हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बालबालिका र साहित्य सिर्जना

सिर्जना भण्डारी, (भर्जिनिया)

भनिन्छ साहित्य रसिलो हुन्छ । एउटा प्रचलित भनाइ पनि छ - "साहित्य सिर्जना हो र विज्ञान विनाश हो" । यो भनाई बिभिन्न दृष्टिकोणबाट सही वा गलत होला तर यो चाहिँ सत्य हो कि साहित्य सिर्जना हो । यसमा कसैको दुई मत छैन कि ज्ञान चेतना र जीवन भोगाइका अनुभुतिहरुबाट साहित्यको प्रष्फुटन तथा सिर्जना हुन्छ । केहि हदसम्म साहित्य जन्मसिद्ध  प्रतिभा पनि हो र केहि जीवनको आर्जन । पुर्णरुपमा ज्ञान, चेतना र जीवनका भोगाइहरु सम्म आइपुगिनसकेका बालबालिकाहरु पनि साहित्य सिर्जना गर्छन् यो उनीहरुको जन्मसिद्ध  प्रतिभा हो । बालबालिकाद्वारा सिर्जिएका साहित्यहरु अति सरल र निर्दोष हुन्छन् । उनीहरुको कोमल भावनाको मुलबाट उमिएका शब्दहरु मन छुने खालका हुन्छन् । वास्तवमा साहित्यिक  प्राणी हरेक व्यक्तिमा हुन्छ चाहे बालक, बयस्क वा बृद्ध होस  । बस फरक यति हो कि उसले आफूभित्र भएको उक्त प्राणीलाई कति सम्म बुझ्न सक्छ र कसरी त्यसलाई बाहिर ल्याउने कोशिश गर्छ । जसले प्रभावपूर्ण ढंगबाट कोशिश र उजागर गर्छ निश्चीत रुपमा ऊ स्थापित हुँदै जान्छ र हुन्छ ।

भनिन्छ,  बालबालिका काँचो माटो हुन तिनलाई जस्तो आकार दियो उस्तै बन्छन् । यो कुरा सत्य त हो तर तिनलाई आकार दिने भन्दैमा उनीहरुको अन्तरभावनाहरुमा कुठाराघात हुने गरि उनीहरुमाथि आफ्नो निर्णय लाद्नु अन्याय हो । यदि कोहि बालबालिका साहित्य सिर्जना प्रति उत्सुक र सिर्जनशिल छन् भने तिनलाई प्रोत्साहन दिनु हाम्रो कार्तब्य हो । तसर्थ आफ्ना बालबालिकाहरुको भावना र रुची बुझेर उनीहरुलाई लेख्न प्रोत्साहन दिनुहोस्, उनीहरुका सिर्जना पढेर सकारात्मक प्रतिकि्रया दिनुहोस्, भूल सुधार तथा नपुगमा थप्न सिकाउनुहोस्, शिक्षक नातेदार समक्ष उनीहरुको प्रसंसा गर्नुहोस् । अभिमावकहरुले यसरी आफ्ना बालबालिकाहरुलाई प्रोत्साहन गर्दा उनीहरुका जोस र जाँगरमा अझ उर्जा थपिएर जगतकै अमुल्य प्रतिभा भएर  निस्किएका उदाहरणहरु हाम्रा सामु धेरै छन् र यस्ता प्रतिभाहरुले  प्रेरणाको श्रोत आफ्नै अभिभावकलाई मान्दछन् । आज नेपाली साहित्य फाँटमा उभिएका थुप्रै ठूला-ठूला साहित्यकारहरुले समेत आफ्नो प्रगती र उपब्धिको श्रेय आफ्ना अभिभावकलाई दिने र उनीहरुलाई नै प्रेरणाको श्रोत मान्ने गरेका ज्वलन्त यथार्थहरु पनि हाम्रा सामु प्रशस्त छन् ।

बालबालिकाहरुको कलिलो दिमागले अभिभावकहरुले भनेका सबै कुराहरु छिट्टै र सजिलै टिप्न सकदैन र धेरै करकाप गर्दा उनीहरुमा विषयवस्तु प्रति वितृष्णा बढ्ने खतरा पनि उत्तिकै हुन्छ । तसर्थ उनीहरुको भावनामा गहिरो प्रभाव पार्न ब्यवहारिक ज्ञान दिनु, विषयवस्तु माथि ब्यापक छलफल गर्नु, उनीहरुलाई जान्न र प्रश्न सोध्न प्रोत्साहित गर्नु, उनीहरुलाई नै विषयवस्तु माथि विचार र वर्णन गर्न प्रोत्साहन गर्नु आदि माध्यमबाट उनीहरुमा ब्यवहारीक ज्ञान र प्रभावकारिता बढाउन सकिन्छ जसले उनीहरुको साहित्य सिर्जनामा सहजता र निखार ल्याउँन सघाउ पुर्याउँछ किनकी कुनै पनि विषयवस्तु माथि जति धेरै जानकारी हुन्छ साहित्य सिर्जना उत्तिनै सहज र गुणस्तरीय हुन्छ ।

(यो मेरो आफ्नै पारिवरिक अनुभूति हो ।)

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |