हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

एउटी राजदूत डा.कमला पनि वितिन्

नरेन्द्रराज प्रसाई, (काठमाण्डौं)

आजभन्दा ८० वर्ष पहिले भारतको दार्जिलिङस्थित कालेबुङमा एक जोर दलितका घरमा एउटी कमला जन्मेकी थिइन् । उनी यही कात्तिक ८ गते त्यहीँको सिलिगुडीमा स्वर्गीय भइन् । नेपाली भाषासाहित्यमा ६५ वर्ष अक्षर खेलाउने विश्वविख्यात स्रष्टाले देह त्याग गर्दा नेपालका कुनै नेपाली भाषाका पत्रिकाले एउटा अक्षर लेख्न सकेनन् ।
एउटी टाइपिष्टको कर्म र भाग्य जोडिएर अन्ततः कमला नेपाली भाषासाहित्यका क्षेत्रमा सुप्रसिद्धिको शिखरमा उभिन पुगिन् । तत्कालीन सामाजिक परिवेशमा जातजातिका कारणबाट अछूत ठानिएको दर्जीकी छोरीले भारतका महापण्डितसँग वैवाहिक जीवन जोडेर आफूलाई पनि महापण्डितनी बनाइन् । अनि सामान्य स्कुलबाट दस कक्षा पास गरेर टाइप हान्ने राम्रो जागिरको खोजीमा भौँतारिएकी एउटी किशोरीले पछि गएर पीएचडी. गरिन् । त्यसैले मान्छेले कर्म गरेपछि र त्यस कर्मलाई भाग्यले पनि साथ दियो भने कमला साङ्कृत्यायन पनि हुन सकिन्छ भन्ने प्रमाण बनेर कमला परियार जनसाक्षात् भइन् ।
चन्द्रमान परियार र चन्द्रमाया दर्जीकी छोरी कमलाले स्कुले शिक्षा सकेपछि मोनोटाइपको तालिम लिइन् र टाइप गर्न थालिन् । त्यसताका आफ्ना आमाबुबाका साथमा कमला पनि कालेबुङ बजारमा दुईवटा कोठा भाडामा लिएर गुजारा गरिरहेकी थिइन् । आमाबुबाको परम्परित जीविकाको साधन लुगा सिलाउनु थियो भने कमला त्यस परम्परालाई उछिनेर टाइपिस्टको कार्यमा लागेकी थिइन् । वास्तवमा त्यस बखत खास गरेर नेपाली मूलका दर्जी त्यहाँ पनि अछूतै मानिन्थे । त्यस्तो कठ्याङ्गि्रएको परिस्थितिसँग सामना गर्दै कमला दसौँ कक्षा उत्तीर्ण भएपछि आफ्नो खुट्टा आफै टेक्ने अभियानमा जुटेकी थिइन् ।
राहुल साङ्कृत्यायनको नाउँ त्यस बखत भारतको साहित्यिक सांस्कृतिक फाँटमा शिखरमा नै थियो । राहुल नेपाल र नेपाली भनेपछि पनि हुरुक्क हुने व्यक्तित्व थिए । राहुलका नेपाली मित्रहरूमा जनकलाल शर्मा पनि प्रीय थिए । तिनताका राहुल कालेबुङमा नै आई बसोबास गर्न लागेका थिए । यसै क्रममा उनले काठमाडौंका आफ्ना मित्र जनकलाल शर्मासँग आफूलाई एउटा टाइपिस्टको अत्यन्तै खाँचो भएकाले सम्भव भएमा खोजिदिने आग्रहका साथ पत्राचार गरेका थिए ।
आफ्ना आदरणीय मित्रको चिठी प्राप्त गरेपछि राहुलको आवश्यकता अनुरूपको टाइपिस्टको खोजी गरिदिने अनुरोध गरेर जनकलाल शर्माले पनि कालेबुङमा रहेका आफ्ना एक जना मित्रलाई चिठी लेखे । संयोगवश जनकलालका तिनै मित्रकी छोरीकी साथी कमला परियार नै टाइपिस्ट रहिछन् । आर्थिक कारणले त्यस बखत कमलाका लागि पनि तुरुन्तै पैसा आउने काम समाउनुपर्ने वाध्यता थियो । त्यसैले कमलाले आफू टाइपिस्टमा रही इमानदारीपूर्वक जागिर खाने वचन राहुललाई दिइन् । यसै वाचाबन्धनका साथ उनी राहुल साङ्कृत्यायनकी टाइपिस्टमा भर्ना भइन् ।
त्यस घडी राहुल साङ्कृत्यायन पनि एकल थिए । राहुलले आफ्ना बुबाआमाले उनी सानै हुँदा बिहे गरिदिएकी पत्नी पनि आफूभन्दा प्रौढ भएका कारण तिनलाई अँगाल्न सकेका थिएनन् । साथै रुसमा बसेका बेला राहुलले आफ्नी पूर्वछात्रा इलिनासँग प्रेम गरेका थिए । प्रेममा डुबेर नै उनले इलिना नौबर्तोब्नासँग विवाह पनि गरेका थिए । तर उनकी ती मायालु पत्नीलाई रसियाले भारत प्रवेश गर्न अनुमति दिएन । त्यसैले त्यसताका राहुल पनि पत्नीविहीन भएर कालेबुङमा भौंतारिरहेका थिए ।
कमला र राहुलका मनले एकअर्कामा माया, विश्वास र आडको थकाइ मार्ने रीत पनि जारी नै थियो । त्यस बेला एकातिर कमला परियार समर्पित भएर राहुलका सेवामा तनमन खन्याउँथिन् भने अर्कातिर राहुलले पनि कमलालाई आफ्नो बौद्धिकताको ऋणले थिचिसकेका थिए । त्यतिमात्र होइन कमलालाई राहुलको व्यक्तित्वले नतमस्तक बनाएको थियो भने अर्कातिर राहुलले कमलालाई निक्कै माया पनि गर्ने गर्थे । समयको दौडमा त्यस घडी दुवैले एकअर्काको आवश्यकताबोध गरिसकेका थिए । त्यही परिणतिमा नै उनीहरूका प्रेमले जरा गाड्ने क्रमलाई दु्रततर गतिमा अघि बढाएको थियो । त्यसैले बीस वर्षिय कमला परियारले अन्ठाउन्न वर्षिय राहुल साङ्कृत्यायनसँग वैवाहिक सम्बन्ध गाँसेकी थिइन् ।
कमला साङ्कृत्यायन राहुलकी अर्धाङ्गिनी भएपछि उनको जीवनस्तर उठेर एक्कासि धरहराको टुप्पामा पुगेको थियो । त्यसपछि उनले शैक्षिक योग्यता पनि बढाउन थालिन्, सामाजिक इज्जत पनि पाउन थालिन् र आफ्नो व्यक्तित्व क्रमशः झाङ्गिँदै गएको पनि अनुभव गर्न थालिन् । सङ्गतगुनाको फलका कारणले उनी शैक्षिक योग्यता हासिल गर्ने परिपाटीमा पनि कस्सिन थालिन् ।
कमलाले आफ्ना पति राहुलको बौद्धिक लिस्नो चढेर हिन्दी साहित्यमा एम.ए. गरिन् । अनि बिहे गरेको नौ वर्षभित्रै यिनले आगरा विश्वविद्यालयबाट विद्यावारिधि गरिन् । त्यसपछि उनी ”टा.कमला परियारबाट डा.कमला साङ्कृत्यायनमा अनुवाद भइन्” । जनकलाल शर्माका भाषामा भन्दा राहुलले कमलालाई विहे गरी माटोलाई सुनमा परिवर्तन गराइदिए । तर बूढो मान्छेसँग बिहे गरेका कारण उनी छिटै विधवा भइन् । वास्तवमा कमलाले राहुलको शेषपछि प्रायः दुक्खकै खेतीमा आफूलाई मिसाइन् । वैधव्यका कारण उनले जीवनयात्राका कैयन् सङ्घर्षमा पनि एक्लै जुधिरहनुपर्‍यो ।
कमलाले दार्जिलिङको लरेटो डिग्री कलेजमा पढाउन थालेकी थिइन् । साहित्य, संस्कृति र कलाको प्रेममा उनी जति डुबिन् समाजसेवामा पनि त्यत्तिकै समर्पित भएर लागिन् । उनलाई चाखै नभएको विषयचाहिँ राजनीति थियो ।
कमलाको शिक्षा, साहित्य र समाजसेवालाई कदर गरेर अनि उनको जातीयताको पृष्ठमूमिका कारण भारतमा उनी ‘राष्ट्रिय अल्पसङ्ख्यक आयोग’की सदस्यमा पनि मनोनीत भइन् । त्यस अवधिमा उनले आफ्नो व्यक्तित्वलाई झनै चम्काउन पाएकी थिइन् । त्यसपछि उनी आफ्नै घर अर्थात् दार्जिलिङस्थित राहुलनिवासमा लेख्नुपढ्नुका साथै गार्हस्थ्यमा नै आबद्ध भइन् । लेखनका क्रममा उनले निबन्ध, प्रबन्ध, समालोचना र जीवनी गरी चौधवटा पुस्तकहरू लेखिन् । किताब लेख्ने क्रममा उनले आफ्ना पतिको व्यक्तित्व र कृतित्वको स्तुति गाएर दुईवटा पुस्तक लेखिन् ‘महामानव महापण्डित’ र ‘महापण्डित राहुल साङ्कृत्यायन’ ।
कमलाले नेपाली साहित्यको इतिहास पनि लेखिन् । नेपाली मूलका भारतीय लेखिकाले हिन्दी भाषामा लेखेको यो कृति पहिलो पनि हो ।
कमलाले आफू वैवाहिक जीवनमा बाँधिएकै वर्ष आफ्नो साहित्यिक प्रकाशनको सुरुवात गरेकी थिइन् । यिनका विभिन्न पत्रपत्रिकामा चार सयजति निबन्ध, प्रबन्ध, कथा, लेख र समालोचना नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा प्रकाशित भएका छन् । आफ्नो विचार छिप्पिदै जाँदा यिनले जातीय र समाजसेवाका तात्पर्यमा पनि आफ्नो लेखनकार्य गरिरहिन् । जीवन र जगत्सँगको आत्मीयताले यिनका रचना राम्ररी  रङ्गिएका हुन्छन् ।
कमलाले आफूलाई साहित्यिक बनाएपछि चारैतिरबाट प्रोत्साहन पाइन् । उनले भारतको पश्चिम बङ्गाल सरकारबाट ‘भानु पुरस्कार’, कोलकाताबाट ‘रूपलेखा पुरस्कार’ र देहरादूनबाट ‘भानु पुरस्कार’ पाइन् । साथै उनी भारत सरकारबाट ‘राहुल साङ्कृत्यायन राष्ट्रिय पुरस्कार’बाट पनि सम्मानित भइन् । उनको योगदानको कदर गर्दै नेपालले उनलाई महाकवि देवकोटा शताब्दी सम्मान दियो ।
कमलाको जीवनको अर्को रुचि भ्रमण गर्नु पनि थियो । नेपालको भ्रमण गरेर उनले बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइराला, जनकलाल शर्मा र धर्मरत्न यमीसँगको थप सौहार्द सँगालेकी थिइन् । काठमाडौंमा उनी हिसिला यमीको घरमा बस्थिन् । किनभने हिसिलाका बुबा धर्मरत्न यमी राहुलका प्रीय मित्र थिए । अनि यमीले आफ्ना घरमा ‘राहुल साङ्कृत्यायन सङ्ग्रहालय’ नै बनाएका थिए । राहुलले पनि ‘धर्मरत्न यमी’ शिर्षक दिएर यमीविषयक हिन्दीभाषामा एउटा किताब लेखेका थिए ।
कमला साङ्कृत्यायन एकातिर नारीजागरणकी प्रेरणा थिइन् भने अर्कातिर उनको साहित्यिक योगदानले नेपाली वाङ्मयको श्रीवृद्धिमा उच्च भूमिका खेल्यो । उनी नेपाली भाषाकी प्रचारक थिइन्, राजदूत थिइन् र सेतु थिइन् । त्यसैले जनकलाल शर्माले सधैं उनलाई नेपाली भाषाकी नारी सांस्कृतिक सहचारी भनेका थिए ।

(लेखक प्रसाइंको स्विकृतीमा फ्री नेपाल डट कमबाट  साभार)

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |