हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

फेवातालको आँगनमा लै लै………।

अनिल शर्मा सुवेदी, (पोखरा-७ मासबार)

प्रिय अनामिका
मीठो संझना !

कुशल छु कुशल चाहन्छु । केही साता बित्न लागेछ तिम्लाई पत्र नकोरेको पनि । सायद त्यसैले होला आज तिम्रो नाममा अनि तिम्रो यादमा यो पत्र कोर्न मन लागिरहेछ । अहिले बिहानी प्रहर छ ।  म घरको झ्याल खोलेर उत्तर तर्फ हेरिरहेछु । माछापुच्छ्रे मुसुक्क मुस्कुराएर मलाई हेरिरहेछ मन्द पवन चलिरहेछ अनि मीठो सुवास छरिरहेछ ।

म देखिरहेछु आज माछापुच्छ्रेले कुनै बादलको घुम्टो ओढेको छैन । अन्नपूर्ण हिमश्रृखलासँगै माछापुच्छ्रे उच्च शीर गरी सदा मलाई नै हेरिरहे जस्तो अनूभूति भइरहेछ । त्यो सेताम्य हिमालमा यो बिहानी प्रहरको सूर्यको पहिलो स्पर्श पर्दा देखिएको यो मनमोहक दृश्यको वर्णन गर्न कुनै शव्द मैले भेटिरहेको छैन । चाँदीमय माछापुच्छ्रे स्वर्णीम बनेर टल्किरहेको यो प्रहरमा यो दृश्य हेरिरहदा मेरो मन हुनसम्म फुरुङ्ग भइरहेछ । शुभ बिहानीको यो बेलामा माछापुच्छ्रेले मलाई नौलौ उर्जा दिइरहेछ । कुनै व्यक्तिले रिसाएको बेलामा हे-यो भने तत्काल उसलाई प्रेम प्रदान गर्छ माछापुच्छ्रेले । पाषाण ह्दय भएका व्यक्तिलाई ह्दयभरि फूलैफूल फुल्ने बनाइदिन्छ माछापुच्छ्रेले । असक्तलाई शक्ति दिन्छ, दुखीलाई सुख दिन्छ अनि चिन्तित व्यक्तिलाई आनन्द दिन्छ माछापुच्छ्रेले । मलाई यतिखेर रामकृष्ण ढकालले गाएको गीत याद आइरहेछः-

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधै सधै नेपाल लेख्न पाइयोस्


हो अनामिका, कालीप्रसाद रिजालले यो गीत हामी पोखरेलीकै लागि लेखिदिए जस्तो लागेको छ मलाई । जब हामी बिहान उठेर झ्यालको पर्दा खोली उत्तरतर्फ हेर्छौ त्यो सुन्दर माछापुच्छ्रे देख्छौं अनि फुरुङ्ग हुन्छौं । उसले मुसुक्क हाँस्दै हामीलाई हाँस्न अनि बाँच्न सिकाएको छ निराशमा रुमल्लिएर यत्रतत्र भौंतारिएकालाई आशावादी चिन्तन दिएको छ । माछापुच्छ्रे प्रेमको अथाह सागर हो धर्मको महान ग्रन्थ हो अनि दर्शनको महाकाव्य हो । माछापुच्छ्रेलाई हेर्न जान्नुपर्छ सारा संसार देखिन्छ अनि पढ्न जान्नुपर्छ सारा व्रमाण्ड पढ्न सकिन्छ । अशान्तमय वातावरणमा शान्तिको ध्वनि गुजाइरहेछ माछापुच्छ्रे । फेवातालमा आफ्नो प्रतिविम्व हेरिरहेको माछापुच्छ्रेलाई देखेर प्रकाश श्रेष्ठले गाएका छन्ः-

फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाँया
जीवन मेरो सेती बगर बिना तिम्रो माया


साँच्चै अनामिका, जसरी माछापुच्छ्रेलाई सोझै हेर्दा राम्रो देखिन्छ त्योभन्दा अझै राम्रो फेवातालको प्रतिवम्व बनेको माछापुच्छ्रेलाई हेर्दा देखिन्छ । फेवातालको त्यो तरंगित पानीमा माछापुच्छ्रेको त्यो सुन्दर छाँया ! आहा ! संझदैखेरि पनि मन पुलकित बनिदिन्छ । अनामिका, के तिम्लाई थाहा छ माछापुच्छ्रेलाई कुमारी हिमाल पनि भनिन्छ भन्ने नि ! अर्थात् माछापुच्छ्रे आरोहण गर्नको लागि बन्देज छ सायद कुमारी नै भएर होला यति सुन्दर स्निग्ध अनि कंचन मुहार देखिएको । भन्न त केहीले माछापुच्छ्रेलाई पनि आरोहणको अनुमति दिनुपर्छ, यसो भयो भने यसको महत्व अझै बढ्छ, राज्यको आयस्रोत पनि बढ्छ भनी भन्ने गर्छन् । तर मलाई लाग्छ माछापुच्छ्रेलाई कुमारी नै राख्नुपर्छ । भनिन्छ नि सुन्दरता भनेको हेर्नको लागि हो छुनका लागि होइन । बँगैचामा सुन्दर र बास्नादार फूल फूलेको छ भने त्यसलाई हेर्दा कति आनन्द आउँछ र त्यसको सुगन्धले मनलाई कति रोमाचक बनाइदिन्छ । यदि त्यो फूललाई हातले छोइयो भने त्यसमा दाग लागेर झर्न पनि सक्छ । अहिले माछापुच्छ्रे यति मनोरम देखिएको राज कुमारी हिमाल हुनु नै हो । त्यसैले अब माछापुच्छ्रेको कुमारित्व तोड्नेतर्फभन्दा माछापुच्छ्रेको सुन्दरतामा कसरी मुग्ध हुने भन्नेतर्फ सोच्नुपर्छ ।

अनामिका, तिम्लाई थाहा छ पोखरा प्रेमनगरी पनि हो भन्ने कुरा । माछापुच्छ्रे र फेवाताले सबैलाई एक आपसमा माया गर्न प्रेम गर्न र आत्मीयता साट्न सिकाएका छन् । थुप्रै प्रेम जोडीहरु आफ्नो प्रेमलाई अजर र अमर राख्ने कसम खाँदै यहाँ आउने गर्छन् । एकापट्टि मुसुक्क मुस्कुराइरहेको माछापुच्छ्रे  अर्कोपट्टि हरियो रानीबन । अनि आँखा अगाडि विशाल फेवाताल फेवातालको बिचमा तालबाराही मन्दिर । एकातिर यो प्राकृतिक सुन्दरता अर्कोतिर तालमाथि डुंगामा आँफूसँगै बसेकी प्रेमिकाको सौन्दर्य । यस्तो मदहोस बेलाको वर्णन गर्दै गितकार नीर शाहले लेखेका छन्

तिमीसँग डुंगामा घुम्दाघुम्दै फेवाताल
नसोध कस्तो भयो होला मेरो दिलको हाल


हो अनामिका, त्यो बेलामा जोसुकैले पनि दिलको हाल कस्तो हुन्छ होला त्यो त कल्पना मात्रै गर्न सकिन्छ शब्दमा व्यक्त गर्न सकिदैन ।

माछापुच्छ्रे फेवाताल पाताले छाँगो गुप्तेश्वर महादेव गुफा महेन्द्र गुफा सराङ्गकोट विश्वमैत्री स्तुपा विन्ध्यवासिनी मन्दिर आदिले गर्दा पोखरालाई भू-स्वर्ग बनाइरहेछन् । भनिन्छ- नमरी स्वर्ग देखिदैन । तर अनामिका, के तिमी नमरिकन स्वर्ग देख्न चाहन्छ्यौ ? यदि त्यसो हो भने तिमी पोखरा आऊ । ईन्द्रले राज गनॆ स्वर्ग त कस्ले पो देखेर आएको छ र तर माछापुच्छ्रेले राज गर्ने स्वर्ग मैले देखिरहेछु हामीले देखिरहेछौं र अब त्यो स्वर्ग म तिमीलाई देखाउन चाहन्छु । त्यसैले अनामिका त्यो सुन्दर अनि स्वप्निल स्वर्ग हेर्न यसपालि बिदा मिलाएर छिट्टै पोखरा आऊ है ! माछापुच्छ्रे प्रेमरुपी माला लिएर तिम्रो स्वागतमा बसेको छ भने फेवाताल आत्मीयतारुपी अबिर लिएर तिमीलाई नै कुरी बसेको छ । मेरो त के कुरा गर्नु र ! म त मेरो मुटुभरिको माया लिएर तिम्रो व्यग्र प्रतिक्षामा बसिरहेछु । हामी सबैको प्रतिक्षा पूरा गर्न तिमी छिट्टै आऊ ल !

उही तिम्रो आत्मीय मित्र
अनिल शर्मा सुवेदी
पोखरा-७ मासबार

(anil_sharma_subedi@yahoo.com)

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |