हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

तीजको ऐतिहासिक र धार्मिक पृष्ठभूमिमा वर्तमान सांस्कृतिक स्वरुप

सहा. प्रा. प्रवेश शर्मा, (Belgium)

तीज हिन्दु धर्मावलम्बीहरुको एउटा महत्वपूर्ण पर्व हो । विशेष गरी हिन्दु महिलाहरुका माझ प्राचीन कालदेखि नै निकै लोकपि्रय र प्रसिद्ध हुँदै आइरहेको तीज पर्व भाद्रशुक्ल पक्षको तृतीयाका दिनमा पर्दछ । भाद्रशुक्ल तृतीयाका दिनमा हस्त नक्षत्र र सोमवार परेमा तीजको महत्व बढ्दछ । यी तीन चीजबाट जन्मिएको हुनाले त्रीज भन्ने संस्कृत शब्दबाट तीज शब्दको प्रयोग भएको देखिन्छ । तीजको धार्मिक र ऐतिहासिक पक्षमा विचार गर्दा शिवगौरी संवादसम्म पुग्नु पर्ने हुन्छ । थोरै परिश्रमले ज्यादा फल मिल्ने व्रत उपवासको बारेमा उठेको पार्वतीको जिज्ञासामा शिवजीले हरितालिकाको व्रत विधान बताउनुभएको इतिहास पाइन्छ । त्यसमा माथि भनिए अनुसार तीनै चीजको संयोग भएको समयमा उपवास गरी उपासना र आराधना गर्नाले सम्पूर्ण किसिमका पापराशिहरुबाट मुक्ति पाउने कुराको उल्लेख पाइन्छ । त्यस्तो समयको व्रतलाई उत्तम कोटिको व्रत मानिन्छ । त्यस्तो संयोग यदाकदा मात्र सम्भव हुन्छ ।

भाद्रमासे सिते पक्षे तृतीया हस्तसोमयुक् ।
तदनुष्ठामात्रेण सर्वपापैः प्रमुच्यते ॥

शिवजीलाई नै पतिस्वरुपमा प्राप्त गर्ने पार्वतीको चाहना र तपस्या विरुद्ध हिमालय पर्वतले विष्णुलाई विवाह गरिदिने कुराको विद्रोह स्वरुप पार्वतीका सखि-साथीहरुले जङ्गलमा लगेर लुकाएर राखेको हुनाले यसलाई हरितालिका भनिएको हो । संस्कृतमा आलि भनेको साथी हो र 'आलिभिर्हरिता' साथिहरुद्वारा हरण गरिएकी भनेर हरितालिका नाम रहन गएको हो । यसको नामको सम्बन्धमा शिवजीले नै पार्वतीलाई यसरी बताउनु भएको पाइन्छ ।

नामस्य व्रतराजस्य श्रृणु देवि यथाभवम् ।
आलिभिर्हरिता यस्मात्तस्मात्सा हरितालिका ॥


तीजको इतिहासलाई हेर्दा पार्वती र शिवजीको वैवाहिक प्रसङ्ग जोडिने हुनाले अनादिकालदेखि नै यस पर्वको अस्तित्व रहेको बुझिन्छ । विशेष गरी प्रागैतिहासिक कालदेखि नै हिन्दु नारीहरुले आफ्नो सौभाग्य वृद्धिका लागि शिवशक्तिको उपासना गर्ने हुनाले तीजको धार्मिक एवं सांस्कृतिक महत्व स्पष्ट हुन्छ तर हिजो आज नारी अधिकारसँग यसलाई जोडेर हेरी धार्मिक र सांस्कृतिक पर्व विशेषलाई राजनीतिक रंग दिइए झैं देखिन्छ । हुन त केही समय अगाडि देखि नै तीज सामाजिक रुपमा उत्पीडित नारीमनका विरहवेदना र पीडा पोख्ने चाड विशेषका रुपमा परिचित हुदै आएको थियो । तर विगत र वर्तमानमा कति फरक छ भने विगतमा सामाजिक संरचनामा आधारित व्यावहारिक अस्वाभाविकताका कारण उत्पन्न समस्याहरु विशेष गरी फरक-फरक पुस्ताका नारी-नारी बीचका वैचारिक विभेद तथा तज्जन्य विकृति र विसंगतिका साथै व्यावहारिक रुपमा भएका विभेदजन्य उत्पीडनका स्वरहरु मुखरित हुन्थे तीजका नारी सुस्केराहरुमा । यति हुँदाहुँदै पनि असहज परिस्थितिमा साथ दिने सहयोगीहरु र आफ्ना सम्ब्न्धित पुरुषहरुप्रति भने निकै अनुगृहीत र समर्पित पनि देखिन्थे ती नारीस्वरहरु तर वर्तमान समयमा ती स्वरहरु फरक शैली र पृथक भावका साथ भिन्न दिशामा केन्द्रत बनेका छन् । सहयोगी र सम्बन्धित पुरुषहरुप्रति समर्पित र अनुगृहीत भावका ती नारीस्वरहरु आज नारीजागरण र अधिकारका सवालमा केन्द्रित देखिन्छन् अनि हरतरहका संरचनामा भएको पुरुषप्रधान प्रवृत्तिप्रति विद्रोह गर्न तम्सिएका झैं लाग्छन् । अझ समान विषयमा उठेका ती स्वरहरु पनि दलगत राजनैतिक रंग र रुपका कारण बाह्यरुपमा केही फरक देखाउन गरिएका प्रयासले गर्दा झन् अनौठा लाग्छन् । नितान्त व्यक्तिगत र पारिवारिक रुपमा दैनिक जीवनचर्यामा थोरै स्वतन्त्रता र सुविधाका माग गर्ने महिला जमात आज समग्र राष्ट्रमा आफ्नो पहिचान र अस्तित्वको खोजी गर्दै उपस्थिति जनाउने तीव्र ईच्छाहरु अभिव्यक्त गरिरहेका देखिन्छन् । 'एक पन्थ दुई काज' भन्ने लोकप्रिय नेपाली उखान झै एउटै पर्व विशेषमा प्ानि एकभन्दा बढी उद्देश्य बोकेका नारीसमूहको उपस्थिति आज समाज र राष्ट्र हुँदै समग्र विश्वमै नारी अस्मिता र अधिकारको खोजीमा केन्द्रित भएको देखिन्छ । व्रत-उपवास र उपासना-आराधनाको माध्यमबाट धार्मिक तथा सांस्कृतिक पक्षको पोषण गर्दै नारी जातिको अस्तित्वको उद्बोधनका खातिर देखिएका बुलन्द नारीस्वरहरुले यही कुराको वास्तविकतालाई दर्शाइरहेका छन् ।

साँच्चै भन्नुपर्दा आजको पुस्ताले तीजको धार्मिक पक्षलाई भन्दा पनि अन्य पक्षहरुलाई नै बढी बुझेको जस्तो देखिन्छ । हिजोआज तीज पर्वका सन्दर्भमा नितान्त भिन्न संस्कृतिको विकास भइसकेको छ । पारिवारिक जमघटमा मात्र नभई सामाजिक राजनैतिक तथा संस्थागत रुपमा समेत आयोजना गरिने तीज कार्यक्रमको समय अवधि प्रतिवर्ष लम्बिंदै छ भने आवश्यकता भन्दा बढी खर्चिलो समेत बन्दै गइरहेको अनुमान कतिपय विश्लेषकहरुको छ । त्यसको असरले विशेष गरी निम्नवर्गीय परिवार र समाजमा मानसिक तथा आर्थिक बोझ थिपंदै गएकोमा र तीजको प्रमुख पक्ष गौण बन्दै अन्य पक्षहरुले प्रमुख स्थान पाउँदै गइरहेकोमा विकृति र विसंगति हटाउने नाममा पर्व विशेष नै विकृत हुने आशंकाले एकथरि महिला समुदाय नै चिन्तित देखिन थालेको देखिन्छ । 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |