हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अन्तरराष्ट्रिय नारी दिवस एक सन्दर्भ, एक चर्चा:

भारती गौतम, (बोस्टन)

“जहिले सम्म महिलाको आवाज सुनिदैन र त्यो आवाजको कदर गरिदैन, तबसम्म मुलुकमा सांचो प्रजातन्त्र आउदैन”

अमेरिकी राष्ट्रपतिय उम्मेद्वार सिनेटर हिलरी क्लीन्टन।
 

फेरि पनि मार्च आठ तारीख आयो, अनि बिश्वभरी किसिम किसिमका कार्यक्रमका साथ नारी दिवस मनाईयो र मनाईने योजना बनाईयो। यसरी हरेक साल नारी दिवस एक वर्ष पुरानो हुन्छ अनि विश्व ईतिहासमा पनि महिलाले हासिल गरेका उपलब्धि र स्थापना गरेका कीर्तिमानमा एक सानो अध्याय थपिन्छ। हाम्रा हजुर आमाहरुको भन्दा हाम्रा आमाको हाम्रा आमाको भन्दा हाम्रो र हाम्रो भन्दा हाम्रा छोरीहरुको जीवन मा भएको पिढीको दुरी भन्दा आफू संगै जन्मिएको शारीरिक बिबिधता ले सिर्जेको सामाजिक, राजनीतिक, सांस्कृतिक , धार्मिक र पारिवारिक बिभेद को दूरी नजिकिन जानु भन्नु र लैंगिक समानता को प्राप्ती भन्नु अझै पनि उस्तै छैन।

एक्काईसौं शताव्दीको मध्यमा पनि महिलाले हासिल गरेका साना ठूला उपलब्धिहरुमा प्रथम महिला---- फलानो र ढिस्कानो जोडिन्छ तब सम्म  महिला अधिकारको को गन्तब्य क्षितिजमा नै अड्किएको हुन्छ।

महिला समानता अर्थात महिला अधिकारको आबाज उठाएको शताव्दी बितिसक्ता पनि महिला प्रति गरिने सवै पक्षका बिभेदको उन्मुलन को दिशामा बिश्व बामे मात्र सर्दै रहेको तथ्य खोज्न टाढा जानुको सट्टा आफ्नै अनुहार ऐनामा हेरे पुग्छ। आफ् आफ्नु नाम लिएर मम: भने झैं आफ्नु आफ्नु गच्छे अनुसार सवै मुलुकले र मुलुकका कानुनहरुले, संस्कार हरुले महिलाको अधिकारको परिभाषालाई पुरुष प्रधान पारेकै छन्। तर तुलनात्मक रुपमा हेर्दा शताव्दी अघि असंभव मानिएका कतिपय संभावनाहरु आजका महिलाहरुले संभव गराउने श्रेय त एक शताव्दी अगाडी  केही आंटि र चेतनशील महिलाहरुले उठाएको आवाजको गुन्जन लाई मान्न सकिन्छ। कमसेकम वर्षमा एक दिन भए पनि मनाउदै आएको अन्तरराष्ट्रिय नारी दिवस ले आफ्नो आफ्नो परिवेशलाई नारी अधिकार बारे झस्काउन सफल भएको छ। नारी अधिकारको चेतनाको शुरुआतको अतितलाई कोट्याएर हेर्न खोज्दा सय वर्ष पछि फर्किनु पर्ने हुन्छ।

अन्तरराष्ट्रिय नारी दिवसको शुरुआत १९सौं शताव्दिको आरम्भ देखि शुरु भएको हो। सन् १९०८ देखि मनाउन थालिएको अन्तरराष्ट्रिय महिला वा नारी दिबस अस्ट्रेलियामा भने सन १९२८ देखि नै आरम्भ भएको थियो। सन् १९०८ मा सामाजिक बिचारधाराका अमेरिकी महिलाहरुले पहिलो नारी दिवसको आयोजना गरेर अन्तरराष्ट्रिय नारी आन्दोलनलाई प्रेरित गरेका थिए।  महिलाको राजनीतिक र आर्थिक क्षेत्रमा समानता अनि मत दिन पाउनुपर्ने भनी हजारौंको संख्यामा महिलाहरु सडकमा उत्रिएका थिए। यसैको असर स्वरुप सन् १९०९ मा कपडा उद्योगमा कामगर्ने महिला कामदारहरुको ठूलो समूहले जाडो महिनाको तेह्र हप्ता सम्म पुरुष सरह ज्याला र कामगर्ने वातावरणको सुधारको लागि आम हडताल गरेका थिए। यसपछि बिस्तारै अमेरिका भरि नारी दिवस मनाईन थालियो र पछि गएर अरु युरोपियन राष्ट्रमा पनि महिला चेतना र नारी आन्दोलनको शुरुआत हुन थाल्यो।

समाजबादी बिचारधारा भएकी अमेरिकी लिना लुइसले सन् १९१० मा एउटा बक्तव्य निकालि "नारी दिवस भनेको कुनै कुराको उपलब्धिको खुशी मनाईएको हैन, तर यो दिन भविष्यमा पुरुषले नारी भन्दा आफूलाई उच्च मान्ने र नारी प्रति शासन जमाउने प्रथाको अन्त सम्मको लागि गर्नु पर्ने संघर्षलाई निरन्तरता दिन संझाउने दिन हो" भनेकी थिईन। लिना लुईसले भनेको त्यो तथ्यको एकसय बर्ष बितिसक्न आट्ता पनि विश्वको त कुरै नगरौं अहिले सम्म पनि पुरुषले आफूलाई उच्च मान्ने र उनीहरुमाथि कुनै न कुनै प्रकारले शासन गर्ने प्रथाको शतप्रतिशत उन्मुलन भएको देश भेट्न गाह्रो पर्छ भन्दा झूठो दाबी ठहरिदैन। यसरी पुरुषले आफूलाई उच्च ठान्ने र महिलालाई कुनै न कुनै तरिकाले शासन गर्ने मात्रा, पद्दति र त्यसको परिमाणमा ठाउ ,समाज , परिस्थिति अनुसार फरक पर्ला तर त्यसको अस्तित्वनै नभएको चाहि भन्न सकिदैन। हुनत तुलनात्मक रुपले हेर्यो भने बिगत सय बर्ष यता समाजमा महिलाको स्थान मा परिवर्तन नै नआएको त भन्न मिल्दैन तर हजार रुपैया लुटेर एकसय फिर्ता दिएर ' मैले केहि त दिएं नि' भन्नु र महिलाले अहिले निकै अधिकार पाएका छन् भन्नु झण्डै उस्तै हो।

अमेरिका जस्तो सर्वोमुखी बिकासको अगुवा भएको मुलुकमा त लैंगिक भेद पनि प्लेग र बिफर जस्तो उन्मुलन भैसकेको जस्तो लाग्नु परिबेक्षक मुलुकहरुको लागी अस्वाभावीक हैन, यस मुलुकलाई नजीक बाट नहेरे सम्म र नबुझे सम्म लाग्ने यो भ्रम लाई बिपरित प्रमाणित गर्ने तथ्य हरु प्रसस्तै भएको उदाहरणका लागि यसै वर्ष सम्पन्न हुन लागेको राष्ट्रपतिय चुनावलाई नजीक बाट हेरे पुगि हाल्छ। मुलुक को स्थापना भएको चार सय बर्ष पुगि सक्ता र  झण्डै चार दर्जन जति पुरुष राष्ट्रपति भैसकेको र प्राविधिक अनि बैज्ञानिक उन्नतिको अगुवा रहेको अमेरिकाको ईतिहासमा राष्ट्रपतिको निर्वाचन उम्मेद्वारमा मनोनित हुने संभावना भएका हरु मध्ये पहिलो महिला रहेकी छिन्, शायद पहिलो पटक यो मुलुकले एक महिलालाई राष्ट्पतिरुपी ढोकाको संघारमा पाएको छ । त्यसैगरी पहिलो पटक  यो मुलुकमा महिला सभामुख महिला रहेकी छन् ।  

अझै पनि यस देशमा पुरुषले कमाएको एकडलर मध्ये महिलाले ७० पैसा मात्र कमाएको हुन्छ। यहा पनि महिलाको बिरुद्द हत्या र हिंसा त्यतिकै हुन्छन् समाजको सवै तहमा। आफन्तैबाट बलात्कार, बिहेगरेका लोग्ने र ब्वाइफ्रेण्डवाट शारिरीक र मानसिक ताडना कतिपय घटनामा त हत्या समेत, जवान केटाले जवान केटिसंग "डेट" गर्दा गरिने "डेट रेप" आदी यहा पनि नौला घटना हैनन्


“महिलाको नाताले मेरो कुनै मुलुक छैन,महिलाको नाताले मलाई कुनै मुलुक चाहिदैन, विश्वनै मेरो मुलुक हो”

साहित्यकार भर्जीनीया उल्फ।
 

साच्चै नै विबिधताको फूलबारी रहेको विश्वका बादहरु, धर्महरु, बिबादहरु, संघर्षहरु र संग्रामहरु का सिमाना होलान, मुलुक होलान, सिध्दान्त्तहरु र बेदान्तहरु पनि होलान् ती मुलुकहरुमा बिजय र पराजय दुवै होला  तर ती सवै मुलुकमा हुने महिलाहरुको आवाज एउटै छ, संग्राम उस्तै छ, लक्ष उहि छ, त्यो हो जननेन्द्रिय को फरकले उनीहरुलाई मानव परिभाषा भन्दा बाहिर र तल नराखोस भन्ने नै रहेको छ।

हाम्रो मुलुकको परिप्रेक्षमा हेर्दा जव सम्म दाजु भाई स्कूलमा पढ्न जादा सानु भाई हेर्नु परेर बिद्यालय जान नपाएकी रमा, आफ्नै काकाले जोगवनी घुमाउन लान्छु भनी सिमाना कटाएर कोठिमा बेचिन पुगेकी माया, सधै रक्सीले मातेर खलामा धान चुटेजस्तै चुटिने सुन्तली भाउजु, माईतबाट दाइजो कम ल्याएकोहुदा सासु र लोग्नेको भनाई खादा खादा आफ्नै जीवन संग अघाएकी कल्पना काकीहरुको मूक चित्कारलाई आवाज दिन सकिएन भने वर्षै पिच्छे जतिसुकै चर्को आवाजले "अन्तरराष्ट्रिय महिला दिवस "को जिन्दावाद चिच्याए पनि यसको केहि अर्थ लाग्न सक्तैन।
 

“कोही पनि महिलाको रुपमा जन्मिएको हुदैन, उनीहरुलाई महिला बनाईएको हुन्छ”

एकजना फ्रान्सेली लेखिका।
 

यसपालीको अन्तरराष्ट्रिय नारी दिवसले विश्वको  कुना कुनामा जन्मिएका तर त्यहाको मानसिक , शारिरिक नैतिक र सांस्कारिक रुपले बलत्कृत सवै दिदि बहिनीको पीडाको चर्को आवाज बन्न सकोस र यस्तो आवाज फेरि कहिल्यै कतै पनि नसुनियोस।

 

“ह्याप्पी अन्तरराष्ट्रिय नारी दिवस”।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |