चुराका टुक्रा
समा श्री , (काठमाण्डौ, हाल: इजरायल)
बैर
सूर्यसँग छैन
बैर
रातसँग पनि छैन
तर पनि आँखाहरू
सूर्यास्तसँगै तर्सिन्छन्
साँझको आगमनसँगै अत्तालिन्छन्
भित्रको र बाहिरको अँध्यारो
आँखालाई बहकाइ दिन्छन्
रुवाइ दिन्छन्
डर
यसै पानीमा बगिनेमा छ
डर
यसै पानीमा मिसिनेमा छ
ऊ जान्दछे
हरेक रातको अँध्यारो
सँधैझैँ आगो ओकल्छ
केन्द्रबाट सुरु भएर
अंगअंग जलाउँदै
नाडिसम्म फैलन्छ
जहाँ उसका राता चुराहरु
यही अग्निमा पग्लिएका थिए
मालश्रीको गुञ्जनसँगै
ऊ सिउँदो छाम्छे
पिङको कुँइकिएको आवाजसँगै
ऊ बैँस छाम्छे
फूलपातीको बढाईँसँगै
ऊ निधार छाम्छे
दशैँतिहारको शब्दसँगै
ऊ आफैलाई छाम्छे
बेवाक्य ठगीएकि
ऊ मूर्ति बनिदिन्छे
मान्छे उसलाई बुद्ध ठान्छन् |
मान्छेको के !
ऊ आफैलाई थाहा छ
ऊ बुद्ध होइन्
राता चुराका टुक्राहरु
फुटेर भित्रैसम्म गाडिएका छन्
ऊ हरेक चाडबाडमा
यिनैलाई निकाल्नमा व्यस्त हुन्छे
बुद्ध जस्तै बनेर |