हालसालैका लेखहरु : शक्ति पूजा,(बासु श्रेष्ठ) आइदेउ नव वर्ष हर्ष बटुली नेपाल हाँस्ने गरी,(दुर्गा रिजाल) नयाँ वर्षको शुभकामना,(भरतमणि मरहट्टा ) गजल,(इन्जिनियर राकेश कार्की) ठूलो बन्ने कसरी?,(विक्रम गौतम) संवाद संस्कृतिको उत्तरआधुनिक प्रयोजनामा शर्मिला खड्का,(कृष्ण गौतम) म हुॅ आजकी नारी,(लालीगुराॅस) जागित्राहरु ,(गणेश खड्का ) झरी पर्दा सम्झिन्छु......,(गणेश खड्का) ह्याप्पी भ्यालेन्टाइन्स डे,(विक्रम गौतम)

झरी पर्दा सम्झिन्छु......

गणेश खड्का, ( )

अचेल झरी पर्दा-

थुप्रै-थुप्रै पुराना झरीहरु सम्झिन्छु म

जुन झरीहरुले मलाई झरीसँग प्रेम गर्न सिकाए,

झरी पर्दा सम्झिन्छु मेरो बालापन

अभिभावकको आँखा छली-छली झरीमा रुझी खेलेको

, चिसोले हनहनी ज्वरो आउँदासमेत

झरी परेको आँगनमा उफ्रेको

झरीमा रुझ्दा ज्वरो आउँछ भन्ने ज्ञान जान्न थालेपछि-

पिसाबले कटकटी खाँदा पाइखाना जान नसकेर सू...गर्न

बलेसीबाटै तुर्क्याएको सम्झिन्छु झरीसँगै सार मिलाउँदै l

 

झरी पर्दा सम्झिन्छु

मेरो नादानीपन

झरी परेकै बेला मौका छोपेर छट्टु स्यालले

गोठालो गरिरहेको मेरै आँखाअगाडीबाट

छडी पलाको रहरलाग्दो कौडे भाले सुईंकाइदिएको

अनि मेलाबाट साँझमा घर फर्किएकी आमासँग

कौडे भाले गुमाउनु परेको दर्दनाक दृश्य र घटना विवरण

डाँको छोडेर रुँदै पेश गर्नु परेको

, साउने मकै-बारीमा

हराएको स्याल खेद्न दगुर्दा मकैको पातले पाछेको

आफ्नै अनुहारप्रतिको टिठलाग्दो फ्लासब्याक l

 

झरी पर्दा सम्झिन्छु...

छिमेकीको काँक्राको झ्याङ्ग

छिमेकीहरु झरीमा घरभित्र भुलेको अन्दाज गरी

अँगालोभरिको काँक्रो चोरेर खोल्मामा लुकाएको थिएँ

र मादल जत्रो त्यो काँक्रो एक्लै खाने हिम्मत नआएर

त्यसै कुहाएको थिएँ परालभित्र खोल्मै दुर्गन्धित पारेर l

 

झरी पर्दा सम्झिन्छु...

माली गाईको लात

जसलाई पेटभरी घाँस खान दिन नसक्दा

झरीमा घाँस काट्न अल्छी लागेकोले 

साँझमा दुध दुहुन बस्दा

भोको पेटको झोंकमा माली गाईले

दुधको सट्टा बडो प्रेमपूर्वक

हर खुस्किनेगरि दिएको थियो आफ्नो जोर लात l

 

झरी पर्दा सम्झिन्छु...

भूईंचालो गएको साल

जुन सालको भदौरे झरी आँखाबाट आँशु भएरै बगेको थियो

जीवनप्रतिको मोह र मृत्युसँगको भयका कारण

भूईंचालोले चर्किएको पुर्खौली घर छोडेर

सरकारले दिएको त्रिपाल टाँगेर टार-बारीमा

नभागुन्जेल पुरै बर्खा, झरी बिसाएर शरद ऋतुको पोल्टोमा  

चिसो भुइँमा स-परिवार ननिदाई कयौं रात गुजारेका थियौं

फेरी अर्को भूईंचालो आउला कि भन्ने आशंका र त्रासमा l

 

झरी पर्दा सम्झिन्छु...

फुलमायाको कुर्कुच्चा,गोलिगाँठा र पाँसुला

डोकोबाट तरतरी पानी चुहाउँदै घाँसको भारी बोकेर

अघि-अघि ऊ र पछी-पछी म

घुर्बिसेको फेदीबाट उकालो लाग्दा

एकछिन उभिन लगाएर हिंडाईलाई हठात्

उसको कुर्कुच्चादेखि पाँसुलासम्मै

ढाडिएका खरी जुकाको लस्कर टिप्दा

तरर... केशबाट झरी बर्साउँदै

जुकाको डरले कहालिंदै तर्सेकी ऊ

लागेको थियो,

उसको तिघ्रामा अझै पनि जुकाहरु लागिरहून् 

र म टिपिरहन पाऊँ l

 

झरी पर्दा सम्झिन्छु...

दिलमायाको लुङ्गी

असारे खेतका गह्राहरुमा झरी परेर

समाहाले सङ्गीत उराल्दै गर्दा रोपाईंको दिन

सङ्गी-समुह छोडेर खले गराबाट फोक्टोमा धान रोप्न

दिलमाया एक्लै स्थानान्तरण हुँदा

बाउसे गर्ने बहानामा मैले उसैसँग जिस्किन

खनेको इत्रिँदो खाडलमा झ्वाम्म ऊ डुब्दा

उसको मुखबाट निस्केको

गालीको फोहरा र अनुहारमा छाएको लालिमा

त्यहीबेला धानका गाभाहरु हिलोमा रोप्न ऊ निहुरिंदा

अल्लारे मेरो बाउसे मन कल्पिन्छ...

तत्क्षण गरेको झरिलो स्पर्श

झरीमा निथ्रुक्कै भिजेको

आकर्षक उसको वक्षस्थल र एक जोर स्तन 

जसले टिपिक्कै टाँसीएको चोलीको रक्षाकवच तोड्न खोज्दै थिए 

घुँडा माथि भन्दा अझै माथि उक्लिन उद्दत उसको लुङ्गीको फेर

जसले मलाई बाउसे गर्न छोडेर

झमझम झरीमा हिलो खेल्न प्रेरित गरेको थियो l

 

झरी पर्दा सम्झिन्छु...

धोबी खोला र हङ्ग्रायो खोला

जतिबेला चम्पे बजारमा लाखे हेरेर घर फर्किंदा

लाहुरेका छोरीहरुलाई हात समातेर खोला तारेको

उनीहरुका हातबाट मेरो हातमा

सुटुक्कै सरेर आएको देशी अत्तर

जसको सुगन्ध र ति मुलायम हातहरुको

स्पर्शानुभूति बचाइराख्न आफ्ना हात सुँघ्दै

एक हप्ता सम्म नजानी-नजानी चम्चाले भात खाएको

हात धुँदा त्यो अत्तरको सुवासना र ति हातको कोमलता

पखालिने भयले l

 

झरी पर्दा सम्झिन्छु...

मनमायाको मजेत्रो

पाठशालाबाट घर फर्किंदा बाटैमा माघे झरीले भेटेपछि

स्कुल र घरको बीच बाटोमा पर्ने धर्मशालामा ओत लाग्दा

जाडोले लुगलुग काँपेको मेरो आङको टिठमा

घमलङ्गै ओढाईदिएकी थिई उसले ओढेको रेशमी मजेत्रो

, छोपिदिएकी थिई मलाई उसँगै मजेत्रोभित्र

जतिबेला उसको मुखबाट निस्केको तातो सास

र छातीबाट उठेको न्यानो बाफले

बेस्मारी तातेको थिएँ म

माघे झरीमा पनि बैशाखजस्तै l

 

अचेल झरी पर्दा ...

धेरै-धेरै अतितका झरीहरु सम्झिन्छु म

गोठालो जाँदा लामकाने बाख्रो झरी सँगै हराउँदा

बेलुका घरमा भेटेको चड्कन चिउरा

कालीखोला र मालबाँसेमा दाउरा-घाँस जाँदा

घाम छउन्जेल गाउँले पिरतीमा जुहारी गाउने

अनि झरी पर्न थालेपछि रित्तै घर फर्किनु पर्दाको लज्जास्पद नियति

गोजीभरिका चिनिया मकै र नेपाले भटमास

तावाभरिको कोदाको भुकुरचाँदे रोटी

घुम र बर्सादी, हलो र कोदाली

इत्यादि...इत्यादि..................!

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |