हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

काँचको कोठाभित्रका मानिसहरु र देश

रामकुमार श्रेष्ठ, (केण्ट , बेलायत)

अति ब्यस्त जीबनको बाबजूद हिजो मैले प्राप्त केही इलेक्ट्रोनिक मेलहरु र संकलित इलेक्ट्रोनिक लेख्य सामग्रीहरुलाई एकत्रित गरी सरसर्ती नजर डुलाएँ र एक्लै फिस्स हाँसे ।  मेरो हाँसो संकलित ती संपूर्ण सामग्रीको कुनै पनि समूह बिशेषको पक्ष बिपक्षमा नभएर तटस्थतालाई आधार बनाएर प्रस्फुटित बिशुद्ध अनि स्वतस्फूर्त प्राकृतिक उपज थियो न कि कुनै अर्थहीनता । ती सामग्रीहरु बिभिन्न कोणहरुबाट लेखिएका थिए : कसैले बिभिन्न पदमा आसिन प्रचन्ड र डा बाबुराम भट्टराईका नातागोताका फेहरिस्त पेश गरेका थिए त कसैले गिरिजा र कांग्रेसका नेताहरुले गरेका जघन्य काण्डहरुको अनि कसैले एमालेका नेताहरुले गरेका महसुर लिलाहरुको । राणा शासनको सबैले ईतिहास पढेकै हो र पञ्चायत सबैले भोगेर फालेकै भएर त्यतातिर समय खर्चिएका सामग्रीहरु थिएनन अथवा इमान्दारी पूर्वक भन्नु पर्दा नेपाली जनताका बर्तमानका मूलभूत भोगाइहरु यी तीन समूहको सहमति र बिमतिमा नै अधिकांशको ध्यान र समय खर्चिइने भएकोले मैले पनि एकत्रित गरें यी तीनका पक्षमा भन्दा बिपक्षमा भएका सामग्रीहरुलाई । एउटा रमाइलो र खुशीको कुरो नै मान्नु पर्छ कि ती सबैमा पाइने एउटा समानता थियो उनीहरुद्धारा प्रदर्शित र प्रस्फुटित अब्यक्त देश प्रेमको भाबना भलै त्यसका पछाडि बिभिन्न द्रिश्य अद्रिश्य काम कुरोले काम गरेका नै किन नहुन । मैले 'अब्यक्त' शब्द प्रयोग गर्नुको कारण हो सबैले अरुलाई गाली गलौज गर्ने कामभन्दा बढी केही नगरे तापनि गाली गरिनेद्धारा देश पछाडि परेको र धकेलिएको अनि जनता ठगिएको प्रसंग उल्लेख गर्न कोही चुकेका छैनन जुन सबै नेताहरुको 'थेगो' नै भएको कुरा ठोकुवा गर्न हिचकिचाइ राख्नु पर्दैन । मेरो हसाइको आधार थियो सोही भाबना । अहिले यत्र तत्र प्राथमिकतामा पर्ने 'सकारात्मक सोंच' (Positive thinking) संग मेरो सौतेनी नाता पर्थ्यो भने सो 'अब्यक्त' भावनासंग मेरो साक्षात्कार कसरी हुनु अनि तथानाम गाली गलौजको समुन्द्रभित्र रहेर पनि मानसिक अस्पताल लान पर्ने झैं गरेर एक्लै पनि फिस्स हाँस्न कहाँबाट पाउनु ?

 

 

सबैले निस्चित अन्य समूहलाई गाली गलौज गरेका छन, उनीहरुप्रति आक्रोश पोखेका छन र एक समूहप्रति मौन छन त कसैले सबैप्रति गर्नु गाली गरेका छन । कसैलाई पनि सहजै बुझ्न र अर्थ लगाउन गार्हो पर्दैन कि प्रत्येकको अर्थ र आशय के हो । प्रत्येकले अर्कोको खोइरो खन्ने र आफूलाई पानीमाथिको ओभानो देखाउने असफल प्रयास गरिरहेको देखिन्छ । अरुको खोइरो खन्ने क्रममा उपयुक्त बिकल्पको पोको पुन्तरो फुकाउने होश कसैमा आएको देखिन्न । बेहोशीबाट माथि उठेर साँच्चै नै त्यो होशमा आउनेहरुको चहल पहल हुन्थ्यो त देशको यो हबिगत हुन्थ्यो नै कसरी ? मौका पाउँदा ब्रम्हलुट गर्नतिरै न्वारानदेखिकै बल प्रयोग गर्दा गर्दा कुनै लछारपाटो लगाउन नसकेकै कारण कसैले पनि अपेक्षा नगरेको चुनाव परिणाम आएको कुरा छर्लङ छ र माओबादीलाई समेत राम्रै थाहा छ कि उसले पाएको भोट माओबादीको मात्र नभएर प्रजातन्त्र पुनर्स्थापना पस्चात देखा परेका बग्रेल्ती सुबिधाभोगी खाओबादीदेखि वाक्क भएकाहरुको पनि हो । तर त्यस्तो परीणामपछि पनि  कसैको चुरीफुरी १०० बाट ९९ भएको होइन । राष्ट्र र जनताप्रतिको अथाह माया ममताको गाथा गाउन र राग अलाप्न भेटने कस्ले उनीहरुलाई ? नक्कली दाँत राख्नेहारुले सुत्ने बेलामा दाँत फुकाल्ने गरे झैं भाषण र बक्तब्यमा राष्ट्र र जनताप्रति अगाध माया गर्ने यी नेता महोदयहरुले दिमाग पनि सुत्ने बेलामा फुकाल्ने प्रबिधिको समेत बिकास गरी सकेका रहेछन कि क्या हो पशुपतिको पूजारी नेपाली राख्ने निर्णय गर्दा कत्ति न ठूलो अपराध नै गरे झैं गरी सलह झैं लागे गुटुटु सांसद भएकाहरु समेत बिरोधमा - बिरोधको लागि बिरोध गर्ने धर्म निभाउनु न थियो । शायद निकालेको दिमाग बिहान उठदा राख्न नै पो बिर्सेंछन कि ! गरिएको निर्णय फिर्ता लिन लगाएर राजनीतिक च्याँखे थाप्ने काममा केही सफलता हासिल गर्ने बाहेक राष्ट्र र जनताप्रतिको अथाह माया ममताको गाथा गाउन र राग अलापेर नथाक्नेहरुले के कति देशभक्तिपूर्ण राष्ट्रबादी काम गरे आजसम्म यो सानो दिमागले कुनै भेउ पाउन सकेको छैन

 

कुरो सबैको ठीक छ, सबैको जाहेज छ । सबै ठीक हो भने गलत को त ? गलत पनि सबै । ठीक पनि सबै , गलत पनि सबै । के यो संभब छ ? बिस्वकै ईतिहासको एउटा एेतिहासिक पुरुषको प्रसंगलाई यहाँ उल्लेख गर्ने हो भने यस प्रश्नको नकारात्मक जबाफ दिने बित्तिकै मूर्ख साबित भइन्छ । त्यसो भए ठीक के , गलत के त ? कुरा सबैको ठीक , लगाइएका लान्छना सबैको ठीक, तर सबैद्धारा अबलम्बित प्रब्रिति गलत । आलोचना संधै गर्ने आत्मालोचना कहिल्यै नगर्ने ; सबै गुरु बन्न खोज्ने, चेला कोही बन्न नै नखोज्ने ; सबै आफूलाई ठूलो बनाउन र देखाउन खोज्ने , सानो बन्न र देखिन कहिल्यै कोही नखोज्ने । हाम्रो देशमा मात्र नभएर संसारभरी नै देखा परेका संपूर्ण समस्याको बिस्लेषण गर्दा गाँठी कुरो योभन्दा बाहिर जाला र त ? जाँदो हो त पर्यायबरणका ठूला ठूला कुरा गरी अरुलाई पाठ पढाउँदै हिडने अमेरिकालाई बातावरणसम्बन्धी महासन्धीमा हस्ताक्षर गर्ने बेलामा संधै ज्वरो किन आउने? रासायनिक र जैबिक हतियारको निहु पारेर शुरु गरिएको युद्ध सकिएको यत्तिका बर्ष हुँदा समेत ती हतियारको नामो निशान नभेट्टिदा पनि विश्व अर्थ ब्यबस्थालाई नै नकारात्मक असर पर्ने गरी अति खर्चिलो अभियानलाई किन निरन्तरता दिरहने र अझ युद्धमा संलग्न हुंदाका फयदा जति आफू असूल उपर गर्दै अरुलाई आफ्नो साथ दिन दबाब दिरहने ?

 

 

सबैले आफूलाई ठूलो, समर्थबान र सही देखाउन र प्रमाणित गर्न खोज्छन आफूभित्र भएका गल्ती, कमी कमजोरीहरुलाई ढाकछोप अथवा बेवास्ता गर्दै । अबिकसित देशको बस्तुस्तिथि, बिद्यमान परंपरागत संस्कार जस्ता कारणहरुले गर्दा - २०-२५ बर्ष अघि जस्तो होइन माध्यामिक  बिद्यालयमा पढाउन कलेज पढेको शिक्षक पाउन गार्हो - जुंघाको रेखी बस्न थालने बित्तिकै र कानुनी तबरले आमा बन्न पाउने उमेर हुने बित्तिकै कसैले स्नातक त कसैले स्नातकोत्तर अनि कसैले बिद्याबारिधि  गरिहाल्छन । खुकुरीको मार अचानोलाई थाहा हुन्छ, यता अभिभाबकको चिन्ता एकापट्टि छ उता स्नातक, स्नातकोत्तर र बिद्याबारिधि गर्ने महोदयहरु आफूलाई आँफैले बुद्धिजीबि घोषणा गर्दै आफूले उपयुक्त कदर नपाएको गुनासो गर्न हतार गर्न थालेपछि कलेजमा प्रबेश पाउन असक्षम साबित भएका तर बिज्ञानको क्षेत्रमा अहिलेसम्मको होनहार आइन्स्टाइन अनि म्याट्रिक नै पास नगरेका नेपालकै कतिपय दिग्गज साहित्यकारहरुलाई कुन श्रेणीमा राख्ने होला त भन्ने असमन्जसमा परी पसिना पसिना हुन्छु म । स्नातक, स्नातकोत्तर र बिद्याबारिधि गर्दैमा बुद्धिजीबि हुने भए त यत्रो संख्यामा भएको बुद्धिजीबिद्धारा समाज र देश एउटा निर्दिस्ट दिशातिर डोरिनु पर्ने होइन र ? एउटा समूह अमेरिका, बेलायत , अस्ट्रेलिया, क्यानडा जस्ता देशहरुबाट उच्च शिक्षा हासिल गरेकोमा गर्व गर्छ भने अर्को समूह ससंकित हुन्छ - " त्यहाँ त फेल नै हुन्न रे नि, जस्तो पनि पास हुन्छ रे - कस्तो अच्चम्मको शिक्षा प्रणाली हो ? " (यस बिषयमा कुनै दिन छुट्टै बिषय बस्तु लिएर प्रस्तुत हुनेछु )।

 

 

सबैको आ-आफ्नो संघ संस्था काफी मात्रामा भएको देख्दा प्रजातन्त्रको भरपूर उपयोग भैरहेको देखिन्छ सबैतिर । हरेक क्षेत्रमा संघ संस्था पनि थोरै हुन र पार्टी पिच्छे । पार्टी बिशेषको पुच्छर  भएपछि नेताहरुको जस्तै बिरोधको लागि बिरोध गर्ने धर्म पनि पुरा गर्नै पर्‍यो । एउटाले उठाएको पेशागत हक हितको कुरोलाई अर्कोले बिरोध गर्न पर्ने भएपछि पेशागत हक हितको इज्जत नै जोगिने कसरी ? डाक्टरले मान्छे नै मारे पनि कारबाही गर्न भएन , डाक्टरहरुको संस्था उफ्री हाल्छ ; न्यायधिसले अपराधीलाई नै छुटाए पनि कारबाही गर्न भएन न्यायलयको मानहानी भैहाल्छ , ठेकेदारले बनाएको पुल नै भत्किए पनि कारबाही गर्न भएन उद्योग ब्यबसायीलाई हतोत्साहित गरेको ठहर्छभ्रस्टाचारीलाई कारबाही गर्न भएन पूर्बाहग्रह राखेको भैहाल्छ , इन्जिनियरलाई छुने कुनै नीति नियम नै छैन भ्रस्टाचारको आरोपमा बाहेक , श्रमजीबिको कुरै भएन अरिङ्गआल र बच्छिउँलाई कस्ले जिस्काउने, पत्रकारले जे गरे पनि छुन भएन राष्ट्रको कतिऔं अंग भै हाल्यो, दिमाग नै खोलेर राख्ने प्रबिधिको बिकास गरिसकेका नेताहरुको त के कुरा सबैले संधै रहस्यमय रुपमा लिरहेको धमलालाई त छुन नहुने भएपछि देशले लिने गति कस्तो होला त ? कर्तब्यपरायणता कसैले प्रदर्शन नगर्ने सबै अधिकार मात्र खोज्ने, आफू अनुशाशनमा कोही नबस्ने अरुलाई मात्र अनुशासनमा राख्न खोज्ने भएपछि संधै सतिको श्राप लागेको देश हुनु कुन  आश्चर्यको कुरो भयो र त?

 

 

उपर्युक्त कुराहरुले अति मर्माहत भएकोले नेपाल छँदा एक दिन एक जना धार्मिक गुरुसंग प्रश्न राखें - " गुरुदेब मानिसहरु किन यति सार्है लोभी, पापी , अपराधी र निर्लज्ज भएका ?" संधै झैं मुस्कुराउँदै गुरुदेबले भन्नु भयो -" कुनै पनि घटना घटित बिना कारण हुँदैन । त्यही कारण बुझ्न नसक्ता इमान्दारहरु चिन्तित र ब्यग्र हुन्छन र त्यस्ले आफू बन्ने काममा ब्यबधान खडा गर्ने भएकोले त्यो पनि राम्रो होइन । पहिला आफू बन्नु (आफू बन्नु भन्नाले यहाँ शारीरिक र चारित्रिक रुपमा सबल भन्ने बुझ्नु पर्दछ) पर्‍यो , सबै आफू आफू बन्ने प्रयास गर्‍यो भने समाज, गाउँ , देश र संसार बनि हाल्छ, तर व्याबहारिक रुपमा नै आफू बन्नतिर कोही लाग्दै लाग्दैनन र जताततै समस्यै समस्या भै राखेको छ । आवश्यकता भएर नै कुनै घटना घटछ भने नराम्रो भनेर कस्लाई किन भन्ने ? जाँड खाएर नालीमा लडने जड्याहा  पनि नराम्रो होइन, ऊ त ठूलो गुरु हो किनकि उस्ले त ऊ जस्तो बन्दा सबैले घ्रिणा गर्ने भएकोले ऊ जस्तो बन्न हुन्न है भनेर शिक्षा दिइ रहेछ त ऊ कसरी नराम्रो भयो ? उसबाट शिक्षा लिन नसक्नु त्यो त हाम्रो कमजोरी हो ।"

 

सबै जसो मानिसहरुमा यस किसिमको प्रब्रितिको अधिक्यता पाइनुको रहस्य के हुन सक्ला त ? यसबारे स्पस्ट हुन बिचार के हो भन्नेबारे केही जानकारी हुनु आबस्यक छ । सामान्यत बिचार अन्य ब्यक्तिहरुसंग संबन्ध स्थापनार्थ आबस्यक पर्छ । कुनै निस्चित अवस्थासम्म हामी र हाम्रो बिचार बीच कुनै बिभेद रहन्न भने एउटा अवस्थामा पुगेपछि हामी केही हो र हाम्रो बिचार हामीभन्दा केही फरक हो भन्ने महसूस हुन्छ ।  सो महसूस हुनु अघिका सोंचहरु अरुहरुसंग हुने अचेतन अथबा अनजान पूर्वक हुने संबन्धहरुको परिणाम हुने भएकाले तिनिहरुमा गहन अज्ञानता रहेको हुन्छ र कहिलेकांही आफ्नै अज्ञानतासंग लडन अथबा त्यस्लाई समर्थन गर्न पुन: बिचारको आवश्यकता पर्दछ ।  हामीबाट बिचारलाई अलग नगरेसम्म अज्ञानता अस्तित्वबान भैरहन्छ । जब हामी हामीबाट बिचारलाई अलग गर्न सक्षम हुन्छौं तब हामीमा स्वतन्त्रता (बुद्धको शब्दमा भन्ने हो भने मुक्ति) शुरु हुन्छ र सबै कुरा स्पस्ट हुन थाल्छ । सामान्यत नचाहदा नचाहदै पनि बिचारहरु अबिरल आइरहन्छन, तर एउटा अवस्थामा पुगेपछि बिचारलाई ल्याउन अथबा नल्याउन सकिन्छ र त्यो चैतन्य स्वरुप हुन्छ । त्योभन्दा अगाडि हामी हाम्रो बिचारको अधिनमा हुन्थ्यौं भने यस अवस्थामा बिचार हाम्रो अधिनमा हुन्छ र "म को हुँ" भन्ने प्रश्नको जबाफ प्राप्त गर्ने यात्राको नजिक पुग्दै आत्मा साक्षात्कारको ढोका खुल्न थालदछ । सापेक्षताको अन्त्य हुने भएकोले "तँ" र "म" को भाबना समाप्त हुन्छ । मानिसमा यही "तँ" र "म" को भाबनाको कारण अहंकार पैदा हुने तर अधिकांश प्राय: यही भाबनाको शिकार हुने भएकोले संसारमा जताततै समस्यै समस्या देखिने हो (यसबारे अलिक बढी जानकारी प्राप्त गर्न इच्छुकले अंग्रेजीमा लेख्दै गरेको लेख Scientific Way of Art of Living को एउटा टेबलको यो लिँक मा जानु होला)

 

  

एउटा व्याबहारिक सरल उदाहरणले उपर्युक्त कुरा बुझ्न सहयोग पुर्याउन सक्तछ । हरियो रंगको काँचको एउटा कोठामा कसैलाई बन्द गरी त्यस बाहिर रहेको कुनै पनि बस्तुको रंग सोध्ने हो भने उस्को जबाफ हुन्छ - हरियो यद्यपि ती बस्तु कुनै पनि रंगको किन नहोउन । अब उक्त ब्यक्तिलाई रातो काँचको कोठामा राखेर कुनै पनि बस्तुको रंग सोध्ने हो भने उस्को जबाफ हुन्छ - रातो । यसरी काँचको रंग जस्तो राखिदिन्छौं त्यसभित्र बसेर बाहिरको बस्तुको रंग भन्न लगाउँदा उस्को जबाफ बस्तुको रंग बमोजिम नभएर काँचको रंग जस्तो हो त्यस्तै भन्छ । कुनै पनि ब्यक्तिले कुनै पनि कुराको पक्षमा अथबा बिपक्षमा जे जसरी बोलेको पाईन्छ त्यस्को पछाडि यस्तै काँचले काम गरेको हुन्छ र काँचलाई स्वार्थ, पाएको सुबिधा, ब्यक्तिगत संपर्क, नातागोता , साथी भाई, ब्यक्ति प्रभाब जस्ता थुप्रै थुप्रै कुराहरुले बिस्थापित गरिरहेको हुन्छ । कतिपय कारणले गर्दा कतिपयले आफू गल्तीमा भएकै थाहा पाइरहेका हुन्नन, कतिपयले गल्ती हो भन्ने थाहा पाउँदा पाउँदै पनि आफ्नो गल्ती लुकाउने ध्रिस्टता गरिरहेका हुन्छन आखिर अहंकारको सूत्र त छंदै छ, कतिपयलाई सपनाको खेतिमा लाग्न पर्ने , कतिपयले ऋण चुक्ता गर्नु पर्ने , कतिपयलाई 'बार्गेन' गर्नु पर्ने जस्ता कारण सबै अटेस मटेस देखिनु स्वाभाबिकै हो । यस्ता दृष्‍टि दोष भएकाहरुकै संधै बोलाबाला भैराख्ने अनि उनीहरुको कार्यशैली, तौर तरीका , आनी बानी सबैको यथार्तता बोध भैसकेर पनि आँखा चिम्लेर संधै त्यस्ताहरुलाई नै संधै बेहुला बनाएर आफू संधै जन्त बन्नमा नै रमाइराख्ने जनताहरु भएपछि देशले कस्तो दिशा बोध गर्ने हो त्यो स्पस्ट नै छ ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |