हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

अनुभुतिको एउटा क्षण

हरिहर दाहाल, (क्यालिफोर्निया)

 

 "जतिसुकै कुरुप भए पनि आखिर आफ्नै आमा हुन"
 
 
अमेरिका उत्रना साथ साथीले नेपालको हाल खबर सोध्यो,
मैले सगौरब यसरी बताएँ-
 
पाँच बर्ष पछिको मेरो नेपाल यात्रा अत्यन्तै सुखद् रह्यो।किनभने मेरो आफ्नो पन अद्याबधि जीबित रहेछ ।त्यही जीर्ण नेपाल जसको म सधै चिन्ता गर्थे,फिक्री गर्थे- मैले जस्तो छोडेको त्यस्तै रहेछ।
त्यही धुलो-मैलो,त्यही फोहोर,त्यही प्रदूषण,क्षत-बिक्षत फाटेका सडक अनि दुङ्दुङ्ती गन्हाउने चोक,गल्ली र शहरहरु|भोक,गरीबी,शोषण र अन्यायले  थकित तिनै निन्याउरा अनुहारहरु|बन्द,हड्ताल,अपहरण,कस्ट, पीडा र असामयिक अकाल मृत्‍यु।जस्ताको तस्तै रहेछ मेरो मातृभूमि!
 
धुलो, मैलो र बिषादि मिसिएको चट्पटे| सडक पेटिमा निर्बाध बेचिएका  जेरी,पुरी,समोसा,सेकुवा,ससेज,चनामटर र चटामरि|आलु,पुरि र पानिपुरि धितमरुन्जेल खाइयो।दैनिक पाँच सात पटक बाथरुम जानु पर्‍यो। पेटका यन्त्रहरु कमसल भएछन।पाचनशक्ती कमाजोर भएछ।यताका बिकासे खानाले शरीरलाई गलाएछ,इन्जिनलाई सडाँएछ।
पहिले ढुङ्गा माटो पनि पचाउन सक्ने त्यो बहादुर शरीर अहिले फिँज भन्दा कमसल भएछ ।तर पनि  केही कुरा बारिएन|खान्न भनेर पर सारिएन।
 
नेपाल बस्ने समय थोरै थियो|सके ,मिले र भ्याए जती सबैलाई भेटियो।देसको माटो छुने रहर थियो-छोईयो,छुने तिर्सना मेटियो। बुवा, आमा र मान्यजनहरुका चर्चरी चिरिएका पैतालाहरुलाई सुम्सुम्याउदै षाष्टाङ्ग दण्डवत गरियो।स्रद्धा,संमान र भक्ती  सहित पुनर्मिलनका अबसरमा खुशीका आँशु झारियो। आफन्त र परिवारका सद्स्यहरुसँग धितमरुन्जेल आत्मिय अंगालो मारियो।
 
थुप्रै आफन्तहरु गुमाउनु पर्‍यो पाँच बर्षको बिदेश बसाईमा।
अभर परेको बेला वँहाहरुका दु:ख र पीडामा साथ दिन सकिएन|सुख र संपतिको मातले उन्मत्त भएको म बबुरो "सात समुद्र टाडा छु,चाँहेर पनि आउन सक्दिन" भन्ने  बाहाना बनाएर पाँच बर्ष सम्म नेपाल गएको थिइन।यस पटकको भेटमा दिबंगत आफन्तहरुको  सम्झनामा आँशुका बलिन्द्र धाराहरु झारियो।तिनै आँसुका धाराहरु वँहाहरुको संझनामा श्रद्धान्जलि स्वरुप चढाईयो|
 
केही राम्रा खबरहरु सुनियो,केही खबरहरुले बिरक्त लाग्यो।
केही आफन्त र साथीभाईहरुले दुईचार हज्जारको ऋण तिर्न नसकी आत्माहत्या गरेछन।कोही भने सरकारी जागिरे भएछन।कोही म जस्तै गरी बिदेसिएछन।समकालिन साथीहरुले उनिहरुका छोरा छोरीको पढाईमा सहयोग गरिदिन आग्रह पस्कदै गर्दा मेरो मन कुँडियो।कोही थेगी नसक्नुको गरीबिमा छ्ट्पटाउँदै थिए|कोही संपन्नताको उत्सब मनाउदै थिए।धनि र गरीबका बिचको दुरि यति बिघ्न बढेछ कि धनिहरु सगरमाथाको
 चुचुरोमा पुगेछन र गरिबहरु धर्ति मुनि भासिएछन।असफल राज्यसत्ताको प्रमाण  हुनु पर्छ यो खाडल!
 
केही दु:खद घटना वा  नबिर्सिने क्षण?
 
साथिहरु संग घुमियो,डुलियो,खाईयो,पीइयो र रमाईयो।गफगाफको क्रममा उठेको एउटा  बिध्वंशकारि तथाकथित पत्रकारको चरम अपराधको कर्तुत सुनेर धुरुधुरु रोएँ। कुरो के रहेछ भने उसले एउटा क्लब संचालन गरेको रहेछ।त्यस क्लबमा रास्ट्रिय स्तरका ब्यक्तित्वहरुलाई बोलाएर अन्तर्क्रिया गराउँदो रहेछ|त्यहि क्लबमा बनेको संपर्क र चिनजानका आधरमा तिनिहरुको शक्तीको आड लिएर अभाबमा बाँचेका
 गरिब निमुखाहरुलाई सरुवा ,बढुवा,नियुक्ति,थुनछेक र बिदेश पठाउने जस्ता प्रलोभन देखाउदै पैसा असुल्दो रहेछ| सपना बेच्दो रहेछ|गरिबहरुलाइ ठग्ने मात्र नभै अन्तरास्ट्रिय स्तरको  आतंकवादी संगठनमा संलग्न रहेर बम विस्फोट, हतियारको कारोबार र फिरौती संकलन जस्ता जघन्य अपराधको धन्दा पनि चलाउदो रहेछ । पाप धुरिबाट कराउछ भने झै एक दिन उ पुलिसको फन्दामा परेछ। अपराधको संजाल बुन्दै
 गर्दा रंगेहात गिरफ्तारमा परेको त्यो तथाकथित पत्रकार  जेल चलान भएछ। देखाउँने र लुकाउँने दुइथरीको  व्यबहार र चरित्र भएको पत्रकार नामको कंलक त्यो  नरपिसाच  जेल चलान भएको खुसियालिमा राष्ट्रभक्तहरुले उत्सब मनाएछन|
 
तर दुर्भाग्य के भएछ भने त्यस अपराधीद्वारा नियोजित बम  बिस्फोटनमा परि क्षतबिक्षत स्कुले बालिकाको रगत सुक्न नपाउँदै उसको समर्थनमा प्राय सबै रास्ट्रियस्तरका ब्यक्तित्वहरु(जो उसले संचालन गरेको क्लबमा आएर संचारका साधन मार्फत आफ्नो कुरुप अनुहार देखाउथे र  जनतालाई अर्थहिन बकबासहरु थोपर्न पाउथे सो मंच उपलब्ध गराएको गुण फर्काउन)  र उसले संचालन गरेको अनैतीक कारोबारका
 पर्दा पछाडिका साझेदारहरुले न्यापालिका माथि  ठाठो हस्तक्षेप गरेछन।
अपराधिलाई छुटाउन शक्ति र सत्ताको अपचलन गर्दै सहयोग गरेछन र त्यो बिखण्डनकारिलाई जेल मुक्त गराएछन।
अत्याचार,अपमान र निर्लज्जताको पराकास्ट,नागरिक निष्ठामाथि नांगो अतिक्रमण, गणतन्त्रको गरिमा प्रतिको उग्र उपहास गरिएको त्यो कालो दिनमा म नेपाल पुगेछु।

नागरिकहरु पुर्ण आत्माबिस्वासका साथ अर्को अनुमान लगाउदै थिए -"चाडै नै राष्ट्र द्वारा त्यो अपराधिको मुद्धा फिर्ता गरिने छ र उ राष्ट्रम्रमुखको टोलिमा बरिस्ट पत्रकारको रुपमा कुटनैतिक राहदानि बोकेर अन्तरस्ट्रिय स्तरका सभा सम्मेलनहरुमा सहभागिता जनाउने छ|त्यस बेला सरम र लाजले स्वाभिमानि पत्रकार र नेपालिहरुको शिर पु:न झुक्ने छ।"
इमान्दार ,बफादार, राष्ट्रबादी र न्यायका पक्षमा बोलिरहेने राजनीतिक पार्टिका नेताहरु,प्रसाशाकहरु,न्यायमुर्तिहरु,नागरिक समाजका अगुवाहरु,राजनैतीक कार्यकर्ता र जनताहरुले अपराधीका बिरुद्धमा एक शब्द  पनि नबोली मौन समर्थन गरेको त्यो कालो क्षण,म जीबन भरी नै भुल्दिन।यही हो मेरो अर्को दु:खद क्षण नेपालमा रहँदाको!

तिमीले केही बोलेनौं?
 
जनतालाई लाचार र भिखारी बनाएर सत्तामा टिकी रहन बानी परेकाहरुलाई धारे हात लगाएर सराप्न मात्र के थालेको थिएँ-साथिहरुले रोके मलाई| होशियार रहन र मुख समालेर बोल्न निर्देशन भए पछि नम्र भएर प्रस्तुत हुनु पर्‍यो।
अन्याय र अपराधहरु सहन र भोग्न बानि परेका साथिहरुले मलाई केहि गुरुबिद्या सिकाए- छक्याउने,झुक्याउने,नमिठो बोल्ने,ठग्ने,हेप्ने,कुट्ने,पिट्ने, मार्ने सबै सज्जनहरुलाई ज्यू हजुर भनेन भने ज्यान जाने खतरा हुने हुँदा अब उप्रान्त मुखमा ठेडि हालेस्,आँखाम पट्टि बाँधेस,अन्यायलाई  चुपचाप सहेस्,|सके सहेर देश मै बसेस्,नसके बिदेश गएस्।मैले त्यसै गरें।किनकी म नेपाल मर्नका लागि
 भनेर गएको थीइन।
 
अरु कुनै भाबनात्मक परिवर्तन वा भोगाई?
 
२-४ बर्ष बिदेशतिर बसेर नेपाल फर्किदा मनसिकता यती कमजोर बन्दो रहेछ कि सपनीमा झ्यालका जालिहरुबाट चोरले हात छिराउदै गरेको ,आफू अपरहरणमा परेर पैसा तिर्न नसकी घरबारि बेच्न तयार हुनु परेको सपना देख्न थालियो।|रातको दुई बजे नै निद्राले छोड्न थाल्यो,छटपटी हुन थाल्यो,मनभरी कुराहरु खेल्न थाले|आफूले आँफैलाई बिरानो पाएँ। बेखबर निस्फिक्री को निद्रा आउने आफ्नै ओछ्यान अहिले
 बिरानो भएछ।आफ्नै साथीहरु माथि शंका गर्नु पर्ने परिस्थीती संझदा मन भयातुर भएर आयो।को आफ्नो को बिरानो छुट्याउनै मुस्किल भएछ।
 
यस्तो लाग्यो-जिन्दगी केबल भोगाई मात्र रहेछ,जसरी भोग्दा पनि हुँदो रहेछ। म ,मलाई र मेरो भन्दा प्यारो अरु कुनै चीज रहेनछ।महत्वाकाँक्षा र सपनाको सिमा नहुदो  रहेछ।त्यही स्वार्थले परिवार,आफन्त र मित्रहरुबाट टाढा गरायो।
नजानिदो पाराले उताको भन्दा यताको बढी फिक्री हुन थालेछ ।
उताको भन्दा यताका  साथीभाईको याद बाक्लो हुन थालेछ |
सधैं "टाँढा हुने आफन्त" भन्दा "सधैं साथ रहने पराईहरु" नजिकका लाग्दा रहेछन।
मायाँ सर्ने चीज रहेछ। मायाँ सल्किने चीज रहेछ।
मायाँ नजानिदो पाराले बिदेश तिर सल्किन थालेछ आजकाल।
 
सान्फ्रन्सिस्को बिमानास्थलमा उत्रदा आफ्नै घर फर्किए जस्तो लाग्यो।आफुले आफैलाई चिमोटेँ र हकाँरे- "हरि, तँ चक्लेटमा बिक्ने बच्चा वा ब्यक्तिगत स्वार्थमा बिक्ने नेताहरु जस्तो हुनु हुँदैन| तैले दुइदिने क्रित्रिम सुख, सुबिधा र संपन्नता सँग आफ्नो देश प्रतिको जिम्मेबारीलाई साट्नु हुँदैन।"
 
लाटाले पापा हेरेझैँ पक्क परेर सुनिरहेको साथीले अर्को प्रश्न तेर्स्यायो-

अनी महँगी र परिबर्तन कस्तो भएछ?
 
सामान किनमेल गर्न जाँदा चिट चिट्  पसिना आयो। ।साथिभाइ सँग जमघट भएर बिल तिर्ने बेलामा बाथरुमतिर छिरियो।केही साथीभाईहरुले मनग्गे पैसा कमाएछन।पाँच बर्षको अन्तरालमा  कमाउनु कमाएछन ।करोड भन्दा तलका कुरै हुन छोडेछन।उनिहरुले ठुला ठुला ब्यापारिक योजनाहरुका बारेमा छलफल गरे।यदी म नेपाल फर्किने हो  र ईच्छा भएमा मलाई पनि सहभागी गराउने संभाबना बताए।आफुले आफुलाई बिचरो
 महसुस गरें,भित्रभित्रै लाज र सरमले पानी पानी भएँ र सासलाई दबाएर बसें।यदी मैले मेरो सत्य तथ्य ओकलेको भए शायद साथीहरुले यसो भन्थे होलान-
"हरी तँ  अमेरिका गएर गल्ती गरिस।सार्‍है दु:ख पाईछस| तुरुन्त फर्की ,हामी सबै मिलेर सक्दो भरथेग र आबस्यक लगानी गरिदिएर तेरो पुनर्बास गराईदिन्छौं|"

मैले ठुलो सपना देखेको थिएँ,सोच्थेँ-बिदेशमा कमाएको पैसा लगानी गरेर एउटा राम्रो ब्यापार सुरु गर्नु पर्ला र देश फर्किनु पर्ला, मेरो सपना तुहियो।मेरो कमाईले त एउटा सामान्य चिया पसल खोल्न पनि नपुग्ने भएछ।
म नि:शब्द थिएँ,मेरो निन्याउरो अनुहारमा हेर्दै साथीहरुले प्रश्न तेर्स्याए-

तेरो हाल खबर के छ नि?अमेरिकाको खबर बताउदैनस?
 
सानो हुन मन लागेन।मसिनो स्वरमा अहंकार ओकल्दै  भनिदिए-

मिलिएन डलरको घर किनेको छु।पजेरो चढ्छु।एउटा अमेरिकन कंपनीमा काम गर्छु।
 उनिहरुले अमेरिकी बिदेशनीतीका बारेमा नकारात्मक  प्रसँग निकाले। ईराक,अफ्गानिस्तान,कोरिया  र इजरायलमा अमेरिकि संलग्नताको बिषयमा बहस गरे।मैले हो मा हो  मिलाएँ।गफगाफको क्रम चलिरहदा अमेरिकाको तथानाम खेदो गर्ने साथीहरुले अमेरिका जानका लागि चाँहिने दुई चार वटा भीसा चाँही जसरी भएपनी पठाई दिन आग्रह गरे। मैले भिसा पाउन गरिनु पर्ने प्रकृयाका बारेमा बताएँ।उनिहरुले
 मेरो  अमेरिका बसाइ र संपन्न जीबनको प्रसंशा गरे|

साथीहरुले अर्को गम्भीर बिषयमा पनि एकछिन समय खर्चिदै  भने-

"जसले जती बिरोध गरे पनि त्यँहा त्यस्तो के चुम्मक छ जस्ले सबैलाई तान्छ?
बिरोध गर्नेहरु पनि त्यँहा पुगेपछि प्रशंसक बनेर निस्कन्छन र  नेपाल फर्किदैनन|
अमेरिकालाई तथानाम गाली गर्नेहरुका छोरा छोरीहरु उतै छन्|सभासद,मन्त्री,उच्चओहदाका सरकारी कर्मचारीहरु अमेरिकाको बसाइलाई नै रोज्दछन।"
 
आफु सानो मान्छे भएकोले यस्ता ठूला कुरा नबुझ्ने बताएँ मैले|त्यसको लगत्तै बाँचिरहे अर्को साल पु:न भेट्ने बाचागर्दै भेटघाटलाई बिदाबारीमा बदल्यौं।
 
अमेरिका फर्किएर रेस्टुरेन्टमा जुठा भाडा उठाउनु पर्ने जागिर,क्रेडिट कार्डको बक्यौता,औषधी उपचार र सबारी साधनको बिमा शुल्क,गाडीको किस्ता,बाल्बच्चाको शिक्षा,ईन्धन,घरभाडा,खाना खर्च,हिडडुल,मनोरन्जन,इस्टमित्र,सामाजिक भेटघाट र भईपरी आउने खर्चको हिसाब गर्दा सधैं हातमा लागे सुन्ना|
हात खुट्टा नलाग्ने भएको भोलिपल्ट"ज्यान बचाइदेउ भन्ने सीर्शकमा"समाचार छाप्दै दयाको भिख माग्नु पर्ने  बिबशतालाई मन भित्रै दबाएर पु:न अमेरिका फर्कदै छु भन्ने ब्यथा कसैलाई पनि भनिन।
यसरी मैले नेपाल यात्राको बिबरण,साथीभाईहरु सँगको भलाकुसारी,परिवर्तन र भोगाइ साथीलाई सबिस्तार राखें|

त्यस पछी मेरो साथीले अर्को प्रश्न गर्ने साहस गरेन।उ एकोहोरो भयो,टोलायो मात्र|

हामीले एक अर्काको मनलाई पढ्यौ,हामी दुबैको ठम्म्याई एउटै थियो-
 "जतिसुकै कुरुप भए पनि आखिर आफ्नै आमा हुन"

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |