'जननीजन्मभूमिश्च….."
उमेश राई 'अकिंचन', (विराटनगर, हालः कीर्तिपुर)
किन लिएर जाँदैछौ
भाइ
त्यो नेपालको नक्शा जडेको
किताब
योजना आयोगको फाइलमा
आधा नेपाल मात्र अटायो त
के भयो
यो हावामा छरिएको सुगन्ध
यो माटोमा टाँसिएको पितृ-प्रेम
आमाको समाधीस्थलझैं प्रिय पहाड
सबै-सबै हाम्रैं त हुन्
अनि किन
लिएर जादैछौं भाइ
माटोलाइ अति आवश्यक
घाम र जूनजस्ता
तिम्रा दुई ओजस्वि आँखाहरु
पौरख गर्नलाई
पुर्खाले आर्जेको छानो
साँघुरो भयो त
के भयो
यो देशसँग भएको न्यानोपन
यो देशले दिनसक्ने अबसर
यो देशले दिन बाँकी सम्मान
सबै-सबै हाम्रै त हुन्
छितिजको नाङ्गो रुखसँग
छायाँ मागेर
आफ्नै जस्तो अनुहारसँग
टाढा भागेर
उपलब्धिको
कस्तो इतिहास लेख्ने
छापाखाना
खोजिरहेछौ भाइ
कलेज प्रथम भएर
तिमीले पाएको विशिष्टता
कविता प्रतियोगितामा प्रथम भएर
तिमीले बनाएको चिनारी
हाजिरी जवाफमा देखिएको
तिम्रो विलक्षणता
यी र यस्ता
तिम्रा उज्याला परिचय
समुद्रको नुनिलो पानीमा
किन मिसाउन जादैछांै भाइ
पृथ्बीको पल्लो छेउ टेक्दैंमा
जित्छु लाग्छ भने दुनिया
पुर्खाहरुले
उहिल्यै-उहिल्यै
गोर्खालीको परिचयमा
जितिसकेका हुन संसार
हामीले त
जित्न केवल बाँकी छ
भोक
अशिक्षा
गरिबी
अनि बनाउन बाँकि छ
समृद्ध आधुनिक
न्यायपूर्ण नेपाल ।