हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

देवकोटाको खोजीमा

सङ्गीत आयाम, (चितवन, भरतपुर)

(निबन्ध)


sangeetaayam@ntc.net.np



देवकोटा मात्र एउटा शब्दको रुपमा परिभाषित हुँदैन । देवकोटा मात्र एउटा शब्दमा रुपान्तरित छैन जसलाई चार अक्षर मिलेर बनेको भनॆर प्रमाणित गर्न सकियोस् । न कुनै थर विशेषमा सीमित छ यो शब्द न कुनै खेलौना बनाएर खेल्ने जमातहरुको लागि यो शब्द सम्पत्तिको रुपमा बाँडफाँड हुन्छ । यो शब्दको महानता यसको विशालतामा मात्र परिलक्षित हुन्छ । यसको विस्तृततालाई अनुभूत गर्न त्यसैभित्र चुर्लुम्म डुब्नुपर्छ डुबुल्की मारेर । यो शब्दसँगै इतिहासको ढोका उघ्रिन्छ र त्यसभित्र दह्रो मुटु लिएर प्रवेश गर्न सक्नुपर्छ । यो शब्दसँगै सँस्कृतिको जीवन्त सङ्गीतको गुनगुनाहटले सरगमहरुभन्दा माथि उठेर लय र ताललाई सजीवता प्रदान गर्छ र त्यसलाई स्पर्श गर्न पारदर्शी मन बोकेर अग्रसर हुनुपर्छ । फर्मुलामा बाँच्ने र फर्मुलालाई आदर्श बनाएर यात्रारत रहने मान्छेहरुले वास्तवमा यो कुरा बुभुदैनन् अर्थात बुभुन नचाहेका हुन सक्छन् । हजारौं समयका बहावहरुलाई जितेर अविस्मरणीय भएको छ यो शब्द आजसम्म । हजारौं विद्रोहहरुको प्रतिध्वनि स्वरुप झन् प्रगाढ भैरहने छ यो शब्द अनन्त भोलिसम्म । कति पहाडहरु जोरी खोज्दै आए यो शब्दलाई पराजित गर्न तर ती पहाडहरुले झुक्नुपर्यो यो शब्दको सामु । कति तापहरु प्रज्वलित रुपमा दन्किए यो शब्दलाई पगालेर गाल्न तर ती तापहरुलाई पानी हुँदै गल्नुपर्यो यस शब्दको ओजस्विता अगाडि । केही लागेन दशकौंदेखि शासन गर्ने शासकहरुको यो शब्द कहिल्यै शासित हुन मनपराएन । केही लागेन मालिकहरुको यस शब्दलाई गुलामीको रङ्गमा मौलिकताको भ्रम दिन  । यॊ शब्द कहिल्यै दासताको आनन्दमा रमाउन नै जानेन ।

देवकोटा एउटा शब्द नै प्रर्याप्त छ समयको लामो कालखण्डलाई बुझ्नका निम्ति । देवकोटा एउटा शब्द नै प्रशस्त छ इतिहासको मौनतालाई तोड्नका लागि । देवकोटा एउटा शब्दले नै परिलक्षित गर्छ सँस्कृतिको महाअनुष्ठानलाई । देवकोटा एउटा शब्द नै समयभन्दा अघि छ इतिहासलाई कठघरामा उभ्याउनमा ।

तपाईलाई लाग्ला एउटा शब्दले नै कसरी यति ठूलो अर्थ बोक्छ । हो तपाई गलत हुनुहुन्न । प्रत्यक्ष रुपमा देवकोटा मात्र एउटा शब्द हो । केही मान्छेहरु यो शब्दलाई विवाहको लागि गोत्र जुराउन चिना हेर्नका निम्ति प्रयोग गर्छन् भने केही मान्छेहरु यो शब्दलाई जात विशेष हेरेर सङ्कुचित बनाउने लाख कोशिश गर्छन् । केही मान्छेहरु यो शब्दलाई बाबु बाजेबाट प्राप्त भएको बिर्ताको रुपमा उपभोग गर्छन् भने केही मान्छेहरु भने व्यक्ति विशेषसँग नजिक हुन यसलाई प्रशस्त रुपमा प्रयोग गर्छन् । कहिलेकाहीँ त लाग्छ शब्दहरु निहत्था मरिरहेछन् मान्छेहरुका कारण । शब्दहरु आत्महत्या गरिरहेछन् मान्छेहरुका कारण । हुन त शब्दलाई मान्छेहरु आफ्नो सुरक्षाको रुपमा प्रयोग गर्छन् र संसार जितेको भ्रममा मख्ख पर्छन् । मान्छेहरु शब्दलाई गुलाम बनाउन पाउँदा आनन्दित हुन्छन् र त्यसलाई बजारमा बिक्रीका लागि राख्छन् । मैले भन्नुपर्छ शब्दप्रति जुन न्याय हुनुपर्ने हो त्यो आजसम्म भएकै छैन । मान्छेहरुले शब्दलाई कैद गरे भन्दैमा शब्दलाई दास मान्नु त्यसप्रति ठूलो कृतध्न हुनु हो । मान्छेहरुले यो कुरा अध्ययन नगरिकन पटक्कै सिक्ने छैनन् । मान्छेहरुले शब्दलाई बजारमा बिक्री गरे भन्दैमा त्यसैलाई आदर्श मानेर बस्नु आफ्नो नपुङ्शकता प्रदर्शन गर्नु सिवाय अरु केही होइन । मान्छेहरुले यो कुरा कहिले बुझ्लान ? कृष्णचन्द्रिसंह प्रधानले भनेझैं "शब्द वास्तवमा ब्रह्म" हो । वास्तवमा शब्द महान छ त्यसप्रति खेलवाड गर्नु उचित छैन ।

प्रसङ्ग उठेको हुनाले शब्दप्रति घोर अन्याय भएको एउटा घटना म यहाँनेर पाठकहरुसँग बाँड्न चाहन्छु । शब्दलाई मात्र शब्दको रुपमा लिँदा अर्थको अनर्थ भएको प्रमाणित सत्य हो यो ।

'देवकोटा अध्ययन केन्द्र'मा एकदिन केही मान्छेहरुको अचानक आगमन हुन्छ । एक अर्कोसँग एक अर्कोको परिचयको सिलसिला अघि बढ्छ । देवकोटा थर धारण गरेका प्राणी रहेछन् उनीहरु परिचयको क्रमपछि तत्कालै थाहा हुन्छ । स्कूल कलॆजमा पढाउने जमात थियो त्यो । उनीहरु भन्छन् 'देवकोटाहरुको अध्ययन गर्ने ठाउँ रहेछ यो हामी देवकोटाहरु हौं वंशावली राख्न यहाँ आएका ।' अचम्म लाग्छ मलाई बाहिर ठूलो बोर्ड राखिएको हुन्छ र प्रष्ट देखिने गरेर लेखिएको हुन्छ 'सार्वजनिक पुस्तकालय' । मलाई यो देशको शिक्षाप्रति वितृष्णा जागेर आउँछ । त्यत्रो पढे-लेखेका मान्छेहरु कुन ठाउँमा प्रवेश गरिदैछ सामान्य जानकारी पनि नराखिकन भित्र पस्छन् र आफ्नो जातको रेकर्ड राख्न ठूल्ठूलो स्वरमा कुरा गर्छन् ।
टोली नेताजस्तो देखिने एकजनाले भन्दै हुन्छ "म साहित्य पढाउँछु कलेजमा ।"

म आश्चर्यचकित हुन्छु । कलेजमा साहित्य पढाउने प्राध्यापकलाई देवकोटा शब्दको बारेमा थाहा छैन । एक मन त लाग्छ देवकोटालाई बदनाम गराउन आएका हुन् उनीहरु । हुनसक्छ देवकोटा शब्द मात्र थर विशेष हो, अरु केही होइन भनी त्यसलाई सीमित पार्न आएका हुन् उनीहरु । जे होस् केही मान्छेहरुको प्रयत्नद्वारा नेपाल र नेपालीको लागि अब साझा भैसकेको देवकोटा शब्द थर मात्र हुन सक्दैन भनेर म आफ्नो विचारलाई फेरि पनि यहाँ अभिव्यक्त गर्न चाहन्छु ।

देवकोटा शब्दसँग म एकदमै नजिकै छु भन्दा म गलत हुन्न । कारण हरेक दिन म देवकोटा अध्ययन केन्द्र जान्छु र त्यो शब्दको आराधनामा नै केही समय आफुलाई लीन गराउँछु । मलाई बारम्बार लाञ्छित गर्ने प्रयत्न नगरिएको भने होइन । पटक पटक भनिएको पनि छ "यो मान्छे देवकोटा थर भएको कारणले नै त्यहाँ जान्छ ।" म यतिखेर प्रष्ट हुन चाहन्छु देवकोटा थरसँग मेरो टाढाको पनि नाता छैन । कथित थरको मोह संवरण गर्न नसकेर म त्यहाँ जाने होइन बरु श्रद्धामा अभिषिक्त आस्थाको कारणले म त्यहाँ जाने हुँ । पुस्तकप्रतिको रुचि बढाउन र अध्ययन गर्ने सँस्कृति बचाउन म त्यहाँ जाने गर्छु । हो म प्रत्येक दिन केही घण्टा देवकोटा शब्दप्रति समर्पित हुन्छु र पुस्तकालयको काममा जुट्छु यो प्रक्रिया आफैं आरम्भ हुन्छ यसमा कसैको बाध्यताले काम गरेको हुँदैन । लाग्छ देवकोटा शब्दसँग म झन् झन् नजिक भैरहेछु र यो शब्द ममा समाहित भएर गम्भीर आकार लिइरहेछ । मानौं यस शब्दले एउटा यस्तो आकार ग्रहण गरिसकेको छ मभित्र जसलाई मैले भुल्न चाहेर पनि भुल्न सक्दिन र म त्यस बढ्दै गएको आकारलाई साँचो सम्मान प्रकट गर्न हरेक दिन देवकोटा अध्ययन केन्द्रु जान्छु । जे होस् देवकोटा शब्द अब एउटा यस्तो सत्य हो जसलाई कुनै पनि कारणले झुठो प्रमाणित गर्न सक्दैन ।

तपाईले थाहा पाइसक्नु भयो होला देवकोटा भनेर यहाँ पटक-पटक कसलाई भनिएको हो । हो तपाई एकदमै सही हुनुहुन्छ । वास्तवमा देवकोटा भनेर महाकविलाई नै भनिएको हो । देवकोटालाई लक्ष्मीप्रसाद भनिरहन आवश्यक छैन  । आजको यथार्थले पनि त्यही कुरालाई पुष्टि गर्छ । एउटा यस्तो परिचय जसको आधार एउटै मात्र शब्दमा निर्देशित हुन्छ एउटा यस्तो अर्थ जसको मूल्य एउटै मात्र शब्दले समयका स्वरहरुभित्र भेट्छ त्यो शब्द हो देवकोटा । अरु कुनै शब्द खोजेर देवकोटाको परिचय दिन खोज्नु धृष्टता सिवाय केही हुनै सक्दैन ।

देवकोटालाई मैले मुनामदनबाट नै पढ्न सुरु गरेको हुँ भन्दा म गलत हुन्न । सामान्य उमेरमा नै पढेको यो कृतिले पछि फराकिलो मार्ग प्रशस्त गरेको थियो ममा । एक प्रकारको उत्प्रेरणाद्वारा अध्ययनप्रतिको मोह जगाएको हुनाले मुनामदनको अर्थ र त्यसको सन्दर्भ अविस्मरणीय रहेको छ मभित्र । मुनामदनको प्रेमले केटाकेटी उमेरमा नै जरा गाडिसकेको थियो र मदनजस्तै भोट गएर पैसा कमाउने अभिलाषालाई मैले उद्देश्य बनाइसकेको थिएँ । ८-१० वर्षको उमेरमा नै परेको यो प्रभाव वास्तवमा कमजोर थिएन पनि र त्यसबाट मलाई मुक्त हुन धेरै समय लागेको थियो । जीवनले एउटा अनौठो खेल खेल्यो भनेर भन्नुपर्दछ  । म मदनझैं पैसा कमाउन भोट गइन । भोट मात्र नगएको होइन पैसा नै नकमाएको कारण असङ्ख्य पीडाहरुसँग भने पटक-पटक साक्षात्कार गरिरहेँ जीवनभरि । कति कालखण्ड आए, कति कालखण्ड गए त्यसको कुनै सीमा नै छैन । वास्तवमा देवकोटालाई देवकोटा बनाउन मुनामदनको ठूलो हात रहेको थियो यो कुरा आज घामजस्तै छर्लङ्ग भैसकेको छ । सिर्जनाकालको आरम्भमा नै यति मीठो कृति दिनु नेपाल र नेपालीको लागि ठूलो देन रहेको छ देवकोटाको ।

देवकोटाको कवित्व शक्तिको परिचय मैले केटाकेटीमै पाए पनि 'यात्री' कविताले उनलाई गम्भीर कविका रुपमा मेरो अगाडि उभ्याएको थियो दार्शनिक रुपमा एकदमै सक्षम कवि । जीवनवादी तथा मानवताप्रेमी देवकोटालाई यात्री कविताका प्रत्येक हरफहरुले पटक पटक उद्घाटित गरेका छन् त्यहाँ मानौं तिर्खाएको यात्रीले आफ्नो प्यास मेट्न कुवा प्राप्त गरेझैं निरीह र निहत्था मान्छेहरुको पीडालाई सम्बोधन गरिएको छ यात्री कवितामा । विचारसहित कलाको राम्रो संयोजन गरिएको यो कविताले मेरो स्कूल जीवनदेखि नै मलाई परिवर्तनको लागि उद्वेलित गराएको थियो । यस कुरालाई त्यस कविताको जीत नै थियो भनेर भन्नुपर्छ ।

हुन त देवकोटा सरलभन्दा सरल कविता पनि लेख्न सक्थे र साथसाथै बौद्धिक रुपमा सम्पन्न कविता पनि । कविता मात्र होइन उनले धेरै विधामा कलम चलाएका छन् र अत्यन्त सफल पनि छन् ती विधाहरुमा । चाहे कथामा होस् या उपन्यास विधामा उनको लेखनले मार्ग प्रशस्त गरेको छ । प्रबन्ध होस् चाहे नाटक उनको लेखनमा अद्भुत शक्तिले प्रमुख भूमिका खेलेको हुन्छ माधुर्यता र शालीनताको रुपमा । अनुवाद साहित्यमा त एउटा मापदण्ड नै कायम गरे देवकोटाले आउँदो पिढीँका लागि । अनुवाद साहित्यको एउटा सफल मानक नै तयार भयो भनेर भन्नुपर्छ नेपाली साहित्यका लागि ।

जब निबन्धको चर्चा चल्छ तव देवकोटाभन्दा अर्को निबन्धकारलाई सम्झन केही बेर लाग्न सक्छ कारण देवकोटाका निबन्धहरुमा शाश्वतताको प्रश्नले मुख्य भूमिका खेलेको हुन्छ कलात्मक रुपमा । जीवनलाई हेर्ने र जगत्लाई नियाल्ने प्रकि्रयामा देवकोटाका निबन्धजति सायदै अरुका निबन्धहरु सक्षम रहेका छन् । 'दाडिमको रुखनेर' र 'लक्ष्मी निबन्ध सङ्ग्रह' पढ्दा लाग्छ मान्छेको सर्वोच्व सत्ता त्यहीँ कतै निहित छ । अन्त खोज्न नै जानु पर्दैन । मान्छेलाई सम्बोधन गर्न र मान्छेलाई परिवर्तनको लागि प्रेरित गर्न देवकोटाका निबन्धमा रहेको अद्भुत शक्तिले जति भूमिका खेलेको छ त्यति उनका कविताबाहेकका अरु विधाहरुले भने खेलेको देखिदैन यो कुरा पनि सत्य हो । यसमा सायदै कसैको दुई मत होला ।

देवकोटाले चाहे समाजसेवाको क्षेत्रमा होस् या शिक्षाको क्षेत्रमा होस् उल्लेखनीय योगदान पुर्याएका छन् । नेपालमैं पहिलो पुस्तकालय खोलेकोमा त उनलाई राणाहरुले सजाय पनि दिएका थिए । लाइव्रेरी काण्ड को रुपमा यो प्रसङ्ग आजसम्म चर्चित नै छ । राजनीति तथा पत्रकारिताको क्षेत्रमा उनको योगदानलाई कसै गरे पनि भुल्न सकिदैन । यस्ता देवकोटालाई शताब्दी पुरुषको रुपमा मरोणोपरान्त रुपमा भए पनि सम्मान गरेर उनलाई संझने हो भने उनीप्रति सही प्रकारले न्याय होला भन्ने मलाई लाग्दछ ।

कहिलेकाहीँ त लाग्छ एउटै मान्छेमा यति धेरै शक्ति कसरी सिञ्चित भयो होला । मलाई पटक-पटक लागेको पनि हो उनमा रहेका केही शक्ति अरु मान्छेले पनि प्राप्त गरेका भए उनीहरुको केही मात्रामा भए पनि उद्धार हुने थियो र पहिला र अहिलेको स्थितिमा निकै फरक हुन सक्थ्यो त्यस शक्तिको कारणले । एक मन त लाग्छ देवकोटामा मात्र शक्ति हस्तान्तरण गरेर अरु मान्छेप्रति निकै नै अन्याय भएको छ । किन अरु मान्छेहरु होचा र पुड्का देखिन्छन् देवकोटाका सामु यो प्रश्न दिन प्रतिदिन ज्वलन्त हुँदै व्यूझन्छ । किन मान्छेहरुमा चेतनाको स्तरमा देवकोटा जति तीव्रता पाइँदैन समयका मोडहरु धेरै अघि बढे पनि । तर यो विवादको विषय होइन पनि । कारण कसैको प्रतिभा र क्षमताको कारण अरु मान्छेहरु साना मसिना देखिन्छन् भने यसमा देवकोटाको के दोष छ ? र देवकोटाको शक्तिमाथि प्रश्न उठाउनु त्यति सान्दर्भिक हुँदैन पनि । राहुल साँकृत्यानले भने झैं देवकोटा एक्लै पन्त, प्रसाद र निराला हुन् । होइनन् भनेर भन्नुको कुनै औचित्य नै रहँदैन जबसम्म देवकोटालाई प्रतिभा र क्षमतामा अर्को मान्छेले क्रस गर्न सक्दैन । उनको विशिष्टतालाई यही कुराले नै प्रमाणित गर्छ ।

धेरै भाषाका ज्ञाता देवकोटाप्रति मेरो मोह झन् झन् बढिरहेछ । नेपाली साहित्यलाई अन्तराष्ट्रियकरण गर्ने पहिलो लेखक देवकोटा नै थिए । उनका अंग्रेजीमा पनि प्रशस्त रचनाहरु प्रकाशित छन् र भाषागत रुपबाट ती अत्यन्त सक्षम छन् पनि । शाकुन्तल महाकाव्य उनले नेपालीमा पनि लेखे र अंग्रेजीमा पनि । चाहे अनुवाद साहित्यद्वारा नेपाली साहित्यलाई धनी बनाउनमा होस् वा मौलिक रचना गरेर विदेशी साहित्यसँग प्रतिपर्धा गर्नमा होस् देवकोटाको योगदान अविस्मरणीय रुपमा रहेको छ । शेक्सपियरको कृति म्याकवेथ नेपालीमा अनुवाद गर्नु चानचुने प्रतिभाबाट संभव पनि थिएन कारण शेक्सपियरको भाषा आधुनिक अंग्रेजी थिएन सयौ वर्ष अगाडिको भाषा थियो त्यो । त्यस्तो भाषाबाट पनि देवकोटाले प्राकृतिक रुपमा त्यस कृतिलाई अनुवाद गर्नु उनको विलक्षणताको कारणले मात्र संभव भएको थियो भनेर आज चर्चा परिचर्चा हुने गरेको पनि छ । सायद यस्ता धेरै कारणहरुले उनलाई भौगोलिक रुपमा गलत ठाउँमा जन्मिएका भनेर भनिएको हो । यो कुरा धेरै हदसम्म ठीक हो भनेर मान्नैपर्छ ।

मैले देवकोटालाई बच्चैदेखि पढ्न सुरु गरेर पनि आजसम्म अध्ययन गरिरहेकै छु, अझै सकिएको छैन अध्ययनको सिलसिला र कहिल्यै सकिदैन पनि । बच्चामा पढेको कुरा स्वतः आज अध्ययनको विषयवस्तु भएको छ । उमेरगत रुपमा तथा समयगत परिप्रेक्ष्यमा मौलिक अन्तर भने आएको छ देवकोटालाई पढ्ने र अध्ययन गर्ने क्रममा । देवकोटाका कृतिभित्र यस्तो किसिमको गहिराइ छ जसलाई आत्मसात गर्न एउटा ठूलो कालखण्ड नै त्यसमाथि समर्पित गर्नुपर्दछ सानोतिनो मेहनतद्वारा यो कुरा संभव पनि छैन । देवकोटाको लेखनमा यस्तो प्रकारको चमत्कारिक प्रयोग छ जसलाई बस्मा पार्न सफा मन र पारदर्शी मस्तिष्क त चाहिन्छ नै साथसाथै आफुमा प्रतिभा र क्षमताको पनि प्रशस्त विकास भैसकेको हुनुपर्दछ ।

देवकोटाको लेखनमा रहेको शैली प्रस्तुति विचार कला र भाषालाई अध्ययन गर्दा गर्दै एउटा ठूलो उमेरको तहले फड्को मारेको प्रष्ट रुपमा पत्तै भएन उमेर बढ्दै गयो तर देवकोटामाथि काम गर्नु पर्ने विषय भने झन् झन् थपिदै गयो । वास्तवमा यो यथार्थ हो यसबाट भागेर जाने ठाउँ नै छैन । यसबाट के कुरा पुष्टि हुन्छ भने देवकोटाको आवश्यकता हिजोभन्दा आज झन् बढ्दै गएको छ । देवकोटाको महत्व हिजोभन्दा आज झन् प्रष्ट हुँदै गएको छ । देवकोटा केही समयका लागि मात्र होइनन् भन्ने कुरा यसबाट नै पर्याप्त आधार फेला पार्न सकिन्छ ।

हुन त उनीमाथि वर्गीय दृष्टिकोण राखेर अन्याय नभएको होइन तर अन्याय गर्नेले अन्याय गरे भन्दैमा उनलाई सीमित पार्नु ठिक छ कि छैन त्यो मनन गर्ने विषय हो । वास्तवमा केही मान्छेहरुले देवकोटालाई वर्गीय रुपमा हेर्ने गरेका छन् यसलाई देवकोटाप्रति गरेको असम्मानको रुपमा म लिन्छु । देवकोटाजस्ता विराट् प्रतिभालाई आ-आफ्ना सैद्धान्तिक तर्कको बलमा आफुतिर तान्ने प्रयत्न गर्नु भनेको षड्यन्त्रको झण्डा स्पष्ट तरिकाले फर्फराएर उनीप्रति राजनीति गर्नु हो । केही मान्छेहरुले गलत प्रक्रिया पनि अवलम्बन गरेका छन् देवकोटालाई बदनाम गर्न । त्यो आफैमा एकदमै नराम्रो कुरो हो । देवकोटा सम्पूर्ण नेपालीका साझा सम्पत्ति हुन् कुनै वर्ग विशेषले बाबु÷बाजेबाट प्राप्त गरेको अंश होइनन् । उनी नेपाल र नेपालीका सरोकारका विषयमात्र होइनन् अन्र्तराष्ट्रिय जगत्ले पनि उनलाई ठूलो लेखकको रुपमा स्वीकार गरिसकेको छ । यो कुरा अकाट्य सत्य भएर इतिहासमा सुरक्षित भैसकेको छ ।

महाकविको उपाधिले देवकोटालाई सही रुपमा न्याय गरेको कुरामा कसैको दुई मत हुन नै सक्दैन । महाकाव्यलाई गम्भीर रुपमा नेपाली साहित्यमा भित्र्याउने काम देवकोटाले नै गरेका हुन् । महाकाव्यको महत्व र त्यसको गरिमालाई उनले सम्बन्धित ठाउँमा सम्मानित गराउन सहस्र पहलहरु गरे । असङ्ख्य कविताहरुका बलमा नेपाल र नेपालीको पहिचान शसक्त ढङ्गले देवकोटाले नै दिलाए भनेर भन्नुपर्दछ । त्यसैले उनी नै महाकवि उपाधिका सही हकदार थिए र कसैले उनीबाट यसलाई अपहरण गर्ने चेष्टा गरेमा त्यो साहित्यमा खलनायकको रुपमा सँधै स्मरणमा रहिरहनेछ ।
देवकोटाले महाकविको उपाधि जनताबाट नै प्राप्त गरेका हुन् । राष्ट्रकविको उपाधिजस्तो महाकविको उपाधि व्यक्ति विशेषबाट प्राप्त भएको भने होइन । सही प्रकारले उपाधी प्रदान गरिएन भने त्यसमा बद्नामीको डर सँधै भैरहन्छ जस्तो कविवर माधवप्रसाद घिमिरेलाई राष्ट्रकविको उपाधिले विवादको घेरामा ल्याएको छ । यस अर्थमा देवकोटा घिमिरेभन्दा धेरै सही छन् भनेर मान्नुपर्दछ ।

देवकोटालाई भजेर नै आफ्नो दुनो सोझ्याउने जमात भने नभएको होइन । कतिले देवकोटालाई प्रयोग गरेर नाम पनि कमाएका छन् र दाम पनि । देवकोटा त यस धरतीबाट विदा भए तर उनलाई जपेर वैतरणी तर्ने लश्कर भने दिन-प्रतिदिन बढिरहेछ । यस्तो दिन नआउला भनेर भन्न सकिदैन कि देवकोटालाई बदनाम गर्न यही लश्कर नै भोलि प्रमुख कारण बन्न सक्नेछ । आज देवकोटाको जीतमा हाँस्नेहरु भोलि उनलाई क्षतविक्षत पारेर नमुस्कुराउलान् भनेर भन्न सिकंदैन ।

जे होस् देवकोटा महान छन् र साथसाथै समयका पलहरुमा जीवन्त पनि । उनको योगदानको कारण नेपाल र नेपाली जनतामात्र सँधै गौरवान्वित हुने छैनन् बरु देवकोटालाई नै साक्षी राखेर विदेशीहरुले समेत भन्नेछन् देवकोटाको कारणले नै नेपाल र नेपालीले गौरव गर्ने धरोहर पाएका छन् गर्व गर्ने आधार भेट्टाएका छन् । परिचय दिने क्रममा उनीहरुका सामुन्यमा नै अभिव्यक्त हुनेछन् यी विचारहरु र उनीहरुले पटक-पटक भन्नेछन् यी महाकवि देवकोटा हुन् नेपाल र नेपालीले जन्माएका सच्चा सपुत जसलाई हामी सम्मानमात्र गर्दैनौं त्यत्तिकै रुपमा आदर पनि गर्छौं ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |