुकी नचाहिने
दियालो
पनि नचाहिने
बिना आमन्त्रण घर घरमा आउने
उज्यालो जूनलाई कसले भन्न सक्छ—
मैले तिमीलाई स्वागत गरेको छैन ?
म हिंड्छु जून हिंड्छ
म रोकिन्छु जून रोकिन्छ
अहो! अहो! मैले बुझें
जूनको उज्यालो चाहिने भए जूनसंगै
म आफैं हिंड्नुपर्छ
आफैं गतिशील हुनुपर्छ ।