हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भाषा बिकृतिको बिकराल अवस्था र निराकरणका केही उपायहरु

रामकुमार श्रेष्ठ, (केण्ट, वेलायत)



बैज्ञानिक उपलब्धिका हरेक ठाउँमा देखिने सकारात्मक र नकारात्मक असरहरुबाट भाषाको क्षेत्र पनि अपवादको रुपमा पर्न नसक्ने देखिन्छ । यो क्षेत्र झन कतै सर्बाधिक असर पारिएको क्षेत्रभित्र नै त पर्ने होइन भनी प्रश्न गर्नु पर्ने अवस्था छ बिद्यमान बस्तुस्थितिको विश्लेषण गर्दा । हामी स्कूल पढने समयमा बिद्यार्थीहरुमा भाषिक बैशिष्ठ्यता बिकास गर्नको लागि पत्र पत्रिका बढी पढन सल्लाह दिइने गरिन्थ्यो शिक्षकहरुद्धारा, तर आजकाल शिक्षकहरुले त्यस किसिमको सल्लाह दिनु अघि आँफैले पत्र पत्रिका नपढिकन जुन पायो त्यही पढन दिने हो भने परिणाम सकारात्मकभन्दा बढी नकारात्माक हुन सक्ने संभाबनालाई नकार्न मुस्किल पर्ने देखिन्छ । बिज्ञान र प्रबिधिको बिकासका कारण प्रेस र अन लाइन क्षेत्रमा पत्र पत्रिकाको संख्यामा जे जसरी उल्लेखनीय प्रगति भएको छ यसले नव प्रतिभाहरुका लागि उपयुक्त बातावरणको सिर्जना त गरेको छ नै, तर अधिकांश प्रकाशित सामग्रीहरुमा पाइने प्रचूर व्याकरणीय गल्तीहरुले भने भाषा बिकृतिको भयाबह अवस्थाको गांभीर्यतालाई गंभिर रुपमा समयमा नै ध्यान नदिने हो भने भाषा बिकृतिको स्वरुप कल्पनाभन्दा बाहिर जान सक्ने संभाबनालाई नकार्न नसकिने देखिन्छ ।

आजकाल पाइने थुप्रै अन लाइन तथा प्रेस खबर पत्रिकाहरु बिज्ञान र प्रबिधिको क्षेत्रमा भएको बिकासको देन हो । बिशेषत: अन लाइन पत्रिकाका कारण संसार अत्यन्तै सानो भएको छ - संसारको कुनै पनि कुनामा रहेर कुनै पनि अर्को कुनाको खबरहरु छिन भरमै थाहा पाउन सकिन्छ । अफसेट प्रेस बजारमा नआउँदासम्म पत्र पत्रिका र प्रकाशित पुस्तकको संख्या खासै धेरै हुन्नथ्यो । त्यसैले पत्र पत्रिकाको लागि लेख्ने र पुस्तक छपाउने ब्यक्तिहरु सामान्यत दिग्गज ब्यक्तिहरुको रुपमा मानिन्थे । त्यस समयमा लेखिएका सामग्रीहरु छपाउन कत्तिलाई सार्है मुस्किल पर्थ्यो सीमित सामग्रीहरुले मात्र स्थान पाउने भएको कारण भने आजकाल लेखिएका सामग्रीहरु छपाउनका लागि तुलनात्मक रुपमा धेरै सहज छ बिभिन किसिमका पत्र पत्रिकाको प्राचुर्यताको कारण, तर पर्याप्त सामग्री, चाख लाग्दो र महत्वपूर्ण बिषयबस्तु, राम्रो लेखनशैलीयुक्त हुँदा हुँदै पनि व्याकरणको दृष्‍टिकोणबाट हेर्ने बित्तिकै नचाहेरै पनि निधार नखुम्चयाइ धरै नपाईने हुन्छ कतिपय प्रकाशित लेख रचनाहरुमा । यो नयाँ समस्या भएको कारण यसतर्फ ध्यान पुगिहालेको देखिन्न, तर समयमा नै यो समस्याका कारणहरु र यस्लाई निराकरण गर्न सकिने उपायतर्फ ध्यान दिनु पर्ने कुरामा भने सन्देह छैन यस्ले भबिस्यमा भाषा बिकृतिको क्षेत्रमा निम्त्याउन सक्ने खतराहरुलाई बिचार गर्दा ।

कुनै पनि कुरा प्रकाशित भएपछि सामान्यत त्यस्ले आधिकारिक रुप धारण गर्ने भएकोले सामग्री प्रकाशित गरिनु अघि मुलभूत कुराहरुमा असर नपर्ने गरी प्राप्त सामग्रीहरुमा भए गरिएका गल्ती/ कमजोरीहरु सच्याइनु/ हटाइनु पर्छ संपादकहरुद्धारा । किनकि त्यसपछिको अवस्था भनेको प्रकाशित सो सामग्रीको महत्व अनुरुप बर्षौं बर्षौसम्म मानिसहरु त्यस्को खोजी र अध्ययन गर्न सक्छन । अर्को कुरा इण्टरनेटको आजको यो जमानामा कुनै सामग्री प्रकाशित हुने बित्तिकै समय, परिस्थिति, अवस्था र सामग्रीको महत्व अनुरुप हजारौं लाखौं मानिसको हातमा त्यो पुग्न सक्छ । ब्यक्तिगत रुपमा बनाइने ब्लगहरुमा भने संपादक नहुने भएकोले ब्लगमा हुने गल्ती कमजोरीहरु ब्लगसंग संबन्धित ब्यक्तिमा नै भर पर्ने भएकोले गल्तीका संभाबनाहरु तुलनात्मक रुपमा बढी नै हुन सक्ने संभाबना देखिन्छ र पनि यस क्षेत्रमा ब्यक्ति ब्यक्तिको क्षमता फरक फरक हुने भएकोले कुनै कुनै ब्यक्तिगत ब्लगको व्याकरण कुनै कुनै पत्र पत्रिकाको भन्दा राम्रो पनि हुन सक्छ । ब्यक्तिगत ब्लगहरुमा भएका सामग्रीहरु पनि सर्च इन्जिनको प्रयोग गर्दा आउने भएकाले त्यस्मा हुने गल्तीहरुलाई पनि बेवास्ता गर्न सकिन्न यस किसिमका समस्याका कारण र समाधानका उपायहरु बिस्लेषण गर्ने क्रममा । गल्ती छुट्याउन सक्नेहरुको त कुरै भएन, तर गल्ती छुट्याउन नसक्नेहरुको लागि भने प्रकाशित सामग्रीहरुमा नै त्यसरी प्रशस्त गल्ती, कमी कमजोरी हुनु भनेको यस्ले उनीहरुमा भएका कमी कमजोरीलाई अझ सशक्त बनाउन सहयोग पुर्‍याउनु जस्तै हुन जान्छ ।

सामान्यत: कर्तब्यभन्दा अधिकारकै मात्र खोजी गरिने र आफू अनुकूलको काम कुरो हुँदा मात्र प्रजातन्त्र र स्वतन्त्रता भएको मानिने आजको विश्व्व परिवेशमा स्कूल, कलेज र विश्वबिद्यालयको बिद्यार्थीमाथि शिक्षक एबं प्राध्यापकहरुको नियन्त्रण गुम्दै गएको देखिन्छ बिकसोन्मुख देश र बिकसित देशमा आ-आफ्नै किसिमले । बिदेशीले अंग्रेजी फरर बोलेको सुन्दैमा उनीहरुको अंग्रेजीमा लालायित हुनेहरुले अंग्रेजी बोलिने देशमा नै ग्र्याजुयट गर्नेहरुको समेत अंग्रेजी सन्तोषजनक नभएको थुप्रै आलेखहरुबारे प्रसंग उठाउँदा धेरैको लागि अपत्यारिलो लाग्न सक्ला, तर बोल्नु जति सजिलो हुन्छ शुद्धसंग लेख्ने काम त्यत्ति सहज छैन । त्यसरी नै नेपालीका लेखहरु देखेर लालायित हुने नेपाली सिक्दै गरेका बिदेशीहरुलाई ती लेखहरुमा भएका भाषागत त्रुटीहरुबारे बताउँदा सिर्जना हुने जिब्रो टोक्न पर्ने परिस्थितिको कल्पनाप्रति कैयौं नेपाली अनभिज्ञ छन उनीहरु आँफैंमा बिद्यमान कमजोरीका कारण । प्रकाशित सामग्रीमा भए गरिएका गल्तीको तात्कालिन र दीर्घ कालिन थुप्रै नकारात्मक असरहरु हुन सक्ने र बिस्तारै बिस्तारै समस्या बढदै जाने भएकोले यस किसिमका समस्याहरुको न्यूनिकरणतर्फ समयमै ध्यान दिइनु अति आबस्यक हुन्छ समस्या समाधानलाई नियन्रण बाहिर जान नदिनका खातिर ।

एक जना मित्रले आफ्नो प्रकाशित पुस्तक उपहार दिएर गएपछि पुस्तकको पछाडि हेरें, मित्रले प्राप्त गरेका डिग्रीको फेहरिस्त डरलाग्दो थियो । पुस्तक पल्टाएँ र भित्रको एउटा पातो पल्टाएँ । एउटै पातोमा भएको अनगिन्ति भाषागत गल्तीका कारण पुस्तक सबै पढने जाँगर चल्ला जस्तो लागेन यद्यपि बिषय सूची हेर्दा बिषयबस्तु भने राम्रा र महत्वपूर्ण भएको अनुमान गर्न सकिन्थ्यो । करीब आठ बर्ष अघि सुर्खेतमा त्यहाँका प्रजिअ, स्थानीय बिकास अधिकारी, नगरपालिकाका मेयर लगायत सबै जसो कार्यालयका कार्यालय प्रमुखहरु सहभागी हुने "परिवर्तनका आधारशिलाहरु" नामक कार्यक्रममा केही दिन म पनि सहभागी भएको थिएँ । कार्यक्रमको उद्धेस्य थियो कार्यक्रमका सहभागीहरुको आचार र बिचारमा परिवर्तन ल्याइ प्रशासनिक कार्यलाई प्रभाबकारी बनाइ बिकास कार्यलाई नयाँ गति दिने । कार्यक्रम आधुनिक ब्यबस्थापन र आध्यात्मलाई मिलाएर बनाइएको थियो । केही दिनमा तालिमका सामग्रीको ठूलो फाइल तयार भएपछि कुनै समय एउटा अन्तरराष्ट्रिय गैर्ह सरकारी संस्थामा निर्देशकको रुपमा काम गरिसकेका उक्त तालिमका ती श्रोत ब्यक्तिसंग गुनासो पोखें, "अंग्रेजी सामग्रीहरु त मेरो क्षमताभन्दा माथिको कुरा हो र हाम्रो भाषा पनि नभएकोले यसबारे केही बोल्ने भन्ने कुरा पनि भएन, तर प्रायश: यसरी नै कार्यालय प्रमुखहरुलाई लक्षित गरेर सन्चालन गरिने र भबिस्यमा सांसदहरुलाई समेत सहभागी बनाउने लक्ष लिनु भएको यस्तो कार्यक्रमको नेपाली भाषामा लेखिएका सामग्रीहरुमा भएका प्रसस्त गल्तीहरु एकदमै नसुहाउँदो छ । किनकि सामान्यत: यस किसिमका गल्ती देख्न सक्ने क्षमता हुनुपर्ने सहभागीहरु नै यस कार्यक्रमको लक्षित समूह हो ।" वास्तबमा सो कार्यक्रको लागि आर्थिक जिम्मेवारी बिदेशी बिकासे संस्थाहरु हुन्थे र कार्यक्रम असाध्यै महंगो हुन्थ्यो जुन कुरो कार्यक्रमका सहभागीहरुलाई थाहा हुन्नथ्यो र पनि केही खर्च गरेर एक चोटी राम्रो नेपाली शिक्षकको सहयोग लिएको खण्डमा संधैको लागि हुने कुरामा पनि खर्चको हिसाबले कन्जुस्याइं र जिम्मेवारीको हिसाबले हेलचेक्र्याइं गरेको देखिन्थ्यो । उपर्युक्त दुई उदाहरणहरुले के प्रमाणित गर्छ भने पुस्तक प्रकाशित गर्ने र त्यस्तो संबेदनशील कार्यक्रम गर्नेहरुले समेत भाषागत शुद्धा शुद्धीमा पटक्कै ध्यान दिएको नपाईनुको पछाडि उहाँहरु आँफै यस्ता कुराहरुमा निकै कम्जोर भएको देखिन्छ । आफू कम्जोर भएको पक्षमा ध्यान नदिनु अर्को ठूलो कम्जोरी हो । यस किसिमका प्रशस्त गल्तीयुक्त सामग्रीहरु पढन पर्ने वातावरणले गर्दा यस क्षेत्रमा कमजोर हुनेहरुका लागि आफूमा भएका कम्जोरीहरु कमी गर्ने संभाबना प्राप्त गर्नुभन्दा झन झन अन्यौल सिर्जना गर्न सक्छ र बिस्तारै बिस्तारै यस्ले भाषा बिकृतिकै लागि उत्प्रेरित गर्ने कुरामा शंका छैन ।

समस्याका संभाबित केही कारणहरु:
* बिभिन्न कारणबश कतिपय पत्रिका ब्याबसायिक रुपमा नभएर पार्टटाइम कामको रुपमा प्रकाशित भएकोले प्रकाशित गरिएका लेखहरुले संपादकहरुबाट यथेस्ट समय र ध्यान पाउन नसक्नु;

* युनिकोडमा केही संयुक्त अक्षरहरु लेख्नमा कठिनाई भएको देखिन्छ (यस कारणबाट हुने गल्ती एकदमै न्युनतम देखिन्छ । उदाहरणको लागि युनिकोडबाट "विस्तृत" लेख्न परेको खण्डमा "बिस्त्रित" हुन जान्छ र पहिला प्रिती फण्टबाट विस्तृत लेखी त्यस्लाई युनिकोडमा परिवर्तन गरिनु पर्ने हुन्छ । );
* कहिलेकांही लेखकहरुद्धारा पठाइएका सही सामग्री समेत झन बिगारेर छापिएको समेत पाइएको छ, जस्ले प्रकाशन गर्ने बेलामा गरिने होशियारीपनाको अभाब देखाउँछ ;
* ब्याबसायिक रुपमा सन्चालन गर्न ठूलो लगानी नगर्नेहरुले ब्याकरणीय दृष्‍टिकोणले संपादन गर्ने ब्यबस्था नगरिएको हुन सक्छ;

* लेख रचना तयार गर्नेहरुमा लेख रचनाहरु प्रकाशित गराउनु मात्र ठूलो कुरा हो भन्ने भावना हुनु, तर प्रकाशित लेख रचनामा हुने भाषागत गल्तीका कारण त्यस्ले समेत पाठकको आफूप्रति हेर्ने दृष्‍टिकोणमा पर्न सक्ने असर अनि यस किसिमको बातावरणको कारण भाषा बिकृति उत्प्रेरित हुन सक्छ भन्ने कुरा बुझ्न नसक्नु आँफैमा भएको कमजोरीका कारण;

समस्या समाधानका केही उपायहरु:

* धेरै पोस्टिङ् गर्नुको सट्टा पोस्टिङ् संख्या घटाएर पोस्टिङ् गरिने सामग्रीहरुको शुद्धा शुद्धीमा अलिक बढी समय र ध्यान दिने;

* लेखकहरुले पनि लेख दिनु अघि संपादकहरुलाई कामको बोझ कम हुने गरी पठाउनु अघि अलि बढी ध्यान दिएर अथवा आफ्नो क्षमता नभए क्षमता भएकोसंग सहयोग मागेरै भए पनि गल्ती कमजोरी कमी गर्न यथासक्य प्रयास गर्ने;
* पत्र पत्रिकामा हुने यस किसिमका गल्ती कम्जोरी नियन्त्रणका लागि आधिकारिक निकायलाई संस्थागत गरी यस किसिमका समस्याका आधारमा पत्रिका बर्गिकरण गर्ने;
* युनिकोड बनाउनेहरुले यस किसिमको समस्याको गांभीर्यतालाई बुझेर यस्मा भएका कमी कमजोरीलाई हटाउने;
* ब्यक्तिगत ब्लग बनाउनेहरुले ब्लगमा सामग्रीहरु राख्नु अघि आफूले नसक्ने भएको खण्डमा कसैलाई संपादन गर्न लगाएर मात्र सामग्री राख्दा ब्लगको स्तर राम्रो हुन सक्छ र साथी भाई र चिने जानेकाहरु मात्र नभएर जो कोही ब्लगमा जाँदा पनि सबै पक्षबाट प्रसंशा गरिन्छ भने त्यो वास्तबिक प्रसंशा हुने भएकोले त्यस किसिमको बातावरण बनाउन प्रयत्न गर्ने ;

यस किसिमका समस्या न्यूनिकरण तथा समाधानका खातिर मूलत: लेखक र संपादकहरुले जिम्मेवार बोध गर्नु नितान्त आवश्यक  देखिन्छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |