हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

महामाया

भुवनेश्वर भण्डारी, (काठमान्डौ)

हिन्दु धर्मका उल्लेखित प्राय सबै ग्रन्थहरुमा देबीको महत्व ज्यादै ठूलो बताइएको छ । देवीलाई आद्याशक्ती भवानी महामाया जगदम्बा आदि नामले पुकारिन्छ । कारण स्वरुप परब्रह्म परमात्मा भएझै जगज्जननीलाई माया स्वरुपा प्रकृति मानिएको छ । परमात्मा र जीबात्मा प्रलय कालमा एकै साथमा रहन्छन् । जब जीबात्माले प्रकृति स्वरुपा महामायाको छाया पाउछ तब साथी परमात्मालाई छाडेर इच्छाशत्तीको पछाडि लाग्दछ । मायाको बसमा परेको जीब सान्सारिक सुखलिप्सामा फस्न र मिथ्या आनन्द लिन इन्द्रियको बसमा पर्दछ । मनयुक्त इन्द्रियले बुद्धिको अधिनमा रहेर बिषयको भोग गर्न अग्रसर हुन्छ । बुद्धि महामायाको अंश भएकोले परमार्थ तर्फ भन्दा इन्द्रिय सुखलिप्सामा लुब्ध हुदै जीबात्माले परमात्मालाई बिस्रन्छ र बिषय भोग गर्न बन्धनमा बाधिन्छ । प्रभुको मायामा फसेको प्राणी झन्झन बन्धनमा बाँधिदै जान्छ ।

देवीका रुपहरु धेरै छन् ती मध्ये शक्तिरुपा भगवती प्रबल छिन् । विश्व श्रिष्ठीको क्रम पनि उनै शक्तिरुपा भगवतीको प्रेरणाबाटै भएको हो । प्रभुको मायामा भुले पछि पार पाँउन कठिन छ । गीतामा श्रीकृष्णले अर्जुनलाई भनेका छन् "मम माया दुरत्यया" अर्थात् भगवानको मायाबाट पार पाउन सकिदैन । मायाको बसमा परेर ब्रह्माजी पनि आफ्नै छोरी सरस्वतीसँग भुलेका महादेव मोहिनी सँग भुलेर भौंतारिएका तथा धेरै तपस्वी ऋषिहरु पनि अप्सराहरुमा भुलेर तपस्या भङ्ग गरेका कुराहरु शास्त्रमा पाइन्छन् । जीबात्मालाई बिषय भोगमा आशक्त गराउने माया स्त्रीजाती भएकोले उनै महामायाको कारणबाट ठूला ठूला युद्धहरु हरेक कालमा भएको कुरा ग्रन्थहरुमा प्रसस्त पाइन्छन् । महामाया भगवतीका नामहरुबाट शक्तिपीठहरु निर्माण भएका छन् । देवीहरुको आराधना पूजा, पाठ, भक्ती आदि काम शक्ती प्राप्ती तथा साधना सिद्ध गर्नको लागि गरिन्छ । शक्तिबाट इच्छा गरिएका अष्टसिद्धि आदि साधनाहरु पूरा हुन्छन् । साधकले चाहेका सिद्धिहरु १ अणिमा (ज्यादै सानु हुनु) २. महिमा (पर्वत जस्तै ठूलो हुनु) ३. लघिमा (फूल जस्तै हलुका हुनु) ४. प्राप्ती (चाहेको जति वस्तु पाउनु) ५. प्राकाम्य (सबै लोकका कुराहरु थाहा पाउनु) ६. ईशिता (प्रभुको माया अनुसार चल्नु) ७. वशिता (इन्द्रियलाई बसमा राख्नु) ८. कामावसाइता (चाहेबमोजिमका भौतिक सुखभोग गर्नु) यस्तै ९. भोकप्यासलाई नियन्त्रण गर्नु १०. दुर दृष्टी र मन सँगै शरीर त्यहा पुग्नु ११. आफ्नु रुप बदलेर अर्काको शरीरमा पस्नु १२. चाहेबमोजिम मर्नु/बाच्नु १३. स्वर्गका देवताहरुले अप्सराहरुसँग गरेको कृडाको दर्शन गर्न सक्नु १४. बोलेको कुरा सिद्ध गर्न सक्नु १५. भूत, भविष्य र वर्तमानका कुरा जान्नु १६. सुख/दुख तातो/चिसो आदि द्वन्दबाट मुक्त हुनु १७. आगो, , घाम, पानी, वीष जस्ता शक्तिको निस्तेज गर्नु १८. अर्काको मनको कुरा जान्नु र कसैसँग नहार्नु । यी अठ्ठारवटा सिद्धिहरु महामाया भगवतीको आराधनाबाट सिद्ध हुन्छन् । यी सबै सिद्धिहरु भोगका लागि मात्र हुन्छन् । शक्तिको प्राप्तीबाट इन्द्रियजन्य सुख प्राप्त हुन्छ र भौतिक बस्तुको उपभोग गर्न पाइन्छ तर ईश्वर प्राप्ती हुदैन ।

महामाया भगवतीको माया जालबाट पार पाउन जीबात्माले भौतिकतालाई छाडेर अध्यात्म ज्ञान वेदान्त आदि शास्त्रको अध्ययनबाट हासिल गर्नु पर्दछ र ब्रह्मानन्द तथा प्रेमानन्द प्राप्त गरेपछिमात्र वैराज्ञ प्राप्त हुन्छ । वैराज्ञबाट इन्द्रिय निग्रह हुन्छ र बिषय सुख तृण बराबर मान्न जीबात्मा थाल्दछ । मेरो भन्ने बानी हट्दै जान्छ र मेरो होइन भगवानको हो भन्ने ज्ञान जीबात्मामा पलाउँछ । पुराणहरुमा भनिएको छ "मम इति बन्धन नमम इति मोक्ष" अर्थात् जस्ले भौतिक संसारलाई मेरो भन्छ त्यो बन्धनमा पर्दछ र मेरो होइन संसारका याबत् कुराहरु परमात्मा ईश्वरका हुन् भन्ने कुरा स्वीकार गर्दछ त्यो मोक्ष हुन्छ । ब्रह्मानन्द प्राप्त गर्ने वीबात्माले बिषयानन्दलाई मृगतृष्णानभएका पदार्थ सरह मान्न थालेपछि मोह जालबाट छुटकारा पाई परमात्मामाका साथमा बस्न पुग्दछ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |