हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सम्बन्ध–६-एक बिहान

परशु प्रधान, (काठमाडौं)

कथोपन्यास

म साविक वमोजिम मोर्निङ्ग वाकबाट फर्के, पस्दा पस्दै वैठक कोठामा यौटी महिलालाई देखेँ । मलाई लाग्यो – उनी मलाई नै पर्खिरहेकी छिन् ।  मेरो मनमा हुरी आयो – को हुन् यी । के कामले आईन् । म भित्र नपस्दै उनले भनिन् – म तपाईलाई भेट्न पर्खिरहेकी छु । एक घण्टा भयो । तपाईको त मोर्निङ्ग वाक पनि कत्ति लामो हो ?
“यहाँ आउनु हुन्छ भन्ने मलाई के थाहा? तर मैले त राम्ररी चिन्न सकिन नि !” वास्तवमा म कसरी चिनुँ । जागिरको लामो यात्रामा कत्ति मान्छेहरुसँग भेट भयो । कत्तिपय घटना दूर्घटना भए ।
“तिमीले मलाई बिर्सन मिल्दैन किरण ।” ऊ अव तिमीमा ओर्ली –“एउटै अफिसमा एउटै टेवलमा काम गरेकी म सुभद्रालाई बिर्सेर बस्न मिल्छ? ” उसको स्वर अस्वभाविक लाग्यो, अर्थात कहिं रुन्चेपन मिसिएको ।
म झन तर्से र संझे – हो, कुनै दिन कुनै अफिसमा हामीसँगै थियौं । हामी तिमी, तिमी नै भन्थ्यौं । उसका फुलेका कपाल देखेर ऊ पनि म जस्तै बुढी भईछे भन्ने सोचें ।
“ म काठमाडौंमा नै छु र यही महाराजगन्जको पुरानो घरमा छु भन्ने तिमीले कसरी थाहा पायौं सुभद्रा । फेरि मैले सरकारी जागिर छाडेको पनि दस वर्ष भईसक्यो ।”
“कुनै दिन म यही घरमा तिमीसँगै आएको थिएँ किरण ! तिमीले भूल्यौ । मलाई राम्रै संझना छ – अफिसकै कामको सिलसिलामा म आएको थिएँ । यहाँ लटरम्म तरकारी थिए र फलफूलका विरुवा पनि ।”
“यौटा फोनसम्म नगरी, यसरी देख्दा म त कुनै सपनामा छु कि जस्तो लाग्यो । हाम्रो भेट नभएको लगभग ३० वर्ष बढी भयो ।”
श्रीमतीले चिया र बिस्कुट ल्याईन् । हामी दुवै फेरि फ्लैसव्याकमा पुग्यौं । धेरै पुरानो साथीसँग पुरानो कुरा गर्न पनि एक किसिमले रमाइलो हुँदो रहेछ । ‘हाम्रो डाइरेक्टर बाँचेकै छन् कि ....।’
‘प्रदिप डाइरेक्टर साहेब गएको पाँच सात वर्ष भइसक्यो ।’ उसका आँखाहरु विस्तारै तरल भएर आए । मैले मार्क गरिरहें ।
“मेरो जेठो छोरो गएको तिमीलाई थाहा छ ?” उसले सोधी । म आश्चर्यमा परें । त्यस्तो होनहार, प्रतिभाशाली छोरो –मैले उसलाई देखेको थिएँ ।
“कसरी गयो ?”
“अमेरिका गएको थियो । यौटा मोटर एक्सिडेन्टमा परेर गयो ।” अव उसका आँखामा आँसु देखा पर्न लागे । ऊ ह्वाँ ह्वाँ नै रुन लागी ।
मैले संझाए –“अव रोएर तिम्रो छोरा आउँदैन सुभद्रा, जीवनमा धैर्य गर्न आवश्यक छ । यहाँ सँधै बस्ने को छ र ! एक दिन सबैले यो धरती छाड्नै पर्छ ।”
उसले रुँदै सोधी– "तिम्रा छोरा छोरी कहाँ छन् नि?"
“मेरो यौटा छोरा र यौटी छोरी हुन् । अहिले दुवै अमेरिकामा छन् । यो देशमा त को बस्ने भयो र! बूढा–बूढी र केटाकेटी वाहेक ।” मैले सबै नेपालीहरुले भोग्नु परेको ब्यथा सुनाएँ ।
“सो त हो । मेरो छोरा मर्नासाथ मलाई लोग्नेले पनि छाडिदियो, अर्की ल्याइदियो । म बेजातकी भएँ रे । मेरो दुक्ख र पिडाको लामो कहानी छ किरण ! के सुनाऊँ , के नसुनाऊँ । मलाई भगवान्ले पिडै–पिडामा बाँच्न लेखिदिएका रहेछन् । मैले जत्ति दुक्ख यस संसारमा अरु कसले पाएको होला र !” – ऊ फेरि ह्वाँ ह्वाँ रुन लागी । मलाई धेरै असहज महसुस भयो ।
“मेरो परिवारले के ठान्लान सुभद्रा ! यसरी तिमीले डाँको छाडेर रुँदा । मैले तिमी माथि कुनै अपराध गरेको ठहरिदैंन –प्लिज ! ”
म प्लिज प्लिज भन्छु – ऊ रुँदै भन्छे –म तिमीलाई मेरो कहानी नै सुनाउन आएकी । यसलाई तिमीले अन्यथा नठान है ।
“फेरि मैले पनि दोस्रो विहे गरें । त्यसले कुनै स्वास्नीमान्छे पाउँदा मैले पनि कुनै लोग्नेमान्छे पाउन सक्छु भन्ने उसलाई देखाउनु थियो, यो समाजलाई देखाउनु थियो । तर .............. ” फेरि वाक्य फुटेन । उसको गला अड्के जस्तो भयो । म भित्र पनि स्नेह र श्रद्धाको फूल फुल्नु स्वभाविक थियो ।
“अहिलेको बुढो के गर्छ नि ! जातभात त मिल्छ होला नि ! बच्चा बच्ची भए होलान् ।”
“एक पल्ट घर भत्केपछि जोडिन त गाहारो नै हुन्छ नि ! यो घर त भयो – तर कुनै वेला भुइंचालो आउन सक्छ । तिमीलाई के भनुं – ऊ केही पनि गर्दैन । जुन ठाउँमा जागिर खाए पनि महिना दिनभन्दा बढी ऊ टिक्तैन । प्राइभेट जागिर –अलि कडिकडाउ त हुने नै भयो नि ! ऊ त सरकारी कर्मचारी जस्तो । हुन्छ ...हुन्छ हस्...हस् भन्ने, खालि चाकरी मात्र गर्ने । दिएको काम केही नगर्ने । बी.ए. पास भएर पनि के गर्नु ! सानै देखि बिग्रिएको केटो रहेछ ।”
“अनि तिम्रो घर ब्यवहार ! कसरी चलेको छ त ”
श्रीमतीले भान्सा ठिक भएको जनाउ दिईसकी । सुभद्रा आफ्नो कुरा पनि टुंग्याउँदिन, जाने कुनै हत्तार पनि छैन । एक नास पिडाको कथा –ब्यथा सुनाउंछे । म भने नर्भस भइसकें के भनुं – के नभनुं । के हो भनौं , के होईन भनौं !
“त्यही जागिर खाएकी रहिछु । ८/१० हजार पेन्सन आउँछ । घर बहाल तिर्नु कि! खानपान गरौं कि ! यो बढ्दो महङ्गी तिमीलाई थाहैं छ । मलाई ऋणै ऋणको भारी छ । साहूहरुले टिक्न दिएका छैनन् । घरभाडा तिर्न नसकेको वर्ष दिन बढी भयो । लोग्ने भन्नेलाई कुनै कुराको मतलव छैन । सँधै टन्न भएर आउँछ । घरमा भात पाकेको छ भने खान्छ, नत्र सुत्छ ।”
“उहाँलाई पनि अहिलेको खाना यत्तै बनाउँ कि! तपाईलाई पनि कार्यक्रममा जान ढिला भएन ।” श्रीमती आजित भई, मलाई थाहा छ । तर कहिले कहिं यस्ता सम्बन्धहरुले कठिन स्थिति ल्याउँदा रहेछन् । यस्तो मलाई धेरै पटक अनुभव भएको छ ।
“साँच्ची मलाई खाना खाएर यौटा कार्यक्रममा पनि जानु छ । पछि भेटौंला, अहिले छुटुँ है !” मैले विदा लिन चाहें ।
“म यहाँ खाना खान आएको होईन किरण! म तिमीसँग सहयोग पाइने आसाले आएको । कुनै बेला एउटै अफिसमा काम गरेका हामी । तिमीले दिन दुईगुणा, रात चौगुणा प्रगति गरेको कुरा सुनेर तिमीसँग हात थाप्न आएको !” फेरि ऊ सुकसुकाउन थाली ।
“तिमीले सुन्नु, हल्लाका कुरामा विश्वास गर्नु यौटा कुरा हो । पहिले भन्दा केही प्रगति निश्चय नै गरेको छु । मेरो दुक्ख तिमीलाई के सुनाउँ! अहिले अमेरिकामा छोरा–छोरी पढाउँदाको मेरो पिडा कसले बुझ्ने ! तिनले त्यहाँ संधै काम पाउने होईनन्, फेरि पढाईसँगै खट्न पनि त गाहारो नि !तिमीलाई जस्तै म पनि ब्यवहारले बाँधिएको छु । आखिर भनन ! म के कस्तो सहयोग गरुँ ! .....” म उठिसकें । तर ऊ उठिन । आफ्नो आउनुको यथार्थ खोली– मलाई एकलाखको अत्यन्त खाँचो छ । म तिमीलाई हातजोड्छु .......”
“एक लाख ....” म तर्से । “तिमीलाई यही घरको इँटा झिकेर दिए मात्र हो सुभद्रा ! कसले तिमीलाई यसरी उचालेर पठाएको हो– मैले त केही वुझ्न सकिन । म तिमीलाई फ्रयान्क भन्छु – म तिमीलाई त्यत्रो रकम दिन सक्तिन– मैले यही घर बेचेर दिए मात्र । नत्र ...... राम.....राम ......” म हत्तारिइसकें ।
“भई गो – म ७५ हजारले काम चलाउँछु । त्यत्तिले त पूरा मेरो काम चल्दैन, तै पनि प्रयास गर्छु । अर्थात टालटुलसम्म हुन्छ ।”
मैले नकरात्मक टाउको हल्लाएँ – राम ! राम !
“लौ ५० हजार देऊ । त्यत्ति नलिई म यहाँवाट जान्न !” ऊ त अनसन गर्ने जस्ती भई । म श्रीमतीको अनुहार हेर्छु, त्यहाँ विश्वास छ – अनविश्वास छ । केही शंका, केही उपशंका छ । तर आफू भने यौटा कुरामा निश्चय छु – मैले सुभद्रावाट कहिल्यै केही फाईदा लिएको छैन, म कत्तै चुकेको छैन ।
अव म के गरुँ ! कुनै बाढीमा अकस्मात् डुबे जस्तो भयो । मैले पकेटवाट पाँच हजारको नोट निकालेर उसको हातमा राखीदिएँ –लौ मैले सक्ने यत्ति हो । म थप केही गर्न सक्तिन । मलाई माफ राख सुभद्रा ! तिमीले पनि मेरो स्थिति बुझीदेऊ ।
अव ऊ जुरुक्क उठी र पाँच हजारको नोट वैठकमा फालिदिई । अनि कसैको अनुहार नहेरी जान्छु समेत नभनी ढोका खोलेर निस्की । मैले ए सुभद्रा ! सुभद्रा !! भनेको पनि सुनिन, सुन्न चाहिन ।
हामी बूढा–बूढीलाई कुनै सिनेमाको ‘सम्वन्ध’ शीर्षकमा फुटेज हेरे जस्तो भयो ।


 समाप्त 


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |