अस्तित्वको लडाईमा
सुषमा मानन्धर, (ललितपुर)
त्यसो त
मानवता भन्ने पनि
केही कुरा हुँदो हो ।
मान्छेले मान्छे नचिन्ने
कलि लागेको समयमा
मैले त्यही हराएको
मानवता खोजी बस्नु
तिमी आफै मुख्र्याई भन्न सक्छौ ।
मलाई टेकेर अड्नु छ
अड्नु मात्र हैन बढ्नु पनि छ ।
त्यही धर्तीको टुक्रामा
तिमीले पनि टेकेका छौ ।
एउटै परिवेशभित्र हामी दुवैलाई
आ-आफ्नो संसार सानो लागेको छ ।
निस्सासिएको
या अरुको अस्तित्वमाथि छड्के नजर
बढ्न हामी दुवैलाई
एकअर्कामाथि नटेकी सुखै छैन ।
या तिमीले कुल्चाई सहनु पर्छ
या मैले सपनाहरुको तिलान्जली दिनुपर्यो ।
तिम्रो अस्तित्वमाथि टेक्दा
मलाई पनि दुख्छ
त्यो दुखाई सम्झेर
यदि मैले तिमीलाइ टेक्न छोडें भने पनि
तिमीले त्यो मानवता जिउँदो राख्छौ
कसले भन्न सकछ !
अगाडि बढ्ने होडमा जोगिँदै कुल्चिँदै
अस्तित्व र मानवता एकअर्कामाथि
धरापमा परिरहेछ ।
मान्यताकै नाममा म चुक्न सक्दिन
कायरले जस्तै झुक्न पनि सक्दिन ।
के लाग्छ र संसारको यही नियति
एउटाले बाँच्न अर्को मर्नुपर्छ ।
अस्तित्वको लडाईमाअस्तित्व जोगाउन नै
मैले तिम्रो अस्तित्व मेटिरहेछु ।
मानवता विरुध्द यो अपराध हो भने
मेरो कर्ममा मैले माफी पाउँछु हैन र !