हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बसन्तको सन्देश

मोहन सिटौला, (अस्टिन, टेक्सस)

आयो वसन्त जगको, सुखको पियारो
बाला, वसन्त जनको, वनको मनैको
चरा, मृदङ्ग बिजुली र पशू रमाए
सङ्गीत, नृत्य, नखरा नभ-धर्ती छाए

ए बाल ! सिर्जन-शखा जग-बाग-बिन्दु !
सन्देह एक मनमा छ म नीत गम्छु
झन्किन्छ झन्झन कडा जगको पिढाको
यो पूटपाक ननिको जन-जिन्दगीको !

"यौटा गरीब किन रुन्छ बिचल्लि पर्दै ?
यौटा अमीर किन रुन्छ विरक्त बन्दै ?
बिभिन्नता मनुजमा किन हो नि आयो ?
ए बाल-ईश ! अबता गणितै हरायो !

मेरो वसन्त जव फुल्छ समीप आई,
सन्देश पाइ नव जीवनमा रमाई ।
ल्याई प्रभा सतह-सूक्ष्म मुहूर्त बल्छ,
झसंग हुन्छ मुटुमा शिशु-ईश बोल्छ !

शिशू भए पनि यिशू सरि वोधवाला !
यो दिव्य,भव्य जगको गुन ज्ञान सारा,
सबै मिलाई, मधु ल्याई, वसन्त-प्याला
पिलाउँदै मधुर अमृत, बोल्छ बाल -

गरीब होस्, अमिर होस् घरमा ननीको
तनाव दानव उठेर व्यथा ननीको !
ऊ खान्छु, खान्न र गर्दिन, गर्छु जस्तो !
सवाल उठ्छ यदि लौ झगडा वृथाको !

शिशीर, गृष्म र वसन्त जुनै उदाउन्,
गाउन्, रमाउन् सब साज सबै सजाउन्
उमंग,  मंगल गरुन् कति नै रमाउन् !
हुँदैन  सञ्चो रति नै जति नै मजा हुन् ।
तनावमा मृदु छटा सव ध्वस्त हुन्छन् ।

सच्चा कमाउन प्रयत्न गरी, गराऊँ,
मीठा पसिना श्रमका घुलिमा गिराऊँ,
निमेक पाउँ, प्रिय पात्र मिलेर खाऊँ,
श्रमै गरेर झुपडी भरि स्वर्ग ल्याऊँ !

सँधै नयाँ सहज सीप र ज्ञान पाऊँ,
भूलोकमा श्रम-बसन्त-छटा सजाऊँ,

त्यो बाग भित्र नर-निर्मित राग हुन्न,
सच्चाइमा प्रकृतिमा भेदभाव हुन्न !
सच्चाइमा सहजमा भेदभाव छैन !

विरंग- रंग रचना कविको कलाको -
विचित्र ! चित्र सुरको मृदु कल्पनाको -
त्यो शिल्पको प्रकृतिको सजिलो सजा हो" ।

त्यस्लाइ व्यर्थ नभनौं ! भेदभाव सारा -
समाजको विकृति पो भेदभाव हुन्छ ।

आनन्द उठ्छ गहिरो मन सागरैमा,
महेश उठ्छ अति उच्च गिरी चुचामा,
झल्किन्छ दीप हँसिलो मनका बनैमा,
सिञ्चिन्छ बाग रसिलो बनमा मनैमा" ।

कणा कणा सुन्दर, सुन्दरीको-
अदृश्य सम्भोग सँधै भरीको-
हुँदा नयाँ नित्य वसन्त खुल्छ ,
यो सृष्टि सत्ता अनि नित्य चल्छ ।

मट्टी र वायू जलधी, अकास
ज्योतिर्मयी तेज, मिठो सुवास,
श्री चक्रमा चक्रित चक्र-यान,
यी चेतना, वुध्दि र भावनामा -
घुम्छन् सँधै सन्त, वसन्त नाना ।

कस्तो अलौकिक कला छविका छटाको !
कस्तो अनूपम क्रिडा कवि-कल्पनाको !
आलोक दिव्य पुरको कसरी उदायो ?
आयो सुरम्य सुर-रुप र रंग छायो !

यो लोक पार गुहमा सुर-कल्पनाको -
प्रदीप्त बिम्ब मृदु बल्दछ सिर्जनाको !
यो देह भित्र दिलमा सुर-चेतनाको -
बत्ती बलोस् प्रकृतिको नित सिर्जनाको !

"सन्देश द्यूँन सबमा नव पूल वाँधू !"
भन्दो छरे-"जग-जगाउँ, प्रफूल्ल पारुँ-"
फुटेर मूल नव धार सँधै वहन्छ,
बालेर दीप भवमा मृदु गीत डुल्छ !

यात्रा प्रकाशमय नित्य छ जिन्दगानी !
उमंगमा रत उषा मृदु साँझ रानी !
उमंग-मंगल सदा मन-आँकुरामा,
वंशी, मृदङ्ग मृदु बज्दछ तन्मयीमा ।


 

Comments

Jagat Basnet

कथाको गहिराइमा पुगेर लेखिएको उत्कृष्ट समालोचना

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |