हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

शक्ति पूजा

बासु श्रेष्ठ, (उडब्रिज, भर्जिनीया)

गाउँछौ महिमा, जसको छ शक्ति

हृदय लगाउँछौ, गर्न उसकै भक्ति

निमुखा र कमजोर, पर छन् नजरमा

हतियार बोक्ने, पूजिने नजरमा ।

 

महिला हेपिने, बिना शक्तिका ति

दुर्गा पूजिने, भरि शक्तिका ति

विष्णु हेपिन्छन्, मानव भएर

विष्णु पूजिन्छन्, बलवान भएर ।

 

पूजेर शक्ति, आफु भर्न खोज्छौ

कुटेर अशक्ति, आफु बलियो बन्छौ

कुरा समान, फरक छ गराई

शक्ति देखेमा, बस्छौ डराई ।

 

कमजोर बनेर, लुत्रुक्क पर्छौ

केहि नबोली खुत्रुक्क पर्छौ

कमजोर पाए, जुरुक्क उठ्छौ

मै हुँ भनेर, हुरुक्क हुन्छौ ।

 

जिउ हजुरी, बजाउन जान्ने

दुई हात सार्है, मल्न नि जान्ने

कमजोरलाई, ति हस्त लाग्ने

बलिया देखेमा, खुसुक्क भाग्ने ।

 

एकै थलोमा, दुई भेटिँदा नि

दुबै समान, लायक हुँदा नि

काखा र पाखा, भएको देखेँ

सानो र ठुलो, गरेको देखेँ ।

 

गाउँछौ महिमा, जसको छ शक्ति

हृदय लगाउँछौ, गर्न उसकै भक्ति

निमुखा र कमजोर, पर छन् नजरमा

हतियार बोक्ने, पुजिने नजरमा ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |