हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अनुभूतिको महायात्रा

सङ्गीत आयाम, (कल्यानपुर,भरतपुर)

निबन्ध


जीवनमा आगमन हुने अनगिन्ती रङ्गहरुमा सधैँ मौसम एकैनासको नहुनु अस्वाभाविक छैन । परिवर्तन त ऋतु आगमनको सङ्केतमात्र होइन ऋतु बिदाइको संयोग पनि हो । रिमझिम रिमझिम बर्षाद्मा पानीसँग संवाद गर्दाको पललाई कुनै सुन्दर स्वप्न देखेजस्तै रुपमा आकर्षित हुन सकिन्छ भने हिउँदको कठ्याङ्गि्रँदो जाडोमा सबैलाई रापिलो घामको चाह हुन्छ नै म पनि कुनै अपवाद होइन ।    

कविता अर्थात् काव्यमा विशिष्ट शक्ति छ भनेर समालोचकले भनेको कुरालाई नै अनुशरण गरेर अघि बढ्नु पर्दछ भन्ने हुँदैन राम्रो कविता आफैं बोल्छ र कविताले मस्तिष्करुपी तन्तुमा मात्र होइन हृदयरुपी सागरमा पनि सक्दो हस्तक्षेप गर्न छोड्दैन । हजारौं वर्षमा दार्शनिकहरुले धेरै कुरा भनेर गए सायद भन्न बाँकी केही पनि भएको देखिँदैन तर कहिल्यै समाप्त भएको हुँदैन सार्वजनिक नभएका कुराहरु । ओझेलमा परेका कुरामाथि पनि एकदिन उज्यालोको प्रतिविम्ब अवश्य नै पर्नेछ यस्तो विश्वस्तताको पनि आफ्नै प्रकारको भूमिका हुनुपर्छ । जीवनका विविध रङ्गहरुलाई समयमैं महसुस गर्न सकिएन भने जीवनको उदासीनतामात्र प्रकट हुन्छ । जीवन वैचारिक पुाजभन्दा बढी नयाँ नयाँ रङ्गहरुलाई समायोजन गर्ने सन्दर्भमा अनुभूतिजन्य छ । जीवनको उदय नै सर्वोपरि सत्ता हो । सायद यसैबाट निकै अभिप्रेरित भएर होला म आजभोलि दार्शनिकताको खोजीभन्दा बढी भावनात्मक हुने कोसिसमा जुटिरहेछु ।

दार्शनिकहरुले विचारको मृत्युको घोषणा धेरै पहिला नै गरेका हुन् तर अचम्म लाग्छ न उनीहरुले कहिल्यै मृत हुने विचारमाथि काम गर्न नै छोडे न विचारलाई अस्तित्वबाट पर राख्दै आफ्नो महत्वाकाङ्क्षालाई अघि बढाउन नै छोडे ।  

दार्शनिकहरुको अवसर पाएसम्म भन्ने बानी नै हुन्छ अर्थात् उनीहरुको खेती नै त्यही हो । उनीहरु के के भन्दछन् त्यतातिर नजाउष । महसुस गरेर आत्मसात हुने कुरालाई पनि दर्शनको गरुङ्गो भारी बोकाउँदै वैचारिक श्रेष्ठता प्रमाणित गर्न खोज्नु र त्यसलाई उच्चदार्शनिकताको स्वरुपमा ग्रहण गरिनु त्यत्तिकै घातक पनि देखिन्छ । यस्तो प्रकि्रयाले अर्को कुनै नयाँ दर्शनलाई नै उत्पादन गर्ने काम पनि गर्ने गर्छ ।  

यसअर्थमा हेर्दा दार्शनिकहरु पनि राजनीतिक तानाशाहकै विस्तृत संस्करण हुन् भन्न हिच्किचाउनु पर्दैन । जहाँ बलजफ्ती आफ्ना कुराहरु निर्माण गरेर त्यसलाई लागू गराउन जोर जबर्जस्तीको बाटो लिइन्छ त्यो प्रकि्रया मानवीयताको विरुद्धमा चालिएको कदम पनि हो जसलाई ज्यादतीको अर्थपूर्ण नमुनाको रुपमा प्रस्तुत गर्न नसकिने होइन ।  

वैचारिकता र दार्शनिकताको खोजी गर्दै मेरा धेरै वर्षहरु बितेको मेरो स्मरणमा अझै पनि सुरक्षित छ । भोक प्यास त्यागेर विशिष्ट बन्ने लोभमा जीवनका अमूल्य समयरुपी घोडाहरुमा सवार म परिवार र समाजलाई बोझ बन्दै गरेको दृश्य भने कम पीडादायक पनि थिएन । हुन त मान्छे स्वयं टिप्पणीको महापात्र पनि हो टिप्पणी गर्ने र गराउने खेलमा मग्न । जे गर्दा पनि टिप्पणी हुनु समाजको प्रकृतिअनुसार अस्वाभाविक पनि छैन । टिप्पणीको एकनासको प्रहारबाट अर्को कुनै विकल्प खोज्नुपर्ने अवस्था आएपछि जीवन सोचेको जस्तो हुँदैन पनि ।  

सोचेभन्दा केही फरक कि्रयाकलाप घटित भएको देखियो भने त्यसलाई मान्छेहरुले अनेक प्रकारका नाम दिएर परिभाषित गर्ने गर्छन्- कति पाच्य हुन्छन् त कति अपाच्य । कोही यसलाई पागलपनको प्रदर्शन भन्छन् त कोही अव्यहारिकपनको पराकाष्ठा । जे जस्तो भने पनि मान्छे बाचुाजेल अनभूतिजन्य कि्रयाकलापमा सकि्रय हुन्छ नै । विचारमा प्राप्त आनन्दभन्दा अनुभूतिमा प्राप्त आनन्द शक्तिशालीमात्र हुँदैन अझ सुन्दरताले ओतप्रोत पनि हुन्छ ।

दार्शनिकताको खोजी गर्दा पनि टिप्पणीहरुको महाभारतले आक्रमण गर्न नछोडेको र अनुभूतिगतरुपमा यात्रारत रहँदा पनि टिप्पणीहरुको रामायणले प्रहार गरेपछि म सामाजिक प्रकारले कुनै गुलामको स्वरुपमा आफूलाई अनुवादित गर्नुपर्ने स्थिति आयो जुन मलाई कतै माजुर थिएन । जीवन त आफूले बाँच्ने हो अरुले होइन । जीवनका तमाम पीडा र सुखहरु स्वयंले महसुस गर्न सकेन भने अरुद्वारा निर्देशित जीवन त्यति नै कहालीलाग्दो छ जति सामुदि्रक आँधीमा परी गन्तव्य छुट्दै गएको कुनै जहाजको अवस्था ।   

वैचारिक यात्रा गर्दा गर्दै छिया छिया भएको मेरो मस्तिष्कलाई आराम दिनु अतिआवश्यक थियो नत्र परिवारमा कुनै प्रलयको आगमन स्वाभाविक हुन्थ्यो । ममा अनुभूतिजन्य चरित्र हाबी हुँदै गएपछि त्यसले स्वयं नै आफ्नो गन्तव्य पनि पहिल्याउँदै गयो । जीवनलाई मुलायमरुपमा निर्माण गर्ने हो भने त्यसलाई स्वप्नवत् तरिकाले छोड्नुपर्छ भन्ने बलशाली विचारमा आरोहित भएर म अक्सर यत्रतत्र छरिने गर्दछु । सायद यसैअन्तर्गत आफूलाई कहिले कहाँ कहिले कहाँ डोर् याएर परिचालित गर्ने अभ्यासमा अभ्यस्त हुँदै गएको छु आजभोलि । घटनाहरुको कमी भने छैन यस संसारमा प्रायः दुर्घटनाहरुले तिनलाई निम्त्याइरहकै हुन्छन् ।  

अनुभूतिको महायात्रा तय गर्दै यतिखेर म कुनै आकर्षक बगैंचाभित्र प्रवेश गर्न पुगेको छु । म अहिले विचार र गरुङ्गा चिन्तनहरुभन्दा परमात्र छैन अझ शान्ति र एकान्तताको आलिङ्गनभित्र आबद्ध पनि छु । अनेक प्रकारका रङ्गीन फूलहरु फुलेका छन् मेरासामु वास्नामय सुगन्धमा भर्खरै कामबाट थकित हुँदै फर्केको अर्थात् आफ्नो उत्तरदायित्व निभाएर एकछिनको लागि भए पनि अनगिन्ती स्वादहरु खोज्न अग्रसर भएको म- आफ्नो दिनभरिको थकाइलाई मेट्ने कोसिसमा जुटेको छु । धेरैको सोचाइमा यो पागलपन हो त अझ कतिपयको विचारमा अव्यवहारिकपन । अनुभूतिको महायात्रा तय गर्नेले कहिल्यै सोच्दैन कि दुनियाँ उसलाई कसरी हेर्छ ! अनुभूतिको लागि नै जीवनरुपी लडाइँ लड्नेलाई कसले के भन्छ त्यसको कुनै सरोकार हुँदैन पनि । अनुभूतिजन्य कि्रयाकलाप अवैध भएको सार्वजनिकरुपमा घोषणा हुने गरिए पनि अनुभूतिको डुङ्गामा सवार व्यक्तिलाई दण्ड दिने विधान भने अहिलेसम्म बनेको छैन ।  

कहिलेकाहीँ त लाग्छ निकै व्यवहारिक हुन मन पराउनेहरुले केही न केही त अनुभूत गर्नुपर्ने हो ! कतै न कतै भावनात्मक सम्बन्धलाई विस्तार पनि गर्नुपर्ने हो ! अद्भुत यात्रामय क्षण आनन्दको उद्गमस्थलसँगै स्मरणशक्तिको विकासक्रममा प्रभावकारीसमेत बन्दछ । दुई चारदिनको जिन्दगीमा अरु कुराहरुजस्तै अनुभूतिजन्य कि्रयाकलापमा पनि जीवन प्रफुल्ल भएर हाँस्न सक्छ भने त्यो विनाकारण घटित भएको हुँदैन भनेर वर्तमान महापण्डितहरुले कहिले अनुभव गर्छन् होला !  

साँच्चै भन्ने हो भने यतिखेर म दर्शनको भारी बोकेर आफैलाई दुःख दिने पक्षमा छैन बरु अनुभवको सङ्ग्रह गर्ने अभियानमा सङ्लग्न रहेको छु । जीवन विचारले मात्र परिपूर्ण हुँदैन भावुकतापूर्ण अनुरागको साजालले पनि निर्मित भएको हुन्छ । जीवन चिन्तनीय अभिप्रेरणाहरुको समष्टिमात्र होइन मनलाई फराकिलो बनाएर स्वच्छन्दतालाई प्रयोग गर्नु र त्यसको उडानमा प्रयोगशील हुनु पनि हो । काम गर्दा गर्दै थाकेपछि कुनै श्रमिकले एकछिन भए पनि चौतारीमा आराम गरेको क्षणमा जति प्राकृतिकता भेटिन्छ त्योभन्दा कम छैन कल्पनाशील अवस्थामा महायात्रातिर प्रस्थान गर्नु पनि । विश्वका कुनै पनि समृद्ध मुलुकमा स्वतन्त्रताको भरपूर उपभोग गर्नुलाई पागलपन भनेर लािाछत गरिँदैन पनि ।  

यातनाशिविरमा दुर्घटित भईरहने जीवनका बारेमा पटक पटक महाभारतहरु नलेखिएका होइनन् । अझ कयौं रामायणहरुले त दुःखका गीतभन्दा अरु गाउन पनि जान्दैनन् ।  जीवनमा पीडाहरुको आगमन यस्तो रुपमा हुन्छ मान्छे कि त समाप्त हुन्छ कि त उठ्नै नसक्ने गरी पक्षाघातको फेला पर्छ । यातनाहरुलाई हार्दिकतापूर्वक नलिने हो भने जीवन िहंड्ने बाटो कहिल्यै सुखद हुँदैन पनि । व्यथाहरुको कथा बोकी एकनासले गीत गुनगुनाउँदैमा त्यसको जलन कम भएको कतै इतिहास लेखिएको पनि छैन । जीवनमा प्रायः सुखको खोजी धेरैले भौतिकरुपमा मात्र गरेका देखिन्छन् ।  

एक्लै एक्लै जीवनका तमाम सन्दर्भहरु इतिहास भएर आँखा अगडि आउँछन् जसमा एक पलकमै संसार चियाउने सामथ्र्य छ । मौसम निरन्तर झरिरहेछ त्यसलाई पिउने शक्तिको आश्चर्यजनक छटा भने मस्तिष्कभरि छरिएको हुन्छ मात्र त्यसको पहिचान गरेर उपयोग गर्न जान्नुपर्छ । कति शान्त हुन्थ्यो होला मस्तिष्क आफूले गर्ने काम पनि आनन्दकै अर्को महत्वपूर्ण हिस्सा भैदिए ! कति उद्वेलित हुन्थ्यो होला जीवनयात्रा प्रायः आफू िहंड्ने बाटोले पनि जीवनानन्दकै खोजी गरिदिए !  

फूल छ र म छु पात छ र मभित्र अनुभूति छ । सुगन्ध छ र त कवितात्मक लय छ नत्र अतिरिक्ति वासनामय संसारमा केवल दोैडधूप र व्यस्ततामात्र जीवनको लय हुन के बेर ! एकान्तको सुसेली पनि कहिलेकाहीँ रमाइलो बनिदिने गर्दछ । आफैंमा त्यसको जयजयकार गर्नु मीठो पनि लाग्दछ । पुस्तकका सुन्दर हरफहरुले सधैँ नै जीवनको राग गुन्गुनाएझैं लाग्छ । रङ्गिलो क्यानभास पनि मान्छेको शालीन उपस्थितिमा मुसुक्क मुस्कुराएझैं लाग्छ । कुनै पत्रकारले समाचारलाई निकै सटीक बनाएर प्रस्तुत गर्छ त्यो सटीकता नै उसको जीवन बाँच्ने कला बन्न पुग्छ । अझ मुक्ति त सटीकताभन्दा धेरै पर छ जीवनानन्दले अतिरिक्त उन्मुक्तताको खोजी पनि गर्छ । पुनरावृत्ति वास्तवमा मृत्युबोधको उद्घोष पनि हो ।

खास सन्दर्भमा प्रेमी हुन मन पराउनुले प्रेमकै यात्रा तय गर्ने गर्छ । खास अर्थमा कुनै विषयवस्तुप्रति आत्मीयता दर्शाउनुले जीवनमा साङ्गीतिकता नै थप्दछ । बाध्यता र विवशताले जर्जर पारेका असङ्ख्य संवेदनाहरुलाई झक्झक्याएर त्यसमा जीवनरस घोल्दाको आनन्द वर्णनातीत छ । पीडा र यातना पिएर क्षतविक्षत हुने मस्तिष्कहरुमा खुसीयालीको बीउ छर्दा प्राप्त हुने हार्दिकता कल्पनातीत छ । म चाहन्छु जीवन जे जति छ त्यतिमात्रै भएर सीमित नहोस्; अझै फैलिएर त्यो भू-भाग कटोस् जहाँ ठूला ठूला विश्लेषणहरुको होइन महसुस गर्ने सशक्त माध्यमका रुपमा त्यो प्रक्रिया परिभाषित होस् । म चाहन्छु जीवनमा छरिएका अनन्त श्रृङ्खलाहरुको बेजोड यात्रा बनोस् जसमा आनन्दित भविष्य परिलक्षित होस् । जीवन वास्तवमा जीवनजस्तै बनोस् । जीवन यथार्थमा जीवननान्द होस् ।

 

sangeetaayam@gmail.com 

Comments

samba.dhakal

सङ्गीतजी निबन्ध त मीठो लाग्यो है । जीवनलाई बँचाउने निबन्ध छ यो ।

Bal Dev

nice piece of creation! keep it up!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |