अहा दशै !
बिनोद खड्का, (हालः दोहा, कतार)
खेतभरी धान बढ्यो
हरियाली छायो
बारीभरी तोरी फुल्यो
स्वर्णसंसार आयो ।
तारामण्डल दानाले
आली झलमली
घर करेशा सबैतिर
बढे मखमली ।
सयपत्री फुल फुल्यो
बास्ना हररर
चंगा उड्यो माथी माथी
हावा सररर ।
भाउजु गईन च्यूरा कुट्न
आमा तोरी पेल्न
बाउ गए भोटतिर
च्यांग्रा भेडा लिन ।
बुट्टे भोटो लगाएर
पींग खेल्न जाउँला
दशैंको मासु च्यूरा
मीठो गरी खाउँला ।
टिकाटाला गर्दै हिडी
आशिष थाप्नु छ
मामाघरको दक्षिणाले
के के किन्नु छ ।
जमराको पुजा गर्ने
हजुरबाको पालो
ठूलाबाले घर पोते
फाले माकुराको जालो ।
मेरो घर मेरो आँगन
कति रमाईलो
दशैको आगमनले
गाँउ नै घमाईलो ।
बाल्यकालको सम्झना हो
उर्ली उर्ली आउँछ
प्रवाशमा के को दशै
मन धेरै रुन्छ ।
१४ सेप्टेम्बर २००८