हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

हिन्दु धर्म र नारी

भुवनेश्वर भण्डारी, (काठमाण्डौ)



श्रिष्ठिकर्ता ब्रह्माजीले सर्वप्रथम मानस पुत्र सनकादि चार ऋषि उत्पन्न गरेर संसार हराभरा पार्नका लागि श्रिष्ठि गर्न आदेश दिनुभयो । चारै ऋषिहरुले आदेशलाई अस्वीकार गरेकोले सँधै पाँचवर्षको उमेरका मात्र हुने श्राप ब्रह्माजीले दिनुभयो । ब्रह्माजीले नारदादि दश मानस पुत्रहरुको पनि सृजना गर्नु भयो । ती ऋषिहरुबाट पनि ब्रह्माजीको चाहना पूरा भएन । फेरि ब्रह्माजीले स्वयम्भु र शतरुपाको श्रिष्ठि गर्नु भयो । नियम पालना गर्नका लागि राजाको आवश्यकता भएकोले स्वयम्भुलाई राजा र शतरुपालाई रानी बनाई राज्यको भार सुम्पनु भयो । स्वयम्भु र शतरुपाले मैथुन क्रियाबाट दुई छोरा र तीन वटी छोरीहरुको जन्मदिए । यिनैका संन्तानहरुले विश्व ढाकेको कुरा श्रीमद्भागवत पुराणमा वर्णन पाइन्छ । नारी विना सन्तान उत्पादन हुनैसक्दैन । श्रृष्ठिका लागि प्रकृति र पुरुष दुवैको बराबर आवश्यकता छ । प्रकृतिलाई स्त्रीत्व शक्ति मानिएको छ । ईश्वरलाई पनि सँधै खुशीपार्ने रत्न नै स्त्रीरत्न हो । प्रकृतिमा सौंदर्य हुन्छ त्यसले वासना जगाउँछ, त्यसपछि इच्छा प्रबल हुन्छ अनि कामवासना उत्पन्न हुन्छ । कामवासना भोगबाट मात्र तृप्ती हुन्छ । भोगको साधन प्रकृति(नारी) हुनाले भनिएको छ "यत्र नारी विद्यते तत्र रमयन्ते देवता" अर्थात् जहाँ नारीको उपस्थिति रहन्छ त्यहाँ देवताहरु खुशी हुन्छन् । प्रकृति-पुरुष भन्नु र नर-नारी भन्नु एकै हो । आद्याशक्ति(शक्तिशाली) देवी विना देवताहरुको बल अधुरो हुन्छ । नारीलाई शक्ति, माता, देवी, सुन्दरी आदि मान दिइएको छ । देवताहरुले कुनै काम गर्नुपर्यो भने आद्याशक्ति भवानीको आराधना गर्दछन् । यावत् जीवहरुको पालना गर्ने विष्णु भगवानकी पत्नी लक्ष्मीमाता भएझैँ प्रत्येक गृहस्थीको घरमा गृहलक्ष्मी स्वरुपा नारीको बास अनिवार्य हुनुपर्दछ । जुन घरमा नारीको वास हुदैन त्यो घर घर नभई पाटी(अस्थाई) समान हुन्छ । जुन घरमा पति पत्नीमा मेल हुँदैन त्यो घरमा आनन्द, खुशी, सुखसन्तोष आदि दैविक तत्वहरु नजिक आउँदैनन् र दुःख, नैराश्य, शंका, घृणा, असन्तोस जस्ता आसुरी तत्वहरु घरमा भित्रिन्छन् । त्यस्ता घरमा लक्ष्मीको बास कहिल्यै हुदैन वरु त्राश, भय तथा अलच्छिनले डेरा जमाउँछन् । नारी विनाको घर नुन बिनाको भान्सा सरह हुन्छ । वरु पुरुष परदेशमा धन कमाउन जाँदा नारीबाट घर सजिएको हुन्छ । त्यसैले भनिएकोछ: "लोग्ने मानिसको घर हुँदैन स्वास्नी मानिसको थर हुँदैन" । हिन्दु धर्ममा नारीको र पुरुषको समान अधिकार, समान बल, समान बुद्धि आदि धेरै कुराहरु समान भएको बताएको छ । त्यसैले समाजरुपी रथका पाँग्रा नर र नारी हुन् । यौटा मात्र कमजोर भए घर राम्रो सँग चल्न सक्दैन । पुरुषको बाया अंगनै नारीलाई मानेको हुँदा नारीको उपेक्षा गरेर पुरुष सवलाङ्ग कदापि बन्न सक्दैन भन्ने कुरामा हिन्दु धर्म विस्वस्त छ ।

वैदिक काल(वेदले बताएको)मा नारी प्रधान समाज थियो । आमाको कुलबाट नै जन्मिएका सन्तानहरुको बंश चलेको थियो । अर्थात् आमाको जुन थर हुन्थ्यो सन्तानको पनि त्यही थर र जात हुन्थ्यो । बाबुको थर र जातको वास्ता हुँदैनथ्यो । जस्तो अदितीका सन्तान देवताहरु, दितीका सन्तान दानवहरु र मनुका सन्ता मानवहरु आदिको गणना भएको पाइन्छ । दाम्पत्य जीवन धर्म र विस्वासमा चलेको थियो । विस्वासको आधार पत्नीब्रत र पतिब्रता नै थियो । बोली र कर्ममा निष्ठा थियो । लुकी-छिपी कुनैपनि काम गर्ने दुस्साहस कसैबाट कहिंपनि हुँदैनथ्यो । एकले अर्काको अनिष्ट गर्न श्राप र पापको ठूलो डर थियो । सवै समाजमा राम्रो आचरण थियो, शिक्षा समान थियो । भनिएको छ: "सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया ॥ सर्वे भद्रणि पश्यन्तु मा कश्चित् दुःख भाग्भवेत् ॥" अर्थात् समाजका सवै मानिसहरु सुखी हुन्, सवै निर्दोष हुन्, सवैले राम्रो देख्न पाउन्, कोही कसैले दुःख भोग्नु नपरोस् भन्ने यस्तो निर्देशन दिने हाम्रो हिन्दु धर्ममा नारीमाथि थिचोमिचो भयोकि भन्ने शङ्का गर्नै मिल्दैन । त्यस वेलाका नारीले ईश्वरसँग पुरुषलाई आफ्नो बशमा सँधै राख्न वर मागेका थिए । त्यो वर थियो नित्य सम्भोग गर्न सक्ने । ईश्वरले पनि मागेको वरकासाथै मासिकधर्म अर्थात् महिना महिनामा रजस्वला हुने क्षमता समेत दिनुभएको थियो । अरु प्राणीका स्त्रीजातिमा यस्तो क्षमता छैन । नारीहरुले ईश्वरबाट पाएको यो धर्म अभिसाप होइन वरदान हो । त्यसवेलामा लुगाको आबिस्कार भएको थिएन । शरीर छोप्नको लागि भोजपत्र(रुखका बोक्रा)का लुगा लगाइन्थ्यो । गुप्तांगबाट झरेको रगतको फोहोरबाट बच्नका लागि तीन दिन सम्म अलक्ग घरभित्रै बस्ने र चारौँ दिनमा नुहाएर शुद्ध हुने आदि नियम नारीहरुलेनै बसालेका हुन् । यी कुराको वर्णन स्कन्द पुराणको खण्डखण्डमा पाइन्छ । पौराणिक कालमा पनि नारीको स्थान उच्च थियो। सतीसावित्री, अनसुया, शकुन्तला, सीता, अहिल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी आदि नारीहरु समाजमा प्रतिष्ठित थिए । घर परिवारमा पनि यिनीहरुको बाहुल्यता निरन्तर थियो । कुनै नारीहरु पतिब्रता धर्मबाट उत्कृष्ठ बनेका थिए भने कुनै नारीहरु सत्यधर्म अँगालेर सत्यवादी र सामाजिक मान्यता पाएका थिए । सावित्रीले पतिब्रता धर्मबाट मरिसकेका पति सत्यवानलाई यमराजको हातबाट छुटाउन सफलता पाइन् र अत्रि ऋषिकी पत्नी अनसुयाले पनि ब्रह्मा, विष्णु र महेश्वरलाई बालक बनाएर पतिब्रता धर्मलाई अटल राखेकी थिइन् । सीताले पनि अग्निपरीक्षाबाट अटल पतिब्रता धर्मको महत्व देखाएकी थिइन् । कण्व ऋषिकी पुत्री शकुन्तलाले सत्य धर्मकै सहाराबाट दुश्यन्त राजालाई पति बनाइ पटरानी(महारानी)को पद पाएकी थिइन् । इन्द्रसँग भुलेकी गौतम ऋषिकी पत्नी अहिल्या, एउटै नारीका पाँचवटा पति भएकी द्रौपदी, वैश्य जातका चन्द्रमाबाट छोरो जन्माएकी बृहस्पतिकी पत्नी तारा, सूर्य, यम, बायु, इन्द्र र अश्विनिकुमार बाट महापुरुष कर्ण र पाण्डवहरुको जन्म दिने कुन्ती र देवताहरुकी रखौटी(अप्सरा) तथा रावणकी रानी मन्दोदरी जस्ता परपुरुष गामी नारीहरुलाई पनि हिन्दु धर्मले शक्तिशाली भद्र हिन्दु महिलाको रुपमा मानेको छ ।

नारीलाई हेर्ने प्रचलन यस्तो छ: "रजसा शुद्धते नारी नदी वेगेन शुद्धती" अर्थात् पर सरेपछि(रजस्वला भएपछि) नारी शुद्ध हुन्छिन् तेस्तै वाढीले बगाएपछि नदी शुद्ध हुन्छ । यस वाक्यांशका अनुसार नारीमा हुने मासिक धर्म उनीहरुलाई नै पवित्र बनाउने वरदान हो, यो नारीमात्रकालागि अभिसाप भने हुदै होइन । महाभारतको युद्धपछिका दिनहरुमा सामाजिक रचनामा धेरै फेरबदलहरु आए । जसले गर्दा हिन्दु धर्ममा भएका नियमहरुलाई स्वार्थी राजाहरुले उनिहरुको स्वार्थसिद्ध गर्न नियमहरु परिवर्तन गरेर तत्काल लागु गरे त्यसको मारमा नारीजाति परेको यथार्थतालाई नकार्न सकिदैन । नारीलाई जननीको रुपमा आदर नगरेर भोगका साधन मात्र हुन भन्ने मनोमालिन्य (आफुखुशीपन) पुरुषजातिमा हावी हुँदै आयो जुन हिन्दु धर्मको विपरित छ । जुन नारीका कोखबाट सन्तानले जन्मलिन्छ त्यो जीव बाबुकै प्रतीकको रुपमा जन्मलिने हुनाले पत्नीलाई जाया (जन्म लिने) भनिएको हो । हिन्दु धर्ममा आमालाई स्वर्गभन्दा पनि ठूली मानिएकोले नारीजातिलाई जननी, देवी आदि आदरार्थी शव्दबाट सम्शोधन गरिएको छ ।


02/04/2010

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |