हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

अमेरिकी समयको परिभाषा फेर्ने कि ?

बासु श्रेष्ठ, (भर्जिनिया)


नेपालमा समयको प्रसङ्ग चल्यो कि अमेरिकी समयको प्रसङ्ग आई हाल्थ्यो र बडो सम्मानका साथ यसको प्रसङ्ग चलाईन्थ्यो । अमेरिकामा त समयको असाध्य सदुपयोग र सम्मान गरिन्छ रॆ । तर पश्चिमाहरुको आँखा चिम्लेर नक्कल गर्ने प्रवृत्ति भएको हामीबाट यस कुराको नक्कल चाहि कहिल्यै गरिएन । शायद हामी नेपाली आफ्नो सँस्कार र सँस्कृतिको अगाध मायामोह  गर्छों भनेको यसैले होला । अरुको राम्रा कुराको बखान गरेर आफ्ना कमजोरी ढाक्ने तर सच्याउन अगाडि नबढ्ने हाम्रो प्रवृत्ति आफ्नो सँस्कारप्रतिको मायामोह नै भन्न हो सकिन्छ ।

नेपाली समय चाहि यसको ठिक विपरितको छ । जुन सम्मानले अमेरिकी समयको नाम लिईन्छ त्यसको ठिक विपरित नेपाली समय भनिँदा व्यङ्गयकासाथ लिईन्छ । तर यस व्यङ्ग्यप्रति हामी यति उदासिन छौँ कि हामी एक अर्कालाई गरेको घोचपेच सामान्य नै लाग्छ । मानौ …को पुच्छर या भैसीको अगाडि सङ्गीत भने झै ।

समयप्रतिको लापरवाही हामीले स्वदेश छँदा त गर्यौं गर्यौं तर विदेशमा त्यो पनि स्वदेशमा जुन देशको समयको महिमा गाईएको थियो त्यहि देशमा आएर पनि समयप्रतिको उदासिनता देखेर अचम्म लाग्छ । कामको मोह या कर बलले समयमा पुग्नुपर्ने बाहेक आफ्नो सामुदायिक कुनैपनि कार्यक्रम या जमघटमा नेपाली समयको उपयोग निर्धक्क गरिन्छ । चाहे कार्यक्रम आयोजक होस् चाहे पाहुना । दुबै ढुक्कसँग नेपाली समयको प्रयोग गरिरहेका हुन्छन् । तर कहिले कहिले आयोजकले चाहेर पनि कार्यक्रम शुरु गर्न असमर्थ हुन्छ किनभने प्रमुख अतिथि नेपाली समय भन्दापनि ढिलो उपस्थित भईदिनु हुन्छ । तर अक्सर चाहि आयोजकलाई दर्शकको मोहले अँगालेको हुनाले यथेष्ट मानिसहरुको भेला नभएसम्म कार्यक्रम शुरु हुन्न । उता 'आ… नेपाली कार्यक्रम त हो नि कहिले मात्र ठिक समयमा शुरु भएको छ र?' भन्दै ढल्कि ढल्कि आईपुग्छन् । तर यसबाट ठिक समयमा उपस्थित हुने सहभागी भने 'बसुँ न जाउँ' दोधारको मारमा पर्छन् । अनि अर्को पटक उ पनि नेपाली समयको प्रयोग गर्न थाल्छ ।

ढिलो भयो कि नेपाली समय भन्ने उपनाम आईहाल्दा मलाई चाहि कता कता मन अमिलो नै हुन्छ र ग्लानीपनि हुन्छ । सानैदेखि अमेरिकी सस्कारमा हुर्केकि एक नेपाली चेलीसँगको कुराकानीमा तिनले 'लौ, तपाईको डिनरको समय भयो होला मैले बाधा पुर्याएँ क्या रे' भन्दा मैले 'मेरो डिनर अहिले होईन दुईघण्टापछिमात्र अर्थात आठबजेतिर हुन्छ' भन्ने जवाफमात्र के दिएको थिएँ तिनले तुरुन्त 'ए नेपाली समय' भनिन् । मन त अमिलो भयो नै तर सानो स्वरमा 'अँ' भन्ने जवाफ फर्काएँ ।

समयप्रतिको उदासिनताको बारेमा केहि अघि मैले यस्तै लेख लेखेको थिएँ र अहिलेको प्रसङ्ग हो अमेरिकाकोलागी नेपाली राजदूतव्दारा आयोजित भेटघाटको ।

केहि सहभागी मित्रहरु ढिलो आईपुगेका भएर कार्यक्रम साचालनमा ढिलाई भएको कुरालाई निर्दिष्ट गर्दै राजदूतज्यूले अब अमेरिकी समयको परिभाषा फेर्नुपर्ने हो कि भन्ने विचारबाट कार्यक्रम शुरु गर्नुभयो । नेपालमा छँदा अमेरिकी समय भनेर खुब सुनिन्थ्यो तर यहाँ त अर्कै रहेछ भन्नुभयो । स्पष्टतः वहाँको ईशारा ढिलो गरि आईपुग्ने निम्तालुहरुप्रति इंगित  थियो र थियो त्यो एउटा ठुलो व्यङ्ग्य । तर कतिले त्यसलाई सहजताकासाथ लिएको पाएँ भने मलाई भने ठुलो गाली जस्तो लाग्यो । हुन त म पछि आउने अरुपनि थिए तर एक जना साथीलाई अन्तिम समयमा पिकअप गर्नुपर्ने भएकोले म पनि तोकिएको समयभन्दा पन्ध्र मिनेट ढिलो पुगेको थिएँ र मनमनै नमज्जा मानिरहेको नै थिएँ ।

राजदूतज्यूको भनाईमा जति व्यङ्ग्य छ त्यति नै सत्यता पनि छ । हामीले नेपालमा छँदा नेपाली समयको दुरुपयोग त गर्यौं गर्यौं  अमेरिका आएर अमेरिकी समयको समय समेत दुरुपयोग गरिरहेका छौ । तसर्थ अमेरिकी समयको किन परिभाषा नफेर्ने त?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |