हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

चरी भरर.....

डा तारानाथ शर्मा, (पूर्व ल्यान्सिङ, मिशिगन)

आमा यस संसारमा सबैभन्दा पहिली र ठूली हुन्। सप्तशती चण्डीको "प्राधानिकं रहस्यम्"मा अङ्कितै छ: "सर्वस्याद्या महालक्ष्मी तृगुणापरमेश्वरी" अर्थात् सबैभन्दा पहिली र तीनै गुणहरू (१, जीवनदान, , पालनपोषण र रक्षा, , शिक्षा वा भविष्यनिर्देश)ले युक्त भएकी परम् ईश्वरी महालक्ष्मी नै हुन्।


350-001 exam dumps  650-752   pass4sure 650-752   2014 latest 220-801 practice   2014 latest 350-001 questions   Cisco 500-254  

र मेरा लागि मेरी जन्मदात्री, पालनकर्त्री र शिक्षादात्री तीनतीन मानवरूपी आमाको प्रतिनिधित्व गर्ने अर्थात् महाकाली, महालक्ष्मी र महासरस्वतीकी स्नेहमयी साक्षात् प्रतीक नेपालमाता हुन्। म जहाँ जान्छु, जे गर्छु र जे सोच्छु आमा नेपालको न्यानो, कोमल र मायालु हात सधैँ मेरा शिरमा हुन्छ। यस शिरमा  कुङ्-लिङ्ग घुमेका काला केशहरू बढ्दै जाँदा यिनै जननीका प्रेरणाप्रद हत्केलाहरूले मलाई सुम्सुम्याउँथे र थुम्थुम्याउँथे अनि आज मेरा घुमृएका केश सोझिइसके र सोझिइसकेका मात्र नभई बाक्ला न बाक्ला रूपबाट पातलिँदैपातलिँदै क्रमैसित खैरिइँदै गए र कृतृम कालो रङ लगाउँदालगाउँदा पनि अब त सेतै भएर सगरमाथातिर फुर्तीसाथ घुम्ने हिममानव  यतीकै जस्ता हिमरङ्गी भइसके, तथापि त्यो कोमल सुम्सुम्याइ ममाथि लगातार चलिरहेकै छ।

 हो त, सगरमाथा त मेरी माताको पवित्र शिर हो र त्यसैबाट म डोरिँदै छु, भौँतारिएर पिट्सबर्गका पहाडी राजपथमा गुड्दा पनि मेरा शेर्पा बालसखा पासाङ गोपर्मा, तामाङ किशोरमित्र अमीर लामा तथा लिम्बू युवासाथी काजीमान कन्दङ्वासँगै हाम्रै गाउँहरूमा, हाम्रै चिटिक्क परेका सस्याना  घर-आँगनहरूमा र उकालाओह्राला रमाइला बाटाहरूमा म हाँस्तै र गोडा उफार्दै घुमिरहेको मात्र सम्झन्छु।

 गाडी सत्तरीपचहत्तर माइलको गतिमा घुइँकिइरहेथ्यो। अघिल्लो आसनमा म अघिल्तिरका र दुईपट्टिका झ्यालहरूबाट देखिने डाँडाकाँडाका सुन्दर दृश्यहरूमा मग्न र मस्त थिएँ। यत्तिकैमा गाडीचालक सहयात्रीले नेपाली गीत घन्काउँदा मलाई  मेरै इलामका देउरालीशिखरको, हाँसपोखरीको, तुम्लिङको र माईपोखरीको झझल्को भयो। ती सुन्दर हरिया डाँडामा पङ्-क्तिबद्ध पोथ्रापोथ्रीहरू, ती गोठहरू र ती कटेराहरू हृदयभरिभरि छचल्किए, मस्तिष्कभरिभरि सजिए र आँखा पूरै ढाकेर दृश्यबद्ध भएर झल्झलाकार भए। अनि गायककोस्वर गाडीभरि गुन्जियो:--- चरी भरर---डाँडामा गएर रूँ कि धरर---!

 हो, मलाई किन हो किन अलिगेनी पर्वतमालाका छेउको राजमार्गबाट देखिने पहाडे गाउँ, सस्याना बाटा, रूखहरू र घरहरू आफ्नै ठाउँका, हृदयनजिकैका र अति आकर्षक लाग्दै गए। शरीर अघिल्लो आसनमा गतिमय गाडीसँगै सुबिस्तासाथ हुइँकिइरहेकै थियो। भिरालिएका डाँडाहरूका लगातार देखिइरहेका साना सुन्दर घरहरूमा मेरा आँखा झिम्म पनि नभई पूर्ण रूपले एकोहोरिइरहेका थिए। चरी भरर उडेको र त्यो देखेर गायकलाई डाँडामा गई धरर रुन मन लागेको गीतको भाका सुनेर म पनि फिक्कलबाट पशुपतिनगरतिर जाँदा सुन्दरपानी, तीनखुट्टे र बौद्धधामतिर देखिने घर र बाटाहरूमा रम्न पुगेँछु, पुवाखोला तरेर माथि देउरालीडाँडाको फेदमा पर्ने नेपालटारका दृश्यहरूमा मच्चिन थालेँछु र वरबोटेबाट घलेटार हुँदै माईपोखरी जाँदाका नागीहरूका अनुपम गोठहरूका वातावरणमा झुम्न लागेँछु।

 यत्तिकैमा चरी भररको गीत सकिएछ र अर्को गीत गुन्जिन थाल्यो ---"छेक्यो है छेक्यो देउराली डाँडा हुस्सु र कुइरोले---!"

 साँच्चै नै बाहिर डम्म हुस्सु थियो, डाँडा र घरहरू, रूख र बाटाहरू झल्याकझुलुक हुन थाले। म ता उही आफ्नै इलामे सँसारमा नै भएको अनुभूति र मेरो प्यारो देउरालीलाई हुस्सु र कुइराले ढाकेको वास्तविकतामा बररर रुन पो थालेँछु! चरी भरर डाँडामा गएर रूँ कि धरर!!

 मातृदेशको माया मापाको हुँदो रहेछ। सपनामा त यो सधैँ नै आइरहन्छ, तर बिपनालाई पनि यसले उत्तिकै  प्रभावित पार्दो रहेछ। मेरा शरीरका अङ्गअङ्गमा, मेरा विचारका केस्राकेस्रामा र मेरा कार्यका बिन्दुबिन्दुमा जन्मभूमिको कहिल्यै नमेटिने छाप जीवनभरि परिरहेको छ। म बेलाइत जाँदा त्यो छाप छुटेको थिएन, कोरिया, जापान र ताइवान घुम्दा त्यसले मलाई छाडेन र यूरोपका स्पेन, अस्टृया, स्विट्जर्ल्यान्ड, जर्मनी, इटाली आदि जहाँजहाँ गएँ म चन्द्रसूर्याङ्कित दुई तृकोणको प्यारो झन्डाकै छत्रछायामा रहेँ।

 र अहिले हुस्सु र कुइराको अर्द्ध अन्धकारलाई च्यात्तै गाडी सुइँय सुरुङभित्र छिर्छ। पहेँला उज्याला बत्तीहरूका ताँतीले सुकिलो, चिल्लो र कालो सडकलाई झलमल्ल पार्दा म झल्याँस्स हुँदै मेरै नयाँ सडकमा लक्ष्मीपूजाको रातमा सेलरोटी टोक्तै आनन्दले घुमेजस्तो रमाउन थाल्छु। एकडेढ माइलको सुरुङ तुरुन्तै सकिन्छ अनि अर्कापट्-टिको हुस्सु स्वागत गर्न झ्वाम्म अघि सर्छ। फेरि उही इलामे माईपोखरी, उही चोभार हुँदै दक्षिणकाली जाने बाटो, उही नेपालटार काटेर पाँचथर लाग्ने मार्ग र उही कालापानी काटेर कर्फोक जाने बेलाको बादलुको सम्झना हुन्छ।

 बादलुमा डुब्दाडुब्दै म झल्याँस्स कालु दमाईलाई सम्झन पुग्छु। जीवनभरि अर्काका लुगा सिएर कमाएको पैसा एकएक गर्दै बचाएर बिचराले पुवाखोलामा आजभन्दा झन्नै सय वर्षअघि सुन्दर झोलुङ्गे पुल हालिदिएका थिए। सो पुलले अझै जनताको सेवा गर्दै आएको छ। हुनत वरबोटेका सम्पन्न र उदार व्यक्ति रणबहादुर गुरुङले पनि जमुनास्थित माईखोलामा, वरबोटेमुनि पुवाखोलामा र सुन्तलेमुनि जोगमाईमा हालिदिएका झोलुङ्गे पुलहरू पनि उत्तिकै जनसेवामा अझै उभिएकै छन् र म ती गुरुङपुलहरूको पनि उत्तिकै प्रशंसक छु, तर असम्पन्न व्यक्ति कालुको दमाईपुल नै समाजसेवाको बढी उल्लेखनीय उदाहरण हो भन्ने मलाई लाग्छ।

 यति धेरै डाँडा काटिए, यतिका ब्याँसीहरू  चिरिए, सुरुङहरू छिरिए, नदीहरू उत्तिकै तरिए, तर कतै साँघुजस्तो देख्न पाइनँ, अथवा गाडीको गतिले गर्दा पुलमाथिबाट गुज्रेको अनुभूतिसम्म पनि भएन। वायुयानमै बसेर नहल्लिकन उडेजस्तो यी पातालका समतलीय चिल्ला रजमार्गहरूमा गुड्दा त झन पूर्ण आराममा बसेको शरीरभित्र मातृभूमि नै मातृभूमि मस्तिष्कभरि झङ्कृत हुँदो रहेछ। मेरी माताको शिर सगरमाथा मलाई शिवको निस्स्वार्थ जनहितकारिताको पाठ पढाउँछ, मेरी सीतामाता मलाई पवित्र परिवारप्रेमको आदर्श सिकाउँछिन्, मेरी भृकुटीआमा मलाई विश्वबन्धुत्व र कलाप्रेमको शिक्षाले सिञ्चित गर्छिन्, मेरा बुद्धमहात्मा अहिंसा, शान्ति र मानवताको मध्यम मार्ग देखाउँछन् र मेरा पृथ्वीनारायण शाह, भक्ति थापा, अमरसिंह थापा र गङ्गालाल श्रेष्ठ देशप्रेमको अमरगाथा सुनाउँछन्। ती ऐतिहासिक व्यक्तित्वहरू त सबै प्रबुद्ध नेपालीका प्रेरणास्रोत हुँदै हुन्, छँदै छन् र रहने पनि छन्, तर हाम्रा कालु दमाईजस्ता निस्स्वार्थ त्यागी समाजसेवी व्यक्ति नै हाम्रो राष्टृयताका गौरव हुन्। स्वार्थले घ्वाप्लाक्क अँगालेको यस युगमा हाम्रो मुलुकमा यस्ता इमानदार र कर्तव्यपरायण प्रहरीहरू पनि अझै छँदै छन् जो भारतीय कुख्यात अपराधीले एक करोड रुपियाँको घूस दिँदा पनि त्यसलाई कानुनबमोजिम पक्रन्छन्, छाड्दैनन् र नेपालित्वको गौरव स्थापित गर्दै नै छन्। केन्द्रीय सरकारका प्रमुख भनाउँदाहरू लुरुक्क परेर आफ्ना ऐनकानुनका मर्यादा नाघ्दै दिल्लीशाहहरूलाई त्यस्ता अपराधी सुम्पन्छन् भने त्यसबाट हाम्रा सामान्य सुरक्षाकर्मी र प्रहरीहरूका इमानको झन प्रतिष्ठा बढ्छ। यिनै मर्यादा उल्लङ्घन गर्ने कुलाङ्गार राजनैतिक मुखिया भनाउँदाहरूले गर्दा नै आज नेपालआमा रोइरहेकी छिन्, सगरमाथालाई वेदनाको हुस्सुले ढाकेको छ, छेकेको छ--- छेक्यो है छेक्यो देउराली डाँडा हुस्सु र कुइरोले!

 यस्तैमा मेरो मन उही रत्नपार्क, उही सिंहदरवार र उही नयाँ सडकमा पुग्छ। म फेरि पनि चोभार हुँदै दक्षिणकालीतिर गुडिरहेको हुन्छु, धुलिखेलमाथिको डाँडास्थित पुरानो मन्दिरतिर भट्भटेबाट गइरहेको हुन्छु अथवा सुन्दर सस्याना प्यारा गाउँहरू चिर्दै पलाञ्चोकी भगवतीको दर्शन गर्न पुगिरहेको हुन्छु।

 ओहो! यी पृथ्वीमाता पनि अचम्मैकी छिन्। जुन ठाउँमा पनि, जुन देशमा पनि र जुन पहाडमा पनि उस्तै पाखा, उस्तै रूख, उस्तै खोलानाला, छाँगाछहरा र उस्तै ढुङ्गेनी पहराहरू मलाई उत्तिकै स्नेहसाथ बोलाइरहेका हुन्छन्---लहरा पहरा छहराको देश, पारिपारि हिमालमा उडिरहने बादलुको केश, मेरो देश, मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ, लहरा पहरा छहराको देश, मेरो देश!! मलाई मेरो देशको बादलुले बोलाइरहेको हुन्छ। त्यसै हुनाले मेरा जिजुबाबा रामानन्द उपाध्याय भण्डारी भन्ने गर्नुहुन्थ्यो रे: माता च पार्वतीदेवी पितादेवो महेश्वर: बान्धवा मानवा सर्वे स्वदेशो भुवनत्रयम् (अर्थात् हाम्री आमा पार्वती र बाबा महादेव हुन् भने सारा मानवहरू हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू हुन् र तीनै लोक वा सम्पूर्ण पृथ्वी हाम्रो आफ्नै देश हो, मातृभूमि हो)।

 गाडी गुड्दै नै छ र त्यसले अब पहाडहरू छिचोलिसक्यो, राम्राराम्रा घरहरू लहरै देखिन थाले। जताततै झिलिमिली छ, तर कतै बन्द छैन, चक्काजाम छैन, प्रदर्शनी छैन। सबै आफ्नाआफ्ना निर्माणका काममा व्यस्त छन् र त्यसैले त अमेरिका यति अघि बढेको छ। मेरो मातृभूमिमा चाहिँ हाल के भयो कुन्नि, खालि भत्काउने, बिगार्ने, दाजुभाइ फुटाउने र नचाहिंदो झ्वाँक देखाउने कुराहरू मात्र भइरहेका छन्। यहाँ पातालका युवकयुवतीहरू दिनरात पढाइमा, अनुसन्धानमा र तालिममा घोटिएका छन् र एक छिन तिनलाई फुर्सद छैन, अलिकति फुर्सद हुनेबित्तिकै आयआर्जनको काममा दुगुरिहाल्छन्। ती आफ्ना सारा खर्चहरू आफैँ जुटाउँछन्, बाबुआमासँग खर्च माग्नु नालायकी र कायरता ठान्छन्। ठीक उल्टो मेरो मुलुकका युवकयुवतीहरू बाबुआमाका पैसामा मस्ती मच्चाउँदै अर्काका गाडी भत्काउन, झ्यालहरू फुटाउन, पर्खालहरू फोर्न, सालिगहरू ढाल्न अनि पसलहरू, कार्यालयहरू र विद्यालयहरू डढाउन लाजै नमानी फुर्तीसाथ जुटेका छन्। सिकिस्त बिरामीलाई बोकेर अस्पताल जाने गाडी होस् वा निर्माणकार्यका लागि हतारिँदै बसमा बसेका कामदारहरू हुन् अथवा कार्यालय हिँडेका इमानदार र कर्तव्यनिष्ठ कर्मचारीहरू हुन् कसैको वास्ता नगरी बाटो छेक्नु, बाधा पुर्याउनु, ढुङ्गामूढा गरेर उपद्रो मच्चाउनु युवाधर्म भएको छ। त्यतिले नपुगी स्वच्छ हिमाली हावामा युगौँयुगदेखि रमाएका जनतालाई गाडीका टायर बालेर सम्पूर्ण सहरै प्रदूषित गर्नु बहादुरी मानिन्छ। हाम्रा बलभद्र थिए, कालु पाँडे थिए, गजे घले थिए जो वीरतामा सर्वश्रेष्ठ थिए र ती राष्ट्रका मर्यादा र प्रतिष्ठाका लागि ज्यानलाई हत्केलामा राखेर लडेका थिए। नेपाली वीरताको त्यो अद्वितीय गौरव, त्यो राष्टृय एकताप्रतिको अनन्य निष्ठा र त्यो उदात्त भावना हाम्रा पुर्खामा देखेर नै एक बेलाइती विद्वान् सर राफ टर्नरले लेखेका छन्: गोर्खालीहरू वीरहरूमा सर्वश्रेष्ठ, उदारहरूमा अद्वितीय र इमानदारहरूमा अनुपम हुन्छन् र ती हाम्रा अर्थात् मानवजातिका घनिष्ठ मित्र हुन्।

 म त्यही गौरवलाई हृदयमा बोकेर घर सम्झँदै र घरका चकचके युवाहरूको एकोहोरो रिस, द्वेष र भत्कोसको भावना देखेर भरर उड्ने चरीलाई हेर्दै धरर रुँदै छु: चरी भरर डाँडामा गएर रूँ कि धरर---!

 वसन्तपञ्चमी, २०६४

पूर्व ल्यान्सिङ, मिशिगन

 

Comments

Alaka

कस्तो राम्रो ! कस्तो रमाइलो संस्मरण! म पनि यस लेखका दुई नायकका रचनालाई अत्यन्त मनपराउने पाठक हुँ । आफूले मनपराउने लेखकहरूका बारेमा यसरी टाढा भएर पनि पढ्न पाउँदा कतिआनन्द आउँदो रैछ । 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |