हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सपनाहरू पाँच रूपैयाँले आफ्ना नहुँदा रहेछन्

असफल गौतम, (काठमाडौँ)

जीवनमा केही गर्न सकिन। केही गर्न नसके पनि मैले दुई चार अक्षर पढ्न जाने। त्यही जान्नाले पढ्न पाएँ, र कतै पढेको थिएँ, जसको मन स्थिर छैन र अव्यवस्थित काम गर्दछ त्यस्तो व्यक्तिले न समाजमा सुख पाउँछ न त वनमा नै। मानिसका बीच समाजमा बस्दा तिनीहरूको सङ्गतले उसको मन जल्दछ। वनमा एक्लोपनले झनै मनलाई जलाउँछ। अतः मन चञ्चले भयो भने दुःख पाइन्छ। साँच्चै मेरो जीवनमा पनि त्यस्तै भएको छ। आज मेरो मन र मैले देखेका सपनाहरूले व्यवस्थित काम गर्न सकिरहेका छैनन्। वास्तविक जीवनमा धेरै सपनाहरू देखेँ। जन्मेपछि आमाको काखमा खेल्ने र हुर्केपछि सपनाको सिरानी राखेर निदाउने, मानव जीवनमा यी सबैभन्दा ठूला सपना सबैका हुन्छन् होला मैले पनि तिनै सपना देखेछुँ तर समय र परिस्थितिले मलाई ठगेर गयो ।

उच्च शिक्षाका लागि क्याम्पस झर्नु, अध्ययनलाई अगाडि बढाउनु, अपरिचित परिचित हुनु। यो सपना थिएन। गुज्रिदै गएको समयको खेल थियो। जवानी चढेका वेला, उच्च शिक्षा आर्जन गर्ने समय। तमाम युवायुवती एक अर्काको आकर्षणका केन्द्र बन्नु नयाँ थिएन्, किनकि १६ सय गोपिनीहरू कृष्णका पछि हिँडेकै थिए। महादेवले सतीदेवीलाई अनेक रूप धारण गरी परीक्षा लिएकै थिए। यस्ता आध्यात्मिक कथा र प्रवचनहरू सुनिरहेका सबैलाई माया र पिरती भन्ने कुराको पाठ पढाउन आवश्यक देखिदैनथ्यो। वेलाले होला, सच्चा प्रेम महल या झुपडी कहाँ हुन्छ ? भन्ने कुरा थाहा नै थिएन। बजारमा विश्वव्यापीकरण भइसकेको प्रेम फस्टाउने स्थानका बारेमा पत्तो नपाएरै मैले सपना देखिरहेको थिएँ, त्यसमा कुनै गुनासो थिएन। उधारो नै भए पनि मैले देखेका सपनासँगको हिमचिम राम्रो थियो। हिमचिम राम्रो भएरै होला, मेरा सपनाले सहरको घर र सम्पन्नता खोजे जस्तो लागेन। त्यसैभित्र अन्तरआत्माले खोजिरहेको शब्दमा व्यक्त गर्नै नसकिने गरेर भविष्य जोडिएको थियो। समयको अन्तरालमा मैले जीवनमा अनौठा सपना देखेको छुँ। ती सपनाहरूसँग बुढापाकाले भन्ने गरेका विविध प्रकृतिका उखान र टुक्काहरू मेल खान थालेका छन्। सफल हुन नसकेर उजाड बनेको तेरो बस्ती हरियाली बनाइदिन्छु भनेर सपनाहरूले नजिक आएर जिस्काइरहे। सपनाका कुरा र शैली परिवर्तन भए। आदरसत्कार र सम्मानका व्यवहार भए। भेट र विछोडमा हार्दिकता देखिए। मैले देखेका सपनाको व्यवहार र दैनिकीमा यति धेरै परिवर्तन भएर आयो कि, असफल जिन्दगी सफल बन्ने पूर्वाधार मै हूँ भनेर सपनाले मलाई जिस्काएरै गए। एकवारको जीवनमा निद्रामा आएर जिस्काएरपछि मैले आफैँलाई धेरै पटक जाँचेर हेरे। ती सपनासँगका मेरा सम्वादहरू एकएक गरेर सम्झे, मैले अन्तरआत्मबाट बोले, सपना ¤ तिम्रो आर्कषणको केन्द्र विपनामा भङ्ग हुनेछ। सपनाहरूले मेरो कथन स्वीकार्न चाहेनन्, पटकपटकका कुरामा गम्भिरता नदेखाउँदा मसँग मेरा सपनाहरूले सपनाकै लोकबाट सम्वाद गर्न थाले, ती सम्वादसँग म चिर परिचित हुँदै गएँ। मनमा कुरा खेलाउन थाले। सम्वादको समाधीमा लिन भएरै यावद कुराहरू सम्झिरहेँ। फेरि मैले देखेका सपनाहरू मेरा अतिथि थिए, त्यसैले प्रत्येक दिन आफू कहाँ आउने अतिथिलाई सत्कार गर्न नचुक्ने व्यक्तिको परिवार गरिबीको अवसादमा पर्नुपर्नेछैन भन्ने आदर्शवाणीलाई पनि बिर्सन सकिन र सपनाको सत्कार गरिरहेँ। सत्कार गरिरहँदा रहँदै पनि निदाउने बित्तिकै सपना देखिरहेको थिए, यो पटक समयले त्यस्तै सपना देखाएर गयो। आजको सपनाले मलाई आफ्नै खोला खोल्सा, पाखापखेराको छेउछाऊमा हुकेर बढेको कथा सुनाइदियो। विपनामा भङ्ग हुने होला भनेर सपना मात्रै सम्झिदिएको थिए तापनि सपनाहरूले मलाई जिस्काइरहन थाले। निन्द्रामै जहाँबाट भेटिन्थ्यो सपनासँगको आगमन र यात्रा सँगै हुन्थ्यो। पढाइ, घर परिवार, बाबा आमा र दाजुभाइका पूरापुर कुरा हुन थाले। मलाई चिन्ताको विषय थिएन त्यसैले म मस्तसँग निदाउँदै थिएँ। सपनालाई कहिल्यै विपना बनाउने योजना देखेकै थिइन्। तर नदेखिएका कुराहरूले मानवलाई धेरै पिराउँदोरहेछ। मलाई यस पटकको सपनाले धेरै सोच विचार गरायो। सपनासँगको मेरो सम्वादले मलाई बिउँझायो र सपनाको सिरानी नै बिझायो। मैले सपनाहरूसँग सम्वाद गर्दा गर्दै आजभोलि मेरो ब्रह्माण्ड भन्दा बाहिरका सपनाहरूसमेत घनिष्ठ मैत्री बन्न थालिसकेका छन्। सोही कारण हुनुपर्छ तीनै सपनाहरूले मलाई उल्टो सोध्न थाले, लामो मैत्रीको कारण एकले अर्काका लागि कुनै कार्य गरेमा त्यसलाई स्विकार्नु नै घनिष्ठ मित्रता हो, नत्र लामो मैत्रीको के फाइदा ?

सपनासँगै भाग्य जोडिएर आयो। म भाग्य नै नभएको मान्छे, कहाँबाट भाग्य खोजेर ल्याउनु भनेर सोचे। तर यस पटकको सपनाले मलाई छोड्दै छोडेन। सुनेको थिए, सपनाले विपनाको सङ्केत गर्छ। मैले विपनाको कल्पना गरिन् तापनि सपनाले जीवन यात्रालाई डोर्याउने योजना सुनायो। भाग्यले साथ दियो भने मैले देखेको सपनाले जीवन गुजाराका लागि हरेक दिन चाहिने एक छाक हैन जीवनभरका छाकहरू सँगै साथमा खुवाउने सपनाले मलाई धेरै नै पिरोलिरह्यो। मैले देखेका सपनाहरूलाई सहर्ष स्वीकार गर्नै सकिन। म सधै अर्काको आश्रयमा बाँचेको थिएँ। अर्काको आश्रयमा बाँचेकाको सधैँ लघुता रहन्छ नै। ऊ सदा हल्का भइरहन्छ भन्ने मैले राम्ररी बुझेको थिएँ। मैले दिनभरी मेरो श्रम बेच्न पाइन भने मेरो साँझ चुलो बल्दैन। यसर्थ पनि मैले देखेको सपनालाई पत्याउन सकिन। अमृतको घर, अमृतै अमृतको शरीर, औषधिको मालिक, क्रान्तिले युक्त चन्द्रमा पनि सूर्य मण्डलमा पुगेपछि तेजहिन हुन्छन् भने अर्काको घरमा बस्नेले चन्द्रमाको जस्तै तेजोबध भएको सहनुपर्छ भन्ने कुरा निश्चय नै सत्य हो भन्ने बुझेर मैले देखेका सपनाहरूलाई वास्ता गर्दै गरिन्।

म शब्दको फारूपन रूचाउने मान्छे। शब्द खर्च गरिहाले भने कि त्यसले शितलता दिन्छ कि घोच्छ। ती दुई बाहेक अरू मेरा शब्दहरूले केही गर्नै सक्दैनन् त्यो मलाई पूर्ण थाहा छ। मैले देखेका सपनाहरूसँग धेरै शब्द खर्च गर्न मन नलागे पनि सपनाहरूले मेरा शब्दको फारूपनालाई रूचाएनछन्। मलाई बोल्न बाध्य नै पारे। यसपटक मेरो निन्द्रामा आएर झस्काउने सपनाहरूसँग राम्ररी कुरा गर्ने निधो गरेँ। मलाई जिस्काउनेहरूसँग म छुच्चो नै बनेर बोल्ने गर्दछु। त्यही रूपमा सपनासँग लामो कुराकानी भयो, निदाएर देखिएको सपनाकै कल्पनामा रमाउन पुगे। पुराना सपनाहरूले पनि पिरोलिरहेका थिए। संयोगले सपनासँगको सम्वादको दिन विवाह पञ्चमी परेको रहेछ। पहिलाका सपनालाई पनि यो पञ्चमीको सपनाले याद गराइदियो। यादहरू सँगसँगै पञ्चमीको सन्दर्भलाई जोडेर मैले सपनासँग सम्वाद थाले, दुनियाँको सच्चा मानिएको प्रेम, ठूलो महलमा कैद हुन्छ। महल नहुनेका लागि बीचैमा तुहेर जान्छ कि जस्ता सन्दर्भले पनि मलाई झस्काइरहन्थ्यो। यावद झस्काई भन्दा पनि मलाई जिस्काउने सपनाहरूसँग मैले यस पटक राम्ररी वार्तालाप गर्नु थियो, गरेँ। मेरो सामिप्यतासँगको उठबसले मेरा बारेमा सपनाहरूले सबै कुरा जाने बुझेर आए भन्दै थिए। पुरापुर तिम्रो जिन्दगीको पाटो बनेर सेवा गर्दै रहने छु। जीवनमा साथ र सहयोग भन्ने कुरा बोकेर लैजाने र ल्याउने कुरा हुँदैन। सपनासँगको जिन्दगीमा बिहान बेलुकाका दुःख सुखका छाकहरू सँगै पकाएर खाने नखाने उत्तर दिए जस्तो लाग्छ।  सपना लोकबाट गरिएका वार्तालापले होला भन्दै हो भनेर पूर्णविराम लागेपछि मैले सपनाहरूसँग धेरै प्रतिप्रश्नहरू गरे। वर्तमानका सपनाहरू शहरमा ठूलो महल बन्यो भने, भाडाको साधन मेरो भन्यो भने मैलाउने अन्यथा बहुलाउने संस्कारका बारे थाहा नभएको होइन। थाहा हुँदाहुँदै आफू जन्मेर हुर्केको त्योे बस्तीको महल, बीच बाटोमा झरेर फलानाको सन्तान भनेपछि बिक्ने मेरा पुर्खाको इतिहास। कुनै समय सबैको आशाको केन्द्रबिन्दु रहेको माझको दरबार र त्यहाँ जन्माउने आमा बाबुले मलाई माया गर्न सिकाएका छैनन् र ? भन्ने पनि लाग्थ्यो। म आफैँ पनि दैनिकीको गर्जो टार्ने अभावमा रहे पनि कसैको दबाबमा छैन र सबैलाई प्रभावमा पार्न सक्छु जस्तो लाग्थ्यो, तर समय सधै एकनास हुँदैन। चामल, चामल नै हो। चाहे मोटो होस् चाहे मसिनो। जसको एउटै उद्देश्य चामल पकाएर भात बनाउनु। संयोजन मिलाउन सकेन भने झुपडीमा पाकेको मोटो चमाल होस् वा महलमा पाकेको मसिनो, कस्तो भात पाक्छ ? सुनेको थिए, मान्छे मान्छेका बीचमा लोभलालच, इष्र्या, हिंसा र विद्रोह राम्ररी उपयोग गर्न नसकेर दुर्घटित हुने स्थिति व्यहोर्न परेकाहरू जीवनमा धेरै छन् भनेर। अन्तरआत्माका भावहरू सकारात्मक दृष्टिकोणले प्रयोग गर्न छाडे सन्त्रासमय स्थिति उत्पन्न नहुने होइन तर प्राकृतिक जीवनलाई सीमित स्थानमा कुण्ठित गराउँदै जाँदा सकारात्मकतर्फ उन्मुख मानिसमा समवेदना हराउँदै गएर मान्छेमा अहम् वृद्धि भएका अभिव्यक्ति देखिनु कुनै नयाँ कुरा होइन तर म त्यो कदापी चाहन्न। छिटो सफलताको शिखर चढ्न खोज्दा समयले क्षणभरमै भौतिक उन्नति गर्ला तर त्यसले विनाश ननिम्त्याओस्। मेरो अपेक्षा भनेको यही मात्रै हो। मैले मेरा सपनासँग गरेका संवादको सार भनेका सधै पारस्परिक सद्भाव, समर्पण, सहयात्रा, सङ्घर्ष, विश्वास र विश्वबन्धुत्वको भावना विकास गराओस् भन्ने थिए। समयको परिपक्कतासँगै निम्त्याएको प्राकृतिक जीवनको यात्रा सीमित स्थानमा कुण्ठित नहोस्। महल, झुपडी या सडक नै किन नहोस्। यी सबै सपनासँगका सम्वादले मलाई सन्तुष्ट बनायो। सपनाहरू मेरा सम्वादसँग सहमति जनाए। जुन विशेष दिन थियो, सोहीकारण सपनासँगका सम्वादले स्वयम्वरको औँठी चिनो सङ्कल्प गरेर रमाएँ। साँच्चै यस पटक सपनाहरूले मलाई जिस्काएका नभई सहायता गरेको जस्तो माने। ढुङ्गाको कापा फोरेर निस्कन्छ पिपल भन्ने सुनेको मैले आज देखेका सपनाहरू तिनै कापाबाट निस्के भन्ने ठानिरहेको थिएँ।

यो पटकको सपनासँगको सम्वादलाई उपलब्धिमुलक ठानँे। दृष्टिकोण सकारात्मक छ भने हामी हिरैहिराले भरिएको जमिनमाथि हिँडिरहेको महसुस गर्नसक्छौँ। मौकाहरू सधैँ, हाम्रा पैतालामुनि दबेर बसेका हुन्छन्। खोज्नलाई भड्किएर यता, उता, कतै पनि जानुपर्दैन। केवल दबेर बसेका मौकाहरूलाई चिन्न सक्नुपर्छ भन्ने शिव खेराका शब्दहरू पनि सम्झे। साँच्चै यो पटकको सपनासँगको सम्वादले भिरालो जमिनमा अडिन नसकेको ढुङ्गा झैँ भएका हाम्रा मनहरू मिलेको ठानिरहेँ। सपनासँगका यस्ता सम्वादपछि पनि मलाई सपनाहरूले जिस्काइ नै रहे। मैले सपनाहरूसँग सम्वाद गरी नै रहे। सबैमा रहेका समान भावहरू धेरै स्वार्थी प्रवृत्तिमा लिन भई भविष्यका लागि सचेत बन्न नसक्ने र योजना बनाउन नसक्ने हो भने कालान्तरमा भाँसिनु पर्छ। दलदलको क्षणिक आवेगले विनाशमा चुर्लुम्म डुवेर अन्धो बनेको युगीन परिवेशको मूल्याङ्कन गर्न नसके अनिष्ठ हुनसक्छ। कालान्तरमा वितृष्णा भाव एवम् ऊ भित्रको निराश शून्यता र विसङ्गतीबोधको प्रस्तुती गल्तीले पश्चाताप गरेर कुनै निकास निस्कदैन भन्ने कुरा पनि सपनालाई भनेकै थिए। मानविय जीवनको अर्थ र प्रयोग साँघुरिदै गयो भने त्यसले सबैलाई खुसी, समृद्ध र शान्त बनाउन सक्दैन। व्यक्तिको जीवन अन्धकारमा हराउन सक्छ भनेर सपनाहरूलाई भनिनै रहेको थिए। यसरी सपनासँगका मेरा सम्वाद चलिनै रहे तर सपनाहरू सपना नै हुँदा रहेछन्। समयको अन्तरालमा जुनदिन मैले देखेका ती सपनाहरू बस्ती प्रवेश गरेर त्यहाँ भिजिसकेका थिए। राम्ररी भिजेर बाहिर निस्केका थिए त्यसैको भोलिपल्ट सुकिला बनेर मेरै बस्ती छिर्दा हिजोका सपनाहरूका दैनिकी र व्यवहारका रङ्ग उडेका थिए। जुन सपना मेरो वेतुकका अङ्ग बनिसकेका थिए। त्यसैले मेरा सपनाहरूमा ज्वालामुखी विस्फोट भएर मेरै मुटु जलाइरहेका थिए, मैले त्यही सम्झेँ। सपनासँगको सम्वादको अन्तिम अन्तिममा ती सपनालाई सम्झदा दार्शनिक चाणक्यले भनेका वाक्यहरू सम्झे,

अनृतं साहसं माया मूर्खत्वमतिलुब्धता

अशौचत्वं निर्दयत्वं स्त्रीणां दोषाः स्वभावजाः

झूठो बोल्नु, अचानक या विना विचार गरी साहस देखाउनु, कपटी हुनु, मूर्ख हुनु, ज्यादै लोभी हुनु, भित्रैदेखि अपवित्र रहनु एवम् क्रुर वा निर्दयी व्यवहार गर्नु यी सबै नारीका स्वभावजन्य दोष मानिन्छन्। मलाई जिस्काएका सपनाहरूले नारीको स्वभावजन्य दोष देखाएर गए। लाग्छ मैले देखेका सपनाहरू नारी हृदयका रहेछन्, त्यसैले मलाई भन्न मन लागेको छ। मेरो मनले जस्तै मेरा आँखाहरू, मलाई जिस्काउने सपनाहरू, मेरो गाउँसम्म उडेर आउन सके तिनले यस्तो वाढी आए जस्तो आएको आँसुको भल पार गरिरहनुपर्ने थिएन्। मलाई कत्ति पनि विश्वास छैन, ती सपनाहरू यसरी उडेर आउने छैनन, किनकि विवाह पञ्चमीका सङ्कल्पहरू र स्वयम्वर सम्झेका औठीहरूले यहाँ केही गर्न सकेनन्। सपनाहरूका जीवन धेरै भमराहरू घुमेर गए होलान्। ती सन्दर्भहरू सामान्य लाग्नु स्वभाविक पनि हो तर जवानीको प्रारम्भमै पोखिएको माया जीवनमा कहिल्यै उठाउन मिल्दैन रहेछ। दुनियाँका अगाडि मुखले ठीक्क पारे पनि आफ्नै आत्मलाई ढाट्न सकिँदो रहेन्छ। मैले देखेका सपनाहरूका अगाडि आत्मलाई सम्झाउनै सकिन। आखिर मसँग हिजैदेखि धन, मान र सम्मानको अभाव थियो। अभाव देख्दादेख्दै पनि सामिप्यमा हुनु र दुई चार कुराहरूमा आँखा चिम्लेर विश्वास गर्नु नै मेरो जिन्दगीको सबैभन्दा ठूलो भूल थियो होला। त्यसैले म ती सपनाहरूलाई यति धेरै माया गर्न पुगे। आखिर सपनाहरूलाई मैले पाँच रूपैयाँको सिन्दुरले मात्र आफ्नो बनाएर हुँदैन भन्ने कुरा सपनाहरूको पाठशालामा सिकेको पाठबाट आफ्नै जिन्दगीलाई धिक्कार्नु बाहेक अरू के नै हुँदोरहेछ र ? दुर-दराजका सपनाहरूसँग सम्वाद भएका यतिका समय बितिसक्दा पनि म सपनाहरूको हुन सकिन्। किनकि सपनाहरू सम्पन्नता खोज्दा रहेछन् र पाँच रूपैयाँको सिन्दुरले आफ्ना नहुँदा रहेछन्।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |