हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

प्रेमसँग साक्षात्कार भएको दिनको अनुभूति

विजय राज शर्मा, (डेनभर, कोलोराडो)

अफिस जान सिंगारिएर तयार भइसकेपछि बाथरूमको ढोकाबाट निस्कनुअघि मतिर अलि फर्केर रूवाभन्दा नरम स्वरमा उनले भनिन: लौ त, म अहिले हिडें, आफ्नु ख्याल गर्नु होला।

 ती शब्दहरू नसकुन्जेल नै उनका ठूला-ठूला आँखा आँसुले डबडब भएका थिए। अनुहारमा पीडा स्पष्ट झल्किरहेको थियो। उनी भन्दै गइन: मैले अफिसमा भर्खरै फोन गरें, म आउन केही ढीलो हुन्छ भनेर। तर, बिरामीहरूलाई औषधी ख्वाउन अनुमतिप्राप्त अरु व्यक्ति आज नभएकोले म तुरुन्तै ननिस्की भएन।

 आँखाका डिलबाट झर्नै आँटेका आँसुले उनको गाजलको पातलो धार लतपतिन सक्थ्यो। त्यसैले होला, उनले एकएक गरी दुवै आँखाका तल्लो डिलबाट देब्रे हातको मसिनो चोर औंलामा आँसुका थोप्लाहरू संकलन गरिन, अनि बुढी औंलाको सहयोगले चोर औंला झटकाउँदै आँसुलाई भुँईंतिर हुत्याइन। जुन तरह र गतिले उनले त्यसो गरिन, जाहेर हुन्थ्यो, उनलाई अहिले अफिस जाने पटक्कै इच्छा थिएन। मैले बुझें, उनी मसँग केही समय बिताउन चाहन्थिन, बिहानको खाजा र कफि ख्वाएर मात्र अफिस निस्कन चाहन्थिन। तर, त्यो सम्भव भएन। त्यसैले उनी दु:खी थिइन।

 ढाडको दु:खाईले मलाई आज हल्का ज्वरो आएको थियो। ओछ्यानबाट बाथरूमसम्मको मेरो धीमा हिंडाई र दैनिकीबाट निवृत्त हुन मैले गर्नुपरिरहेको विशेष प्रयत्न देखेरै उनले मेरो दर्दको अनुमान लगाइसकेकी थिइन। अनि, यस्तो अवस्थामा पनि म अफिस जाने तरखरमा थिएँ, त्यसले उनलाई झन छटपट गराएको थियो। ढोकाबाट निस्कँदा निस्कँदै उनले सल्लाह दिइहाल्न पनि भ्याइन: केही टाइलोनोलका चक्कीहरू पनि लिएर जानुहोला, र चाहिए खानुहोला। 

 ढोका ढ्याप्प बन्द भयो। म पनि आफ्नो समयअनुसार सकी-नसकी अफिस लागें। शारिरीक अस्वस्थताले गर्दा सतर्कतासाथ विस्तारै काम गरिरहेको थिएँ। मलाई उनको अनुहारको झझल्कोले पनि एकनास पछ्याइरहेको थियो। जीउले सक्ने काममा पनि ध्याउन्न दिनसकिरहेको थिइन। मैले सम्झिइरहें, कसरी मेरो ढाडको दु:खाई आज बिहान उनको अनुहारमा कालो ग्रहण भएर छाएको थियो। कसरी त्यो मेघ बनेर उनका आँखामा मडारिरहेको थियो। त्यस वेला म केही नबोलेर उनका आँखा हेरिरहेको थिएँ। उनका आँखा राम्रा छन, आज बिहान ती झन राम्रा देखिएका थिए। मैले आजसम्म याद गरेभन्दा पनि बिछट्ट राम्रा। तिनका आँखामा डबडबिएका आँसुमा मैले प्रेमको बाढी उर्लिरहेको देखेको थिएँ। प्रेम एउटा अदृश्य अनुभूति हो, तर ती आँसुमा म प्रेमलाई प्रत्यक्ष देखिरहेको थिएँ। ईश्वरसँग साक्षात्कार भए जस्तो। उनले चोर औंलामा आँसु बटुलेको पनि मैले मन्त्रमुग्ध भएर हेरेको थिएँ। छुँदा मखमलभन्दा नरम लाग्ने गोरा हत्केलाको औंलामा थपक्क बसेको आँसुको थोपा कुनै फूलमा बिहानीपख बसेको शीत जस्तो देखिन्थ्यो। मसिनो औंलामा कति निपुणताले उनले गाजल नबिग्रने गरी आँसु थापेकी थिइन। त्यसमा मैले मप्रति उनको प्रेमको मृदुताको प्रतिबिम्ब देख्न पुगेको थिएँ। म आशिर्वादित रहेछु, यस्ती प्रेमिका मेरो प्रारब्धमा रहेछ। त्यही सोचको सन्चोले बिनाकुनै ठूलो असहजता मैले त्यो दिन काटन सकेको थिएँ। म आतुर भइरहें, कुन वेला घर पुगुँ र उनलाई अँगालोमा च्यापेर सर्वत्र चुम्बनको वर्षा गरौं।   

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |