हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सनाखत समय

कृष्ण शाह यात्री, (काठमाडौँ)

(रङ्गमञ्च एउटा आदिम प्रयोगशाला जस्तो देखिन्छ । मधुरो उज्यालोमा काला भित्ताहरूमा रगतका केही टाटा र वर्षौंदेखि सफा नगरिएको माकुराको जालो देखिन्छ । नेपथ्यबाट मानिस घुरीरहेको आवाज बेला बेलामा सुनिन्छ । प्रयोगशाला बाहिर एकजना पाले निस्फिक्री कुर्सीमा सुतिरहेको हुन्छ । व्यक्ति एक र व्यक्ति दुईले स्ट्रेचरमा शवलाई राखेर गुडाउँदै ल्याउँछ । पाले बेढङ्गसित उठ्छ । प्रयोगशालाको ढोका खोल्छ । स्टे«चरसहित त्यसमा सुतिरहेको मानिसलाई प्रयोगशालामा राखिन्छ ।)

 

एकः (पालेलाई) आज यसको पोष्टमार्टम आज हुँदैन । कुरा बुझ्नु भयो ?

पालेः बुझें । अनि कहिले हुन्छ त पोष्टमार्टम ?

एकः भोलि दिउँसो हुने संभावना छ ।

पालेः यो कसरी मरेको नि ?

दुईः छक्क परेर रे ।

पालेः छक्क परेर ? ठट्टा नगर्नुस् न । मर्नुको उचित कारण पो हुन्छ । छक्क परेर पनि कोही मर्छ ?

दुईः पुलिसलाई पनि यही कुरामा शङ्का लागेको छ । यो मानिस छक्क परेर मरेको हो वा कसैले यसलाई मारेको हो ? भन्ने कुरामा पुलिसले पोष्टमार्टम पश्चात थप छानबिन गर्नेछ ।

पालेः कस्तो अचम्म ? मानिस छक्क परेर पनि मर्दा रहेछन् ! खास के कुरा सुनेर छक्क परेका अर्थात् दिवंगत भएका रहेछन् ?

दुईः मुलुकमा यति छिटो संविधान आउँछ भन्ने सोचेकै रहेनछन् । टेलिभिजन हेरिरहेका थिए । पारित हुने वित्तिक्कै चोला उठेछ ।

पालेः त्यसो भए यो अपार सुखीका कारणले मरेको हुनु पर्छ ।

एकः अघोर दुःखीत भएर पनि मरेको हुन सक्छ । 

दुईः जे होस यो समग्रमा छक्क परेरै मरेको हो । सबैको यही निष्कर्ष रहेको छ ।

पालेः सबै ? सबै भन्नाले को ? कसले भन्यो नि तपाइलाई ?

दुईः कसैले भनेको होइन । सुनेको कुरा हो । परिवारका मानिसहरुले खासखुस कुराकानी गरिरहेको सुनेर थाहा पाएको हुँ ।

एकः अब हामी जानु पर्छ ।

पालेः कहाँ जानु हुन्छ ? एकछिन बसौ न । चुरोट पिउनुहुन्छ ?

एकः भो नखाऊँ होला ।

पालेः खाऊँ न खाऊँ । मसँग मार्लबोरो चुरोट छ । अमेरिकाबाट फर्किनु भएको शर्मा डाक्टरसाबले आजै मात्र दिनु भएको हो । 

एकः हो र ? त्यसो भए त चिया पिउँदै खान पाए झनै काइदा हुन्थ्यो ।

पालेः म पनि एकछिन बाहिर जान्छु । भोक लागिरहेको छ । क्यान्टिनमा खानेकुरा खाएर आउनु पर्ला ।

दुईः लौ । हिड्नूस् न त ।

एकः तर फेरि यहाँ कोही नदेखेर डाक्टरसाब रिसाउनु हुने हो कि ?

पालेः मरिसकेकाहरू भाग्ने हैनन् क्या रे ! यीनलाई यहाँ कुनै कुकुर, गिद्धले पनि खान सक्तैन । एकैछिन बसेर गफगाफ गरेर आईहालिन्छ नि ।

दुईः लौ त लौ । जाऊँ न त । 

 

(व्यक्ति एक र व्यक्ति दुईसँगै पालेको प्रस्थान हुन्छ । रङ्गमञ्चमा एकछिन शून्यता छाउँछ । स्टे«चरमा राखिएको शवमा उज्यालो केन्द्रित हुन्छ । हावाको ठूलो झोक्का चल्छ । शवलाई ढाकिएको कपडा उडाउँछ । यतिबेला शवको अनुहार पढ्न सकिन्छ । युगीन छक्कको सङ्केत मिल्छ । विस्तारै शवपछाडिबाट चार ओटा आकृतिहरू विभिन्न हाऊभाऊ गर्दै निस्कन्छन् । यी सबैको अनुहार काटिकुटी मिल्छ । अझ अचम्मको कुरा सबैको अनुहार शवको अनुहारसँग मिल्छ । चारै आकृतिको वेषभूषा भने फरकफरक हुन्छ । उनीहरू केही बेर तटस्थ मुद्रामा उभिन्छन् । लगत्तै मञ्चको अघिल्तिर गई एक मीनेट मौन धारण गर्छन् । त्यसपछि सबैले शवलाई चारैतिरबाट हेर्न थाल्छन् । घेर्न थाल्छन् । एउटा आकृतिले शवलाई छुन खोज्छ ।)

 

आकृति एकः पर्खनूस् ! (शव छुन लागेको आकृति अडिन्छ) तपाइले यसरी आफुखुसी मेरो शव छुन पाउनुहुन्न । 

आकृति दुईः तपाइको शव ? नचाहिदो कुरा नगर्नुस् महाशय ! यो मेरो शव हो । आज बिहानै मात्र मेरो मृत्यु भएको हो । म मेरो शवको अवस्था बुझ्न पछ्याउँदै यहाँ आइपुगेको हुँ । मलाई मेरो शव छुन मन लागेको छ । तपाइ शायद यो शवघरको पाले हुनुहुन्छ ।  

आकृति एकः म पाले पहरे कोही पनि हैन । बरु यस्तो संवेदनाको घडीमा जिस्कने काम नगर्नुस् न । यो मेरो शव हो ।

आकृति दुईः म जिस्किने मुडमा छैन महाशय ! यो मेरै शव हो । नपत्याए यी हेर्नूस् त मेरो अनुहार यो शवसँग काटिकुटी मिल्छ ।

आकृति एकः मेरो अनुहार पनि मिल्छ । तपाइसँग अरु के प्रमाण छ ? यो शव तपाइको हो भनेर ?

आकृति दुईः तपाइसँग चाहि अरु के प्रमाण छ यो शव तपाइको हो भनेर ?

आकृति एकः मसँग ? आत्मासँग के हुन्छ ? मलाई यो शवको सम्पूर्ण अतित थाहा छ ।

आकृति दुईः अतित त मलाई पनि थाहा छ महाशय । अलि बलियो प्रमाण भए भन्नूस् । नत्र आफ्नो बाटो लाग्नूस् । मलाई मेरो शवको अघिल्तिर बसेर केही बेर शोक मनाउन दिनूस् ।

आकृति तीनः (आपत्ति जनाउँदै) एकछिन ! एकछिन पर्खनूस् ! तपाइहरु यो कस्तो वाहियात कुरा गर्दै हुनुहुन्छ ? (ठूलो स्वरमा) हेर्नूस् ! मेरो जस्तो अनुहार भएको यो शव मेरो हो । मेरो शवलाई कसैले दाबी गरेको मलाई मन पर्दैन ।

आकृति एकः लौ यस्तो पनि हुन्छ ? शवको वास्तविक हकदार मै हुँ ।

आकृति तीनः होइन । मृत्युपछि पनि यस्तो झमेला आउला भनेर मैले कल्पनासम्म पनि गरेको थिइन । हेर्नुस् तपाइहरुसँग मेरो कुनै शत्रुता छैन । किन तपाइहरु व्यर्थमा मेरो शवमाथी आफ्नो हकदाबी गर्नु हुन्छ ।

आकृति एकः यो शव तपाइको हुँदै होइन ।

आकृति तीनः तपाइ कसरी यो कुरा किटानीका साथ भन्न सक्नुहुन्छ ?

आकृति एकः किनकी मैले अघि नै भनिसकें नि । यो मेरै शव हो भनेर ।

आकृति तीनः उफ् ! उफ् ! उफ् !

आकृति दुईः उफ् ! उफ् !

आकृति एकः उफ् !

 

                (एकछिन मौनता छाउँछ । आकृति एक, आकृति दुई र आकृति तीनले टाढैबाट आफ्ना शव हेर्दै सुक्क सुक्क रुन थाल्छन् ।)

 

आकृति चारः यसरी नरुनोस् महाशय ! तपाइहरूलाई ठूलो भ्रम पर्न गएको छ । वास्तवमा यो मेरो शव हो । म अघिदेखि तपाइहरु सबैको कुरा सुनिरहेको थिएँ । यो मेरो शव हो ।

आकृति दुईः (रिसाउँदै) लौ ! लौ ! फेरि अर्को दाबेदार थपियो । हुँदाहुँदा अब मेरो शवमाथी तीनतीन जनाको दाबी ? तपाइहरु किन मेरो कुरा बुझ्नु हुन्न ?

आकृति एकः (रिसाउँदै) यो त अति नै भयो । यसरी सबैले एउटै शव दाबी गर्न मिल्दैन । मैले सबैभन्दा पहिला देखेको हुँ । त्यसकारण यो शव मेरो हो ।

आकृति दुईः तपाइभन्दा अघि मैले देखिसकेको थिएँ । त्यसैले मैले छुन लाग्दा तपाइले रोक्नु भयो । बरु यसमा मेरो हक लाग्छ ।

आकृति तीनः यसरी झगडा नगरौं । बरु पहिला एक आपसमा परिचय गरौं । अनि प्रमाण र तर्क पु¥याएर शवलाई जिम्मा लिऊँ । शव बोल्न पनि सक्तैन । कि कसो ?

आकृति एकः तपाइको कुरा मलाई ठिक लाग्यो । म सहमत छु । (बाँकीसँग) अनि तपाइहरु के भन्नु हुन्छ ?

आकृति चारः अब उपाय नै के रह्यो र ? यो त बाँच्नको लागि गरिने संघर्षभन्दा पनि कठिन भयो । पहिला तपाइबाटै परिचय गरौं ।

आकृति एकः हुन्छ । सुरु गरौं । अन्त्यबाट गर्दा पनि हुन्छ ।

आकृति चारः म अस्तित्व नेपाली हुँ ।

आकृति तीनः मेरो नाम अस्तित्व नेपाली हो ।

आकृति दुईः मलाई अस्तित्व नेपाली भन्छन् सबैले ।

आकृति एकः म हुँ अस्तित्व नेपाली ।

आकृति चारः लौ । हामी सबैको अनुहार मात्र नभई नाम पनि मिल्ने रहेछ । यो मुद्दा त झन् जटिल हुने भयो । थप परिचय दिऊँ सबैले ।

आकृति दुईः म एक पिता हुँ ।

आकृति चारः म एक पुत्र हुँ ।

आकृति एकः म एक पति हुँ ।

आकृति तीनः अनि म एक प्रेमी हुँ ।

 

                (आकृति एक मञ्चको अग्र भागमा आउँछ । ऊ निकै चिन्तित मुद्रामा हुन्छ ।)

 

आकृति एकः म माथी आज ठूलो बज्रपात आइपरेको छ । मैले जीवनमा अझै धेरै काम गर्न बाँकी थियो । त्यो पुरा गर्नै नपाइ आज मेरो मृत्यु भयो ।

आकृति दुईः भनेपछि तपाइ आफ्नो मृत्यु भइसकेको कुरामा विश्वस्त हुनुहुन्छ ? तपाईलाई अलिकति पनि अविस्वास लागिरहेको छैन ? तपाईले अहिले कुनै भयानक सपना देखिरहनु भएको पनि त हुन सक्छ ।

आकृति एकः होइन मेरो मृत्यु भइसकेको कुरामा मलाई अब कुनै शङ्का छैन । 

आकृति दुईः नाटक अगाडी बढाऊँ त्यसो भए ।

आकृति एकः कस्तो नाटक ?

आकृति दुईः मृत्युको नाटक ! जसको सूत्रधार तपाइ आफै हुनुहुन्छ ।

आकृति एकः (पीडास्वर) मैले जीवनभरी मेरो खुसीलाई मात्र प्राथमिकता दिएँ । विद्यार्थी छँदा पढाईलाई, त्यसपछि आफ्नो जागिरलाई अनि विवाह भएपछि घरबाहिरको रसरङलाई । मेरी पत्नीलाई मैले मन पराएर विहे गरेको होइन । परिवारले कलिलो उमेरमा नै मेरो मागी विवाह गरीदिएका थिए । म कसैलाई लामो समय प्रेम गरेर मात्र विवाह गर्न चाहन्थें ।

आकृति दुईः अर्थात् भनौ तपाई पति भएर प्रेमीको सपना देखिरहनुहुन्थ्यो ।

आकृति एकः म प्रेम विवाह गर्न चाहन्थें ।

आकृति दुईः तपाइ विवाह गरेर पनि प्रेम गर्न सक्नुहुन्थ्यो ।

आकृति एकः यो तपाइको विचार हो । म यो कुरा सोच्न पनि सक्दिन । मेरो जीवनमा मेरी पत्नीको कुनै ठाउँ थिएन । सोचेजस्तो नभएकोले मैले पत्नीलाई कहिल्यै पत्नीको दर्जा दिइन ।

आकृति दुईः दर्जा दिईनको अर्थ धेरै हुन्छ महाशय ! घुमाउरो कुरा गरेर हाम्रो महत्वपूर्ण समय खेर नफल्नूस् ! 

आकृति एकः दर्जा दिइन भन्नुको मतलव कतै घुमाउन लगिन । कहिल्यै सन्चो, बिसन्चो सोधिन । पत्नीलाई पटक्कै मतलव गरिन । मैले सधैं आफू र आफ्नो स्वार्थलाई मात्र महत्व दिएँ । बुझ्नु भयो ?

आकृति दुईः बुझ्दैछु ।

आकृति एकः (रसिक बन्दै) म सुरा र सुन्दरीको भने शौखिन थिएँ । हरेक देशमा बनेको रक्सी सङ्कलन गर्ने र निस्फिक्री पिउने मेरो शोख थियो । यसैमा मैले कमाएजति सम्पत्ति उडाएँ । (रोकिएर) गत वर्ष अचानक म बिरामी परें । डाक्टरलाई देखाउँदा मेरो दुवै मृगौला काम नलाग्ने भएको रिपोर्ट आयो । त्यसपछि मेरो होसहवास उड्यो । मैले धेरै ठाउँमा देखाएँ । मलाई मिल्ने मृगौला कतैबाट पाउन सकिन । अन्त्यमा मेरी पत्नीको मृगौला मलाई प्रत्यारोपण गर्न मिल्ने भयो । मलाई एउटा किड्नी दिएर मेरी पत्नीले नयाँ जीवन दिइन् ।

 

                (शून्यता छाउँछ । कोही बोल्दैनन् । बाहिर पानी पर्न थालेको आवाज आउँछ । टाढाबाट मानिसहरूको मिहिन स्वर सुनिन्छ । आकृतिहरू सतर्क बन्छन् । आकृति एक शवको नजिक जान्छ ।)

 

आकृति चारः त्यसपछि के भयो ?

आकृति एकः त्यसदिनदेखि मलाई भयानक पीडा बोध भइरहेको छ । मैले जसलाई जीवनभरी घृणा गरें उनैले मलाई आफुलाई भन्दा बढी माया गरेर मलाई बचाएकी थिईन् । मेरी पत्नीले एक निमेषमा मेरो सबै अहम तोडिदिएकी थिइन् । अनि बल्ल मेरो होस् खुल्यो । तर हिजो टेलिभिजन हेर्दाहेर्दै अचानक मेरो निधन भयो । मलाई त्यसबेला हर्ट अट्याक भएको थियो जस्तो लाग्छ ।

आकृति दुईः यस मृत्युसँग म पहिलेदेखि नै परिचित छु जस्तो लागिरहेको छ यतिबेला ।

आकृति चारः मलाई पनि टाउकोमा करेन्ट लागेजस्तो भयो ।

आकृति तीनः केही कुराको सम्झना मलाई पनि भइरहेको छ । तर म पति होइन प्रेमी हुँ । मेरो बाटो फरक छ । तपाइ आफ्नो कुरा भन्नूस् । यसरी कथालाई रोक्दा अर्को दुर्घटना हुन सक्छ । 

आकृति एकः (हिड्दै) मेरो मृत्यु हुनुभन्दा पहिले मेरी जीवनसँगीलाई एकपटक विश्वका केही सुन्दर ठाउँहरु घुमाउने धोको जागेको थियो । घुमाउन लाने बाचा समेत गरीसकेको थिएँ तर त्यो सबै पुरा नभई मेरो असामयिक निधन भयो । अहिले मलाई मेरो मृत्युमा भन्दा पनि मेरो त्यो अपुरो काम सम्झेर पीडा भइरहेको छ । यस्तो दुःखको बेला तपाइहरु अझ मेरो शवमाथी हकदाबी गरेर मलाई किन अझ दुःखित तुल्याउनुहुन्छ ? मलाई धक फुकाएर रुन दिनोस् । बिन्ति छ तपाइहरुलाई ।

आकृति चारः तपाई केही बेर रुन सक्नुहुन्छ महाशय ! तर मेरो पनि कथा सुन्नु पर्छ सबैले । म पनि तपाइभन्दा कम्ति दुःखित छैन मेरो मृत्युमा ।

आकृति तीनः हुन्छ । भन्नूस् ।

 

                (आकृति तीन शवको नजिक जान्छ । निकै बेर घुरेर हेर्छ । अनि बोल्न थाल्छ ।)

 

आकृति चारः म एक पुत्र हुँ । मेरो जन्म एक सम्पन्न परिवारमा भएको थियो । मेरो नाम अस्तित्व राखिएको थियो । सन्तान ढिला जन्मिएकोले म नबिग्रियो् भनेर आमाबाले मलाई सानैदेखि आफुभन्दा धेरै टाढा स्कुलको छात्रबासमा राखिदिनु भएको थियो । मलाई त्यस छात्रबासमा खुबै डर लाग्थ्यो होस्टल बार्डेनर केही बदबास केटाहरुदेखि । उनीहरु मलाई खुबै सताउँथे । म यो कुरा बालाई भन्थे र घर बसेर पढ्छु भनी रोइकराई गथें । मेरो कुराको सुनुवाइ हुँदैनथ्यो ।

आकृति तीनः तपाइ त्यस छात्रबासबाट भाग्नु भएन ?

आकृति चारः यस्तो अवसर कहिल्यै आएन । लामो समय मैले त्यही अघोषित् यातनागृहमा बसेर पढ्नु प¥यो । मलाई आफुदेखि टाढा राखेर पढाउने आमाबाप्रति बिस्तारै मेरो रुची र माया घट्दै गयो । म एकलकाँटे र स्वार्थी बन्दै गएँ । मैले सबैभन्दा बढी आफुलाई माया गर्न थालें । त्यसपछि मैले आमाबालाई कहिल्यै एक असल पुत्रका दृष्टिले हेरिन । बुढेसकालमा उनीहरू तिर्थाटन लगिदिन भन्थे । म सुने पनि नसुनेझैं गर्थें । मलाई घरपरिवारसँग कुनै सहानूभूति र लगाव थिएन । त्यसैले एकदिन मैले उपाय निकालें । आमाबालाई मैले वृद्धाश्रममा लगेर राखिदिएँ । सहरको एउटा नाम चलेको वृद्धाश्रममा उनीहरुलाई राखेको थिएँ । उनीहरुले पनि त मलाई छात्रबासमा राखेका थिए । मैले पनि उनीहरुलाई वृद्धाश्रममा लगेर राखिदिएँ । यस कुराको मलाई रत्तीभर पछुतो थिएन । अचानक एकदिन वृद्धाश्रमबाट फोन आयो ।

 

(आकृति चार बोल्दाबोल्दै भक्कानिएर रुन थाल्छ । केही बेर रोइ नै रहन्छ ।)

 

आकृति तीनः के भयो महाशय ! भन्नूस् सबैकुरा । भन्यो भने मन हलुङ्गो हुन्छ । वृद्धाश्रमबाट कस्तो खाले फोन आएको थियो ?

आकृति चारः (बिस्तारै सानो स्वरमा) बुढाबुढीहरूले आत्महत्या गरेछन् । मर्नु अघि मेरो नाममा चिठि लेखेर छाडी गएका रहेछन् । मैले त्यो चिठि खोलेर हेरें । त्यसमा के लेखिएको थियो भने ... के लेखिएको थियो भने ... (बोल्दाबोल्दै फेरी डाँको छोडेर रुन थाल्छ)

आकृति तीनः आफुलाई सम्हाल्नूस् महाशय ! त्यस सुसाइड नोटमा के लेखिएको रहेछ । हामीलाई बताउन चाहनुहुन्छ ?

आकृति चारः (सम्हालिदै) म भन्छु । मैले यो भन्नै पर्ने हुन्छ । त्यस पत्रमा मेरो आमाबा दुवैको हस्ताक्षर थियो । पत्रमा लेखिएको मेरा आमाबाको भनाइ अनुसार म त अनाथालयबाट ल्याइएको एक अनाथ रहेछु । ती आमाबाले आफ्नो कुनै सन्तान नभएकोले मलाई अनाथालयबाट घर ल्याउनु भएको रहेछ । उहाँहरुले मलाई कहिल्यै कुनै कुराको कमी हुन दिनु भएन । म उहाँहरुको आफ्नै रगत होइन भन्ने कुराको भानसम्म पर्न दिनु भएन । जतिबेला मैले यो कुरा थाहा पाएँ । उहाँहरु यो संसारबाट गइसक्नुभएको थियो । त्यतिबेला म जस्तो कृतघ्न मानिस कोही छैन होला जस्तो लागेर मेरो मुटु भत्भती पोल्न थाल्यो । छात्रबासमा राख्नु मेरै हितको लागि थियो भन्ने कुरा मैले बुझ्न सकिन । मैले यसको बदला लिन ती महामानवहरुलाई वृद्धाश्रममा लगेर राखें । यस कुराले म खुबै विचलित भएँ ।

आकृति तीनः तपाइको कथा मैले पहिले पनि सुनिसकेको, पढिसकेको वा आफैले भोगिसकेको जस्तो लाग्छ ।

आकृति एकः मलाई पनि त्यस्तै लागिरहेको छ ।

आकृति दुईः मलाई पनि केही कुराको सम्झना भइरहेको छ । तर यतिबेला मलाई पुत्र होइन पिताको भूमिका बढी याद आइरहेको छ । त्यसपछि के भयो भन्नूस् त ।

आकृति चारः त्यसपछि म विरामी परें । वास्तवमा म जीवनदेखि थाकिसकेको थिएँ । मलाई एक असल पुत्र हुन नसकेकोमा ठूलो ग्लानीबोध भइरहेको थियो । हिजो निकै तनाव भएर अल्कोहल बढी नै पिएछु । राती टेलिभिजन हेर्दा हेर्दै मेरो मृत्यु भएछ । तपाइहरु नै भन्नूस् त, मरिसकेपछि अब म आफैलाई के सजाय दिऊँ ? मेरो कृतघ्न शरीरलाई म अब यहाँ डाक्टरहरुले टुक्राटुक्रा पारेको हेरेर पश्चाताप गर्न चाहन्छु । त्यसैले यो मेरो शव भएको ठाउँमा म आएको हुँ । बिन्ति छ मलाई मेरो अन्तिम इच्छा पुरा गर्न दिनुहोस् ।

आकृति तीनः हतार नगर्नुस् महाशय ! दुई जनाको कुरा सुनिसकेपछि मेरो कुरा पनि सुनिदिनुस् । त्यसपछि जे जस्तो निर्णय हुन्छ । म मान्न तयार छु ।

आकृति दुईः भन्नूस् । भन्नूस् । तपाइले मात्र नभई नभई मलाई पनि आफ्नो कुरा राख्ने हक लाग्छ । पहिला तपाइ नै भन्नूस् ।

आकृति तीनः यो मेरो शव हो भन्नुको एउटै कारण छ । मैले यो शवको जिवित शरीरसँग धेरै खेलवाड गरें । मैले अघि नै भनिसकें, म एक असफल प्रेमी हुँ भनेर ।

आकृति एकः हुँ होइन थिएँ भन्नूस् महाशय यदि तपाइको मृत्यु भइसकेको हो भने ...

आकृति तीनः धन्यवाद तपाइलाई ! म एक खराब प्रेमी नै थिएँ । अझ भनौं प्रेमको नाममा म कलङ्क  थिएँ । मेरो जीवनकालमा एकैपटक दशौंजनासम्मसँग सम्बन्ध राखें । सबैलाई प्रेमको नाटक गरी रहें अनि उनीहरुको देहलाई भोगीरहें । यो कुरा मेरो घरपरिवारलाई थाहा थियो । मेरी पत्नी, आमाबुबा र मेरा छोराछोरीलाई समेत थाहा भइसकेको थियो । त्यसैले उनीहरु मलाई घृणा गर्थे । मेरो घर, परिवारमा कसैसँग पनि मेरो राम्रो सम्बन्ध थिएन । त्यसैले म सधैंसधैं नयाँ सम्बन्धको खोजीमा हुन्थें ।

आकृति एकः क्वाइट इन्ट्रेस्टिङ ! रुचीकर रहेछ तपाइको आत्मकथा ! अगाडी बढौं ।

आकृति तीनः धन्यवाद महाशय ! मैले जीवनमा धेरैलाई मन पराएँ । धेरैको जीवन बिगारें पनि । म एकजनाको प्रेममा मात्र रमाउने मानिस थिइन । तर जीवनको उत्तराद्र्धमा आइपुगेपछि मलाई आफैदेखि घृणा लाग्न थाल्यो । मैले जानाजानी सबैलाई धोका दिइरहेको थिएँ । विशेषगरी ती महिलाहरु जो मेरो एक इशारामा मसँग जीवन विताउने सपना देख्दै दौडिदै आइपुग्थे । उनीहरुलाई पनि मैले अन्याय गरें । म एक असल पति थिइन । म एक असल पुत्र पनि थिईन । म एक असल प्रेमी पनि बन्न सकिन । मान्छेको यति ठूलो विद्रुप अनुहार मैले देखेको थिइन । मलाई आफ्नै अनुहारदेखि केही दिनदेखि डर लाग्न थालेको थियो । मैले ऐना नहेरेको पनि महिना दिन हुन लागेको थियो । हजामकोमा जाँदा ऐना छोपेर दाह्री काट्न लगाउँथें । म अर्धपागल जस्तो बनेको थिएँ । मलाई यो जीवनदेखि वाक्क लागेको थियो । त्यसैले विभिन्न सहरमा मानिसहरु आन्दोलनमा भटाभट मरीरहेको देखेर मलाइ पनि मर्न मन लाग्यो । उनीहरु देशका निम्ति मरिरहेका थिए । म मेरै निम्ति मरें । फरक यति हो । अहिले मेरो शव मेरो आँखा अगाडी छ । म मेरो मृत्युमा अब खुसी मनाऊँ कि दुःख मनाऊँ ? म अन्योलमा छु । (शव छुन खोज्छ । छुँदैन । एकोहोरो हेरि मात्र रहन्छ ।)       

आकृति दुईः पीडा उस्तै हो । हामी पात्र मात्र फरक हौं । आवरण मात्र फरक हो । मान्छे भएर जन्मिसकेपछि हरेक भूमिका गर्नु पर्ने रहेछ । म पनि एउटा भूमिकामा थिएँ ।

आकृति एकः कस्तो भूमिकामा ?

आकृति दुईः पिताको भूमिकामा । म पनि आदर्श पुत्र थिइन । न त म उत्तम पति नै थिएँ । म महान प्रेमी पनि बन्न सकिन । न त असल पिता नै बन्न सकें ।

आकृति एकः हुन सक्छ ।

आकृति चारः अनि तपाइ के भन्न चाहनु हुन्छ अब ? 

आकृति दुईः म यति मात्र भन्न चाहन्छु । तपाइहरु सबैले भन्नु भएको कथा मेरो पनि साझा आत्मकथा हो । हामी सबै एउटै मानिसका फरक फरक व्यक्तित्व हौ । मलाई अरु भूमिकाले भन्दा पनि एक खराब पिता बन्नु परेकोमा पश्चात्ताप लागिरहेको छ । आफ्नो सन्तानहरुलाई मैले कहिल्यै समय दिइन । उनीहरुलाई म मन पराउँथें तर मैले कहिल्यै उनीहरुसँग मिठो वचनले बोलिन । म सधैं आफ्नै काममा व्यस्त भएँ । रमाएँ । विशेषगरी जीवनभरी मैले घृणा गरेको मेरी पत्नीले मृगौला दान दिएर मलाई बचाएपछि, मेरो आम्दानीको स्रोत सुक्दै गएको थाहा पाएर रगत पिएर ढाडिएको जुकाले झैं मेरा कथित प्रेमिकाहरुले मलाई छाडेपछि र वृद्धाश्रमबाट आमाबाले लेखेको सुसाइड नोटबाट म एक अनाथ हुँ भन्ने कुरा थाहा पाएपछि ... म मान्छे रहिन । मैले मान्छे हुनुको न्युनतम योग्यता समेत गुमाइसकेको थिएँ । मैले आफ्ना छोराछोरीलाई सम्झिएँ त्यसपछि । म एक अनाथ भएर पनि मैले असल पिता पाएको थिएँ । मेरा छोराछारी अनाथ थिएनन् तर उनीहरुले पिताको अनूभूति कहिल्यै गर्न पाएनन् । त्यसैले मैले घर परिवार र छोराछोरीलाई अब समय दिने सोच बनाएको थिएँ । मेरो स्वाभाव र व्यवहार पनि बदलिदै गएको थियो । तर अचानक मेरो मृत्यु भयो । म एक अभागी पिता हुँ जो यतिबेला आफ्नै शव हेरेर टुलुटुलु बस्नु परिरहेको छ ।

 

(सबै मुखामुख गर्छन् । मुर्दा शून्यता छाउँछ । एकछिनपछि हावा, हुरी चल्न थाल्छ । चारै आकृतिहरूलाई हावाले उडाउला झै गर्छ । हुरी रोकिन्छ । स्ट्रेचरबाट शव विस्तारै उठ्छ । आकृतिहरू डराउँछन् । शव रङ्गमञ्चको मध्यभागमा जान्छ । प्रकाश शवमाथी मात्र केन्द्रित हुन्छ ।)

 

आकृति एकः मेरो शव हिड्न थाल्यो !

आकृति दुईः मेरो शव हिड्न थाल्यो !

आकृति तीनः मेरो शव हिड्न थाल्यो !

आकृति चारः मेरो शव हिड्न थाल्यो !

 

(शव रङ्गमञ्चबाट बाहिरिन थाल्छ । नेपथ्यमा शान्तिको मन्त्रोच्चारण हुन थाल्छ । असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्माऽमृतं गमय । ॐ शान्तिः शान्तिः शान्तिः ।।”)

 

आकृति एकः शायद अब मेरो महाप्रस्थान हुने बेला भयो ।

आकृति दुईः शायद अब मेरो पनि महाप्रस्थान हुने बेला भयो ।

आकृति तीनः शायद अब म पनि महाप्रस्थान गर्नेछु ।

आकृति चारः शायद अब मेरो पनि महाप्रस्थान हुनेछ ।

 

(शव रङ्गमञ्चबाट बाहिरिन्छ । आकृतिहरू पनि एकएक गर्दै शवसँगै बाहिरिन्छन् । पालेको प्रवेश हुन्छ । शवघरमा खाली स्ट्रेचर देखेर पाले झस्किन्छ । उसले चारैतिर शव खोज्छ । कतै पनि भेट्दैन । ऊ बोल्न खोज्छ तर ऊको आवाज निस्कदैन । रङ्गमञ्चको प्रकाश एक्कासी निभ्छ ।)

 

 

पोष्ट बक्स नं. २३३४४, काठमाडौं

इमेल krishnayatri@gmail.com

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |