हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दसैं, ब्याँज र नरपिसाचहरु

हरिहर दाहाल, (क्यालिफोर्निया)

बालीनालीहरु थन्क्याउन थाले होलान गाउँघर तिर
मकैका थाङ्राहरुले बारीका पाटाहरु सजिएका हुनन्

सुने,
काकी बितेर जुठो परेछ ठुलाघरेहरुलाई,
मेरो समबेदना सुनाइदिनु |
कठै!कती रोए होलान् बिछोडमा आफन्तहरु!
दसैं तिहार सुन्ने भएछ यस पटक|

लिङ्गेपिंङ र रोटेपिंङ तयारी समिती बन्यो रे
रानीबनबाट दरिला खम्बाहरु ल्याउनु
भरपर्दा पिर्काहरु बनाउनु
भाँचिन सक्छन हुईकिदा|
डोरेपिंङका पोयाहरु कसेर बनाउनु
चुडिन सक्छन मच्चिदा|

थुप्रै साथीहरु फर्किदै छन गाँउघर तिर
धेरैले हबाइजहाजको टिकाट काटी सके|
हामि नभ्याउने र नसक्नेहरु
मनलाई गाँठो पारेर बसेका छौं|
दिउसै अँध्यारो भएको छ हाम्रा मनहरुमा!

अहँ बिदा दिएन बैरिले,
पुरातन संस्कार नबुझ्नेहरुको भिडमा
जन्जिरमा बाँधिएको छ खुशी
गोरु झै जोत्छन रात दिन|
बिछोडको पिडाँले -भत्भती पोल्छ मुटु !

यस पटकको चाडमा,
सपनाका ब्यापारिहरु
राजधानिबाट सजिलै गाउँघर तिर झर्न सक्छन
खबरदार!
हरेक गौंडामा रोकिनु पर्छ ती नरपिसाचहरु!

हल्ला छ यता,
चाडको मौका पारेर
तस्कारहरु गोरखपुर हुँदै गाउँ छिर्दै छन
होसियार! माटो टेक्लान ति भस्मासुरहरुले!
सतर्क रहुन चेलीहरु|

तथाकथित परिबर्तनका संबाहकहरु
आधुनिकताका नाममा,
बिक्रितीको खेती गर्दै,
नाङ्गै बस्ती छिर्न सक्छन
सँस्कार सिकाई दिनु लबस्तराहरुलाई|

अरु खै के लेखौ र !
हजुरवा र हजुरआमा सँग बिन्ती छ,
अर्को साल जागिर छोडेरै भएपनी आउछु बरु
मलाई "पराधिन जिबनबाट मुक्त" हुने आशिर्बाद दिनुहोस्
मेरा नाममा जमरा र टिका सेलाई दिनु|

ठुल्दिदी र बैनीबाट माफि होस्,
मेरो नामको सयपत्रीको माला
हिफाजत गरेर राखिदिनु|
निधारमा आँशु दल्छु यो साल
अर्को पटक सप्तरङ्गी टिका लाउनु पर्छ।
परदेशी भाईलाई
"दासत्वबाट मुक्ती मिलोस्" को कामना गरिदिनु!
गुन्यिउ चोली किनी लाउनु
भाग पठाइ दिएको छु,साथीको हात|

आमा,
सधैं भाग्यले ठगिएकी तिमी
बुड्यौली अनुहारमा कहिल्यै हाँसो नआउने भो!
कती जोतिन्छौ सातुचामलका लागि|
जीबन भरी गरीबी र अभाबमा बाँचेर,
दसैं तिहार आउनु र जानुले
के फरक पार्छ र तिमीलाई हगी?

ए साँच्ची,
साहुको ब्याज पठाएको छु
बिन्ती छ,
बाँकी साँवामा चक्रबर्ती ब्याज नलगाएस्
ब्याँज तिरेर बित्ने भो जीबन|
चुस्नेहरु कती निर्लज्ज पिउँछन रगत पनि!

हाम्रो शुभेक्षा छ,
दसैं-तिहार धुमधामले मनाउनु|
गाँउलेहरु सबैलाई,
परदेशीको सँझना छ भनी दिनु!
हामा नाममा,
टीका र जमराले निधार ढाकेर
लिङ्गेपिंङ र रोटेपिंङमा मच्चिनु|
दही, चिउरा,केरा र सेल रोटी खाँदै,
मखमली र सयपत्रीका मालाले
सर्बत्र गलाहरु भरिदिनु|

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |