हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

हाँसो र आँसुका कुरा

कुमारी लामा, (काठमाण्डौ)

" जीवनमा पैसा कमाउन सकिन तर मलाई दुःख छैन कमसेकम मैले खुलेर हाँस्न र रुन सकेको छु ।"

सा-है हृदयस्पर्सि  कुरा व्यक्त गर्नु भयो वरिष्ठ सङ्गीतकार अम्वर गुरुङले जब म केही दिन अगाडि उहाँलाई भेट्न उहाँको निवास बाँसबारीमा मित्र गायक शैलेश सिँहसँग पुगेकी थिए । जीवनका अनगिन्ति भोगाई र अनुभवले खारिनु भएका अत्यन्तै आदरणीय व्यक्तित्वको अभिव्यक्तिले मनलाई साँच्चैनै छोयो । सत्य आखिर सत्य हो जसले छुन्छ नै । सङ्गीत तपस्या हो र उहाँ तपस्वी । सारा सांसारिक मोहबाट टाढा भएका तपस्वी जस्तै हुनुहुन्छ उहाँ जसले पैसा र क्षणिक आनन्दलाई होइन आफ्नो मनको चाहनालाई सङ्गीतप्रतिको लगावलाई अगाडि बढाउन सारा कुरा बिर्सी सङ्गीतमा नै लीन हुनुभयो । उहाँहरुकै त्याग र तपस्याको उपज हो आजको नेपाली सुगम सङ्गीत र यसको छुट्टै इतिहास । वास्तविकता यहि हो जो लोभ र मोह भन्दा टाढा छ ऊ नै खुलेर हाँस्न सक्छ र दुःखमा पनि खुलेरै रुन सक्छ । अम्वर गुरुङ्गले आफूलाई ती सांसारिक इच्छा र आकांक्षाबाट टाढा राखी सङ्गीतमा हराउन सक्नु भएर नै त्यो मनको स्वतन्त्रता प्राप्त गर्नुभएको हो ।

मानिसको ओठमा फुलेको हाँसो नै उसको खुसीको प्रमाण हुँदो हो त संसारमा कोही दुःखी भेटिन्नथ्यो । किनकि सबैजना हाँसेकै देख्छौँ तर यही हाँसोका वीचमा पनि मानिस किन दुःखले पुरिएको छ ? आज मानिस सम्पूर्ण भौतिक सुख सुविधाले घेरिएरै पनि पल पल आँसु पिएर बाँचेका छन् । अथवा बाँचेको पनि के भन्नु न पूर्णरुपमा बाँच्न सकेका छन् न त मर्न नै ! स्वतन्त्र र स्वतस्फूर्त हाँसो कतै विलाएको छ आजकल  अनि पीडा मनभरि छदाछुल्ल हुँदा पनि खुलेर आँसु खसाउन सक्दैन मानिस । तर अभावकै माझमा पनि कोहीभने पूर्णताको आभाष पाँउछन् ।

जीवन यही हाँसो र आँसुमा अडिएको छ । तर यही खुसी र दुःखका माझबाट सम्हालिदै अगाडि बढ्दै गरेको मानिसको बाध्यताको चरम बिन्दु कहिले काही हाम्रो कल्पनाशक्ति भन्दा पनि निकै पर पुग्छ । पलपल मर्नु फेरि झसङ्ग भई बौरिनु अनि हावा फुस्केको गाडीको चक्का जस्तै घससस घिर्सिदै अगाडि बढ्नु ! अनि यस्तै प्रक्रिया दोहोरिरहनु जीवनमा । कस्तो कहालिलाग्दो ! तर यस्तै हुन्छ बारम्बार र सहनै पर्छ आफैले । यस्तो अवस्थामा खुलेर हाँस्नुको कुरा ! उसले सक्ला तर पनि ऊ बाध्य हुन्छ हाँस्नलाई तर त्यो हाँसो मनका कोमल पत्रहरुबाट स्वाभाविक निस्किए झैँ स्वच्छ होला मात्र देखावटी हुनेछ त्यो । बाध्यता अनि गा-हो अवस्थाको निर्णय । खुलेर हाँस्नु त सपना हो आजकल । सबैजना फिस्स दुईपैसे हाँसो सधैँभरि ओठमा नै च्यापी हाँस्नकालागि तयार रहन बाध्य छन् । सबै मानिस हाँसे जस्तै देखिन्छन् तर ती मौन ओठहरुले एकतमासको पीडा ओकलिरहेको प्रष्ट हुन्छ । गालाको छाला तन्किएर दुखिन्जेल मानिस हाँस्छ तर मन चिसो बरफ भन्दा पनि चिसो र ग-हौ भएको हुन्छ । वास्तविक हाँसोले त मनलाई न्यानो र हलुङ्गो बनाउनु पर्ने हो तर मानिस जति धेरै बाहिर हाँस्छ उत्ति नै भित्र भित्रै पिल्सिरहेको हुन्छ । भित्र चाहिँ डढ्दै खरानी हुँदै जान्छन् मानिस ।

मन खोलेर रुनु हाम्रो भागमा होला । आँसु पिएर बाँच्नु र पीडालाई सकेसम्म दवाउनु नै धर्म जस्तो देखिन्छ । सबैजना दुःखी छन् । पीडा, अभाव, अशान्ति र बेदनाले घेरिएका छन् ।  तर मुटु खोलेर पीडा पोख्ने कोही भेट्दैनौ । घरि घरि अनायासै पीडाका लस्करहरु आँखाका छेउबाट बग्दै गालासम्म आइपुग्छन् अनि मुखमा पसी नुनिलो हुँदा हामी झसङ्ग हुन्छौँ । हत्त न पत्त यता उता हेरी यसो निहुरिएर अरुलाई थाहै नहुने गरी भिजेका परेला पुस्छौँ । किनकि हामीसँग खुलेर रुने साहस छैन । साहस मात्र होइन त्यो स्वतन्त्र चेतना छैन । हाम्रो चेतनालाई असंख्य बन्धनहरुले बाँधिदिएका छन् । हामी चाहेरै पनि ती बन्धनहरुबाट पटक्कै छुटकारा पाँउदैनौ जसले हाम्रो मनको स्वच्छन्दतालाई कैद गरिदिन्छ । स्वतन्त्र पंक्षी जस्तै मन मनैरुपी पिँजडामा घेरिएपछि स्वाभाविक उर्लिने भावनाबाट टाढा हुन पुग्छ । त्यसैले नै नुनिलो आँसु आँखाबाट नभई कसैले नदेख्ने मनबाट मनैमा पोखिन्छ । ती तप तप चुहिएका आँसुले मनभित्र बिस्तारै डुवान ल्याइदिन्छ । एउटा हुँदा खादाको जीवन बग्छ आफ्नै आँसुको भेलमा । जीवन बाँच्न नपाँउदै अन्त्य हुन्छ अमूल्य जीवन ।

यी बन्धन र देखावटी हाँसोलाई त्याग्न कलकलाउदी साम्देन र पासाङ्ग आनी साम्देन र आनी पासाङ्गमा परिणत हुन्छन् । यो मोहको जालोले हामीलाई हलचल गर्नै नसक्ने गरी जकड्छ । हाम्रा अङ्ग प्रत्यङ्गलाई नराम्ररी थला पारिदिन्छ । पक्षघातले विक्षिप्त भएको शरीर जस्तै यी मोह र भौतिक चाहनाले । स्वतन्त्र हाँस्न र रुन सक्छन् सिर्फ अम्बर गुरुङ जस्ता साधक र हाम्रा आनीहरु । हामी जो इच्छा र आकांक्षाका भूमरिमा दैनिक भासिदै छौँ त्यही दलदलमा भासिनै रहन्छौँ आफैभित्रको इच्छारुपी आगोको रापले सेकिदै । दुःखलाई अङ्गाल्न सक्ने साहस र धैर्यता नहुनु नै हाम्रो कमजोरी हो जसले हामीलाई वास्तविक खुसीबाट मिलौ टाढा लैजान्छ । दार्शनिक खालिल जिब्रान भन्छन्- " जति गहिराइसम्म दुःखले तिमीभित्र ठाँउ बनाउछ त्यत्ति नै बेसी खुसी तिमीभित्र समाहित हुन्छ ।"

दुःखको उपस्थितिमा नै सुखको अस्तित्व हुन्छ । हामीले दुःखलाई सा-है हेला र सुखलाई मात्रै माया गर्नले हामी  झन झन दुःखी भएका छौँ । जिब्रान र अम्बर गुङ्गका भनाइलाई आत्मसात गर्ने हो भने खुसी हामीसँगै छ ।

खुलेर हाँस्न र खुलेर रुन आफैसँग खुल्न सक्नुपर्छ । आफैसँग खुल्नलाई हामीलाई सिर्फ चोखो मन भए पुग्छ । हामी वरिपरि बाधक हुन आइपुग्छन् हाम्रै मनको अर्को पाटो अनगिन्ति इच्छा र महत्वाकांक्षा । महत्वाकांक्षी मनले इच्छाको उडानमा निकै पर आफ्नै मन भन्दा पनि पर लगी उतारिदिन्छ । जहाँ मनै छैन त्यहाँ हाँसो कहाँ र ? मन छ र सबैथोक छ । केही पाउनुसँग मात्रै सरोकार राख्ने संसारले केही पाउनु अझ खुलेर भन्नु पर्दा भौतिक सुख सुविधामा मात्रै हाँसो-खुसी हुन्छ भनी बुझ्नेहरु र त्यसैका पछि दौडनेहरु त्यही भाग दौडमा नै हराउछन् । उनीहरुलाई थाहै हुँदैन समय बितेको । समयले कोल्टे फेर्छ, जीवनले कोल्टे फेरी मृत्युतिर लम्कन्छ तर त्यो स्वतन्त्र हाँसो र आँसु केवल सपना हुन्छ । जीवन सार्थक हुन्छ या निरर्थक आ-आफ्नो बुझाई ।

२३ फागुन २०६५

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |