हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मोफसलको कथा

सङ्गीत आयाम, (चितवन, भरतपुर)

भन्छन्, मोफसल राजधानीबाट धेरै टाढा छ । हुन त सायद त्यसैले पनि राजधानीवादको हावादेखि पर पनि छ । आजमात्र होइन हिजोदेखि नै मोफसल सँधै राजधानीबाट टाढा नै रह्यो । पर रहेपनि मोफसलले कहिल्यै राजधानीलाई स्मृतिको कठघरामा राखेन । कस्तो बिडम्बना छ भने राजधानी बिरामी पर्दा मोफसलले भरथेग गर्नुपर्छ तर मोफसल थला पर्दा पनि राजधानीले एक झल्को चियाउँदैन । अचम्भ लाग्छ मोफसलको ऋण खाएर बलियो र मजबुत बनेको राजधानी आफूलाई कहिल्यै मोफसलको ऋणी हुँ भन्दैन ।

वास्तवमा मोफसलको कथा यतिमैं समाप्त हुँदैन पुस्तकका पुस्तक लेखिन सक्छ मोफसललाई लिएर । उसको कथा नै यस्तो दर्दनाक छ कि जति नै भने पनि कहिल्यै टुङ्गिदैन । कथा समाप्त भएको उद्घोष बारम्बार गरिए तर पटक पटक सुरु हुन्छ त्यसको श्रृङ्खला । धेरै पीडा र यातनाहरुसँग दशकौंदेखि संघर्षमय जीवन बाँच्दै हुर्किएको मोफसलमा सुविधाको नाममा राजधानीमा सहज रुपमा प्राप्त हुने ती यावत कुराहरु पाइँदैनन् जुन मोफसलले पनि भित्री हृदयदेखि चाहना राखेको हुन्छ ।
 
पण्डितहरु भन्छन् 'केन्द्र र मोफसलबीचको दूरी अब घट्दो क्रममा छ ।' विज्ञान तथा प्रविधिको चमत्कारका कारण केन्द्रमा पाइने कतिपय कुरा मोफसलमा नपाइने होइनन् तर यसको अर्थ यो हुँदैन कि अब दूरी घट्दै गएको छ । एकले अर्कोलाई हेर्ने सोचमा जबसम्म आफ्नोपनको मीठो आभाष मिल्दैन तवसम्म दूरी घट्दै गएको कुरा कुनै काल्पनिक कथाको विषयवस्तु त हुनसक्छ कहिल्यै यथार्थ हुन सक्दैन । आजसम्म जुन दृष्टिकोणका साथमा मोफसललाई हेरिएको छ त्यही दृष्टिकोणकै निरन्तरता जता हेरेपनि देखिन्छ । मन खोइ त आत्मीयताले भिजेको निथ्रुक्क नहुने गरी ओभानै मात्र देखिन्छ । यसलाई के नाम दिने ?

पटक पटक भनिन्छ 'जीवन यात्रा हो यात्रा जसरी नै बाँच्नुपर्छ । यात्राका उतारचढावहरु कहिले घाम हुन्छन् र झलमल्ल लाग्छन् । कहिले भने छाँया भएर ओझेलमा रेखाहरु बनाउँदै त्यसमा सुँकसँुकाएर धमिला रङ्गहरुको समायोजन हुँदै पोखिन्छन् ।' भनाइकै पछि लाग्ने हो भने जीवन झन् कष्टकर हुने निश्चितप्रायः नै छ । सन्दर्भ के हो र त्यो जीवनमा कत्तिको सापेक्ष छ भन्ने कुराले मात्र धेरै ठूलो अर्थ राख्छ जीवनका तमाम निरपेक्षरुपी उद्धरणहरुका साथले पनि जीवनमा केही परिवर्तन आउन सक्ने छैन ।

धेरैपछि केही समयअघि काठमाडौंमा एक जनासँग भेट हुन्छ । उनलाई परिचित मान्दा पनि हुन्छ र नमान्दा पनि । त्यसको पनि कारण छ उनीसँग केही वर्षपहिला मेरो परिचय भएको थियो र त्यसले निकै समय निरन्तरता पनि पायो । जब मलाई काठमाडौंले के साँझ, के बिहान, के रात, के दिन नभनी मोफसलतिर लखेट्दै थियो तव मलाई थाहा भयो सङ्घर्षमात्र गर्नु केवल शक्ति होइन रहेछ । विनासङ्घर्ष गरेर कतिले नाम पनि कमाए र दाम पनि कमाएका प्रत्यक्षदर्शीका रुपमा उपस्थित हुने यिनै आँखाहरु पर्याप्त छन् । जति संघर्ष गरेपनि त्यसको कुनै अर्थ नरहेपछि र बाँच्नसक्ने कुनै विकल्प नै नभएपछि काठमाडौंले मलाई मोफसलमा धपाएरै सन्तुष्टि लिएका दृश्यहरु अझै पनि यी आँखाहरुमा ताजै देखिन्छन् । म कलङ्की चोकबाट सँधैका लागि पश्चिमतिर लाग्दा मेरा पूर्वपरिचित मित्रभने त्यतिबेला अग्रपक्तिंमा बसेर जोड जोडसँग ताली बजाइरहेका थिए ।

यो मेरोमात्र पीडा होइन म त केवल प्रतिनिधि पात्रमात्र हुँ । केही हदसम्म काठमाडौंमा नै बसेर पनि श्रवण मुकारुङको पीडा हुनसक्छ यो । केही हदसम्म युवराज नयाँघरेको पनि पीडाका रुपमा दोहोरिन सक्छ यो । चाहे कृष्ण धराबासी नै किन नहून् या मनु ब्राजाकीकै पीडा हुनसक्छ यो ।

मोफसलको पीडा भोग्नेलाईमात्र थाहा हुन्छ नकि आदर्शमा बाँच्ने आदर्श नायकहरुलाई । मोफसलको संघर्ष अनुभव गर्नेले मात्र थाहा पाउँछ नकि राजधानीको सुख र सम्पन्नतामा जीवनबोध गर्नेहरुले । किन कहिल्यै लाग्दैन राजधानीको घाम मोफसलको धरतीमा एक झुल्को घामको प्यासी बनेर मोफसल धेरै अघिदेखि प्रतीक्षारत छ उसले किन कहिल्यै बुझ्दैन मोफसललाई किन कहिल्यै गाउँदैन राजधानीले मोफसलको गीत आफ्नो नजिकको साथी मानेर गीतको वर्षाले पटक पटक रुझ्न चाहन्छ मोफसल सङ्गीतको झरीले बारम्बार भिज्न चाहन्छ मोफसल । राजधानीले किन कहिल्यै यसलाई महसुस नै गर्दैन ?

एक्लो एक्लो मोफसल जीवन्त सङ्घर्षका कथाहरु लेखिरहेछ तर सार्वजनिक गर्ने साहस जुटाउन सक्दैन । भन्छ 'सार्वजनिक गरेरमात्र के हुन्छ प्रचारप्रसारका लागि पालो कुरेर राजधानीलाई चाकडी गर्नुपर्छ । यदि पालोको क्रम आयो भनेपनि त्यसको कदर नै हुन्छ भन्ने के आधार छ र ! मोफसलले अहिले ती दृश्यहरु सम्झिन्छ जहाँ उसको पालो आउँदा पनि अरुले नै मिचेर अतिक्रमण गरेको विम्ब मोफसलको आँखाभरि अझै व्याप्त छ । मोफसललाई थाहा नभएको होइन राजधानीलाई नमस्कार गरेर मात्र पुग्दैन मोटो दक्षिणाको रुपमा भेटीसमेत चढाउनु पनि पर्छ ।'
 
एक मन त लाग्छ हुनेखानेहरु सबैले किन मोफसललाई रातारात त्यागेका होलान् किन हुँदाखानेहरुको जिम्मामा मोफसललाई छोडेर उनीहरु नफर्किने गरी भागेर गएका होलान् प्रतिभा पलायनको यस्तो अदभुत दृश्य राजधानीले सायदै कहिल्यै देख्यो जति मोफसलले आफ्नो जिन्दगीभरि देख्यो । यस्तो प्रकारको प्रतिभा पलायनलाई अब के नाम दिने के सबैलाई राजधानी चाहिएकै हो त ?

घाम सबैको लागि हो भनिन्छ, त्यसले दिने प्रकाशलाई सार्वजनिक अर्थ र अभिप्रायमा नै गणना गरिन्छ । पानीले कहिल्यै आफ्नो जात छुट्टयाउँदैन भन्ने कुरा घरीघरी प्रमाणित पनि हुन्छ । फूलको सुगन्धले कहिले कसलाई भेदभाव गर्छ र ! हावाको उपस्थितिले सबैलाई नै आलिङ्गनबद्ध गरेर सँधै नै न्यानोपन प्रदान गर्दैन र ! मान्छेरुपी भौतिक प्राणीले कतिसम्म गर्यो भने प्राकृतिक रुपमा सबैका लागि उस्तै रहेको घाम भौतिक अर्थमा घामलाई हेर्ने सन्दर्भमा पनि ठूलो विभाजन ल्यायो । पानीको महत्व सबैका लागि त्यत्तिकै हो तर आजको मान्छेले पानीलाई पनि तराजुमा जोख्ने काम गर्यो । फूलले दिने सुगन्धमा कतै फरक महसुस हुँदैन तर मान्छेले फूलको सुगन्धलाई पनि फरक फरक मूल्यमा बिक्री गर्न राख्यो । हावा सबैका लागि अनिवार्य छ तर आजको मान्छेले त्यस हावालाई पनि वर्गीय बनाउँदै त्यसको मूल्यवेत्ता कायम गर्यो ।

यस कुरामा न कहिल्यै शङ्का थियो न अहिले नै कुनै शङ्का छ राजधानीलाई अहिलेको राजधानी बनाउनुमा मोफसलको जति हात कसैको पनि छैन । दुःखको कुरा यही छ कि राजधानीले यस्तो सत्यलाई कहिल्यै महसुस नै गरेन । चाहे कलामय यात्रामा बौद्धिक श्रमको लागि नै किन नहोस् या जीविकोपार्जनमा शारीरिक श्रमको बलमा नै राजधानीलाई सिँचित गर्ने अभियानमा किन नहोस् हरेकपल्ट मोफसलले राजधानीलाई बचाएको छ । सँधै नै राजधानी देशको गौरव र गरिमा हो भन्दै मोफसलले आफूलाई अर्पित गरेको छ । यात्रा यात्रामा साथ दिने मोफसललाई राजधानीले गर्ने व्यवहार प्रिय नहुँदा मोफसलबासीको मन चसक्क दुख्नु अनौठो पनि छैन ।


 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |