हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

रातो सर्ट

अस्मिता न्यौपाने, (अनारमनी, झापा)


घर फर्केको तेस्रो दिन आज । यात्राको थकान मेटिएकै थिएन । सोचेँ 'ब्यागको सबै लुगा दराजमा मिलाएर राख्नु पर्यो ।' दराज सफा गरेर ब्याग खोलेँ । लुगा मिलाउन थालेँ । एक्कासि बितेका दिनका सम्झनाहरु दिमागमा बादलझैँ मडारिन थाले । आँखाबाट आँसु दर्केला जस्तो भयो । फेरि गड्याङगुडुङबाट तर्किएको पानीझैँ आएन आँसु । रोकियो गहमै । 
प्यारालाइसिसबाट पीडित मेरा पिताजीले भन्नु भएको थियो 'हाम्रा बुबाको भोटो र जाँघे सिलाउने दर्जी साइँलाको कान्छो छोरो छिमेकी भएर आ'को छ के कस्तो छ जाओ न हौ त्याँ ।' म गएको थिएँ पिताजीको आज्ञा मानेर दर्जी कान्छादाइको घर पहिलोपटक । जानेबित्तिकै भाउजूले 'पिरा दे है ठूली' भन्दै छोरीलाई भनेकी थिइन् । ठूलीले मेरो छेउमा ल्याएर सुकुल ओछ्याएकी थिई । म बस्दै गर्दा ठूलीले एक कदम अघि बढेर सोधेकी थिई तपाईंको घर कुन हो मैले औँलाले 'ऊ त्यो' भनेको थिएँ त्यो बेला । उसले फेरि 'छिमेकी पो भइएछ' भनेकी थिई । 

साँच्चै आहिस लाग्दो जोडी थियो दर्जी कान्छादाइको । रक्सी नपिएको दिन कान्छा दाइ भाउजूलाई नपिटी छाड्दैन थिए । भाउजू रुँदिन थिइन् पिटेको बेला । जब कान्छा दाइले रक्सी पिउँथे अनि रुन्थिन् । कान्छादाइ त्यतिबेला भाउजूको काखमा क्वाँक्वाँ रुँदै भन्थे 'मैले तँलाई माया गर्नै जानिनँ तँ मलाई कति माया गर्छेस् ।'  मलाई भने अचम्म लाग्थ्यो उनीहरुको चाला देखेर । कान्छादाइलाई रक्सी पिएपछि मात्र भाउजूको माया गर्न आउँथ्यो । भाउजूलाई पनि दाइले रक्सी पिएपछि मात्र रुन आउँथ्यो । पछि रक्सीकै कारण मरे कान्छादाइ । खै त्यति धेरै त याद छैन त्यस्तै ६/७ महिनाको अन्तरमा भाउजु पनि उतै गइन् । घरमा बाँकी थिए तीन सन्तान ठूली उसकी बहिनी सानी र भाइ । सानी सानैदेखि मावलमा पढ्थी । भाइ र ठूली घरमा थिए ।

छिमेकीहरुमध्ये त्यो घरसँग मेरो गहिरो आत्मीयता थियो । म त्यो घरमा दिनमा एक पटक नगई सक्दिन थिएँ । दाइ-भाउजूको निधनपछि टुहुरो बनेको थियो त्यो घर । ठूलीका दिनहरु रोएरै बितेका थिए कति त । भाइ सानो थियो । बुझ्दैन थियो दिदी रुनुको कारण । रोइदिन्थ्यो दिदीसँगै । अनि भन्थ्यो तोते बोलीमा 'मेलो दिदी किन पितिस्' कति सम्झाउँथे म ठूलीलाई तर आफैँ भक्कानिन्थ्यो । 

एउटा कुरोले मलाई अति नै छुन्थ्यो त्यो के भने ठूली र म एकअर्कालाई तँ भनेर बोलाउँथ्यौँ । 'तपाइ' भन्थी सुरुसुरु त । पछि खै कहिलेदेखि 'पाईं' हराएछ । बाँकी रहेछ 'तँ'मात्र । सायद आत्मीयता बढ्दै गएपछि होला । म भन्दा तीन/चार वर्ष कान्छी हुँदी हो ठूली । खै नाम पनि कहिले सोधिएन । गाउँभरिका सबैले ठूली भन्थे । र म पनि । न मेरो नाम थाहा थियो उसलाई । खुस पर्दा काले दाइ भन्थी रिसाइ भने मेरो पातलो शरीरको उपहास गर्दै 'लिखुरे' भन्थी । म नि कम थिइनँ हाँसीहाँसी 'हारमोनियम देखेकी छौ?' भनी सोध्थेँ । ऊ छु भन्थी । म उसलाई 'हो त्यसको रिट जस्तै छ तिम्रो दाँत त्यसबाट कति मिठो धून निस्कन्छ हगि भन्थेँ । ऊ 'अँ' भन्थी अनि उकासेर गीत गाउन लाउँथे । गाउँथी 
"पोहोर साल खुसी फाट्यो
जतन गरी मनले टालेँ …।"

साँच्चै मीठो गीत गाउँथी ठूली । पछिपछि थाहा पाइछ हारमोनियमको रिटजस्ता दाँतको खास अर्थ । रिसाएर भन्थी 'काले-लिखुरे काले-लिखुरे …' म पनि हत्तपत्त पैँचो तिरिहाल्थेँ 'हारमुनी हारमुनी…। ।' रिसाएजस्तो मात्र गर्थी, रिसाउँदिन थिई । साँच्चै रिसाउँथी भने मसँग नबोल्दा पनि त हुन्थ्यो नि !
दुःखहरु भुल्दै गइरहेकी थिई । भाइ अनाथ आश्रमलाई लगेर दिई क्यारे ! ऊ एक्लै बस्थी दिनभरि गाउँलेहरुका लुगाफाटा सिउँदै । म पनि विदेश जाने तर्खरमा थिएँ । चंचले ठूली निकै गम्भीर हुँदैथी ती दिनहरुमा । 

एकदिन लुगा सिउँदै गर्दा पुगेको थिएँ । ठूली भन्दै थिई 'काले दाइ विदेश जान लागेको छस् रे हो?' वास्तवमा म त्यो दिन ठूलीलाई भोलि काठमाडौँ र तीन दिनपछि विदेश जाँदैछु भन्नलाई गएको थिएँ । उसले रातो सर्ट दिएकी थिई उबेला । भन्दै थिई 'यो तेरो लागि मैले सिलाइ दिएकी ।' मैले लिन आनाकानी गरिरहँदा उसले गहभरि आँसु पारेर एउटा चिनो त लैजा भनेकी थिई । 'रोइ'-'रोइ'-'रोइ' भनेर जिस्काएको थिएँ । ऊ कसो मुस्कुराइन । 

मैले हिँड्ने बेला 'बिहे चाहिँ नगर्नु नि !' भनेको थिएँ । उसले लजाउँदै 'अँ लिखुरे तँ नभई मेरो बिहे हुन्छ त?'  भनेकी थिई । खै त्यसको भाव मैले बुझेँ या बुझिनँ । मैले बुझे जति सही थियो या गलत ! घरसम्म पुर् याउन आएकी ठूलीलाई मैले भनेको थिएँ 'अब फर्केर आएपछि मलाई काले-लिखुरे नभन्नू म विदेशबाट फर्कदा गोरो र मोटो भएर आउँछु ।' उसले हुन्छ भन्दै टाउको हल्लाएकी थिई र भन्दै थिई 'मेरो दाँत पछि पनि यस्तै नै हुन्छ तर हारमुनी चैँ नभन है ।'  मैले 'ल-ल' भन्दै प्रतिबद्धता जनाउँदै हामी छुट्टिएका थियौँ त्यो दिन । 

विदेश पुगेको दिन घरमा फोन गरेको थिएँ दिदीले उठाएकी थिई । मैले आफू सकुशल आइपुगेको खबर सुनाएँ र सोधेँ घर परिवार गाउँघरको खबर-खाबर । ठूलीले घरको बलोमा आफूलाई झुण्ड्याएकी खबर दिदीले सुनाई । टेकेको भुइँ दबिएझैँ आकाशले थिचे झैँ भारी महसुस भयो । 'किन झुण्ड्याई' भन्ने प्रश्नमा कुनै अर्थ भेट्टाइनँ । मलाई थाहा थियो मरेको मान्छे बोल्दैन । अरुले आफ्नो मनको कुरा भन्छन् । मर्नुको कारण त मर्नेलाई नै थाहा हुन्छ । निरास भएर फोन राखेँ । निकैबेर रोएँ त्यो दिन म ठूलीलाई सम्झेर ।
 
तीन वर्ष परदेशमा बिताएर घर फर्केको । जाने बेलामा दिएको चिनो रातो सर्ट उस्तै छ । थाहा छैन खै कहिले नापै नलिई कसरी सिलाएकी थिई चट्ट जिउमा मिल्ने खालको । भनेकी थिई 'कालो-कालो छस् रातोले राम्रो सुहाउँछ ।' आज दराजमा कपडा मिलाउँदै गर्दा फेरि उसको सम्झना ल्याएकॊ छ यो सर्टले । विदेशबाट फर्कदा पनि नफेरिएको कालो वर्ण र मासु नलागेको खिनौटो ज्यान देखेर सायद बाँचेकी भए एक पटक भन्ने थिई होली 'काले-लिखुरे ।'

घरमा भात खाएर थालैमा हात चुठ्ने बानी परेको मलाई के थाहा अरुको थाल माझ्दा कस्तो हुन्छ हुन्छ । आखिर त्यो पनि थाहा पाएँ विदेशमा । लुगाको खातमा अलग परिचय र अस्तित्व बोकेका सर्टलाई दराजमा राख्नुपूर्व चुमें एकफेर । अनि मनलाई सान्त्वना दिँदै लेखेँ 'रातो सर्ट' ।

 
 
 

Comments

pradeepika

tapai sachchikai sundar katha lekhak hunuhun6 ashmita jee....
well done....keep it up &; thumps up !

Dilip Khadka

 malai ta youko poem dherai ramro lagyo asmita g. yastai yastai tpaika harek pailahru agadi badhdai jaun(asmita g tapail aru lekha haru pni padhna pau) &; 2067 salko bada dasaiko subhakamana la yo pardesiko tarf bat ........thank you!!!!!!!!!!!!

rabin

ekdum ramro lagyo ,,,,,,,,,,,,,,,,ramro lekhnu bha raicha,,,,,,,,,

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |