एउटा कथा
विद्या सापकोटा, (हालः शंकरदेव कलेज, काठमाडौं)
सह-अस्तित्वको लडाई
तछाडमछाड चल्दै गर्दा
प्रेम आलापमा निमग्न जोडी
बे-हिसाब घुड्क्याउदै प्रेमिक विषादी ॥
जन्मने धरातल एउटै
हुर्कने अनि मुस्कुराउने सँगै
एकै भित्तामा ……एकै कुनामा
खित्खिताउछन् निर्जन बस्तीभरि
एक बोट, अर्को बुट्यान ॥
ढोङ्ग पाल्छ एउटा
आफू रुझेर तिमीलाई बचाएँ
प्रेम पोख्छे अर्की
काँढा बनेर तिमीलाई जोगाएँ
एक काफल, अर्को ऐंसेलु ॥
थाहै नपाइ
एक शासक /अर्को शासित
होचिएकी एउटी
बोटमुनी/बोटछेउमा
बोट ओरिपरि ………
बुट्यान बनेर
सदियौंदेखि थामिरहेकी
प्यारको भार
लुटिदैं /बचाउदै
थिचिदै /अग्ल्याउदैं ॥
भनिन्छन्/भनाइन्छन् सँगै
सुनिन्छन्/सुनाइन्छन् सँगै
चिनिन्छन्/चिनाइन्छन् सँगै
काफल-ऐंसेलु/ऐंसेलु-काफल
तर ………
सुनिएन/सुनिदैंन कतै
गाएन /गाउदैंन कोही
ऐंसेलुको नामका कुहुकुहु ॥
त्यस्तै एउटा कथा हाम्रो
म/तिमी
तिमी/म
एक तिमी/अर्को म
तिमी बोट /म बुट्यान
तिमी काफल /म ऐंसेलु ॥
01/15/2010