हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

स्वस्थानी कथाको सन्देश के हो ?

डा. कविताराम श्रेष्ठ, (काठमाण्डौ)

माघ महीनाभरी स्वस्थानी कथा बडो भक्ति र उत्साहकासाथ नेपालमा पढिइन्छ । यसको महात्म्यको गुण गाइन्छ । सजधजकासाथ यसको ब्रत हुन्छ । त्यस्तैगरी सांग्य विधि अपनाइन्छ । तर यसमा के सन्देश समाहित छ भन्नेकुरा साधारण जनमा बोध्य छैन । यीनका धार्मिक पक्षले मात्र महत्ता पाइआएको छ ।
स्वस्थानी कथामा शिवजीको कथा प्रथम नायकको रुपमा प्रस्तुत भएको छ । उनी नन्दीभृंगी, भूतप्रेत, पिसाचका मालिकका रुपमा प्रस्तुत छन् । उनी नांगा जंगली असभ्य देखिइन्छन् र तत्कालीन समाजमा कन्यासम्म नपाउने स्थतिमा उनी रहेका हुन्छन् । उनी असुरबाट त पूजिइन्छन् तर सूर अर्थात देवहरुबाट अस्वीकृत हुन्छन् । तथा ठूलै संघर्ष पश्चात उनी देवकोटीमा ल्याइन्छन् । यस कथाले के सन्देश दिएको छ - त्यसैका विवेचना यो लेखको आशय हुन पुगेको छ ।
यसमा शिवजी सम्बन्धमा कुन शास्त्र वा धर्मग्रन्थहरुले के भनेका थिए र उनका उत्कर्षको सन्दर्भमा आइपरेका महत्वपूर्ण घटनाहरुले के जनाउँछ भन्ने कुराहरुको विवेचना गर्दै शिवजी एउटा अनार्यदेव थिए र पछि आर्य देवकोटीमा कसरी ल्याइए भन्ने कुराका सविस्तार प्रमाणहरु समेत विवेचना गरिएको छ । सारमा यो लेखको आशय यही रहेको छ कि शिवजी आर्य र अनार्य सभ्यताका मिश्रणका प्रतिकात्मक विन्दु हुन् ।

वैदिक कालको अन्तसम्म शैव धर्म भन्ने कुनै धर्म थिएन । शैव धर्म सम्प्रदायको केही झलकसम्मको संकेत भने वेदहरुमा पाइन्छ । शैव धर्म वैदिक धर्मको एउटा शाखाको रुपमा प्रतिपादित भएर आएको छ र यसको कुनै व्यक्ति प्रतिपादकको रुपमा छैन । यस मतका प्रमुख देवता शिव हुन् र शिवकै नामबाट यसको नाम शैव धर्म भएको हो । अतः शैव धर्मको उद्गम खोज्न शिवकै पछाडि लाग्न पर्ने हुन्छ ।

पौराणिक युगमा हामी जुन शिवलाई पाउँछौं उनको प्राचीनतम रुप त्यो थिएन । अर्थात् पुराणहरुका शिव अति नै मान्य प्रभावशाली र उच्चकोटीका देवता देखिन्छन् भने वेदहरुमा त्यो स्थान उनका लागि किन्चित देखिंदैन  । ऐतिहासिक क्रमलाई हेर्दा उनको यो उत्कर्ष वेदहरुभन्दा पछि उपनिषद्देखि शुरु भएको देखिन्छ । सवैभन्दा प्राचीन ग्रन्थ  ऋगवेदमा आदिदेखि अन्तसम्म शिव भन्ने देवताको उल्लेख नै छैन । ऋगवेदका मध्यम श्रेणीका देवता रुद्र नै कालान्तरमा शिव हुँदै गएको विभिन्न ग्रन्थहरुले प्रमाणित गर्दछ । त्यसैले शिवको उत्पति खोज्दा हामीले रुद्रको नै प्रथमतः अध्ययन गर्न जरुरी छ ।

सम्पूर्ण ऋगवेदमा रुद्रका लागि तीन वटा (राहुल सांकृत्यायन - १४।६ १५।७ १५।५८) ऋगवैदिक आर्य मात्र पूर्ण सूक्तहरु उपलव्ध छन् । यसदेखि बाहेक केही अरु सूक्तहरुमा रुद्रलाई अरु देवताहरुका साथमा स्तुति गरिएको छ । यसरी उनका नाम प्रायः ७५ पल्ट आउँछ । (वेदिक मिथोलोजी पिए मेकडानलाल्ड) । यी सूक्तहरुमा रुद्रलाई मरुतहरुसँगै भएको बर्णन गरिएको छ । उनका उज्ज्वल वाणहरुद्वारा दोपाया तथा चौपायालाई भेदन नगरियोस् भनेर प्रर्थना गरिएको छ । यी सूक्तहरुले रुद्रलाई आकाशमा गर्जदै र चिच्याउँदै उडी िहंड्ने देवताको रुपमा वर्णन गरेका छन् । यिनै सूक्तहरुका आधारमा विभिन्न विद्वानहरुले रुद्रका उत्पति बारेमा एकै किसिमका मतहरु पेश गरेका छन् जसलाई तल विश्लेषण गरिएको छ ।

ऋगवैदिक आर्यहरु इन्द्र, अग्नि, सूर्य, बरुण, उषा आदि प्रकृतिपूजक थिए । प्राकृतिक तत्वहरुलाई मानवीकरण गरेर उनीहरुले वेदका रचना गरेका थिए । ती सूक्तहरु अति नै भावुक थिए । भावुक ऋषिहरुले विहानको रमाइलो सुखमय वातावरणमा सुन्दरी रमणी देवी उषा को कल्पना गरेका थिए भने प्रकृतिका अति भयानक र ध्वंसात्मक पक्षहरुमा डरलाग्दो र क्रूर रुद्र को कल्पना गरेका थिए । (विजि भण्डारकर र वैष्णविज्म शैविज्म एण्ड अदर माइनर रिलिजन्स) ।

आर्यहरु उत्तरका ठण्डी प्रदेशबाट आएका थिए र अनुकूल वातावरणको निमित्त प्रथमतः उनीहरु हिमालय प्रदेशतिर नै बसे । त्यता डरलाग्दो आँधीबेरी हिमपात, वर्षात र बज्रपातको सामना उनिहरुले गर्न पर्यो । यही उत्पातहरुमा उनीहरुले रुद्रको कल्पना गरेको स्पष्ट हुन्छ । ऋगवेदका केही सूक्तहरुमा रुद्रलाई मरुत वायुदेव सँगै स्तुति गरिएको छ । मरुतहरुकै कारणबाट भयानक आँधीबेरी, हिमपात, घोर वर्षा र बज्रपात हुने प्रकृतिलाई हेरेर रुद्रलाई बायुदेवसंग कल्पेको हुन सक्छ । रुद्रका वाणलाई उज्ज्वल भनी वर्णन गरिएको छ । यसको संकेत बज्रपात हुँदा चम्कने बिजुलीतर्फ हो भन्ने बुझिन्छ ।

 ऋगवेदमा रुद्रलाई गिरित्र अर्थात पहाडमा वस्ने र गिरीश अर्थात पहाडका मालिक भनिएको छ । यो पहाडि जनजाती किराँतहरुको इष्टदेव किरातेश्वर हुनुको संकेत त हुँदै हो साथै प्रतिकात्मक रुपमा यसको संकेत बादलतर्फ छ भन्न सजिलो पनि छ किनकि बादल प्रायः पहाडमा नै बसेको प्रतीत हुन्छ । र बादलबाट नै बज्र हानेको प्रतीत हुन्छ जुन कुरो रिगवेदका सूक्तहरुमा बारम्बार आउने रुद्रका उज्वल वाणको प्रतीक हुन सक्छ ।

रुद्रलाई कृष्ण वस्त्रधारी अर्थात कालो लुगा लगाउने, कपर्दिन अर्थात जटाधारी, कल्पलिकिन अर्थात धप्धप् बल्ने, दिवो वराह अर्थात आकाशका बनेल आदि नामले पनि स्तुति गरिएको छ । यी सवै नामको संकेत बादलतिर नै हुन सक्छ । बादलको कालो रंगलाई रुद्रका कालो लुगाको कल्पना गरिएको हुनसक्छ । छरिएका काला-काला बादलहरुलाई हावामा उडिरहेका रुद्रका जटा मानेका हुन सक्छन् । काला काला बादलबाट बिजुली निस्कने हुनाले नै उनलाई कल्पलिकिन धपधपी बल्ने भनेका हुनसक्छन् । साथै आकाशमा गर्जदै उडी िहंड्ने खैरो कालो रंगको बादलको गर्जना भनेर तिनै बादलका कारणबाट उव्जने चटुंगाका गर्जनालाइ तादात्म्य गराएका हुन सक्छन्- (डा. यदूशंकर शैविज्म)  । यी सवका अतिरिक्त रुद्र शब्द नै बादलको गर्जनाको अर्थबाट सिर्जिएको हुन सक्छ किनकि रुद्र रु धातुबाट बनिएको छ र जसको अर्थ गर्जनु हुन्छ । (वेदिक मिथोलोजी पिए मेकडानलाल्ड) । साथसाथै त्यसै ठाउँमा र केही अरु अथर्ववेद तैतरीय संहिता र सतपथजस्ता ग्रन्थहरुमा पनि रुद्रलाई अग्निसँग तादात्म्य गराइएको छ । (म्याक्समुलर, सेरिज, द स्याक्रेड बुक अफ द इस्ट) । अर्थात् अग्निलाई नै रुद्रको रुप पनि भनिएको छ । आकाशबाट खसेको बज्र-विजुलीले पृथ्वीमा आगो लगाउँदछ । अर्थात आगोको रुप लिन्छ । त्यसैले अग्निसँगको तादात्म्यलाई हेर्दा त्यो संकेतले चट्यांगलाई नै रुद्र भन्न सजिलो पर्छ । (वेदिक मिथोलोजी पिए मेकडानलाल्ड) ।

आर्यहरु पश्चिमबाट आएर सिन्धुघाँटी तथा गंगाको मैदानको मनसुनी क्षेत्रमा बस्दथे र खेतीपाती र पशुपालन गर्दथे । पहाडको टुप्पाको नजीक चम्कँदै गर्जेर उडी िहंड्ने बादलले वर्षा हिमपात र बज्रपातका साथै डरलाग्दो आँधीबेरी भेल र पैरो पनि चलाएको उनिहरुले देखे । यही ध्वंसात्मक प्रकृतिमा उनीहरुले भयानक र क्रूर रुद्रलाई देखे र पहाडका फेदीमा बस्ने दोपाया र चौपायाको कल्याणको निमित्त उनीहरु रुद्रको स्तुति गर्दथे । (विजि भण्डारकर र वैष्णविज्म शैविज्म एण्ड अदर माइनर रिलिजन्स) । रुद्रलाई ती सूक्तकर्ताहरुले बादल बिजुली आँधीबेरी र हिमपातको रुपमा विध्वंसक मात्र नभई कल्याणकारीका रुपमा पनि हेरेका छन् । (राम दास गौड - हिन्दूत्व ) ।

यसमा शंका छैन बादल बिजुली आँधीबेरी र हिमपातको रुपमा रुद्र वर्षा सम्बन्धी देवता देखिन आउँदछन् । त्यसमा पनि रुद्रको एउटा नाम वृष पनि छ । वृष नाम विद्वानहरुका बीचमा निकै ठूलो विवादको विषय भएको छ । किनकि यही वृष अर्थात गोरु पुराणहरुमा आएर रुद्र शिवको वाहनको रुपमा देखिन्छन् । वृष शब्दको शाब्दिक अर्थ वर्षयिता पनि हुन्छ भनेर केही विद्वानहरुले भनेका छन् । साथै यसको अर्थ गोरु पनि हुन्छ । (डा. यदूशंकर शैविज्म ) ।

रुद्रलाई प्रथमतः वृष भन्नुको तात्पर्य वर्षयिता नै थियो भन्नमा अत्युक्ति हुँदैन । अन्यथा वृषलाई प्रजनन् शक्तिको प्रतीकको रुपमा लियौं भने पनि यो समस्याको सजिलै हल हुन सक्छ । रुद्र वर्षयिता हुन् । बर्षाले झारपात जडिबुटी घाँस फलफूल उमार्दछ र बर्षायाममै प्राणीहरुको प्रजनन्शक्ति बढ्दछ । त्यसैले धेरै ठाउँमा आफ्ना र पशुहरुका सन्तान वृद्धिका लागि रुद्रलाई प्रार्थना गरिएका छन् । उनको नाम पशुपति अर्थात पशुहरुका मालिक प्राणी मात्रका पालनकर्ता पनि भनिएको छ । उनी जडिबुटी उब्जाई दिन्छन् र स्वच्छ स्वस्थ र शीतल हावा बहाई दिन्छन् । त्यसैले उनलाई महाभीषक महान वैद्य पनि भनिएका छन् । पशुपति र महाभिषक दुवै नाम प्रजनन्सँग सम्बन्धित छन् । त्यसैले उनी वृष हुन् ।

गोरुले खेत जोत्छ यस अर्थमा गोरुको कृषि कार्यमा ठूलो भूमिका छ । गोरुले वस्तुको संख्या पनि बढाउँछ । दुवै अर्थमा गोरुलाई प्रजनन्को प्रतीकको रुपमा लिन सकिन्छ । गोरुको पुंसकत्व र बलवीर्यकाबारे आर्यहरुमा राम्रै परिचय भएको थियो । अतः पौराणिक आर्यहरुले पुंसकत्वको प्रतीक गोरुलाई शिवका वाहन बनाई दिए (डा. यदूशंकर शैविज्म ।) … अर्थात् रुद्रका कल्याणकारी व्यक्तित्व वृषमाथि सवार भएर कार्यरत छन् ।

यही व्यक्तित्व लिँगपूजामा विकसित भएको पनि बुझिन्छ । प्रजनन्का कारण मुख्यतः लिँग हो । त्यसैले संसारका प्रजनन्कर्ता शिवलाई लिँग रुपमा पूजा गरिनु स्वाभाविक भयो । यसरी हामी ऋगवैदिक कालका आकाशका वर्षासम्बन्धी भयंकर अति क्रूर विध्वंसक रुद्रबाट अति कल्याणकारी प्राणीहरुका पालनकर्ता पौराणिक शिवसम्म आइपुगेका छौं ।

रुद्रका कल्याणकारी पक्षको संकेत ऋगवेददेखि नै भइ आएको बुझिन्छ । तापनि रुद्रकालागि शिव नाम उपनिषद्मा आएर मात्र उजागर हुनेगरी प्रयोग भएको देखिन्छ । यद्यपि उपनिषद् भन्दा अगाडि पनि शिव भन्ने शब्द रुद्रका लागि पहिलोपल्ट यजुर्वेदको शतरुद्रीयमा उल्लिखित नभएको चािहं होइन । उल्लेखनीय यो छ कि त्यो नामको रुपमा नभई विशेषणको रुपमा प्रयोग गरिएको छ । त्यस युगमा दिइएको विशेषण उपनिषद्कालमा आएर मुख्य नामकै रुपमा प्रयोग भएर उनका वैदिक नाम रुद्र उपनामको रुपमा परिणत भयो । यसै कालमा रुद्रलाई सृष्टि, पालन र संहार तीनै कार्यका कर्ता महान् देवता महादेवका रुपमा पूजा गरिन लाग्यो । अर्थात् ऋगवैदिक मध्यमश्रेणीका देवता रुद्रले यस कालमा ब्रह्म को स्थान पाए । (डा. यदूशंकर शैविज्म) । रुद्रको यो उत्कर्ष सजिलैसँग भएको छैन । बेला बेला ठूला ठूला संघर्षहरु भएका कुराहरु इतिहास शिलालेख र ग्रन्थहरु प्रमाण दिन्छन् । यी संघर्षहरु शिव स्वयंका नभई उनका भक्तहरुका थिए । स्वस्थानी ब्रतकथाका सम्पूर्ण कथा यसैमा केन्द्रित छ ।

ऋगवेदमा रुद्रको उल्लेख भएतापनि यिनलाई आर्यहरुले विजातीय देव अर्थात आर्येतर देव मानेका थिए । उत्तर पश्चिमबाट आएका आर्यहरु जब हिमालय प्रदेशमा बस्न आए त्यस कछाडमा उनीहरुले मनसूनी जलवायुका कारण ठूला ठूला  आँधीबेरी, हिमपात, वर्षा, भेल, पहिरो, चट्यांग आदिको सामना गर्न पर्यो । यस प्राकृतिक क्रूरताका पछाडि स्थानीय देवको कोपको कल्पना उनीहरुले गरे । उनीहरु अरुका भूमीमा आएका थिए । त्यस भूमीमा बस्नकोलागि सम्झौता त गर्नै पर्थ्यो । यसर्थ उनीहरुले आफ्ना देवहरुका मध्येमा ती स्थानीय देवलाई राखी प्रार्थना गर्न लागे । आर्यहरुले यस स्थानका वासिन्दाहरुमाथि राजनीतिक विजय प्राप्त गरेथे । अतः उनीहरुलाई आफूभन्दा नीच जाति सम्झन्थे । ती जातिका देशमा रहेका देवतालाई उनीहरुले करबलले मध्म श्रेणीमा राखे ।

ब्राह्मणकालको सूत्रपात भएपछि आर्यहरुको प्रमुख देव इन्द्रको ठाउँमा विष्णु आइपुगेका थिए । यस कालमा यज्ञ कर्मकाण्डको ठूलो महत्ता थियो । ब्राह्मण धर्मग्रन्थहरुमा रुद्रलाई कुनै सम्मान दिइएको छैन । अथर्ववेदको १५ औं अध्यायमा उनलाई ब्रात्यदेव अर्थात् नीच जातिको देव अर्थात अनार्य देव भनिएको छ । (म्याक्समुलर सेरिज द स्याक्रेट बुक अफ अफ द इस्ट) ।

महेन्जोदडोको उत्खननबाट प्राप्त भएका सामग्रीहरुबाट स्पष्ट हुन्छ आर्येतर जातिमा भारतमा लिँगोपासना र पशुपतिरुप शिवको पूजा हुन्थ्यो । यस उत्खननबाट प्राप्त भएको एउटा तीनमुखे शीरवाला पुरुष भएको बीचको शीरबाट एउटा फूल विरुवा लत्रिएको देखिन्छ । यो उब्जनी वा प्रजनन सँग सम्बन्धित देव प्रतीत हुन्छ । (आरसी मजुम्दार वेदिक एज ) ।

यस्तै यहींबाट लिँग स्वरुप चुच्चा, चिल्ला चिल्ला धेरै ढुंगाहरु पाइएका छन् जुन प्रजननदेवको अर्का प्रतीक रुप हुनसक्छ । ऋगवेदमा दुई पल्ट शिश्नदेवा (राहुल सांकृत्यायन - १४।६ १५।७ १५।५८ ऋगवैदिक आर्य) भन्ने वहुवचनसूचक शब्दको प्रयोग भएको पाइन्छ । यसमा शिश्नोपासकहरुलाई टाढै राख भनी ती उपासकहरुलाई वहिस्कार गरिएको छ । यसको तात्पर्य यही हुन्छ कि त्यहाँका आदिवासीहरुमा शिश्न िलंग को उपासना चल्दथ्यो ।

महेन्जोदडोमा धेरै किसिमका पुरुष मूर्ति अंकित छाप वा मोहरहरु प्राप्त छन् । यी छापमा प्रायः तीनमुखा सिँगसमेतका पहिरनका र योगासनमा रहेका पशुपतिरुप तथा उब्जनी अर्थात प्रजनन् देवको अंकन स्पष्ट हुन्छ । अनार्यका ती शिश्नदेव संभवतः उही उब्जनी देव थिए र  ऋगवेदका ऋषिहरुले यिनलाई रुद्रका वृषसँग तादात्म्य गराए । त्यसैले रुद्र शिवलाई िलंग रुपमा पनि लिन थालियो ।

आर्यहरु जब भारतमा आए उनीहरुले अनार्यहरुका संस्कृतिबीच अति नै भयंकर स्वरुपको नांगो तीनआँखे, हात्तिको छाला ओढने, बाघको छाला लपेट्ने, मूण्डमाला धारण गर्ने, सर्पको गहना लाउने, जटाधारी कालो पाँचमूखे स्थानीय देवताका अस्तित्व पाए । उनीहरुले भारतमा आएर भोगेका प्राकृतिक प्रकोपको कारण जुन रुद्रका कल्पना गर्दथे सोही रुद्रलाई उनीहरुले त्यस भयानक देवका मूर्तिमा देखे । ती दुवैलाई तादात्म्य गराएर आर्यहरुले पहिलोपल्ट आफ्नो वेदका रुद्रलाई ब्रात्यदेवका रुपमा लिन थाले ।

पुराणहरु उल्लेख गर्दछन्- विष्णु असुरहरुका शत्रु र शिवजी प्रायः असुरहरुलाई संरक्षक हुन् । विष्णु सुरहरुका तरफदारी गर्दछन् र  शिवजी असुरका । ऋगवेदले एक ठाउँमा रुद्रलाई नै आकाशका असुर भनेका छन् असुर भन्नाले जो सुर अर्थात देव थिएनन् भन्ने बुझिन्छ । (इ डव्लू हप्किन्स द रिलिजन अफ इण्डिया) । अर्थात् इन्द्रदेवका अनुयायी नरहेका तथा वैदिक तथा ब्राह्मण धर्म अनुरुप आचरण नगर्नेहरुलाई असुर भनिन्थ्यो । अतः यस जातिमा दैत्य, राक्षस, नाग, सर्प, किन्नर, निषाद, व्याधा, ब्रात, किराँत, कुलाल, आदि जातिहरु पछर्दन् । यी सवै हीमवत खण्ड र भारतवर्षका पूर्ववैदिक जातिहरु हुन् ।

असुरहरुलाई अति नै कुरुप भनी वर्णन गरिएको छ । शिवजीका गण पनि अति नै कुरुप थिए । उनका छोरा हात्तीमुखे थिए । शिवजी स्वयं नै नांगो तीन आँखे हात्तिको छाला ओढने बाघको छाला लपेट्ने मूण्डमाला धारण गर्ने सर्पको गहना लाउने जटाधारी कालो पाँचमूखे कुरुप देवता मानिएका थिए । दक्ष प्रजापतिले आफ्ना यज्ञमा शिवका कुरुपता असभ्यता र जंगलीपनको घोर निन्दा गरेका छन् । स्वस्थानी कथामा वर्णित उनका गणहरुमा भूत, प्रेत ,पिसाच, गन्दर्भ, किन्नर, आदि कुरुप र नंगा गण थिए । यसको संकेत निषाद, व्याधा, कुलाल, आदि द्रविड जातिहरुप्रति प्रतीत हुन्छ । किनभने शतरुद्रीयमा निषाद, व्याधा, कुलाल, ब्रात, कर्माचार, आदि द्रविडहरुलाई रुद्र भनी वर्णन गरिएको छ- (म्याक्समुलर सेरिज द स्याक्रेट बुक अफ अफ द इस्ट )। अतः यो स्पष्ट हुन्छ कि असुर नै रुद्रगण थिए । र जो तत्कालीन ब्राह्मण धर्मका कट्टर शत्रु थिए ।

देवताहरुद्वारा दुराचारी घोषित गरिएका यी असुर तथा रुद्रगणलाई शिव वरदान दिन्थे, शक्ति दिन्थे र उनका तरफदारी भएर पनि लडथे । अतः शतरुद्रीयको सोही स्थान रुद्रलाई स्तेनानाम्पति अर्थात चोरहरुका मालिक, स्तायुनाम्पति अर्थात ठगहरुका मालिक, तस्करणाम्पति अर्थात डाकुहरुका मालिक आदि भनिएको छ । यो त स्पष्टै छ आर्यहरु अनार्यहरुलाई कहिल्यै सभ्य र सदाचारीको रुपमा लिन तयार थिएनन् । ती शब्दहरु हेय दृष्टिमा प्रयोग भएपनि र नभएपनि यो कुरा स्पष्ट हुन्छ कि रुद्र अनार्य देव थिए - (रामधारी िसंह दिनकर - संस्कृतिका चार अध्याय) ।

आर्यहरुलाई अनार्यहरुका स्थानमा आई बसोवास गर्दा रुद्रको भयानक स्वरुपको भावनात्मक डर मात्र नभई अनार्यहरुको सहयोग र उनीहरुका समुचित व्यवहार पाउन पनि रुद्रलाई उनीहरुका देवमध्ये स्थान दिन राजनीतिक आवश्यकता थियो । रुद्रलाई स्थान ता दिइयो तर उनीहरुका समाजमा ती आर्येत्तर जातिको जुन स्थान थियो सोही स्थान रुद्रलाई आर्यदेवहरुका बीचमा दिए । अर्थात् उनी अछूत थिए । यज्ञमा उनलाई बोलाइन्न थियो । (स्वस्थानी व्रतकथा स्कन्द पुराण ) । यज्ञ भाग नै चौबाटोमा छाडिन्थ्यॊ । (म्याक्समुलर सेरिज द स्याक्रेट बुक अफ अफ द इस्ट ।)

ऋगवेदका क्रूर र भयानक देव रुद्र ब्राह्मण कालमा अछूत र अति घृणित देखिए । यसको कारण आर्यहरुमा रक्तशुद्धी, सदाचार र राजनीतिक विजयको घमण्ड थियो । अर्कोतिर असुर तथा रुद्रगणको बढ्दो विद्रोहको गतिविधि थियो । तर कर्मकाण्डको यान्त्रिक विधि र अनार्यहरुका बीचमा प्रचलित योगाभ्यासका चमत्कारपूर्ण कार्यकलापले सर्वसाधारण आर्यहरुको आस्था स्वभावतः ब्राह्मण धर्मबाट हट्दै जाँदै थियो र नयाँ मुक्ति मार्गका लागि तिर्खाउँदै थिए ।

अनार्यहरुका बीच प्रशस्त योगाभ्यासको चलन लियो । योगीहरु आफ्ना अभ्यासद्वारा अनेकौं चमत्कारपूर्ण कार्यहरु गर्थे । यी योगीहरुका बीच कुनै कर्मकाण्ड थिएन । कर्मकाण्ड अति नै कठिन र खर्चालु थियो जसमा ब्राह्मणहरुका अनुचित प्रभुत्व र शोषण थियो । कर्मकाण्डबाट वाक्क भएर उनीहरु योगाभ्यासतिर ढल्कन लागे । (हप्किन्स द रिलिजनस अफ इण्डिया ) । अर्थात् नयाँ मुक्ति मार्गको खोजीमा उनीहरु योगाभ्यासको शरणमा आए । यसको फलस्वरुव कर्मकाण्ड र ब्राह्मणहरुको धार्मिक विधि माथिको आधिपत्यमा ह्रास हुन लाग्यो । यो एउटा धार्मिक विद्रोह नै थियो जसमा प्रगतिशील ब्राह्मणहरुको पनि साथ थियो । यी ब्राह्मणहरुले नै औपनिषदिक युगको श्रीगणेश गराए जसमा रुद्र महान आराध्यदेव शिवको रुपमा प्रतिष्ठापित भयॊ ।

शिवको लोकप्रिय र पदोत्कर्षको इतिहासमा अर्को एउटा यस्तो पुस्ताको पनि ठूलो हात छ जो ब्रात्यआर्य अर्थात ठीम्सो आर्य थिए । त्यो पुस्ता आर्य पिता र अनार्य माताका रावणहरु जस्ता सन्तान थिए । आर्यहरु अनार्य स्त्रीहरुलाई पत्निका रुपमा घरमा राख्दथे । उनीहरुबाट सन्तानोत्पत्ति पनि गर्दथे । ती सन्तान वस्तुतः आर्यहरुभन्दा मुनि र अछूतभन्दा माथिका ब्रात्य ठेम्सा भनिन्थे ।

पुराणमा ऋषिपत्नीहरुले नांगो शिवका लिँगदेखि कामोत्तेजित भएर महादेवका पछि लागेको र ऋषिहरुले आफ्ना पतिता स्त्री र महादेव दुवैलाई श्राप दिएको वर्णन पाइन्छ । यसवाट स्पष्ट हुन्छ कि ऋषिपत्नीहरुको स्वाभाविक आस्था शिवभक्तिप्रति थियो र आफ्ना आराध्यदेव शिवोपासनामा उनीहरु पागल थिए । (रामधारी िसंह दिनकर - संस्कृतिके चार अध्याय) ।

ऋषिहरुकोलागि यो असह्य थियो । यीनै आर्य पिता र अनार्य माताका सन्तानहरु विष्णोपाषक र शिवोपासकका मध्यस्थ भए जसको फलस्वरुप कट्टर ब्राह्मणहरुले आफ्नो दृढतामा केही खुकुलोपन ल्याए र शिवलाई ब्रात्यस्तोम को विधिबाट चोख्याई पहिलोपल्ट आफ्ना देवहरुको बीचमा विष्णुभन्दा मुनी मान्यता दिए र कर्मकाण्डका कट्टरतामा केही खुकुलोपन ल्याए । (राधाकृष्ण चौधरी, व्रात्यज अफ एिन्सएन्ट इण्डिया ) ।

यसरी ब्राह्मण धर्मले काँचुली फेरी वैष्णव धर्मको रुपमा औपनिषदिक युगमा पाइला चाल्यो । कर्मकाण्डकॊ लोकप्रियता कम भएर जानु र औपनिषदिक युगको सूत्रपात हुनु ब्राह्मणहरुका कट्टरता र अनार्यहरुका उदारताकै प्रतिफल थियो । ब्राह्मणहरु आफ्ना आराध्यदेवलाई अरु विजातीबाट चोखै राख्न चाहन्थे । तर अनार्यहरुमा यसको कुनै अर्थ थिएन । उनीहरुका आराध्यदेव शिव सांसारिक सुख र सभ्यताका प्रतीक यज्ञादि कर्मकाण्डबाट टाढा निर्जन श्मशान हिमालय तथा जंगलमा कहिले भांगधतुरोमा लठ्ठ भएर कहिले योगरत भएर कहिले शिकार खेलेर आफ्ना गणका साथमा रहन्थे । उनका कुनै गोत्र थिएन,  जात थिएन जातीय भाव लिएन र कुनै यान्त्रिक आदर्श थिएन । वास्तवमा अनार्यहरुका कुनै धार्मिक सन्देश नै थिएन,  कुनै धार्मिक ग्रन्थ नै थिएन र कुनै धर्म पनि थिएन ।

त्यस कालसम्ममा शिवमाथिको जुन धारणा आर्यहरुले जन्माए थे, जुन स्वरुप उनलाई दिएथे त्यसै स्वरुपलाई स्वीकारेर अर्थात् जंगली असभ्य नांगो शिवलाई यथारुप दिएर सौम्य शिवको स्थापना गरी प्रगतिशील ब्राह्मणहरुले उपनिषद्हरु लेखे र यी उपनिषद्हरुले नयाँ धर्म दर्शनको सूत्रपात गरे । त्यहाँदेखि नै शैवमत एउटा धर्मको रुपमा स्पष्ट हुन आयो । यसपछि पुराण तथा महाकाव्यहरुमा नाग, गन्धर्व तथा यक्षलाई देवत्व प्रदान र शूद्र तथा असुरहरुलाई पनि ठाउँ ठाउँमा सदाचारी र ज्ञानी अध्यात्मवादीको रुपमा लिइन लाग्यो । यसरी मानव- दानव, सुर- असुर सवै जातिबाट पुजिने एक मात्र देवता शिव महादेवका रुपमा पुजिन लागे र कालान्तरमा महादेव उनका मुख्य नाम नै भएर प्रतिष्ठापित भयो । यसो भन्न सकिन्छ महादेव आर्य र अनार्यहरुका मिश्रित संस्कृतिका केन्द्रविन्दु हुन् । (रामधारी िसंह दिनकर - संस्कृतिके चार अध्याय ।) जुन विन्दुमा आएर युगौंदेखिका राजनीतिक संघर्ष र आध्यात्मिक मान्यताको संघर्षको इति हुन्छ । आर्य अनार्यका संयुक्त मान्यतामा एउटा धर्म शैवधर्मको शुरु हुन्छ ।


इति

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |