हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सम्झौता

विद्या सापकोटा, (हालः शंकरदेव कलेज काठमाण्डौं)


'आखिर जीवन घटनाहरुको लिपिवद्ध सिलसिला न रहेछ खुइया…… ' निश्वास छाड्दै बर्बराई ऊ । जीवन भोगाइका २५ औं बसन्तसम्म उसले यति लामो उच्छवास छाडेकी थिइन -उसको उसले उसलाई नकार्दासम्म पनि । मध्यरात मै अचाक्लि मुटु दुखेर आयो । भित्रैबाट कम्पन छुटेर आयो । सहिनसक्नु भएर फुत्त निस्किई ऊ असनको साधुँरो गल्लि हुँदै चूपचाप चूपचाप ।

 

लर्वराएका पाइला जमलको आकाशे पूलमा पुगेर टक्क अडिए । घण्टाघरको घडिले रातको दुई बजेको संकेत टङटङ बजेर दिलायो । ऊ उभिइरही रानीपोखरीमा आँखा गाडेर । गाडिहरु फाट्टफुट्ट चलिरहेकै थिए । रात्रिजीवन मन पराउनेहरुको झुण्ड हा हा……… हु हु………। मा मस्त नै देखिन्थे । ऊ एकाकार रानिपोखरीसँगै । मानौं त्यो उसको ड्युटि हो । जुनेली रात जूनको उज्यालोमा पानि धमिलो थियो कि सङ्लो खुट्ट्याउन गाह्रॊ थियो तर सुन्दर भने पक्कै देखिएको थियो । उसलाई लाग्यो छेउछाउका फूल शीतको तप्पतप्पसँगै हाँस्दैैछन् ।  तर क्षणभरमै सोची त्यो पानि नभएर आँशुको पोखरी हो अनि यी फूल सुकसुकाउदैं पो छन्  पूरा परिवेश रोएको छ उसगैं । वेचैनीले सररररर…… पूलको वल्लोछेउ छेउबाट पल्लोछेउ/पल्लोछेउबाट वल्लोछेउ हुत्याइरह्यो/हुत्याइरह्यो ।

उसले आफैंभित्र महशुस गरी आफू पागल भएको कुरालाई । लाग्यो पागल हुनु रमाइलै रहेछ । सानोछँदा घरका कोठा चौका त के के ट्वाइलेट जान समेत आमा-बालाई गुहार्ने 'म्हेन्दो' बहादुर पो भई …॥ 'तँ बहादुर भइस् म्हेन्दो' ऊ आफैंसँग खित्खिताई । तातो रापको आभासले आफैंलाई चिमोटी वरिपरि २/३ जना हात सेकाउदैं रहेछन् । यादै रहेन कत्तिवेला झिक्राझिक्री र फोहोर बटुलेर आगो बालिसकिछ उसले । 

 

'सगुन ! म तिमी विना बाँच्न सक्दिन यार ।'

'ह्या झुर कुरा नगर न ।'

'प्रमिस यार ……॥विलिभ मि ।' लर्वरिएको आवाजमा एकजोडी आगोसँगै बल्ल पो लागे । उसको हाँसो उसैलाई उछिनेर जोडजोडले पोखिए हा हा हा ………………। 

'साली वौलाही हाँस्न पो थाली ……॥' साच्चै बौलाएछु कि क्या हो । कटक्क मन कुँडियो एकसाथ अतितका वेदनाले भत्भती पोल्न पनि । 

 

'म्हेन्दो ! म तिम्लाई असाध्यै मन पराउछु । खूव माया माया गर्छु  ।'

'होला नि खुव'

'नपत्याए के गरुँ त ? छाती चिरेर देखाउन नसकिने रहेछ ………।' निन्हाउरिदैं जगत बोलेथ्यो । 

उसका चोर हेराइमा जगतका आँशु टल्बलिइरहेका नजर परेथे । 

केही भन्न नसकेर अघिअघि हिडिथी ऊ । 

'तिम्लाई थाहा छ नी म्हेन्दो …………।'

धारापधेँरा गाँउबेशी गर्दा उसले सधैं यस्तै सुन्थी । विस्तारै उसलाई उससँगको सामिप्यता मीठो लाग्न थालेथ्यो । 

 

उसकी लाहुरेनी आमाले सम्झाएकी थिई शहरीया र घरानीयाँहरु बेइमानी हुन्छन् रे । जगत त आफू जस्तै न थियो । त्यही गाउँठाउँको आफूजस्तै निम्नवर्गको । सानो कुरा जातै नमिल्या त हो । आफू तामाङ्गकी छोरी ऊ क्षेत्रीको छोरा । हट्टाकट्टा छ, बहादुर छ, मनमा द्धेष छैन …। यति कुरामा उसको प्रेम कसरी लत्याउनु  मन भरिएर आयो । आँखा चिम्लेर विश्वास गरिदिई उसले जगत्लाई । सावा अक्षर मात्र चिन्न पाई उसले,  उसको गाउँमा त्यो भन्दा बेशी पढाइ भए पो  जगत पनि ऊ जस्तै । बुढासुब्बा त उसले देखिन । तर बाबुको पल्टने गफमा धेरैपटक सुनेकीले मेलापात पानिपँधेराको बाटोमा पर्ने रुखरुख पातपातमा निस्फिक्री लेखिदिई 'म्हेन्दो+जगत' /'जगत+म्हेन्दो' । प्रेमको पालुवा झाङ्गिदै थियो आफैंलाई बिर्साउने जंगल बनेर ।  

 

झरी परेको विहान ढुङ्गेधारासँगै कलकल बग्दै बोलिथी ऊ 'जगत मेरो हात माग्न कहिले आउँछौ ?'

'तिम्रो लाहुरे बाको पेन्सनले नक्कल पार्न पुगेकै छ क्यार अहिले के हतार ?' हावामा उडाएथ्यो उसले ।

'मलाई त पुगेकै छ तर…तर……। तिम्री छोरीलाई त आफ्नै बाबुको कमाइ खानुपरेन ?' लजाउदैं अड्कदै कानैमा गएर साउती मारिथी उसले ।

'हँ………।'  करेन्ट लागे झैं तीनहात पर हुत्तिएथ्यो उसको प्रेमी ।

'के भयो जगत ?' गोडाको बूढीऔंला हिलोमा गाड्दै याचनापूर्वक बोलिथी ऊ । 

कालोनीलो अनुहार लगाएर हतासिदैं चिच्याएथ्यो ऊ 'के भनेकी म्हेन्दो तैले ? यस्तो कसरी हुन्छ   ?'

…………………………………………………………………………………………………………………

'लाहुरे कै छोरी भएपनि तँ भोटिनी होस् म काजी खलकको………।' सधैंको प्रेमिल सम्बोधन भोटिनी शब्दमा घृणाको पराकाष्ठा झल्किएथ्यो ।  

'फेरी के प्रमाण यो बच्चा मेरै हो भन्ने ' धैर्यताको बाँध छुट्दा दुई थप्पड लगाएर खुइखुइ गागि्र बोकेर उक्लिइथी ऊ । 

 

आफैंदेखी खूव रिस उठेथ्यो उसलाई । पहाड थर्किने गरी रुन मन लागेथ्यो । मुटु नै झिके झैं निस्सासिएकी थिई । एकमन त लागेथ्यो बाबुको कोठामा झुन्ड्याइराखेको बन्दुक ल्याएर मारिदिऊँ जगतेलाई अनि मरिदिऊँ आफैं पनि । 

'तँ त बहादुर सिपाहीको छोरी होस् तैले हरेश खानु तेरो बाबुको पराजय हो । त्यो प्रेमीजसलाई आफ्नो पुरुषत्वमाथि विश्वास छैन त्यस्ता नामर्दलाई के मार्नु' फेरी आफैंले आफैंलाइ ढाडस दिइथी उसले । बाबुआमाको एक्ली छोरी ऊ बूढा बा र रोगी आमालाई छाडेर हिड्ने कुरा सम्झँदैमा पनि मनभित्र सेती भासिएथ्यो । आँखिझ्याल छेउमा बसेर चामल केलाउदै गरेकी आमा अनि फलैंचामा बसेर हुक्का तान्दै गरेका बाबुको अनुहार धित मरुन्जेल हेरेर जीवनसँग जीउने सम्झौता गरिथी उसले । सम्झौता र भोगाइको लामबद्ध खाल्टोमा भाँसिदै भासिदैं यही असनको गल्लिमा लटपटिएथी ऊ । यहाँ आएर

 

उसले के गरी र के चाहिँ गरिन ऊ मात्र जान्दछे । भगवान्प्रतिको आस्था त पहिल्यै छुटेथ्यो हुँदा हुन् त ती पनि जान्दा हुन्   

 

काखे छोरीका प्रश्नसूचक आँखाहरुको एकटक हेराइसँगै उसका पनि आँखा भरिएर आउँथे । चाउरिएका बाबुआमाको धमिलो तस्बिरले धरधरी रुवाउँथ्यो । कहिलेकाहिँ दौडेरै जाउँ कि जस्तो पनि लाग्यो । तँ चण्डाल्नीले गर्दा मेरो यो हालत भयो' भनेर काखे छोरीलाई लुछौं झै पनि लाग्थ्यो तर त्यही बच्ची नै त उसको जीवन थिई । आफैंभित्र बौलाइसकेर ऊ आफैलाई सराप्थी । 'खूब फूल झैं भनेर म्हेन्दो नाम राखेका…थुइक्क तिमीहरु' बाबुआमाको उपहास गर्नसम्म गर्थी । जे होस्  ऊ बाँचिरहेकै थिई । 

 

हिजैमात्र भूई पुछ्दापुछ्दै पछारिइथी ऊ । दैवको इजलासले अर्को सजायँ सुनाइदियो । 

डाक्टर-घरवेटी दिदी/घरवेटी दिदी-डाक्टर कानमै दोहरी खेल्न लागे । 

'बैनी ! तिम्रो दुइटै मिर्गौलाले काम गर्न छाडेको छ …………॥'

'पीर नगर् कान्छी ! तँ मलाई सन्तान दे म तँलाई जीवन दिन्छु ।' निसन्तान घरवेटी दिदीको क्रन्दन हो की मोलमोलाइ  विरोधाभाषवीच बजिरहे पीडा दुःख अनि मृत्युका साइरन ।

 

तर्कनैतर्कनामा लोलाइछ ऊ आफूमाथि कुचीकारको कुचो परेपछि व्युझिई ।

 

'ओहो ! उज्यालो भैसकेछ ।' धोतीको फेर मिलाउदैं दौडिई ऊ । छोरी निद्रामै थिई । छोरीको निर्दोष अनुहारसँग सापट मुस्कान मुस्कुराइदिई । आँखामा एकसाथ गाँउघर आमाबाबु र त्यो निर्मोहीसमेत नाच्न आइपुग्यो । उसले यसपटक कसैसँग गुनासो गरिन कसैलाई गाली गरिन बरु छोरीमाथी चुम्बनको बर्षा गरिरही गरिरही । सन्तुष्टिको एक शूक्क हाँसो हाँस्दै छोरी च्यापेर दौडिई ।

 

केहीबेर मै घरवेटी दिदीका रसिला स्वरहरु बजिरहें । रौनक पोखियो घरभरी । 

'कान्छी ……तैले हामी तीनैजनाको जीवन रक्षा गरिस् । धन्दा नमान् साहुजीले तेरो उपचार गराउनेछन् ।' केके भन्दैथिइन् दिदी सुनिन उसले ।
 

गला दवियो । जिब्रो लटपटियो । ओठ थर्थराए । जीउने अभिनय वा जीवन ? अनिर्णयको पहिरो झर्दै गर्दा सधैं पर-निर्णयमा घिसारिँदै आएकी म्हेन्दोले यसपटक आत्मनिर्णय गरी । बन्द आँखा र स्थिर ढुकढुकीको अन्तिम फैसला/स्पष्ट संकेत मुटुसँग जीवनको सम्झौता  असम्भव ……………………।  

 

 

 

Comments

Jimba

ajhai bujne prayas gardai chhu :)

siddha

verry good

anju

कथा एकदम ससक्त र  मर्मस्पर्सी छ बिध्या जी |

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |