मौसमी मानव
होमनाथ सुवेदी, (उडब्रिज, भर्जिनिया)
आयो मौसम यो कडा शिशिरको रित्तै भए पातल
यौटा पात उडेर होइन गए एकेक शाखा तल ।
झार्यो झर्झर वातले पतकरै खातै परे गाजल
जन्ती झैं दुलहा पखालिन गए त्यै मृत्यु हो बादल ।।
त्यो हो मौसमको करामत यहाँ रोकेर रोकिन्न यो
त्यो हो पागल भन्दछन् नरहरू टारेर टर्दैन त्यो ।
रोपेको बिरुवा असार भरमा उम्रेर फैलन्छ त्यो
लागे मङ्सिर मात्र झर्दछ तलै कालै नकाटेर हो ।।
नौलो काल हुदैन हैन पहिलो ऐले यही व्याप्त छ
मान्छे पात पतिङ्गर सबै काखै भरी च्याप्तछ ।
हाम्रो मौसम वर्ष सयको बूढा भए तान्दछ
मान्छे आयु बुझी भएर बुझको मर्नै परे मान्दछ ।।
मेरो वर्ष छयासी भो घरघरै साथीहरू रित्तिए
मैले ढल्न कुरेर हेर्दछु बसी पातै झरी छुट्टिए ।
मेरो जन्म उमेरका फलहरू पाकेर झर्दै गए
मान्छेको ऋतु एकमा मसरिका जन्मेर मर्दै गए ।।
मान्छे मौसममा फली प्रकृतिको सौन्दर्यमा शिक्षित
मान्छेको परिपालना पनि गरी जान्छन् बुझी दीक्षित ।
जानी वा अनजानमा सब झरे आफै वयोवृद्ध छु
पर्खी हेर्दछु त्रासले कुन पला खाल्टो भरी पर्दछु ।।
चिन्ता छैन कुनै वृथा मरणको झारोस् सबै पातल
मारोस् फूलहरू सबै सिजनका बालेर दावानल ।
हाम्रो यौवन हा थियो गजबको नाच्यौं बज्यो मादल
जान्छौं, वृद्ध उमेर भो सिजनको लाग्यो अरे बादल ।।
शार्दूलविक्रीडित
म स ज स त त गु
ऽऽऽ ।।ऽ ।ऽ। ।।ऽ ऽऽ। ऽऽ ।ऽ