हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

सपना र मनैसँगको एक अथक संघर्ष

कुमारी लामा, (काठमाण्डौं)

अव्यक्त आकांक्षाले चिथोरिएको मुटुजस्तै जडवत् चीसो हुन्छ मन जब आँखाको डिलैबाट रङ्गीन सपना ओझेल हुन्छ । सिसा फुटेको आवाजका साक्षी धेरै कान र आँखाहरु तर मन फुटेको, सपना टुक्रिएको !


आँखाहरु हरपल नयाँ नौला र मीठा सपनाहरु बुन्न तल्लीन रहन्छन् । भ्याईनभ्याई छ सबैलाई । के के के के बुन्न । साना लालाबालाहरु चम्किला आँखा बोकी पुस्तकका अक्षरहरुमा सारा संसार हेर्छन् । कस्तो विश्वास ! कस्तो संकल्प ! आशा, विश्वास, दृढता सबै एकैचोटि सोहोरिएर आँखाका नानी हुँदै स्नायु र मष्तिस्कमा मीठो चस्का दिन पुग्छन् । बेगमबेलीको लटरम्म बैंस मुस्कुराए जस्तै मन ओठ र सारा शरीरनै एकै चोटि हाँस्छ कल्पना सम्मले पनि । लहलह हरिया ग-हाभरि झुलेका मेहनती किसानका सपनाहरु । कति रमाइलो । ती हरियाबाट सुनौला भई झुल्दा झनै सुनै झुले जस्तो । त्यो पनि सपनाकै साकार रुप । जीवन छ सपना छ आस्था छ । कल्पना टुट्छ तर नटुटुन्जेल त त्यसले मनलाई बहकाएकै हुन्छ । टाढाको एउटा सुन्दर कल्पनाको भन्दा पनि सुन्दर ठाँउमा लैजान्छ । सायद युटोपिया । कलकलाएको झरनाको मन्द गुन्जन चिर्विर पंक्षीका स्वतन्त्र गीतहरु पातहरु आफै सुसेल्दै एउटा आदिम समयलाई टिपे जस्तै शान्त दूरदेशमा पु-याँउछ । रमाइन्छ सुस्ताइन्छ मनलाई सकेसम्म फिजाएर सारा सुन्दरतालाई आफ्नै अङ्गालोमा भरिन्छ केही क्षणकै लागि सहि । सपना त आफ्नो अधिकार हो आखिर । 

खासाको लाप्टाङ् गुम्बाको आनी छोडेनको आँखामा कति मीठो स्वच्छ र निस्छल सपना खुलेको छ । प्रत्येक विहान सबेरै उनी उठ्छिन् र गुम्बाको मानेको घुमाइसँगै उनको आस्था फकिन्छ । जाल झेल र कपट भन्दा पर उनी । भगवानप्रतिको उनको आस्थासँगै उनको विहानी झुल्छ उनकै मन्द मुस्कानमा । उनी बेपर्वाह छिन् उमेरसँग । समयले अनुहार र शरीरमा थुपार्दै गरेको मासुका लुम्साहरुसँग उनलाई कुनै गुनासो छैन । जीवनलाई यसैगरी अगाडि लैजाने कोमल अभिलाषा मात्र । त्यो लेकको चीसो सिरेटोलाई बिना सिकायत स्वीकार छ उनलाई । पाहुनाको सत्कारका लागि तयार । अमूल्य हाँसोका लस्करहरुले स्वागत गर्दै काठै काठले बनेको सानो घरमा लैजान्छिन् सबै आगन्तुकहरुलाई । त्यो लेकको सिरेटोले चुनौती दिँदै गर्दा चौरीको दूधमा बनेको बाक्लो चियाले सबैलाई खुसी पार्नु उनको धर्म । चिया पकाउदै गर्दा उडेको खरानी केसभरि सेत्ताम्मे राज गर्दा पनि उनी मस्त हाँस्छिन् । कस्तो निस्वार्थ हाँसो ! गजवको सन्तुष्टि । सपना, सांसारिक मोहको गन्ध पटक्कै छैन । केबल बुद्धको सत्मार्गमा लम्किने साहास उनको मुटुभरि टम्म भरिएको छ । त्यो साहास नहुँदो त त्यो खुसी………!! 

लाप्टाङ् गुम्बाको पूर्वपट्टिको डाँडाभरि सेत्ताम्मे शिशिर मुस्कुराएको छ । सूर्यको किरणको मायालु स्पर्शले त्यो हिउष टललल टल्कदा आनी छोडेनको संसार खुल्छ ती हिउषका चम्किला टुक्राहरु जस्तै पूरै दाँतका लहरहरुमा । त्यो चामत्कारिक सौन्दर्यमा एउटा अलौकिक शक्ति छ । त्यसैले त हामी तानिन्छौँ मुक्छौँ आफूलाई समर्पित गर्छौँ । यो निस्वार्थ समर्पण यो अनुभूतिको स्वर्ग । त्यहाँ प्रेम छ त्यहाँ इश्वर छ । 

डेढ बर्षकी मेरी सानी पुतली मेरो कानैमा गुनगुनाउन आइपुग्छिन् । बालसुलभ मायालु तोते बोली । कति मीठो लरखराएको बोली छ उनको । त्यो तोते बोलीमा ईस्वरीय बोली छ । मलाई पनि निकै नसा लाग्छ उनको गजबको चुलबुलेपनाले । हो यही हो सच्चा प्रेम । उनका साना साना औँलाका स्पर्शले छुट्टै दुनियामा तान्छ । परीहरुको सुन्दर संसारमा । त्यहाँ माया प्रेम भन्दाबाहेक अरु केही छैन । उनका चहकिला साना-साना आँखाहरुमा हरेक चीजप्रतिको आश्चर्य जिज्ञासा खोज र उत्तरको आश । पुतलीको पछि दौडनु फुलका पत्रहरु टिप्दै फ्याल्दै गर्नु घरि बर्रर आँसु खसाउनु अनि गालामा बगेका आँसुका रेखाहरु टलकदै गर्दा ओठबाट ह्वत्त हाँसोका फोहोराहरु बाहिर निकाल्नु । आहा ! कति सुन्दर संसार । सपनाको संसार कल्पनाको संसार । 

सपनासँग खेल्न र कल्पनाको संसारमा सयर गर्न हामी केवल आफैसँग हुनुपर्छ । कतैबाट पनि नबिथोलिई आफ्नो मुटुको प्रत्येक चाललाई बिस्तारै बिस्तारै महसुस गर्न सक्ने एकान्त सारा हतकडी र बन्धनहरुबाट मुक्त आफ्नो मनको छुट्टै राज्यमा सम्पूर्ण सीमाहरु पार गरी अगाडि आफ्नै स्पन्दनको नगिच । हो त्यस्तो एकान्त । हो त्यस्तो अनुभूति । 

जब नित्तान्त एक्लो भइन्छ आफैसँग मात्रै तब आँखाका नानी भरि भरि र मष्तिस्कका रेशाहरुमा एक हुल जुलुस सरी पूरा भएका र अधुरै रहेका सपनाहरु दौडन थाल्छन् । हो एकान्त चाहिदो रहेछ आफैसँग कुरा गर्न आफैलाई बुझ्न । भीडमा हामी भीडै भइदिनुपर्छ । म अरुभन्दा फरक भएर पनि त्यही भीडमा मिसिनु पर्छ उनीहरुकै रङ्गमा आफूलाई ढालेर मानौकि मेरो आफ्नो अस्तित्व नै छैन । त्यसैले लाग्छ भीडले मलाई 'म' हुन दिदैन । म आफैलाई पाउँदिन त्यस हुलका हुल सलवलाएका मानव समुद्रमा । शरीर भए पनि मेरो आत्मा त्यहाँ हुदै हुदैन मैले नरुचाएको ठाउँमा । जब एक्लै हुन्छु तब मलाई पूर्ण स्वतन्त्रता मिल्छ रुन हाँस्न आफैसँग गुनासो गर्न अनि आफैलाई गाली गर्न पनि । प्रुान्ज काफ्का मुर्दा शान्ति चिहानको जस्तो मौनता र निश्तब्धता चाहन्थे । अँध्यारो सही एक्लोपन सही तर आफैसँगको एकान्त उनको रोजाइ जसको अभावमा उनी टुक्रिए, बिक्षिप्त भए र घरि घरि आत्महत्यालाई पनि मन मनै स्वीकार गरे । 

हो म त्यस्तै एकान्त चाहन्छु । पहाडको टाकुरामा तपस्यारत एक तपस्वीले महसुस गर्ने एकान्त । अझ त्यो भन्दा पनि बढी काफ्काले चाहेको जस्तो चिहानमा छाएको जस्तो त्रासदिपूर्ण तर विलकुल शान्त । त्यहाँ न कसैको चाल न कसैको बोली न त कसैको हस्तक्षेप नै । केवल म र मेरो मनको खुल्ला उडान । त्यहाँ म हाँस्न सक्छु आफैसँग खुलेर एक अबोध बालक झैं । त्यहाँ म मेरा पूरा भएका र अपूरा दुवै सपनासँग मीठो बात मारी बसन्तको जस्तो शितलता र कोमलतालाई मनभरि समेट्न सक्छु । 

तर चसक्क सियोले घोचे जस्तो किन हुन्छ मन ! भयले त्रासले खुसीले विस्मातले या……… कता कता चिथोरिइरहन्छ भित्र भित्रै । घरि घरि त गुम्बा आनी र केटाकेटीहरु पनि डरलाग्दो अस्पष्ट आकृतिहरु रातको निरवतामा तर्साउने छायाहरु जस्तै देखापर्छन् । अघि भर्खरै खुलेको मनमा कालो नीलो बादलहरु मडारिए झैं हुन्छ । थाहा छैन त्यो धनघोर बर्षात र प्रलयकारी तुफानको संकेत हो या मेरो मनैसँगको एक अथक संघर्ष !
 
६ चैत्र २०६५

kumari_2037@yahoo.com
 


 
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |