हालसालैका लेखहरु : शक्ति पूजा,(बासु श्रेष्ठ) आइदेउ नव वर्ष हर्ष बटुली नेपाल हाँस्ने गरी,(दुर्गा रिजाल) नयाँ वर्षको शुभकामना,(भरतमणि मरहट्टा ) गजल,(इन्जिनियर राकेश कार्की) ठूलो बन्ने कसरी?,(विक्रम गौतम) संवाद संस्कृतिको उत्तरआधुनिक प्रयोजनामा शर्मिला खड्का,(कृष्ण गौतम) म हुॅ आजकी नारी,(लालीगुराॅस) जागित्राहरु ,(गणेश खड्का ) झरी पर्दा सम्झिन्छु......,(गणेश खड्का) ह्याप्पी भ्यालेन्टाइन्स डे,(विक्रम गौतम)

जागित्राहरु

गणेश खड्का , (हाल : फ्रिगेट आइल्याण्ड , सेसेल्स )

स्थान :

( एउटा बिशाल भवनको भव्य कोठा l तर जिर्ण, भित्ताहरु चर्किएका l )

समय :

( मध्यरातको आसपास )

दृश्य / वातावरण :

( नेपथ्यमा रात्री किटपतङ्ग कराएको आवाज सँगै मंचको पर्दा उघ्रिन्छ l अँध्यारो मंचको   पछिल्लो भागमा निलो प्रकाशको गोलाकार किरण बिस्तारै प्रसारित हुन्छ,- जहाँ एउटा अग्लो बैठक निर्माण गरिएकोछ, त्यसको बिचमा एउटा भव्य घुम्ने कुर्सी छ र त्यो कुर्सीमा एक जना मोटो,खाइलाग्दो, भुँडे मान्छे - खम्बसिंह गजधुम्म परेर कुनै गम्भीर सोचमा डुबे जस्तो गरेर अगाडिको टेबलमा खुट्टा तेर्साएर बसेकोछ l पृष्ठभूमिमा नेपालको बिशाल नक्शा अनि छेउमा नेपालको राष्ट्रिय झण्डा पनि देखिन्छ l त्यो अग्लो खण्डदेखि ठिक तल दायाँबायाँ अरु ५-६ जना उस्तै मोटाघाटा पुरुष तथा महिलाहरुको आकृति हातमा इँटा,ढुङ्गा,लट्ठी,भाला,चुप्पी,टायर...आदि बोकेर आक्रोशित मुद्रामा उभिएका छन् l त्यहाँ छरिएको मधुरो प्रकाशका कारण उनीहरुलाई धुमिल आकृतिमा मात्र देख्न सकिन्छ l उनीहरुको पहिरन नेपालका बिभिन्न भूभागमा रहने सम्प्रदायको आ-आफ्नै वेशभूषामा फरक-फरक छ l यत्तिकैमा खम्बसिंह आसित बैठक काम्न थाल्दछ l ऊ बसेको कुर्सी हल्लिन्छ l बाहिर अस्पष्ट रुपमा मानव चित्कारको आवाज सुनिन्छ l खम्बसिंह कुर्सीबाट हठात् उफ्रिन्छ, एकछिन ठिङ्ग उभिएर बाहिर आवाज आएको इलाकातर्फ ध्यान आकृष्ट पार्छ l फेरी भयभीत हाउभाउले चारैतिर हेर्छ र एक्लै फ़तफ़ताउन थाल्दछ l

 

मोटे : ( मंचको अग्रभाग तथा कुर्सीको वरिपरी हेरेर होतोत्साही भाव प्रस्तुत गर्दछ ) होइन, के हुँदैछ यहाँ...? यो पृथ्वी किन हल्लिंदैछ यसरी ? यो कुर्सी,यो बैठक,यो जमिन,यो भित्तो,यो महल....सबै-सबै....! किन थरथरी कामेका हुन् यिनीहरु...? झन् यो मुटु.....! लौ न के हुन लाग्यो यहाँ...? ( दर्शकदीर्घातिर हेर्दै ) के भुइँचालो गएको हो अहिले भरखरै ? उफ्....कोहि बोल्दैनन् l कसैले थाहा पाएनन्, सबै-सबै निदाएछन् l सायद पराकम्पन हुनुपर्दछ यो l ( फेरी चारैतर्फ नियालेर हेर्छ,छाती छाम्छ,पसिना पुछ्छ ) साह्रै डरमर्दो ठाउँमा बसिएछ बस्न पनि l कुन दिन यो महल नै गर्ल्यामगुर्लुम ढल्ने हो अनि उठ्ला मेरो पनि चोला l भुइँचालो भन्दा अधिकतम रेक्टर स्केलमा हल्लिन्छ मुटु , र पनि यो ठाउँ छोड्नै मन लाग्दैन l के भा’को भा’को ....! कस्तो मोह होला यो....?

( पुन: कुर्सीमा गएर थचक्क बस्छ र झोक्राए झैं गर्दछ l एकछिन सन्नाटा...l )

यसैबीच मिनिस्कर्ट र पारदर्शी पहिरनमा ठाँटिएका दुई जना नौजवान युवतीहरु – रुपवती र कामवती हातमा चौरासी व्यन्जन परिकार सहितको ट्रे र मदिराका बोतल अनि गिलास लिएर प्रवेश गर्दछन् l उनीहरु सिधै त्यो कुर्सीमा विराजमान मोटे व्यक्ती खम्बसिंह को आसन अगाडी जान्छन् र सम्पूर्ण खाद्य / पेय पदार्थ टेबलमा राखिदिंदै केहि भन्छन् पालैपालो l प्रकाश निलोबाट चम्किलो/उज्यालोमा परिणत हुन्छ l युवतीहरुको आगमनले खम्बसिंह झस्किन्छ )  - भुइँचालो...थाहा पायौ ...???

 

रुपवती : ( खाद्द्य पदार्थको ट्रे टेबलमा राख्दै केहि व्यंग्यात्मक शैलीमा ) यी हजुर ...! यो बँदेलको सेकुवा, कालिजको पक्कु,लोकल कुखुराको सुप,खसीको भुटुवा,तित्राको मुटु-कलेजो,मलेखुको माछा,धराने कालो बंगुरको ह्याकुलो,पोखराको ट्राउट,ताप्लेजुङ्गको सुकुटी, मुस्ताङ्गको स्याउ,धनकुटाको सुन्तला,नुवाकोटको अंगुर, भक्तपुरको जुजु धौ,चितवनको घिउ, पहाडको कालो दाल, तिलको अचार,झापाली बासमती चामलको भूजा र हिमालबाट आएको यार्सागुम्बाको थोरै चट्नी.....! ( केहि लजाए झैं मुन्टो बटार्छे )

खम्बसिंह : ( मुन्टो उठाएर जिब्रो मिठ्याउदै ) – अघि क्या त, यो पुरै पृथ्वी हल्लिएको थियो नि ! चाल पाएनौ...?

कामवती : ( पेय पदार्थको ट्रे टेबलमा राख्दै व्यंग्यात्मक शैलीमै ) यो  चाहिं पूर्व-पश्चिम,उत्तर-दक्षिण चारैतिरबाट आएको बिदेशी कोशेली l साथमा स्वदेशी उत्पादन पनि छन् l मार्फाको ब्रान्डी,भोजपुरको तीनपाने र उपत्यकाको अईला...l ( फिस्स हाँसेर खम्बसिंहतिर हेर्छे )

खम्बसिंह : ( लोभिएर आङ्ग तन्काउँदै ) – त्यत्रो ठुलो भुइँचालो गयो , पत्तै पाएनछन् यिनीहरुले त l  

रुपवती : खोइ, हामीले त केहि थाहा पाएनौ l सायद हजुरलाई भ्रम भयो l

कामवती : भुइँचालो गएको सपना देख्नुभएजस्तो छ हजुरले l

( युवतीहरु खितीती.. हाँस्छन् )

रुपवती : ( टेबुलतिर सङ्केत गर्दै ) – भूजा हाजिर छ हजुर !

खम्बसिंह : ( जिब्रो फड्कार्दै हास्य पारामा ) हिमालको जल,..पहाडको फल,.. र मधेशको चामल........l समावेशी भोजन l ( थोरै तनाव मुद्रामा ) समयमा खान पनि पाइँदैन l  बिहानदेखि बेलुका अझ राती अबेरसम्म पनि काम...काम l बैठक,छलफल,सभा,सम्मेलन,समारोह,उद्घाटन,भित्री-बाहिरी भेटघाट ......l जिम्मेवार ठाउँमा बसेपछि भ्याउनै साह्रो, निर्वाह गर्नै गाह्रो...l

रुपवती : ( मस्किंदै ) त्यहि त हजुर, अब ज्यूनार गरिबक्सियोस् l

कामवती : ( लस्किंदै ) हो नि हजुर, अब आरामले लिईबक्सियोस् l

खम्बसिंह : लयमा बोल्छौ तिमीहरु, मज्जा लाग्छ मलाई l

युवतीहरु : ( एकै स्वरमा ) हजुरको तालले लयात्मक बनायो हाम्लाई l  

खम्बसिंह : तिमीहरु त कलाकार बन्नुपर्ने l

रुपवती : हजुरको निगाहा भए अझै पनि.....! ( लजाउँछे )

कामवती : हजुरको छेउमा भएसी यसै कलाकार नि.....! ( सर्माउँछे )

खम्बसिंह : फुर्काउन सिपालु छौ तिमीहरु l के जागिर खोज्या हौ ? ( गलल हाँस्छ )

रुपवती : यो भन्दा राम्रो जागिर के होला हजुर...?

कामवती : हामीलाई यहि जागिर टिकिरहे धन्य प्रभु...!

खम्बसिंह : म टिके तिमीहरु टिकीहाल्छौ नि, के पिर मान्छौ ?

रुपवती : मेरो दिनरातको प्रार्थना छ हजुर !

कामवती : मेरो आराधना नै यहि छ प्रभु !

खम्बसिंह : तिमीहरु रमाइला मात्र छैनौ, मायालु पनि छौ l मेरो सहयोगी मात्र होइनौ,मेरो शुभचिन्तक पनि हौ l मेरो भलो चिताउछौ तिमीहरु, र त तिमीहरुको पनि भलो हुन्छ l

रुपवती : ( झस्केर जिब्रो टोक्दै ) आबुई.....हजुरको खाना सेलाइसक्यो l

खम्बसिंह : ( रोमान्चक हुँदै ) म खाइहाल्छु l खाईसघाउछ्यौ तिमी पनि...?

रुपवती : ( लजाउँदै ) होइन, हजुर खाइबक्सियोस् l मैले खाइसकें अघि नै, आफ्नो औकात अनुसारको l

खम्बसिंह : ( कामवतीतिर हेर्दै ) तिमी...! पिईसघाउछ्यौ त मलाई...?

कामवती : ( चन्चले हुँदै ) अहिले अलिक मुड छैन हजुर ! पछी पिउँला नि हैसियत मिलेमा l

खम्बसिंह : ( केहि रिसाए झैं गरी ) के गर्छौ त त्यसोभए...? मेरो छेउछेउमा बस्छौ त दायाँबायाँ...? आओ...!

रुपवती : हामी खानपिन भन्दा बढी काम सघाउन जन्मेका हौँ मालिक ! अहिले हजुर खाइबक्सियोस् व्यन्जन सेलाइसक्यो l हजुर अघाउनु पर्यो नि सर्वप्रथम त...! ( गम्भीर हुन्छे )

कामवती : थप्नको लागी आइरहन्छौँ हामी बेलाबेलामा l सँगै बस्न त के सुत्नै पनि आइएला बोलावट भए l पहिले हजुर मुडमा आउनु परेन ...? ( खितिति हाँस्छे )

खम्बसिंह : ( केहि भावुक हुँदै ) तिमीहरु जान्छौ, एता म नितान्त एक्लो महशुस गर्छु l खोइ के भो के, अचेल मलाई असाध्यै न्यास्रो लाग्न थालेको छ l किन-किन डर पनि लाग्छ l कता-कता आफ्नै छाया सँग पनि तर्सिने गर्दछु l यो आशनबाट पत्तै नपाई ढल्छु कि जस्तो भय उत्पन्न हुन्छ घरीघरी l मैले सबैलाई खुशी पार्ने प्रयत्न गरेकै छु l सबै खुशी नै होलान् जस्तो पनि लाग्छ l तर यतिका धेरै सहयोगीहरु हुँदा-हुँदै पनि यो आशन किन डगमगाउन थालेको भान हुन्छ मलाई...? मेरा समर्थकहरु नै पो मेरा बैरी बनेर प्रकट होलान् कि भन्ने अज्ञात भय र आफैं भित्रको अमुक त्रासले हरघडी गाँज्ने गरेको छ मलाई यतिबेला l पहिला यहि आशनमा एक्लो विराजमान प्रीतिकर लाग्दथ्यो l अहिले त चारैतिर भरथेग गरिदिने आफन्तहरु वरिपरी बसिदिए पनि हुन्थ्यो जस्तो लाग्दछ l तिमीहरु यहाँ आउँदा निक्कै सादर थियो, जाँदा फेरी रित्तो...! ( लामो सास तानेर युवतीहरु तर्फ हेर्छ )

रुपवती : ( सम्झाउने कोशिस गर्दै ) कहिलेकाहीं त्यस्तै हुन्छ सर ! मनै त हो,- कहिले मौलाउँछ, कहिले बौलाउँछ l बलियो पार्नु पर्दछ मन l यी हामीले जस्तो....छैन धन, बलियो मन...! ( आफूतिर इङ्गित गर्छे )

कामवती : ( ठट्यौलो पारामा ) सपना बिग्रे जस्तो छ हजुरको l सपना बिग्रेको एक हप्तासम्म त्यस्तै हुन्छ मलाई पनि... ( गलल हाँस्छे ) l बिपनामा जुन चिजको बढी मोह गरिन्छ, सपनामा त्यसैलाई अँगालो हालेर सुतिन्छ l जब सपनाको कुनै एपिसोड र दृश्यमा त्यो प्रिय चिज गुम्न पुग्दछ l अनि त्यसैको धङ्धङ्गे र स्मृतिमा आफुलाई वियोगान्त बनाइन्छ l त्यसैका उपज हुन् भय,त्रास,डर,आशंका...इत्यादी l कुनै चिज प्रतिको मोह भङ्ग नभई सन्तुष्टि प्राप्त गर्नै नसक्दोरहेछ मान्छे l ( दार्शनिक पारामा )

खम्बसिंह : ( अनुहारमा मुस्कान ल्याउँदै ) तिमीहरु मेरो सल्लाहकार हुनुपर्ने l

रुपवती : खोइ नियुक्त गर्नु भएन त...!

कामवती : हाम्रो योग्यता टहलुवा भन्दा बढी के हुन्थ्यो र....?

खम्बसिंह : ( हाँस्दै ) साह्रै घोचेर पो भन्यौ ए तिमेरुले त ! पख न, मेरो यो आशन जम्यो भने तिमेरुलाई मेरो सल्लाहकार बनाइछाड्छु म l यो मेरो बाचा भो...!

रुपवती : पक्का...?

खम्बसिंह : पक्का !

कामवती: सत्ते ?

खम्बसिंह : तिमी मारी हत्ते !

( सबैजना एकसाथ हाँस्छन् – गललल्ल...)

रुपवती : आज त हामी पनि यति ठुलो मान्छेसँग कस्तो खुलेर कुरा गर्न पाइयो साथी जस्तै l ( टेबलतिर हेर्दै ) – मेरी आम्मै...! हामीले अलमलायौं हजुरलाई l अब भूजा ज्यूनार होस् l हामीलाई जाने अनुमति बक्सियोस् अहिलेलाई l ( नमस्कार गरेर बाहिरिन्छे )

कामवती : त्यहि त,.. सरको सपना बिग्रेकाले हामीले पनि समय पाइयो l हजुरको खाना सेलाएर बिरालोको नाक भइसक्यो होला l अब भकाभक ग्रहण गरिबक्सेला l अब चाहिं  हामी जान्छौं ल....? ( नमस्कार गरेर रुपवतीको पछी लाग्छे )

खम्बसिंह : ( युवतीहरु गएको दिशातर्फउन्मुख हुँदै )  हुन्छ...हुन्छ ! बेलाबेलामा यसो देखा पर्दै गर है, यहाँ मलाई के चाहिन्छ थप्नु पर्छ l आधी भोक त तिमीहरुले नै मारेर गैहाल्यौ l ( खाने-पिउने कुराहरु राखिएको टेबलतर्फ ध्यान आकृष्ट पार्दै ) अब रुच्न त के रुच्ला र तै पनि अलिकति कोच्नु पर्ला बल गरेरै भए पनि l मिठा मान्छेले टक्र्याएको मिठो खान्की नखाई त के निद्रा लाग्ला र...खै ! “ झापाको खेती, इलामकी केटी, ताप्लेजुङ्गको तोङ्बा र सुकुटी “ भन्छन् ...l ( घडी हेर्छ ) ओहो....! रात पनि धरै पो बितिसकेछ l 

(खम्बसिंह भकाभक खान-पिउन थाल्छ l घरीघरी ढ्याउ-ढ्याउ डकार्छ र पाद्छ पनि l यत्तिकैमा मंचको अग्रभागबाट देहायका नामधारी आकृतिहरु सलबलाउन थाल्दछन् l तिनीहरु आ-आफ्नो स्थान बाटै खम्बसिंहलाई आक्रोश पोख्दै बिभिन्न गालीगलौज सहित बिरोध गर्न शुरु गर्छन् पालैपालो l )

जगतसिंह : ( आक्रोशित हुँदै ) एई खाइदेउ, एक्लै खान्छस् ...?

बखतसिंह : कति खान्छस् एक्लै, पुगेन अब ...?

भगतसिंह : तेरो पालो सकियो, छिटो छोड्...!

चनमती : अब हामीले पालो पाउनु पर्छ l

मनमती : पालैपालो खाने भनेर आफैंले शर्त राखेको होइन ...?

धनमती : भद्र सहमति भुल्नुभो महाशय ...?

खम्बसिंह : ( आवाजतिर फर्केर दिक्क मान्दै ) – कुन जागित्रा कराउँछन् फेरी...!

जगतसिंह : ओई...अगस्ती ! कसलाई जागित्रा भनिस् ?

बखतसिंह : घिचुवा...! मुख सम्हालेर बोल् l

भगतसिंह : तँलाई लाज लाग्दैन एकलकाँटे ?

चनमती : हामीलाई कमजोर नठानियोस् l

मनमती  : बाँडीचुडी खाने समझदारी खोइ...?

धनमती : आगो लगाइदिनु पर्ला नि फेरी l

खम्बसिंह : ( केहि आक्रोशित हुँदै )- के मलाई धम्क्याएका हौ तिमीहरुले ? आफुले जुठो हालेको भाग नसकी कसरि छोडेर हिंड्नु ? यो ठाउँमा भरखर आएकोछु l रहर पुगेपछि आफैं छोडेर निस्कन्छु l धित नमरी जान यो मनै मान्दैन l तिमीहरुले पनि त यसको स्वाद चाखेकै छौ l जहाँसम्म भद्र सहमतिको कुरा छ ,- नियम,कानुन र सहमति भनेकै भत्काउनको लागि बनेका हुन् l भत्काएर तिमीहरुले नै नजिर स्थापना गरिसकेका छौ l भद्र सहमति तोड्न सिकाउने को हो नि ...? नीति-नियम,बिधि-बिधान त कहिले बन्छन्, कहिले भत्किन्छन्, कहिले फेरी बन्छन् l मन लागुन्जेल पालना गर्ने, मन नलागे नगर्ने...l समय र परिस्थिति अनुसार चल्न सक्नु पर्यो नि !  निर्माण-विनिर्माण-पुननिर्माण l अब जमानै आधुनिक छ l बिचार झन् उत्तरआधुनिक हुनु परेन...? भिजन चाहिएन...भिजन...??

जगतसिंह : ( झन् आक्रोशित हुँदै ) गरिस् पुननिर्माण ! विदेशीले दिएको त्यत्रो रकम खोइ...?

बखतसिंह : एक्लै झ्वाम पारिगोनी खुराफातीले l

भगतसिंह : खोइ हाम्रो भाग...?

चनमती : यो ठाउँ कसैका बाउको बिर्ता होइन l

मनमती : हाम्रो पाइन हेर्न खोज्या हो...?

धनमती : हाम्रो माग पुरा नगरे जे पनि हुन सक्छ यहाँ l    

( खम्बसिंह झन् आक्रोशित बन्छ l चर्को स्वरमा कड्किन्छ )

खम्बसिंह : के खुत्याउँछौ त तिमीहरुले ए जागित्रा हो ? हेरौं न त म पनि तिमीहरुको पाइन ! जे मन लाग्छ , त्यहि गर l तर, म अहिल्यै यो स्थान छोड्नेवाला छैन l एकपटक समर्थन गरेपछि जूनिभर गर्नु पर्दैन ? कस्तो नक्कली प्रेम हो तिमीहरुको ? दिईनसकी खोस्न आउने...? तिमीहरु चिच्याईराख, म आफ्नो शुर गरिरहन्छु l काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, हात्ती लम्किंदै गर्छ l

जगतसिंह : ( रिसले कडा स्वरमा ) फेरी जागित्रा....! होइन, कसलाई जागित्रा भनेको ए पितृ बुढा ? तँ छिटो मर, हामी जागेर आइसक्यौं अब l

बखतसिंह : ( उस्तै कडा स्वरमा ) :  मृत्यु शैय्याबाट जागित्रा भएर यो आशन कब्जा गर्न आउने को हो नि ...?  तेरो समय सकियो अब, चाँडो भागिहाल् l नत्र....!

भगतसिंह : ( उत्तेजित हुँदै ) अनेक जालसाजी गरेर हत्या’को होइनस् यो महल तैंले ? हामीले अर्को मिलेमतो जुटाएर आएका छौँ l भोगचलन गर्ने पालो हाम्रो हो अब l

चनमती : ( औंला उठाउँदै ) सायद अब आन्दोलन जरुरी भैसक्यो l

मनमती : ( मुट्ठी कस्दै ) सोझो औंलाले घिउ नआएपछी बाङ्गो हुन जानेका छौं हाम्ले l

धनमती : ( हतियार उचाल्दै ) आक्रमण ...! यो समयको माग हो l

( सबै जना एकधुर लागेर अगाडी बढ्न खोज्छन् l )

( खम्बसिंह अलिक हड्बड गर्दै उठेर अनुनयको शैलीमा आफ्नो कुरा राख्छ l )

खम्बसिंह : तपाईंहरु आ-आफ्नो स्थानमा बसिदिनुस् न भद्र महिला तथा सज्जनबृन्द ! अझ सक्नुहुन्छ भने सुतिदिनुस् न ज्ञानी भएर l अघिको जस्तै शान्त भएर विराजमान होस् न त्यहीं l यहाँ रात सकिन लागिसक्यो क्या....! उज्यालो हुने बितिक्कै सब बर्वाद हुन्छ l तपाईंहरु त बेस्कन ढाडिएर खर्किनु भा’होइन र पहिल्यै ? फेरी किन यत्रो आरिस ? मलाई छोड्दिनुस न केहि समय l अघाएपछी त म आफैं झरिहाल्छु नि ढाडिएको जुका जस्तो...! ( फेरी कुर्सीमा थचक्क बस्छ )

( भिड झन् आक्रोशित र आन्दोलित हुँदै अगाडी बढ्छ l उनीहरु दौडेर खम्बसिंह को आशनमा पुग्छन् र कुर्सीबाट उसलाई लडाउन खोज्छन् )

जगतसिंह : छोड् यो कुर्सी ...! हामीले पनि त परम्परा धान्नु पर्यो नि l

बखतसिंह : हट् यहाँबाट ...! नत्र, संस्कारको साख गुम्ने खतरा हुन्छ l

भगतसिंह : छिटो मुन्टी भन्या...! निरन्तरतामा क्रम भङ्गता होला फेरी l

चनमती : अब सरक्क छोड्नुस् महाशय...! तपाईंको अवधी समाप्त भयो l

मनमती : खुरुक्क नछोडे गलहत्याउन बाध्य हुनेछौं हामी l यहाँकै शैलीमा l

धनमती : पालैपालो क्या हजुर.....! तपाईंकै भाषामा l

( उनीहरु सबैले खम्बसिंहको कुर्सी,हात,पाखुरा,ढाड,कुम,टाउको,खुट्टा...जतातै समातेर घच्घच्याउँछन् l खम्बसिंह कुटिल र केहि मायालु स्वरमा सबैको नाम पुकार्छ l उसको अनुहारमा प्रतिशोधको भाव प्रस्ट देखिन्छ l )

खम्बसिंह : ए..... तिमीहरु !   जगतसिंह,बखतसिंह,भगतसिंह,चनमती,मनमती,धनमती......सबै पो एक भा’का ? मलाई दिएको समर्थन साँच्चै पो फिर्ता लगेका...? ठिकै छ, अहिले मलाई धोका दियौ l खेल त मलाई पनि आउँछ l बाहिर जाने बितिक्कै तिमीहरुबिचमा फुटको बिउ रोपेर, तिमीहरु मध्यबाटै साथ पाएर फेरी यो कुर्सीमा आउन सकिन भने त मेरा बाउले मुतेकै होइन मलाई l मरे पनि जागित्रा भएर आइछाड्छु अनि कस्तो कुरा हौ...!

( खम्बसिंहलाई त्यो आशनबाट हटाउने प्रयास निरन्तर चलिरहन्छ l  ऊ कुर्सीमा झन् बलियोगरी टाँसिन खोज्छ l हटाउने र बसिरहन चाहने बिचको लुछातानी चलिरहेकै बखत नेपथ्यबाट अचानक आएको भयावह आवाजले सबैको ध्यान भङ्ग पारिदिन्छ l मन्चमा बिजुली चम्के झैं गर्दछ l रातो,निलो र हरियो प्रकाश क्रमशः पोखिन्छ l बाहिर मेघ गर्जन सहित मुसलधारे वर्षा र आँधीबेहरीको आवाजले वाताबरण झन् भयावह प्रतित हुन्छ l एकप्रकारको डरलाग्दो आवाजले मन्च भयभीत हुन्छ l मन्चमा अघिदेखि नै आ-आफ्नो कार्यव्यापार गरिरहेका सबै चरित्रहरूमा पनि अनौठो सन्त्रास छाउँछ l उनीहरु एकापसमा मुखामुख मात्र गरिरहन्छन् , केहि बोल्न सक्दैनन् , बोल्न खोजे पनि उनीहरु कसैको वाक्य फुट्न नसकेको सामान्य अन्दाज लाउन सकिन्छ l केहीबेरको निरन्तर अन्यौलता पश्चात मन्चमा चकमन्नता छाउँछ l तर त्यो चकमन्नता धेरैबेर टिक्न सक्दैन l तत्क्षण उक्त चकमन्नता भङ्ग हुन्छ र उस्तै भयावह आवाज गुन्जिन्छ l नेपथ्यबाट मानव चित्कारको करुण स्वर सुनिन्छ l टाढा कतै कुकुर भुकेको, रात्री किटपतङ्ग र लाटोकोसेराको बिरहलाग्दो स्वरले मंचको वातावरण अझै कष्टकर हुँदै गएको महशुस हुन्छ l फेरी एउटा लघु सन्नाटा छाउँछ मन्चमा l यसैबेला मंचको दायाँबायाँ भागबाट २-२ जना छायाँकृतिहरु प्रवेश गर्दछन् अस्पष्ट आवाजमा अनेक आलाप-बिलाप गर्दै l मानव कंकाल जस्ता ति आकृतिहरुलाई प्रस्ट देख्न सकिंदैन l कालो वस्त्रले सर्वाङ्ग ढाकिएका छन् तिनीहरु l )

आकृति १ : ( आक्रोश र चित्कार मिश्रित करुण स्वरमा ) खोइ मेरो सपना......?   

आकृति २ : कहाँ छ मेरो भविष्य ...?

आकृति ३ : कसले लुट्यो मेरो उज्यालो...?

आकृति ४ : को हो मेरो खुशी खोस्ने...?

( एकै स्वरमा ) : जवाफ छ कोहीसँग ....????

( मंचका पूर्व पात्रहरु सतर्कता सहित हल्का सलबलाउन थाल्दछन् l उनीहरुमा व्याप्त सन्त्रास र भय यथावत नै देखिन्छ l )

खम्बसिंह : फेरी कुन जागित्रा हौ तिमीहरु ? यहाँ एक गुट जागित्राले तुरुक्क मुताइरहेका छन् l फेरी अर्को हूल जागित्रा आएछन् सातोपुत्लो लिन l यी जागित्राले पनि हैरानै पार्ने भए गाँठे...! को हौ तिमीहरु...? के चाहन्छौ तिमीहरु चाहिं ?

जगतसिंह : जसलाई पनि जागित्रा नै देख्छ यो पित्ले बुढो...!

बखतसिंह : तर, यी चाहिं साँच्चिकै जागित्रा जस्ता छन् l

भगतसिंह : तैंले कसरी थाहा पाइस् ?

आकृति १ : म भड्किएको आत्मा हूँ l

आकृति २ : म प्रेतात्मा हूँ l

आकृति ३ : म तड्पिएको आत्मा हूँ l

आकृति ४ : म मृतात्मा हूँ l

एकै स्वरमा : हो...हो....हामी जागित्रा नै हौँ l

( सबै डराए झैं गर्छन् )

बखतसिंह : ( भगतसिंहतिर हेर्दै ) थाहा पाइस् अब...?

चनमती : ( डराउँदै ) आबुई....!

मनमती : ( त्रसित हुँदै ) अब के गर्ने होला...?

धनमती : ( आँट दिंदै ) अब ‘स्वघा’ गर्नु पर्छ l

जगतसिंह : ( धनमतीतर्फ हेरेर जिज्ञासा राख्दै ) के हो यो ‘स्वघा’ भनेको ?

धनमती : जागित्रा मार्ने कर्म l भड्केको आत्मालाई मार्ने काम l

बखतसिंह : कसरी हुन्छ त यो ?

धनमती : लिम्बु संस्कार अनुसार बिजुवाले ‘स्वघा’ गरेर जागित्रा मारेपछि भड्केको आत्मा पनि मर्ने र दु:ख नदिने जनविश्वास छ l

भगतसिंह : बोलाइहालौं न त बिजुवालाई !

मनमती : छिटो गरौँ न बरु ! मारिहालौं यी जागित्रालाई l

चनमती : आबुई....! कस्तो डर लागिसक्यो आफुलाई l

बखतसिंह : १४ जना पुरेत बोलाएर स्वस्तिशान्ति पनि गर्नु पर्छ होला यो ठाउँमा l अब हामी आशनग्रहण गर्ने बेला हुँदैछ, पवित्र पार्नु पर्यो नि !

भगतसिंह : त्यहि त , खतरा मुक्त पार्नु पर्छ है !

खम्बसिंह : ( सबैलाई ढाडस दिंदै ) लु पिर नमान तिमीहरु l हा....! केको बिजुवा केको पुरेत...?? म ठिक पारिदिन्छु सबै l जीवित जागित्रा ले त केहि नाप्न सकेनन् , यी त मृत जागित्रा l बरु, तिमीहरुले चाहिं मैलाई टिकाउनु पर्छ है यो आशनमा l हामी मिलेपछि यस्ता नाथे जागित्रा कहाँ हराउँछन् कहाँ...! ( फिस्स हाँस्छ )

( आकृतिहरु एकै लयमा लामो र अनपत्यारिलो अट्टहास छोड्छन् – हाहाहाहाहाहाहाहा......!

यसैबेला नेपथ्यबाट पुन: उही भयानक मनाव चित्कारको आवाज आउँछ l विरहलाग्दो र भयावह वातावरणका बीच मन्चमा मेघ गर्जन र बिजुली चम्केको जस्तो देखिन्छ l फेरी भय उत्पन्न हुन्छ त्यहाँ l आकृतिहरु आ-आफ्नो गुनासो पोख्दैछन् l )

खम्बसिंह : ( आकृतिहरु तर्फ सङ्केत गर्दै ) को हौ तिमीहरु ? कहाँबाट किन आएका ? के पुगेन तिमीहरुलाई ?

आकृति १ : ( भावुक हुँदै ) तिमीहरुले भने जस्तै म एउटा जागित्रा हूँ, यानेकी प्रेतात्मा l म मेरा लाखौँ सपनाको मलामी गएर आएको l २००७ साल, २०४६ साल र ६२/६३ सालमा मैले छोडेर गएको उज्यालो यो धरालाई जगमग बनाउनका लागि थियो l जगतभरिका अकिन्चन आत्माहरुलाई ज्योति प्रदान गर्नका निम्ति मैले आफ्नो प्राण न्यौछावर गरेको थिएँ l मैले मात्र के हामीले गरेका थियौं l म जस्ता अरु पनि छन् ति सबैको प्रतिनिधि हूँ म l एउटा टुकीको आशमा झुपडी कुरेर बसेकी आमालाई अन्धकारमा जाकेर तिमीहरु आगोसँग मितेरी गाँस्दै छौ l हुन त मैले तिमीहरुकै आदेशमा आफ्नो बलिदान दिएको थिएँ l मेरो उद्देश्य आफ्नो रगतमा साटेको प्रकाशले जगत पोत्नु थियो l तर तिमीहरुले आफ्नो निहित स्वार्थको फोहोरी बजारमा मेरो अस्तित्वको लिलामी गरिदियौ l मैले मेरो इतिवृतान्त कहँदै गर्दा तिमीहरुलाई पक्का भैसक्यो कि म तिमीहरुले बडो श्रद्दापूर्वक पुकार्ने गरेको सहिद नामको अभागी प्राणी पनि हूँ l तर मेरो आत्मा भड्किएकोले बेलाबेला घुमिरहन्छु यतातिर l थाहा छैन, कहिले सम्म तिमीहरुको जागित्रा भएर आइरहनु पर्ने हो मैले ...! मन धरधरी रोएकोछ , मुटु भतभती पोलेकोछ l मैले जुन सपना देखेर आफ्नो कल्कलाउँदो जीवन मासेको थिएँ, सहि अर्थमा त्यो सपना पुरा नभएपछी मेरो चित्त यतै रहिरह्यो l तिमीहरु नसुध्रे सम्म सायद यो आत्माले शान्ती पाउनै सक्दैन होला l  ( फ्रिज हुन्छ )

आकृति २ : ( आक्रोशित हुँदै ) म मेरो हराएको भविष्य खोज्दा-खोज्दा थाकेर लखतरान छु l सुन्दर,सफा र स्निग्ध भविष्यको आश्वासनमा १० वर्ष झोस,झाडी,जङ्गल,पाखा-पखेरा,धारा-पँधेरा,भिर-पहरा र गुफामा अलपत्र परेर एता आएको अगति आत्मा हूँ म l यो जगतमा मलाई जत्ति अन्याय-अत्याचार कसैलाई भएको छैन l सत्र हजार लासको श्राप परेको यो भूमिलाई पवित्र पार्ने ठेक्का लिएका ठेकेदारहरुले आफ्नो बाचा-कसम भुलेको हुनाले तिनीहरुको कान समात्न मेरो आत्मा घुम्ने गर्दछ एता l म तिनै सत्र हजार निहत्था मध्यको एउटा प्रतिनिधि आत्मा हूँ l सबै आत्माले चीर शान्ती प्राप्त गर्न नसकेकोले माग्न आएको हूँ l   ( झन् कड्केर ) तिमीहरु मध्यकै हौ त्यो जिम्मेवार कारिन्दा l यो रगतमा आहाल बसेको घरलाई सफा बनाएर शान्तिको बत्ती बाल्यौ भने उता हाम्रो पनि आत्माले शान्ती पाउला र तिमीहरुकै भाषाको महान सहिद कहलिउँला  हामी पनि l नत्र त यस्तै जागित्रा नै भैकन डुली-घुमी हिंडूला l तिमीहरुलाई यसरी नै दु:ख दिईरहूँला...l ( फ्रिज हुन्छ )  

आकृति ३ : ( रुँदै ) लुटिएको मेरो उज्यालो कुन धर्तीमा छ कहाँ...? म त्यहि खोज्न आएको हूँ l धर्तीमा घाम लाग्दै थियो , दिन घमाइलो थियो l छोरी स्कुल गएकी थिई l श्रीमतीलाई धरहराबाट राजधानी सहर हेर्ने रहर मेटाउन सँगै चढेका थियौं हामी l भवितव्य आइलाग्यो l भुइँचालो ले धरहरा सँगै निलेको दिवङ्गत आत्माको साक्षात् प्रतिनिधि हूँ म l स्कुलको बसमा यात्रारत हुनाले छोरी जोगीई l  काठे झुप्राको भर्याङ्गमुनि परेर वृद्द बा-आमा बाँचे l मेरा बा-आमाका स्कुल गएकी नातिनी फर्की तर धरहरा गएका छोरा-बुहारी फर्केनन् l मैले देखेको दिन रातै नपरी ढल्यो l कहाँ छ त्यो उज्यालो ...? ढुङ्गा-माटोको सुरुङ्ग मुनिबाट म सुन्दैछु,- भुइँचालोले मारेका हजारौं आत्माहरुको चीर शान्ती र बाँचेका लाखौँ ज्यानहरुको उज्यालो किन्नका निम्ति खरबौं रकम दाताले दिएका छन् l त्यो उज्यालो कसले ताप्दैछ...? त्यो रकम कसले हसुर्दैछ ? निर्क्यौल गर्नको लागि आएको हूँ म l पिडितहरुले सम्पूर्ण राहत न्यायिक ढङ्गबाट नपाए सम्म मेरो आत्मा यतै भड्किरहन्छ l ( कोठाको भित्तो हेर्दै ) यो घर पनि पुरै चर्केको रहेछ l यस्तै घरमा पनि राजनीति गर्छौ है...? थुक्क लबस्तरा हो...! तिमीहरुलाई कसको पो आत्माले सराप्दैन होला...? ( फ्रिज हुन्छ )

आकृति ४ : ( डाको छोडेर रुँदै ) मेरो खुशी....मेरो रहर...मेरो जीवन...मेरो सर्वश्व.......! कुन पापीले खोस्यो ...? मलाई प्रेतात्मा भन,मृतात्मा भन,भड्किएको भन,तड्पिएको भन,जागित्रा भन,पिशाच भन......l जे भन मलाई केहि मतलव छैन l तर मलाई मेरो गुमेको खुशी चाहियो l कसले खोस्यो मेरो खुशी...? म त्यहि खोसिएको आफ्नो खुशी माग्न आएको निर्धो आत्मा हूँ l बुद्दको देशबाट छिनो-मार्तौल,घन र बेल्चा बोकेर खुशी किन्न,शान्ती खोज्न निस्केको मजदुर हूँ म l रेटिएँ इराकमा...! मारिएँ काबुलमा...! झुन्ड्याईएँ अरबमा....! सुतेको सुत्यै भएँ मलेसियामा...! तर, खाइनखाई बालुवा चालेर मैले पठाएको रुपियाँ कुन बैंकमा छ ? मरुभूमिमा उँट गोठालो गरेर पठाएको रेमिट्यान्स कसको भुँडीमा गयो...? मलायाका गुण्डा र लुटेराहरुबाट जोगाएर पठाएको मेरो पसिना कहाँ पोखियो...?  ( झन् भक्कानिन्छ ) छोराको कमाईमा सास अल्झाईरहेकी हरियो धर्ती जस्ती मेरो आमाको आशा कुन राष्ट्रियताको नाममा बन्धक राखियो...? सुहागरात पनि राम्ररी नमनाइकन बिहे गरेको भोलिपल्टै बिछोडमा छोडिएकी अर्धाङ्गिनीको रहर अनि पेटमा हुर्किंदै गरेको भ्रुणको जीवन रक्षा कसले गर्न सक्यो...? नत्र, मेरो मृत्युको खबर सुनिनसक्दै किन उसले पनि प्राण त्यागीसक्थी...? म र मजस्ता लाखौँ युवाहरुलाई विदेश खेदेर उनीहरुले पठाएको रेमिट्यान्समा मोज गर्ने अपराधीहरु सँग यी र यस्ताखाले यावत सङ्गीन प्रश्नहरुको जवाफ छ...? छ भने जवाफ देओ, छैन भने यसरी झगडा गरीगरी पाप कर्म गर्न बन्द गर l नत्र, जगित्राहरुले चिथोरी-चिथोरी मार्नेछन् तिमीहरुलाई l

( फ्रिज हुन्छ )

( मंचका सबै चरित्रहरू आ-आफ्नो स्थानमा मूर्तिवत हुन्छन् l मन्चमा प्रसारित प्रकाश क्रमशः क्रमशः निभ्दै जान्छ l तर एउटा गोलाकार प्रकाश आकृति १ मा गएर आलोकित हुन्छ l आकृति १ दार्शनिक पारामा केहि भन्छ l )

आकृति १ : (खम्बसिंह र अन्यहरु बसेको आशनतर्फ सङ्केत गर्दै दर्शकदीर्घापट्टि फर्केर)   यिनीहरु हामीलाई जागित्रा भन्छन् l धामीझाँक्री र बिजुवा लगाएर ‘स्वघा’ गर्ने अनि हामीलाई मार्ने सल्लाह पनि गर्छन् l तर, आत्मा कसै गरे पनि कहिल्यै मर्दैन, मार्न सकिंदैन भन्ने तत्वज्ञान नै रहेनछ यी अल्पज्ञानीहरुलाई l मानवीय उद्बोधन बिनाका यी लाटोकोसेराहरु आफ्नो भुँडी भर्ने भन्दा अर्को सपनै देख्दैनन् l हाम्रो त भौतिक शरीर मरेर गए पनि आत्मा जागृत छ, बिचार कहिल्यै मरेको छैन l सर्वजनहितायको सिद्दान्तमा निष्ठावान रहेर जगतभलो र लोककल्याणका खातिर देखेको आफ्नो सपना पुरा नहुँदा र गरेको त्याग मिथ्या खेर जाँदा चित्त दुखाएर भौंतारिरहेका मात्र हुन्छौं हामी l खासमा हानिकारक जागित्रा चाहिं यिनीहरु नै हुन् ( कुर्सीमा आसिनहरुलाई देखाउँदै ) l यी दिवान्ध दीर्घसूत्री कुछेदहरुको बिचार नै मरेकोछ जताततै l बिचार र आत्मा मरेकाहरुले नै अरुहरुलाई दु:ख दिनका लागि जागित्राको रुप धारण गर्ने हुन् l लोभका भाँडा यी मक्खिचुसहरु नै सबैका लागि जीवित जागित्रा हुन् l “ जागित्राहरु ति होइनन्, जो अरुलाई उज्यालो दिनका लागि मरेर गए l जागित्राहरु ति हुन्, जो अरुको उज्यालो  खोस्नका लागि बाँचिरहेछन् l “

 

 

( आकृति १ ले यति भनिसकेपछि मन्चमा झ्याप्पै प्रकाश निभ्छ l रात ढलेर उज्यालो भएको सङ्केत स्वरूप कुखुराको भाले बास्छ l र एक झुल्को घाम सँगै बाँसुरीको धुन गुन्जिन थाल्दछ l  पर्दा खस्छ l

               

 

                          ll पटाक्षेप ll

 

 

 

इटहरी – ४ सुनसरी , नेपाल

हाल : फ्रिगेट आइल्याण्ड , सेसेल्स

 

E-mail :  ganeshkhadka2033@yahoo.com ,

             

               Khadka.ganeshb@gmail.com

 

Facebook : Ganesh Khadka / facebook.com       

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |