हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

राजनीतिक भूगोलको सन्दर्भमा नेपाल संबत् र विक्रम संबत्

डा. कविताराम श्रेष्ठ, (काठमाण्डौ)


Author Kavita Ram interviews with Khasskhass.com


नेपाल संबत् एउटा यस्तो संबत् हो जो नेपालको भूगोलमै सृजित भयो र कुनै एक व्यक्तिको नामबाट होइन कि राष्ट्रकै नामबाट निरन्तरित भइआएको छ । भनिन्छ शंखधर भन्ने सामान्य व्यक्तिले देशभरीका रिणहरु मोचन गरी यो संबत् चलाए । नेपाल खाल्डोभित्र यसले लामो समयसम्म राजकीय संबतको रुपमा राज गर्यो । नेपाल संबत् शूरु भएपछि विक्रम संबत् र शक संबत् को उल्लेख सोह्रौँ शाताब्दीका शीलालेखहरुमा जयार्जुन र जयस्थितिमल्लले जम्मा तीनपल्ट गरेका पाइएका छन् (मेडिएभल नेपाल पृ. ७४) । यसको निरन्तरता पृथ्वीनारायण शाहको एकीकरण पश्चात टुट्यो । उनका टकमा शक संबत्को प्रयोगबाट टुट्न गयो । शक संबत् चल्दै गएपछि हालका प्रचलित विक्रम संबत्ले धेरै पछि श्री ५ त्रिभूवनको पालामा चन्द्र शमसेरको चाहनाबाट राजकीय स्थान पाएको हो ।

विक्रम संबत् वा शक संबत् आयातित संबत् मानिने हुँदा माटोप्रेमीहरु नेपाल संबत्लाई नै नेपाली गर्वको संबत् मान्दछन् । भनिन्छ यसलाई संयुक्त राष्ट्र संघमा नेपाली राजकीय संबत्को रुपमा समेत दर्ज गराइएको छ । ०४६ सालको राजनीतिक परिवर्तनपछि त यसका संस्थापक शंखधरलाई विभूति मानेर राजकीय सम्मान दिइएको हुँदा भन्नैपर्छ यो संबत्ले राजकीय संबत्को रुप नपाए पनि राजकीय सम्मान भने पाएकै हो । आयातित मानिएको विक्रम संबत्ले राजकीय स्थान पाउँदा धेरै राष्ट्रवादी चिन्तकहरु नेपाल संबत्लाई नै यस स्थानमा विराजमान गराउनपर्छ भन्ने विचार राख्दछन् । मेरो सोच भने नेपाल संबत्लाई प्रतिस्थापन गर्ने हुँदाहुँदै पनि विक्रम संबत् आयातित भएपनि विदेशी भने भनिहाल्न नहुने रहिआएको छ । यसै सन्दर्भमा त्यसको विवेचना तल गरिहालुँ ।

विक्रमादित्य हालको भारतीय भूमीमा पर्ने मालवीका राजा भएकाले उनीद्वारा स्थापित यस संबत्लाई विदेशी भनिने गरिएको हो । तथापि विक्रमादित्य भारतीय होइनन् नेपाली नै हुन् भन्ने धारणाहरु पनि नेपालमा रही आएको संकेत वंशावलीका शोधकर्ता लेखक वासुपासाजी आफ्नो 'काभ्रेसिन्धु वृतान्त' भन्ने पुस्तकको 'विक्रम सम्बत' भन्ने लेखमा दिनुहुन्छ । लोकथाको आधारमा उहाँ भन्नुहुन्छ- 'पनौतिमा एउटा युवा ऋषीको स्खलित वीर्य खाएर गर्भवति भएकी युवतिबाट विक्रमादित्यको जन्म हुन्छ र उनै विक्रमादित्य पछि काठमाडौँका राजा बन्दछन् । उन्ले पछि राजपाठ छोडी वैशालीतर्फ गएर धेरै उल्लेखनीय काम गर्दछन् । आज देखिने भारतीय भूमिमा उनले ख्याति बढाएकैले उनलाई भारतीय बनाउने खेलहरु रचिए ।' अर्थात उनी नेपाली हुन् र उनले चलाएका संबत् त्यसैले नेपाली नै हो- बासुपासाको भनाइ यस्तो छ ।

नेपालको इतिहास हेर्दा विक्रम संबत् स्थापना भएको समय इ.सं. ५७ सालतिरका राजवंशको प्रमाणिक खाका पाइन्न । साथै विक्रमादित्य नेपालको भूमिमा जन्मेका र उनी राजा बनेका प्रमाण पनि कतै मिल्दैन । बरु एधारौँ शताब्दीका कर्नाटकका चालुक्यवंशी विक्रमादित्य षष्ठका सामन्त नान्यदेवले ई.सं. १०९७ मा राजा वामदेवको समयमा सिम्रौनगढबाट नेपाल आक्रमण गरी उनका थिती यता बसाल्न  खोजेका प्रमाणहरु भने पाइन्छन् । यही तथ्यसँग यो लोककथा गोलमटोल भएको मलाई लागेको छ ।

विक्रमादित्य आजको नेपालले ओगटेको भूमीकै वासिन्दा थिए भने गर्व गर्ने कुरा निश्चय नै हुन्छ । जनक र वुद्ध नेपालका भूमीमा जन्मेका थिए भन्दा हाम्रो नाक ठूलै हुन्छ । तर कुनै विभूति आफ्ना देशका थिएनन् भन्दापनि दुःख मान्ने कुरा पनि होइन नै । महावीर जैन वा राम वा कृष्ण हाम्रा भूमिका परेनन् भन्दा हामीमा उनीहरुप्रति हुने आस्था घटदैनन् नै । हामी २०६५ वर्ष अघिका विक्रमादित्यका कुरा गर्दैछौँ जुनवेला भारत वा नेपाल भन्ने देश बनेकै थिएनन् । यसबीच हज्जारौँ सानासाना देश तथा जनपदमा बाँडिएका हाम्रा यी भूमी कहिले कता कहिले कता परे । परापूर्वकालका साँस्कृतिक धरोहरहरुलाई आजको राष्ट्रियताको आधारमा तेरोमेरो भनी बण्डा गर्नु निश्चय नै मिल्दो कुरो छैन । आजका भारत, पाकिस्तान, वङ्गलादेश, भूटान, श्रीलङ्का र नेपालका भूभागमा निर्मित सँस्कृति यीनै विस्तृत भूभागमा बस्ने हामी समस्त जातीजनजातीले साझारुपमा विकसित गरेका हौँ । त्यसमा तेरोमेरो छुटाउन सकिन्न । मेरो भनाइ यही हो ।

प्रस्तुत पनौतिका लोककथाको प्रशंग छैठौँ विक्रमादित्यको इतिहाससँग मिल्दैन र पनि उनका सामन्त नान्यदेवले नेपालमा आक्रमण गरेर विजय गरी उनका थिति यता स्थापना गर्दा उनै विजेता विक्रमादित्यको विजयगान वा प्रशस्तिहरु यता प्रवाहित भएको हो भन्ने अड्कल काट्ने ठाउँ भने छ । सानासाना राज्यहरु संचालन गर्ने यताका जनताका लागि हज्जारौँ माइल टाढादेखि सैयों राज्यहरु एकिकृत गर्दै नेपालसम्म आउने राजाको व्यक्तित्व सामान्य हुने कुरै थिएन । अझ यी राजा यस्ता राजा थिए जसले विधिवेत्ता विज्ञानेश्वरलाई हिन्दु कानून सङ्ग्रह रचना गर्न लगाई हिन्दु समाजमा थितिसमेत बसाउन महत्वपूर्ण भूमिका निभाएका थिए । यी राजाका शासनकाललाई हिन्दु कानुनको इतिहासमा युगान्तकारी मानिएको छ (रमेशचन्द्र मजुम्दार प्राचीन भारत प्रथम भाग पृ. १६१ )। यी राजाको थिति यता बस्न आउँदा स्थानीय जनमानसले मुग्ध कण्ठसाथ आदर्श नायक बनाएर कथा रचॆ नै । साथै कालान्तरमा यतैका जन्मजात राजासमेत बनाइदिए कथामा ।

विक्रमादित्यहरुका हज्जारौँ हज्जार वीरगाथा आजका भारत, पाकिस्तान, वङ्गलादेश र नेपालका भूभागमा युगौँदेखि प्रचलित छन् । यीनबाट स्पष्ट हुन्छ इतरसंस्कृतिका विदेशी आक्रमण र उनीहरुका स्थापनाका विरुद्ध ससाना राज्यहरुलाई सङ्गठित गर्दै लड्ने जित्ने र आफ्ना सँस्कृतिको संरक्षण गर्ने पराक्रमी राजाहरुलाई विक्रमादित्य मानिन्थ्यो । इतिहासले त त्यस्तै अभिष्टमा ज्यान दिने राजाहरु स्वयंले आँफूलाई गर्वसाथ 'विक्रमादित्य' घोषणा गरेका प्रसङ्गहरु दिन्छन् ।

ई.पू. ३२७ सालमा यवन राजा सिकन्दरको भारतीय उपमहाद्विपतिर आक्रमण हुनुपूर्व यस् उपमहाद्विपीय खण्ड सैयों सासाना जनपदहरुमा विभाजित थियो । सानासाना जनपदलाई जितेर एकिकृत गर्दै ठूला महाजनपद बनाउन र अश्वमेध यज्ञ गरी चक्रवर्ती राजा बन्न त्यसकालका राजाहरु आफआँफैमा लडिरहन्थे । त्यसैले विभाजित रही कमजोर रहेका यी जनपदहरु सिकन्दरको हातमा थोरै समयमै सजिलै हात पर्न गयो । तर व्रम्हपुत्रदेखि विन्ध्याचलसम्मका महाजनपदलाई एकिकृत गरी बनेका मगध साम्राज्यलाई भने उनले छुन सकेनन् । पछि इ.पू. २०० सालतिर आइपुग्दा यो साम्राज्य पनि कमजोर हुन पुग्यो र यवनहरु हज्जारौँ माइल जित्दै पाटलीपुत्रमै विजयपताका गाड्न आइपुगे । यसैवखत मध्य एशियाका शक सिथियनहरुले मथुरा, गान्धार, उज्जैन, सिन्ध, दक्षिणापथ जित्दै उत्तरपश्चिमका धेरै भागहरु आफ्नो अधिनमा पारे भने पार्थियन पल्हवहरु पसेर पश्चिम गान्धार विजय गरी वेग्लै राज्य स्थापना गर्नपुगे । त्यस्तै कुजुल कुशाणले हिन्दुकुश पार गरेर यता स्थापित भए । आफआफैमा लडिरहने हिन्दू सँस्कृतिका अनुयायी जनपदहरुमा हाहाकार भयो । उनीहरुका भूमीमा विदेशीहरुको तँछाड मछाड चलिरह्यो । कालान्तरमा यहाँसम्म भयो कि विदेशी विम र कनिष्क (७८-१०० इ.पू.) ले आजका प्रायः सबै उत्तरी भारतबाट यवनहरुलाई निकालेर रजाइँ गर्दासम्म पनि हिन्दु जनपदका जनता मूक दर्शक भएर दास सरह रहिरहे ।

इ.पू. तेस्रो शताव्दीमा आएर मात्र दक्षिणी राज्यहरुमा हिन्दु राष्ट्रबादी भावनाको जागरण भयो र कलिङ्गराज खारवेलले इ.पू. २१० सालमा उत्तरापथबाट र वसुमित्रले सिन्धुक्षेत्रबाट शकहरुलाई खेदे । बसुमित्रले त पातंजलीको पुरोहित्याइँमा गर्वसाथ अश्वमेध यज्ञ नै गरे । मालवीका राजा सातकर्णी (इ.पू. १००- इ.पू.४४) ले अझ ठूलो पराक्रम गरे । उनले पश्चिमी देक्कनका शक्तिशाली सरदारहरुलाई सङ्गठित गरेर शकहरुको नगरमै पसेर उनीहरुलाई खेदे र अश्वमेध यज्ञ गर्दै दक्षिणापथ सौराष्ट्र र गुजरातबाट समेत शकहरुलाई निकाले । जसको गर्वमा उनले आफूलाई 'सकयवनपल्हवनिसूदनस' शक यवन पल्हव का नाशक र 'विक्रमादित्य'को उपाधीले विभूषित गरे ।

यसरी इतिहासमा प्रथम पटक विक्रमादित्यको उपाधी धारण गर्ने यीनै सातबाहन बंशका गौतमीपुत्र सातकर्णीले आफ्नो राज्य उत्तरमा मालवादेखि दक्षिणमा कर्नाटकसम्म विस्तारित गरेर अफ्नो गणको प्रतिष्ठालाई स्थापना गर्न इ.पू. ५७ सालमा नयाँ संबत् शुरु गरे । जसलाई पछि विक्रमादित्यको नाममा 'विक्रम सम्बत' भनियो । कुनैकुनै विद्वानको भनाइ छ सिन्धुको तराइ क्षेत्र पहिलो शताब्दीमा पल्हवको हातमा गयो र उनैका शासक अज्रेश प्रथमले इ.पू. ५८ सालमा एउटा संबत् चलाएका थिए त्यसैलाई सातकर्णीले इ.पू. ५७ सालमा निरन्तरित गराए र पछि उनैको नामबाट यो विक्रम संबत् भनियो (प्राचीन भारत प्रथम भाग पृ. १००) ।

विक्रमादित्यको उपाधी पछि गएर पाँचौ शताब्दिमा चन्द्रगुप्त द्वितियले एउटा कामपिपासु अत्याचारी विदेशी सकशासकलाई स्त्रीभेषमा मारेपछि धारण गरेका थिए । आठौँ शताब्दीको पूर्वाद्र्धमा पुलकिशनको द्वितीय पुत्रले विदेशी पल्लवी राजालाई खेदी चालुक्य राज्यलाई पुनर्जीवित गरेर आफूलाई विक्रमादित्य प्रथमको नामले विभूषित गरेका थिए । त्यसपछि उनैका नातिले पनि पल्हवहरुलाई हराएकै कारणले विक्रमादित्य द्वितीयको उपाधी लिए । यसरी विदेशी खेद्नॆ राजाहरुले गर्वसाथ यो उपाधी ग्रहण गर्ने परम्परा चलाएका स्पष्ट हुन्छ ।

एघारौँ शताब्दीको शुरुवातदेखि भारतमा फेरि विदेशीहरुको चलखेल शुरु हुन लाग्यो । यसवेलातिर यमन र तुर्कीका इस्लामहरुले उत्तरपश्चिमका सबैजसो क्षेत्र हत्याएर लुटपाट दमन र धार्मिक अत्याचार गर्न लागे । प्राचीन साम्राज्य छिन्नभिन्न भएको यो स्थितिमा बचेखुचेका हिन्दुसमाजका सामन्तहरुमध्येका चेदि, कालाचुरीका गाङ्गेय, मालवाका सिन्धुराज अनि कर्नाटकका त्रिभुवन मल्लले विदेशी खेद्ने वेँडा उठाए र विदेशीहरु धपाउँदै अफूलाई आफ्ना युगका 'विक्रमादित्य' वा 'नवसाहसाङ्क'का उपाधीले सगर्व विभूषित गरे । यसरी चालुक्य बंशका आहव मल्लको दोस्रो छोरा त्रिभूवन मल्ल विक्रमादित्य षष्ठ नै नेपालको इतिहासमा देखिने विक्रमादित्य हुन पुग्दछन् । उनले शक संबत् मासेर नयाँ संबत् स्थापना गरे भन्नेसमेत उल्लेख भारतीय इतिहासमा पाइन्छ (प्राचीन भारत प्रथम भाग पृ १६१ ।)

उपरोक्त लोकोक्तिले दिएको विक्रमादित्यद्वारा संबत् स्थापनाको प्रशङ्ग यो प्रशङ्गसँग मिल्न आउँछ । तर पूर्ववत् विक्रम संबत्को निरन्तरता यो थियो भन्नभने मिल्दैन किनभने यी विक्रमादित्य त ११५४ वर्ष पछिका विक्रमादित्य षष्ठ हुन् । यस्तो लाग्छ विक्रमादित्यको आदर्श बोक्ने यी विक्रमादित्य षष्ठले आदिविक्रमादित्यद्वारा इ.पू. ५७ सालमा स्थापित विक्रम संबत्लाई आफ्ना नवनिर्मित राज्यमा निरन्तरित गरेका थिए ।

उ वेला ससाना हज्जारौँ राज्यहरुमा विभाजित हिन्दु राष्ट्रहरुका जनताले हिन्दु राष्ट्रवादका प्रतीक विक्रमादित्यलाई साझा रुपमा आफ्ना आदर्श नायक बनाए । सबै हिन्दु राष्ट्रहरुले विक्रमादित्यका परम्परालाई आफ्ना बनाए । भूमि त कहिले यताका बने कहिले उताका तर व्यक्तिविशेषको लागि देश सँधै आफ्नै रहे तथा जनताविशेषको लागि देश सँधै आफ्नै रहे । सबैले त्यसैले युगयुगका विक्रमादित्यहरुलाई आफ्नै भूमिमा जन्मेका महान पराक्रमी राजा माने । यसरी नै चालुक्य राजवंशको शासन भोग्ने पनौतिले पनि विक्रमादित्यलाई आफ्ना बनाए । विक्रमादित्य नेपाली थिए चाहिँ नभनौँ किनभने त्यसवेला आजको नेपाल बनेकै थिएन । हज्जारौँ ससाना राष्ट्रहरुमा संगठित यो भूमीमा नेपाल आजको काठमाडौँ उपत्यकाको सिमित घेरामामा मात्र मौलाइरहेको थियो । अझ त्यो राज्यको रुपमा पनि थिएन । एउटा साँस्कतिक वा भाषिक क्षेत्रमामात्र प्रतिष्ठित थियो । त्यसैले पनौतिका दन्त्य परम्पराका विक्रमादित्य नेपाली वा भारतीय हुँदै होइनन् किनभने त्यसवेला आजको नेपाल तथा भारत बनेकै थिएनन् । उनी अर्थात त्रिभुवन मल्ल विक्रमादित्य षष्ठ आजका सीमापारी र वारी दुवै संस्कृतिका धरोहर हुन् । एउटै विक्रमादित्यको कुरा के विक्रमादित्य परम्पराका आदिविक्रमादित्य नै यता र उताका साझा साँस्कृतिक धरोहर हुन् । विक्रमादित्यहरु कुनै राजनीतिक भूगोलको सीमामा बाँधिएका थिएनन् र बाँध्न सकिन्न पनि । त्यसैले विक्रम संबत् नेपालमा छोटै समयदेखि प्रचलनमा आएको भएपनि यो हामी नेपाली समेतको धरोहर रहेको नितान्त साझा संबत् हो । यसलाई भारतीय मात्र बन्न दिन हुन्न । अनि त्यसैले नेपाल संबत्लाई पूर्ण नेपाली बनाउन विक्रम संबत्लाई भारतीय बनाइ राख्न जरुरी छैन । नेपाल संबत् आफै नै नेपाली सबैले गर्व लिनैपर्ने पूर्ववत साँस्कतिक वा भाषिक नेपाल क्षेत्रमा मौलिक मूल माटोकै सृजना हो । यो यसै भूमिमा कान्तिपुर, भक्तपुर, ललितपुर, दोलखा आदि अलगअलग राज्यहरुद्वारा राजकीय सम्बतको रुपमा प्रतिष्ठापित पनि थियो । जसरी यसलाई इतरसँस्कृतिका अनुयायी राजा तथा रजौटाहरुद्वारा विस्थापित गरियो त्यसरी नै यसलाई यसै भूमीमा यसै सँस्कृतिका अनुयायीहरुद्वारा पुनः सम्मान गरी पुनः स्थापना गर्न कुनै अपठारो मानिराख्न पर्ने छैन नै । नयाँ नेपालको सम्विधानले यसलाई राजकीय सम्मान दिने नै छ ।

अन्त्यमा सवैलाई यस नेपाल सम्बत् नववर्ष ११२९ को सुभकामना ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |