हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

देवकोटा पागल कसरी भए ?

हरि घिमिरे, (भर्जिनिया)



लगभग नौ महिनाको नेपाल बसाइ पछि अमेरिका आउँने बित्तिकै एउटा पवित्र  कार्यक्रममा भाग लिने सौभाग्य पाइयो। भर्जिनियाको आर्लिङ्टन पुस्तकालयमा देवकोटाको शतवार्षिकी समारोहको साप्ताहिक कार्यक्रम अन्तर्गत कविता वाचन थियो।  
                         
क्वालिटी" दर्शक-स्रोता भएको यसमा सुन्दर कविता वाचन भए।कसैले देवकोटा सम्झिए कसैले माटो सम्झिए कसैले सँस्कृति सम्झिए अनि कसैले विदेसमा बस्दाको पीडा र वेदनालाई पोखे।सुदिपभद्र खनालका छन्दोबद्ध कविताले र टिका पुन र वासु श्रेष्ठका ब्यङ्ग्य-विनोद कविताले दर्शक-स्रोतालाई तताउँने काम मात्र गरेनन् कविताको मर्मबोधमा ताली पनि पाए।सुदिपभद्रको कवितात्मक कला र त्यसलाई पस्तुत गर्ने गला प्रशंसनीय छ।नेपालमा पनि विरलै पाइने यस्ता प्रतिभा अमेरिकामा पाइनु नेपाली समाजका लागि गर्वको कुरा हो। वासु श्रेष्ठ,टीका पुन,लेखनाथ भण्डारी,गोविन्द गिरी,हेमन्त श्रेष्ठ,वसन्त श्रेष्ठ आदि होनहार युवाहरु हुन्।कुनै पनि कार्यक्रम कुशलतापूर्वक सञ्चालन गर्नु,,नेपाली समुदायका हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाउँनु यिनीहरुकोको विशेषता हो।सङ्कीर्ण विभेदताको दायराबाट माथि उठेर नेपाली"जाति"उत्थानमा लागेका यिनीहरुकोको जिम्मेदारी झन् बढ्दो छ।यिनीहरुको क्रियाकलापभित्र नेपाली भाषा र साहित्यको सुन्दर चित्र भविष्यको अमेरिकामा स्पस्टसँग देख्दैछु।अरु कवि-कवयित्रीहरुको योगदान पनि यस कार्यक्रममा महत्वपूर्ण रह्यो।विशेष गरेर न्यूयोर्कबाट आएका कवयित्रीद्वय-सीता खरेल र गीता खत्रीको सहभागिता र प्रतिभा प्रदर्शन अविष्मरणीय लाग्यो।साहित्यमा सशक्तरुपले लागेका होनाथ सुवेदीको सक्रिय सहभागिताले सभा सम्पन्न भएको थियो।यो भयो त्यसबेलाको सामान्य चित्र तर मैले चर्चा गर्न खोजेको मूल कुरा चाहि महाकवि देवकोटा नै हो।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी समारोह आज विश्वभरि मनाइदै छ।उनी जन्मेको सय वर्ष पुग्दै छ।१९६६ साल लक्ष्मीपूजाका दिन जन्मेर २०१६सालमा मृत्युलाई वरण गर्ने देवकोटा १० वर्षको उमेरदेखि कविता लेख्न थालेका हुन्।घनघोर दुःखसागर जान भाइ..बाट सुरु भएको उनको काब्ययात्रा म शून्यमा शून्यसरी बिलाएँमा गएर अन्त्य भएको हो।आफ्नो पचासवर्षे जीवनकालमा चालीस वर्ष त उनी कवितामै डुबिरहे।डोकाका डोका फुटकर कविता,दर्जनौं खण्डकाब्य,आठवटा महाकाब्य,दुइटा निबन्धसङ्ग्रह र एउटा उपन्यासका लेखक भने पनि देवकोटाका कृति कति थिए भन्ने अझै टुङ्गो लाग्न सकेको छैन।विराट प्रतिभा र असंख्य कल्पनाका धनी उनी छाँगा छङ्छङ्ग्याए झै,वर्षाको खहेर उर्ले झैं अनि विजुलीको करेण्ट दौडे झै कविता लेख्न सक्थे।त्यसको प्रमाण एक घण्टामा लेखिएको आँसु खण्डकाब्य,एकदिनमा लेखिएको कुञ्जिनी खण्डकाब्य,दस दिनमा लेखिएको सुलोचना महाकाब्य र तिन महिनामा लेखिएको शाकुन्तल महाकाब्यलाई लिन सकिन्छ।अझ एक दिनमै महाकाब्य लेख्ने चुनौति देवकोटाले दिएका थिए रे। एउटा उच्चस्तरीय महाकाब्य कविले जीवनभर लगाएर पनि लेख्न सक्तैन।रामायण र महाभारत जस्ता कृतिमा पुस्ता-पुस्ता सहभागी भएको समालोचकहरु स्वीकार्छन् भने देवकोटाले एक दिनमा महाकाव्य लेख्ने हाँक दिनु भनेको चानचुने प्रतिभाको परिचयको होइन।जीवनभर कवितालाई नचाए;कविता देवकोटाको पछि दौड्यो,अरु छन्द खोज्दै कविता लेख्छन्; छन्द देवकोटा खोज्दै दौड्थ्यो।कविताले छोए पछि देवकोटा घर-परिवार सबै बिर्सन्थे;आफूलाई पनि भुल्थे।यो असामान्य परिस्थितिलाई समाजले पागलको सङ्ज्ञा दियो।त्यसैले देवकोटाले पागलकविता लेखेका हुन्।यसको पनि एउटा चाख लाग्दो कथा छ-भारतका सुप्रसिद्ध विद्बान-लेखक राहुल साँस्कृत्यायनले देवकोटालाई भेटेर उठ-बस गरिसके पछि भारतमा गएर आजकल भन्ने पत्रिकामा देवकोटाका बारेमा एउटा लामो लेख लेखेका थिए।त्यहाँ उनले देवकोटालाई एकातिर र अर्कातिर अङ्ग्रेजी कवि किट्स,वाइरन,शेली,वर्डस्वर्थ अनि भारतका कवि पन्त-प्रसाद-निरालालाई राखेर जोख्ता पनि देवकोटा नै ओजनदार हुने उल्लेख गर्दै 'यस्ता ब्यक्ति हत्तपत्त एउटा युगमा जन्मिदैनन्'भनेर प्रशंसा गरेका थिए।राहुलले यसरी प्रशंसा गर्दै गएर अन्त्यमा चाहि "बिचरा! यस्ता कवि पागल भएछन्"लेखेछन्।त्यस्तो लेख  प्रकाशित भएको पत्रिका ल्याएर जनकलाल शर्माले देवकोटालाई दिएछन्।देवकोटाले उक्त लेख मुस्कुराउदै पढ्दै गए रे;अन्त्यमा ..बिचरा! कवि पागल भएछन्..लाइन पढे पछि रिसले पत्रिका फालिदिए रे।त्यही झोकमा जन्मिएको कविता हो-"जरुर साथी म पागल;यस्तै छ मेरो हाल!!।"

 रोमाण्टिक कविहरु प्रकृतिलाई ज्ञानको भण्डार ठान्दै -"प्रकृति नै पुस्तक हो" भन्छन्।देवकोटा पनि रोमाण्टिक कवि भएकाले प्रकृतिलाई अगाध माया गर्थे।फूलका पत्रलाई वेदका पाना जस्तै देख्ने उनी प्रकृति भने पछि हुरुक्कै हुन्थे।एकपल्ट त्रि-चन्द्र कलेजको छतबाट गणेश हिमाल टल्केको देखे पछि "म त हिमाल छुन जान्छु" भनेर हिडेका कविलाई आफन्तले सुन्दरीजलबाट पक्रेर ठिङ्गुरा ठोकेर राख्तै भनेछन्-"पागल"! स्मरणीय छ-चीनका महाकवि ली पो प्रकृतिका ठूला पूजारी थिए।उनी पूर्णिमाका चन्द्रमा भनेपछि हुरुक्कै हुन्थे।एकपल्ट समुन्द्रमा पूर्णिमाका दिन वोट चलाएर सयर गर्दै थिए; अचानक नीलो पानीमा चन्द्रमाको पूर्ण प्रतिबिम्ब आफ्नै अगाडि देखियो।"मेरो प्यारो चन्द्रमा यही पो आएछ" भन्दै वोट छोडेर अङ्गालो  हाल्न खोज्दा त्यही डुबेर मरे।एउटा महाकविको अन्त्य भयो तर उनलाई कसैले पागल भनेनन्;  हिमाल छुन हिडेका हाम्रा देवकोटालाई भने पागल भनेर खुट्टा बाँधियो।कविको धन भनेको 'कल्पना' हो।कल्पनाले नै कवित्वको मूल फुटाउँछ।देवकोटा असङ्ख्य कल्पनाका धनी थिए।छोरो  बिरामी भएर डाक्टर लिन हिडेका देवकोटालाई कल्पनाले उडायो-कविता लेख्न बसे।ब्यबहारिक कुरा सबै बिर्से।भोलिपल्ट परिवारले खोजेर लगे। श्रीमतीले कपि-कलम खोसेर "कति लेख्नुहुन्छ;बिरामी परिसक्नुभो,आराम गर्नुस्"भन्दै कोठामा थुनिन्। रातभरि सिसाकलमले कोठाको भित्ताभरि कविता लेख्ता पागल भनेर हात बाँधियो।मानवताका पक्षपाति देवकोटा मानव जातिलाई मुटु खन्याएर माया गर्थे।मानिस ठूलो दिलले हुन्छ जातले हुँदैनभन्ने मूल मन्त्र बोकेका उनी जोसुकैको दुःखमा सहभागी हुन्थे।कोट लगाएर पुतलीसडकतिर घुम्न गएका देवकोटाले जाडाले थर्थर् काँपेका गरीवलाई कोट दिएर  घर आउँदा पागल भनेर हल्ला पिटियो।

यसरी घर-परिवार-समाजबाट पागल ठहर्याइएका देवकोटा आफू पागल भएको स्वीकार्दैनन् बरु उनीहरुनै पागल भएको बताउँछन्। देवकोटाका दृष्टिमा सत्य चार किसिमका छन्-ब्यबहारिक सत्य,दार्शनिक सत्य,गणितीय सत्य र काल्पनिक सत्य।ढुङ्गा छाम्दा सारो हुन्छ'फूल छुँदा नरम हुन्छ,मान्छे जन्मदा उत्सव गर्छन्,मर्दा रुन्छन्;यो ब्यबहारिक सत्य हो।तर्कका आधारमा वा दर्शनका आधारमा कुनैपनि वस्तुको पुस्टि गर्नु दार्शनिक सत्य हो।दुइमा दुइ जोड्दा चार हुन्छ भन्नु गणितीय सत्य हो।"आज मैले सरस्वतीसँग कुरा गरें " भन्नु काल्पनिक सत्य हो।देवकोटा सबैभन्दा ठूलो सत्य यही काल्पनिक सत्यलाई ठान्छन्।उनलाई मन पर्ने सत्य पनि यही हो।अनि यो बाटो हिड्दा उनलाई 'पागल' भनियो।त्यसैको विद्रोहको फलस्वरुप जन्मिएको कविता हो-पागल।

Comments

bikash bista

devkota ko barama khojpurna kura paskanu bhako ma dhannya bad

Kedar Shrestha'Gagan'

Truth Analysis.

कस्तूरी

ज्यादै राम्रो र स्तरीय विश्लेषण
                      कस्तूरी

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |