हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

रिसाईकल्ड खादा

बासु श्रेष्ठ, (उडव्रिज, भर्जिनीया)

शेर्पीनी दिदिव्दारा बडो जतनले बुनिएको म

मुलायम खादा,

अन्ततः साहुको तखतामा थपक्क जाक्किन पुगेँ

लाग्यो मेरो सरुवा भएछ र

यतै हुनेछ मेरो वास ।

 

तर एकदिन कसैले मसँगै मजस्ता

अरु केहि खादा बोकेर निस्कियो पसलबाट

झुण्ड्याई दियो कसैको गर्दनमा

तुर्लुँग,

तर झुण्डिनु परेन धेरै बेर

गर्दनबाट झिकेर मलाई

उकुसमुकुस हुनेगरी

पोको पारेर उसले

कोच्यो आफ्नो खल्तिमा,

म निस्सासिएको अवस्थाप्रति पुरा अज्ञान रह्यो

उ ।

त्यसको केहि छिनपछि

आफ्नो घर पुगेर झुण्ड्यायो मलाई किलामा

सोचेँ, खल्तीमा गुम्सिनु भन्दा झुण्डिनु नै बेश भित्तामा,

अगि गर्दनमा थिएँ, अब किलामा

असह्य पिडाबाट अव्यक्त रहेँ म ।

 

केहि दिनपछि उसले छुटकारा दियो किलाबाट

लाग्यो मुक्ति पाईयो

मुक्तिको सास फेरेँ,

तर उसले पट्याई पुट्याई दोबार्याे मलाई

अनि लगेर फेरी झुण्ड्यायो कसैको गर्दनमा

पोखरीको माछा डिलमा भने झैँ

एउटा पिडामा पर्न

पहिलो पिडाबाट मुक्त हुन्थेँ

यसरी

सरुवा हुँदै रह्यो मेरो

गर्दनबाट खल्तीमा

खल्तीबाट किलामा

अनि

फेरी गर्दनमा ।

 

तर अहिले चैँ,

किलाबाट म तखता मै आईपुगेको छु

अपितु, यहाँ ल्याउने शेर्पीनी दिदि होईन

बरु आफ्नो गर्दनबाट ओरालेर

किलामा झुण्ड्याउनेले हो,

पसल, साहु र तखता उहि भएपनि

साहुले मलाई नयाँ नाम दिएको छ

त्यो हो रिसाईकल्ड खादा ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |