हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

समानताको स्वर र असमानताको जीवनः नारायणगोपाल

प्रकाश सायमी, (सैंबु, ललितपुर)



यो वर्ष नेपाली आधुनिक संगीतले एकसय एक वर्षमा प्रवेश गरेको छ भने यही वर्षबाट नारायणगोपालले गाउन शुरु गरेको पनि एकाउन्न वर्ष पूरा भएको छ । नेपाली सुगम संगीतमा नारायणगोपालले गाउन प्रवेश गर्दा नेपालमा रेडियोको स्थापना भएको भर्खर दशवर्ष पुगेको थियो । दशवर्षे रेडियोमा आफ्ना साथी माणिकरत्न स्थापित र प्रेमध्वजको संगीतमा गीत गाएर स्वर परिक्षामा उत्रेका गायक नारायणगोपालले पाँचवर्षभित्र रेडियो नेपालका एक स्तम्भ बन्ने सौभाग्य हासिल गरे । उनी कम समयमा रेडियो नेपालका चर्चित गायक र संगीतकार नै भए । उनले आफ्नो संगीतमा गाएका गीतले नै उनलाई नाप्न नसकिने प्रसिद्धी दियो जसका हकदार उनी स्वयम् नै थिए तर उनको ख्यातिको पहिलो अंश उनका गीतकार रत्नशम्सेर थापा, उनका सहगायक र सहगायिका तारादेवी र दिलमायालाई पनि जान्छ ।

नारायणगोपाले शुरुमा गायक भएर त्यसपछि नायक भएर र पछिल्लो वा अन्तिम चरणमा सहायक भएर गाउन थालेको इतिहास इन्छ नारायणगोपालको शुरुवती गायन नारायणगोपालले पहिलो पटक त्रिचन्द्र कलेजको चालीसौँ वार्षिकोत्वसमा आफ्ना परमप्रिय मित्रहरुका आग्रहमा मञ्चमा उत्रिने आँट गरे । जसमा उनी पहिलो पटक तबलाबादक भएर प्रस्तुत भए । काठमाण्डू किलागलमा जन्मेका गायक नारायणगोपालको स्वरको पहिचान गर्ने उनकै मित्र माणिकरत्न स्थापित थिए , नजीकैको टोल प्युखामा बस्ने माणिकरत्न र भेंडासिंग बस्ने प्रेमध्वज प्रधानको स¨तमा धेरै हिन्दी गीतमा स्वराभ्यास गरे । तलत महमुद र के एल सहगललाई अति मनपराउने नारायणगोपाल अनि करण देवानलाई मनपराउने माणिकरत्न स्थापित र मन्ना डेको गीत गाएर स्वर परीक्षामा उत्रेको प्रेमध्वज वीच मोतालमेला संगीतकै कारण शुरु भयो र तीनैजना माणिकरत्नको घरमा आएर संगीताभ्यास गर्न थाले । माणिकरत्नको घर एक किसिमको संगीतशालाजस्तै थियो कारण उनका काका सिद्धिरत्न स्थापित स्वयम् पनि एक कुशल वाद्यवादक थिए । गायक नारायणगोपालको घरमा शास्त्रीय संगीत बाहेक आधुनिक संगीतमा रम्न उनका पिता आशागोपाल गुरुवाचार्यका कारण मनाही थियो । उस्ताद आशागोपाल गुरुवाचार्य आधुनिक संगीतलाई हलुका र रंगहीन मान्दथे ।

प्रेम–माणिकले आफ्नै संगीतमा गाउन शुरु गरिसकेका थिए , त्यसैले नारायणगोपाललाई एउटा नयाँ शैलीको संगीतको जरुरत थियो त्यसैले उनले आफ्नै संगीतमा छओटा गीत तयार भए , ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्सेर थापा थिए । उनले त्यस संकलनमा चारओटा एकल ( स्वर्गकी रानी, आँखाको भाखा आँखैले , भो भो मलाई नछेक, मधुमासमा यो दिल ) र दुइटा युगल –बिछोडको पिडा र ए कान्छा ठट्टैमा यो बैंश जान ) गाए । यस गीतका सम्पूर्ण रेकर्डि¨ भारतवर्षको कोलकतामा सम्पन्न भयो । त्यसपछि यी गीतले विस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो । उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे ।

राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिए । पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा ! तिमीलाई ज¨लभरिका औंलाहरुले चुम्न’ जस्ता गीत गाए । यी गीतले नारायणगोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासित परिचित गरायो । उनी युवा हृदयका प्रिय गायक नै मानिए । उनले त्यसपछि विस्तारै आङ्खनो गायनमा परिवर्तनको स्वर ल्याए , उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा अक्कासिँदै गयो । यससमय नेपाली संगीतमा
जम्जमाएर आइरहेका पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसित स्पर्श गर्दै
नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे । उनले शुरुवाती चरणमा गाएका गीतबाट बढी जसो स्रोता पछि विस्तारै कवि लेखक प्रभावित हुँदै गए । उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, आफ्ना प्रतिस्पर्धी र आफ्ना समकालीनसित विचारविमर्श गर्न थाले ।

यसै क्रममा उनको भारतको पश्चिम बँगालस्थित पहाडी राज्य दार्जीलिङको भ्रमाण भयो , बीसको दशकको शुरुवातमा भएको यो भ्रमणले उनले दार्जीलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमाललाई प्रेमीको रुपमा पाए भने त्यहीँ संघर्ष गरिरहेका एक होनहार स¨ीतकर्मी गोपाल योञ्जनलाई एक मीतका रूपमा पाए । गोपाल योञ्जनसितको मितेरी साइनोपछि उनको गायनमा स्वतः परिवर्तन आएको कुरा पछि उनका पत्नी पेमाला गुरुवाचार्यले स्वीकारेकाछन् । नारायण–गोपाललाई मीत लगाइदिने ईश्वरवल्लभको भाषामा नारायणगोपाल त्यसपछि नेपाली हृदयका गायक भए । उनले युवा हृदयलाई कोमल तवरले स्पर्श गर्दै प्रेमका, बियोगका र बिरहका गीत गाउन थाले । उनी यस समय साँच्चै नेपाली संगीतमा नायक भएर देखापरे ।

बीसको दशकमा उनको शालीनता नेपाली सुगम संगीत बीसको दशका स्वर्णिम युगमा प्रवेश गरिसकेको थियो । यो समय नेपाली गायक गायिकाले मौलिकताको खोजीमा आफ्नै भाव, शैली र जगतका गीत खोजेर रचेर गाउन थालिसकेको कालावधि थियो । यही समय पश्चिमी जगतबाट बब डायलन, बीटल्सका गीतका उधुम शुरु मात्र भएको थिएन त्यसको प्रभाव पनि आइसकेको थियो । यसलाई जित्न वा छोप्न नेपाली गीतिजगतमा नयाँ बोध र नयाँ परिधानको खाँचो थियो , यही क्रममा नारायणगोपालले गोपाल योञ्जनसित मिलेर
असाध्य लोकप्रिय शैलीमा आधुनिक गीतहरू गाए । बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रो धेरै पुरानो, तिम्रो जस्तो मुटु मेरो पनि, लौ सुन म भन्छु मेरो रामकहानीजस्ता गीतले गोपाल योञ्जनलाई नयाँ जीवन दियो भने नारायणगोपालले नेपाली सुगम संगीतमा एउटा बिशेष स्थान बनाए र उनी एकाएक नेपाली युवाका नायक बन्न पुगे । उनको गायनको स्तरलाई छुन सक्ने प्रतिस्पर्धी देखिएनन् र उनले मानक खडा गरे । यही समय उनी हरेक संगीतकार प्रिय गायक भए । त्यतिवेला उनले युग बनिसकेका संगीतकार नातिकाजी,
शिवशंकर, अम्बर गुरुङ, धर्मराज थापाजस्ता साधकका गीतलाई कण्ठबाटै गाए र उनी नेपाली सुगम संगीतका एक छवि बन्न पुगे । उनलाई चेतनाका गायक पनि भन्न थालियो ।

बीस दशकमै उनले आफ्ना प्रशंसिका पेमालासित विवाह गरेपछि उनको बसाइँ केही समय पोखरा, केही समय हेटौँडा भयो , यसै सन्दर्भमा उनको पोखरामा कवि भूपी शेरचनसित र हेटौँडामा गीतकार स¨ीतकार भीम विरागसित उठबस शुरु भयो यसको परिणमतः उनले ती स्रष्टाका गीतलाई पनि आफ्नै र उनकै संगीतमा गाएर कालजयी बनाए , भूपी शेरचनको सानै हुरीमा बैँसको सपना, अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा र भीम विरागको रचना र संगीतमा तिमीले पनि मजस्तै माया दिएर हेर गाए । प्रेम बिवाहपछि नारायणगोपालको गायनमा आएको परिवर्तनको आधा श्रेय उनकी पत्नी पेमालालाई र आधा श्रेय उनका मीतज्यू गोपाल योञ्जनलाई जान्छ । यी दुवैले उनलाई आआफ्नै तवरले सघाएका छन्, एकजनाले राम्रा गीत छान्न र अर्कोले राम्रो गीत गाउन । नारायणगोपाल परिवर्तनको संघारमा हेटौँडाको छोटो बसाइँपछि नारायणगोपाल काठमाण्डू आए र जागीरे भए नाचघरमा । आफ्ना मित्र माणिकरत्न र जनार्दन समको सहयोगले । नाचघर पस्दा उनी बाद्यवादकका रुपमा गएका थिए र उनी विस्तारै त्यहीँका हाकिमसम्म भए । उनले त्यहीँ रहँदा आफ्ना धेरै साथीहरु गुमाए वा उनले विस्तारै आफ्ना सहकर्मी, साथीहरुलाई छोड्दै गए । त्यसका धेरै कारणमध्ये उनको प्रसिद्धी, सफलता र उनीसित हुुर्कंदै आएको अहम् प्रमुख कारण बन्न पुग्यो ।

उनी चर्चित हुँदै गएपछि आफ्ना पुराना गीतकार साथी रत्नशमसेर थापाबाट टाढिँदै गए र उनका गीत गाउनै छोडिदिए । उनी हाकिम भए पछि आफ्ना दोस्रो गुरु माणिकरत्नसित बोलचाल बन्दको अवस्था बन्न पुग्यो । उनले मित्रता तोड्ने क्रममा आफ्ना बालसखा प्रेमध्वज प्रधानसित पनि दुरी बढाए । आफ्ना मितज्यू गोपाल योञ्जनको विवाह पछि उनको गोपालसितको सम्बन्धमा पनि चिसोपन
आयो । उनी एक्कासित परिवर्तनको नयाँ सँघारम पुगे जहाँ उनका सामू आफूपछिको नयाँ पुस्तासित भेट भयो । त्यसमध्ये दिव्य खालिङसित उनको जोडी जम्न पुग्यो र उनले खालिङका रचना र संगीतमा आफ्नो दोस्रो इनिङ शुरु गरे । त्यो दोस्रो इनिङमा उनले सँधै नै म हाँसे तिमीलाई रुवाई, मायाको आधारमा सम्झौता नै हुन्छ, बिपना नभइजस्ता गीतले उनलाई पुनस्र्थापित हुने मौका दियो । यसैसमय उनको गीतकार क्षेत्रप्रताप अधिकारी, कालिप्रसाद रिजाल, नोर्देन रुम्बा, दिनेश अधिकारी, विश्वम्भर प्याकु¥यालसित उठबस शुरु भएपछि पुराना साथीसँगाती छुट्दै गए । संगीतकारमा नयाँ पुस्तामा शम्भुजित बास्कोटा, भूपेन्द्र रायमाझी, शुभबहादुर आदि देखापरे । यस ख्यातिको समय नारायणगोपालको गायनको मूल्याँकन गर्दा उनी यतिबेला संगीतजगतमा स्थापित हुने चाहने नयाँ पुस्ताका सहायक मात्र बन्न पुगेको पनि देखिन्छ । उनले धेरै युवा पुस्तालाई जगदिन कमजोर गीत पनि गाए भन्न सकिन्छ । त्यसमध्ये रञ्जित मेरको बीरताको चिनो, पहाडको माथि–माथि जस्ता गीतबाट उनले आफ्नो लागि भन्दा अरुका लागि जग बनाइदिए । यो समय उनी सहायक भएर देखा परेको बुझिन्छ । अन्ततः नेपाली संगीतजगतका एक महान साधक र एक परिपूरक व्यक्तित्व नारायणगोपालले चलचित्रमा परिवर्तनमा भी बलसाराको संगीतमा गाउन शुरु गरेर अन्तिममा चोट चलचित्रमा भूपेन्द्र रायमाझीको संगीतमा बिरही माया अधूरो भयो सम्म गाएर आफ्नो सफल यात्रा तय गरे ।

कुल मिलाएर अठ्ठाईसवर्षको निरन्तर गायनमा नारायणगोपालले डेढ दर्जन चलचित्रमा गाए भने एकसय सन्तावन्न ओटा गीत गाए । उनले आफ्नो संगीतमा चारजना गायक र तीनजना गायिकाको गीत बनाए । एक सफल गायक मानिने नारायणगोपालको जीवनमा असफलता लश्कर पनि थिए । उनी पहिलो पटक स्वरपरीक्षमा अनुत्तीर्ण भए भने भारतको बरौडामा महाराज फिरदौस संगीत महाविद्यालयमा पढाइ अपूरो छोडेर फर्केर आए । चलचित्र माइतीघरमा पाश्र्वगायकको रुपमा गीत गाउन जाँदा उनी गाउन नसकेर अस्वीकृत भए । चलचित्र कासेलीमा एउटा गीत उनले स्वास्थ्यका कारण अपुरो अवस्थामा गायन छोडिदिए । उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा उनको कारवाहीका कारणले धेरै कलाकार दशैँको मुखमा बेरोजगार भए । यसको दाग उनलाई जीवनभर लागिरह्यो ।

चुनौति र परीक्षामै आफ्नो गायनलाई स्वीकार्ने गायक, संगीतकार नारायणगोपाल इतिहासका ज्ञाता थिए । फुटबल खेलका पारखी थिए । चेसका खेलाडी थिए । उनी भान्सामा कुशल भान्से थिए । र, शौखिन फोटोग्राफर थिए । उनले गायनबाहेक कार्यक्रम आयोजना गर्ने संयोजन गर्ने काममा पनि आफ्नो धेरै लगानी गरे । उनले आफ्नो एकल गायन स्वर्णिम सन्ध्या छोडेर भारतको दार्जीलिङ, डुवर्स,साम्ची बाहेक नेपालमा पोखरा, नारायणघाटमा कार्यक्रम आयोजना पूरा खटे । उनले आफ्ै सम्पादकत्वमा बागीनाको प्रकाशन समेत गरे ।
यी सबै इविबृत्त बाहेक नारायणगोपालको स्वरलाई हाम्रो जनसमाजले भुल्न नसक्ने एउटा पंक्ति छ, नारायणगोपालको , उनी भन्थे, म गाउँछु केवल जनताको लागि गाउँछु ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |