हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

साधुवाद

बासु श्रेष्ठ, (भर्जिनिया)

झण्डै दुई वर्ष अवधिको समयपछि अमेरिकाकोलागी रिक्त रहेको नेपालको राजदूत पदमा डा. सुरेशचन्द्र चालिसे आसिन हुनुभएको छ । महामहिम चालिसे लगभग पचास वर्षपछि नेपाल सरकारको प्रतिनिधित्व गर्नुहुने पहिलो व्यक्तिको रुपमा हुनुहुन्छ र वहाँले जनवरी २२ का दिन अमेरिकी राष्ट्रपति समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरिसक्नु भएको छ ।

प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको विदेश सम्बन्धि सल्लाहकार रहनु भएका डा. चालिसे परराष्ट्र  सम्बन्धि थुप्रै अनुभव तथा योग्यता बोक्नु भएकोले वहाँको कार्यकालमा दुवै देश एक आपसमा लाभान्वित हुने छ भन्ने कुरामा कुनै शङ्का छैन भन्दा अत्यूक्ति नहोला । अपेक्षाकृत परिणाम समयक्रमले देखाउने नै छ र आशातित परिणामकोलागी वहाँलाई हामी अमेरिकावासी नेपालीहरुको तर्फबाट शुभकामना त छँदैछ ।

विदेशमा छरिएर रहेका हामी नेपाली दिनहुँ नेपाल सम्बन्धि समाचारहरुमा आँखा गाडि रहेका हुन्छौं । देशको अस्थिरता र अराजकताकोमात्र समाचारका बिच हामी सँधै कुनै एउटा आशा लाग्दो समाचारको खोजीमा हाम्रो मन र आँखा दौडिई रहेका हुन्छन् । तर सँधै निराशाजनक र अत्यास लाग्दो समाचारबाट आँखा हटाउँदै सोच्छौ 'कहिले सप्रिएला मेरो देश?'  र यहि हाम्रो विदेशको दैनिन्दनी बनेको छ । जुनसुकै कारणले विदेशीएपनि हामीले देशप्रेम र राष्ट्र बोकेरै हिँडेका छौं र सदा एक सुनौलो विहानको पर्खाईमा रहेका हामीमा देशको गतिविधिले एक नैराश्यताको भावना जगाई रहेको हुन्छ ।

तर यस नैराश्यताको अन्धकारमा एक झिनो प्रकाश छर्ने कार्य गर्नुभएको छ महामहिम डा. चालिसेज्युले। राजदूतको कार्यभार सम्हाल्नु भएपछि वहाँले डि.सी. क्षेत्रका सँघसँस्थाका पदाधिकारी तथा स्थानीय नेपाली सँचारमाध्यमहरुसँग दुई चरणको भेटघाटको कार्यक्रम राखेर देशको वर्तमान र भविष्यप्रति आफ्ना विचारहरुको जानकारी गराउनु भयो । वहाँले देशको भविष्य अति नै सुन्दर र उज्जवल रहेको भन्दै आफ्ना केहि योजनाहरुको पनि जानकारी गराउनु भयो । वहाँको आशावादमा हामी सहभागीहरुपनि मिसियौं र कामना गर्यौं 'यो भनाई चाँडो भन्दा चाँडो पुरा होस् ।'

यस पँक्तिकारले लामो समयदेखि राजदूत भई अमेरिका आईसकेपछि स्थानिय नेपालीहरु समक्ष आफनो भावी योजना र कार्यक्रमहरु राख्नु पर्छ र लक्ष्यप्राप्तिकोलागी तिनको सहयोगपनि लिनु पर्छ भन्दै आएको थियो । स्थानीय नेपालीहरुले आफ्नो देशको प्रतिनिधिबाट के कस्ता कार्यक्रम वा योजनाहरु ल्याएको छ भन्ने कुरामा कौतुहलता राख्नु मात्रै होईन कि त्यस योजनामा सहयोगी बन्ने अधिकारको पनि विषय हो भन्ने कुरामा लामो समयदेखि पक्षपाती थिएँ । तर दुर्भाग्यवस हालसम्म पूर्व राजदूतहरुबाट यस विषयमा कहिल्यै अग्रसरता देखाएनन् । बल्ल डा. चालिसेज्युबाट यस कार्यको शुभारम्भ भएको छ र त्यस्कोलागी वहाँलाई साधुवाद भन्नै पर्छ ।

नेपालको राजनैतिक परिदृश्यमा परिवर्तन भयो कि राजदूत पदमा पनि भुईचालो जाने परम्परासँग जानिफकार हामी नेपालीले के आशा गरौ भने देशमा राजनैतिक स्थिरता र शान्तिको बहाली चाँडो भन्दा चाँडो होस् र राजदूत कुनै दलको हित गर्ने व्यक्ति होईन कि राष्ट्र्को हित गर्ने व्यक्तिको रुपमा लिएर महामहिम चालिसेको कार्यकाल सफलता पूर्वक वितोस् भन्ने कामना र स्थानीय नेपाली समुदायप्रति वहाँले देखाउनु भएको पारदर्शीताकोलागी फेरी एकपटक साधुवाद ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |