तिमीलाई देखेको समय
प्रकाश सायमी, (काठमाण्डौ)
तिमीलाई देखेको समय
मभित्र मौन उज्यालो खस्छ
अथाह वेग लिएर
तिमी समक्ष मेरो सामुदिक मनले
कविताको
भूगोल बनाउँछ
यत्र तत्र ।
चूपचाप तिमी कतै
चूपचाप म कतै
दुई अपरिचित जहाजजस्तै
हामी नाइल नदीको किनार भएर
वगिरह्यौँ
समय एक स्थिर स्वर भएर पर्खिरहेछ -
हामीलाई - चूपचाप ।
सिमानाको बाटो भएर बसेका
तिम्रा अचल नयनमा
असमान जुलुस देख्छु
आमन्त्रणको ।
म नतस्मतक
ऐना सम्मुख
सिँदूरको प्रतोलिका लिएर
उभिएकी विधवा झैँ
तिम्रा आँखाका गुफामुनि
आत्मसमर्पित छु
प्रिय !
हामी कविताका दुई पंक्ति झैँ
किनार किनार छौं
हामी कविताका दई मुद्रा झैँ
अधर अधर छौँ
तिमीलाई देखेको समय
मैले मेरो ईश्वर
मरेको घोषणा गरेँ
तिमीलाई देखेको समय
मैले मेरो नयाँ ईश्वर जन्मेको घोषणा गरेँ ।
Comments
Purushottam Adhikari
Prakash Dai ! Hridayasparshi kavitako lagi muri-muri dhanyabad........yestai srijanaharu padhirahana paaiyos....!!