हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

पुस्तकपंक्तिमा मेरो जीवनको क्यालेन्डर

प्रकाश सायमी, (काठमाण्डौँ)


म जीवनमा सबभन्दा प्रभावित भएको एउटा पंक्ति थियो मोहन राकेशको । उनले भनेका छन्
'मेरो पहिलो प्रेम पुस्तक हो । दोस्रोमा मेरा साथीहरु पर्छन्  तेस्रोमा मात्र तिमी पर्छौ । '

उनले विहे गरेको पहिलो रात आफ्नी पत्नी अनीता राकेशलाई भनेको यो पंक्ति पढ्दा म तरङ्गित भएको थिएँ लगभग यो पंक्तिले मलाई धेरै वर्ष मेरो चरित्रविघटन पनि गर्यो ।  आज पनि यो पंक्ति सम्झिँदा म आफ्नो अतीतमुखी हुन्छु ।

मेरो वाल्यकाल मैले थाहपाएको समय देखि मेरो मावलीघरमा सुरु भयो । त्यहाँ ठूला मान्छे ठूला किताब पढ्थे साना मान्छे म एक्लो भएको हुनाले मेरा निम्ति योग्य पुस्तक त्यहाँ थिएन । जब मलाई त्यहीँ नजीकै रहेको कारागारमा निःशुल्क पढ्ने व्यवस्था मिलाइयो म नख्खु जेलभित्र प्राथमिक शिक्षाको अध्ययन गर्न थालेँ । त्यहाँ अध्ययन राम्रो हुन्थ्यो कि हुन्थेन थाहा थिएन तर त्यो प्रयोग मेरो निम्ति असाध्यसिद्ध भयो । भात खाने वित्तिकै जेलभित्र पस्ने अनि दिनभरि त्यहाँ राजबन्दीहरुसित दिन बिताउने । । पचायतकालको चरमसमयमा काँग्रेसी र कम्युनिष्ट कैदीहरुले समाजमा केही योगदान पुर् याउन पाउँ भनेर बालबालिकालाई पढाउने इच्छा व्यक्त गरेपछि केन्द्रीय कारागारबाट त्यो व्यवस्था भएको थियो । म ती छानिएका एक बालकमध्ये थिएँ जसका आमाबाबु पढाउन त इच्छुक थिए तर खर्च गर्न इच्छुक थिएनन् ।  

यो आर्थिक दुर्भाग्य पनि मेरो निम्ति ठूलो सौभाग्य हुनपुग्यो । मैले त्यहाँ नेपाली गणित अँग्रेजी बाहेक राजनीतिका थुप्रै किताब पढ्ने संयोग जुट्यो । यही समय मैले जेलभित्रका कैदीहरुको जीवन र जगतलाई बुझ्ने अनि त्यसलाई मनन गर्ने्र मौका पाएँ । मैले जेलभित्रबाट ल्याएका पुस्तक घरमा ल्याएर पढ्ने माहौल नभएपनि म लुकी लुकी पढ्न थालेँ । मैले यही समय विश्वको कम्युनिष्ट आन्दोलन चीन युद्धका चिल्ला चिल्ला किताब रातरातभरि नसुती पढ्ने बानी बसालेँ । आफ्नो उमेरसित नसुहाउने किताब पढ्न थालेपछि म साथीहरुसित छुट्टिन थालेँ । साथीहरु अमरचित्र कथा कमिक्स फिल्मी पकेट बुक्स पढ्ने भए म इतिहास र राजनीतिमा गहिरिन थालेँ ।  

यही समय जेलबाट केही पर केही राजबन्दीको हत्या भएपछि हाम्रो अध्ययनको शृङ्खला रोकियो । म एउटा ठूलो आपतमा परेँ मातापिताको इच्छाविरुद्ध मेरा पितामहले मलाई अरनिको बोर्डिङ्ग स्कूलमा भर्ना गरिदिए जहाँ मेरो पढाई फरक ढङ्गले अगि बढ्यो । यहाँ आएपछि मैले नेपालीमा भन्दा अँग्रेजीमा बढी जोड गर्नु पर्यो । एउटा प्रमाणपत्र नभएको स्कूलबाट आएको मजस्तो बिद्यार्थीलाई त्यहाँ राम्रो माहौल त थिएन तर मैले आफ्नो गतिमा जोड गरेपछि म पुगेँ एकैपटक कक्षा तीनमा । कक्षा तीनबाट एक्कासि मेरो पढाइ सुरु भयो । अरनिको पछि मैले पाटनको नकबहिलस्थित श्री चण्डी विद्याश्रममा भर्ना भएँ र यहाँ आएपछि मैले फेरि एकपटक चिनिया क्रान्तिका कथाहरु अनि माइनयुद्धका चित्रकथा पढ्न थालेँ । स्कूलको छेउमा दुइवटा आकर्षक चीज थिए एउटा कम्युनिष्ट पुस्तक पाउने पसल र अर्को हिन्दी सिनेमा हेर्ने हल । ती दुई मध्ये मलाई सिनेमाले पनि विस्तारै तान्न थाल्यो । मैले त्यही हलमा थुप्रै सिनेमा हेरेँ र सिनेमासँगै म ती सिनेमासम्बन्धी प्रकाशित पटकथा र चित्रकथा पनि किन्न थालेँ । यही समय मैले गुलजारलिखित धेरै सिनेमाका संवाद पटकथा पढ्न सुरु गरेँ ।  

सिनेमातिरको मेरो रुचि पछि घरका मान्छे ढुक्क भए अब यो कम्युनिष्ट नहुने भो भनेर । यही समय सिनेमाले मलाई विस्तारै साहित्यतिर तान्दै लग्यो । म भाषा प्रविधि र इतिहासका पुस्तकतिर आकृष्ट हुँदै गर्दा अचानक नेपालमा एउटा आन्दोलन चल्यो छत्तीससालको विद्यार्थी आन्दोलन । म त्यो आन्दोलनमा एक सकि्रय कार्यकर्ताका रुपमा ललितपुर र काठमाण्डूमा सरिक हुन थालेँ । आन्दोलनका वीचमा कविता वाचन गर्नु पर्ने कारणले म कविताको अध्ययन गर्न थालेँ ।  

छत्तीससालको सडक कविता क्रान्ति आफ्नो आँखा अगाडि माचन हुँदा मैले  कविता कोर्न थालिसकेको थिएँ । स्कूलको हाजिरी जवाफ प्रतियोगितामा विजयी भएर पाएका पुरस्कारमा प्रायः साहित्यिक किताब नै हुन्थे म त्यसैमा लहसिँदै कवि भइसकेको कुरा साथीहरुले चाल पाए । अब समय र परिस्थिति मिल्यो कि साथीहरु 'कविता भन्' भन्न थाल्थे । मेरा स्कूलको क्लास टीचर रत्नबहादुर शाक्यले क्लासमै भन्न थाले 'छत्तीस सालले यसलाई नेता बनाउला भनेको कवि भएछ । '

म यसरी साँच्चै कवि नै भएँ । कविता तुकबन्दीमा लेख्थेँ  ज्ञान थिएन । कोही कवि लेखकसित परिचय पनि थिएन । एकदिन मेरा दाजुले लेखेर मात्र हुँदैन आफ्नो विषयमा अध्ययन चाहिन्छ भनेपछि म झसँग भएँ । अब पढ्नुपर्छ भन्ने लागेपछि मैले स्कुलको पुस्तकालयमा भएका साराका सारा किताब पढ्न थालेँ । तर त्यसले मलाई केही सहयोग गरेन किनकि हाम्रो पुस्तकालय पुस्तक संग्रहमा दरिद्र खाले  थियो ।  

एकदिन हाम्रङे गाउँमा भएको सडक दुर्घटना मिलाउन खोज्दा मेरो जीवनमा अनौठो भूमिका र परिवर्तन आयो । गाडीबाहकले मसित सोध्यो 'मैले कसरी माफी पाउँछु  '  

मैले भनेँ 'तपाईले क्षतिपूर्ति व्यहोर्नुपर्छ । '

उनले सोधे 'कसरी '

उनी इँटाभट्टाका ठेकेदार थिए मैले भनेँ तपाईले एकसय रुपियाँ तिर्नुपर्छ ।' उनी अचम्म भए एउटा मान्छेलाई धक्का हानेको एकसय  उनी अझै छक्क परे । रामेश्वर के।सी। नामका ती व्यक्तिलाई मैले भलमनसाहटपूर्वक सम्झाएँ हेर्नोस् हामी यहाँ गाउँमा एउटा पुस्तकालय खोल्दैछौँ । तपाईले दिएको त्यो पैसाले एउटा राम्रो काम हुन्छ ।  

उनी तत्कालै त मानेनन् तर पछि उनले हाम्रो भावनालाई बुझे । त्यससमय उनका दाजु ईश्वर केसी राजा महेन्द्रलाई जनकपुरमा बम फालेको अभियोगमा माथवरिसंह बस्नेतसित जेल सजायँ भोग्दै थिए । आफ्ना दाजु र मेरो कुराबाट प्रभावित भएर रामेश्वरले हामीलाई एकसय दिए केही दिनपछि । त्यो पैसा पाउने वित्तिकै फस्तकालय खोल्न इच्छुक केही साथीसित म साझा प्रकाशनमा गएर पुस्तक किन्न गएँ । सहुलियतसहित पाएको पुस्तक किनेर ल्याएको थाकलाई चउरीमा राखेर हामीले  छेउमा बग्ने नदीको नाउँमा प्रभावती पुस्तकालय नाम राख्यौँ ।  

प्रभावती पुस्तकालयलाई मैले पुरस्कारस्वरुप पाएका केही आफ्ना पुस्तक पनि थपेर उपहार दिएँ ।  

यसपछि हामीले बालकृष्ण सम लक्ष्मीप्रसाद देवकोटा दौलतविक्रम विष्ट लीलाध्वज थापाका आख्यानहरु पढ्न थाल्यौँ । यस थाकमा उन्नाइसवर्षका लेखक अम्बरिसंह गहतराजको 'आगो' देखि लीलबहादुर क्षेत्रीको 'अतृप्त' सम्म पढेँ । यद्यपि मैले यसअगि मेरो मातृभाषामा सिद्धिचरण श्रेष्ठ, चित्तधर ह्दय, जगतसुन्दर मल्ल आदि पढिसककेको थिएँ । यही  समय देवकोटाको चम्पा पढेपछि देवकोटाप्रति मेरो मोहभङ्ग भयो भने समको मेरो कविताको आराधना पढेपछि उनीसित असाध्य प्रभावित भएँ र उनलाई भेटेर मैले पुस्तकमा हस्ताक्षर मात्र लिइन उनकै आग्रहमा शहीद दिवसको कविता प्रतियोगिता भाग लिएर प्रथम पनि भएँ । सम र सिद्धिचरणसित यही मेरो पहिलो भेट थियो । समकै आग्रहमा मैले नेपाली नाटक पढ्न थालेँ गोपालप्रसाद रिमाल, गोविन्द गोठाले, मनबहादुर मुखिया, बिजय मल्ल, नन्द हाङ्गखिम, पी अर्जुन यही समय मैले पढेका नाटककार हुन् ।  

समजीसित भेटेकै समय म भारतप्रवासमा गएँ त्यहाँ मेरा मित्र किन्नू बर्माले प्रशस्त हिन्दी पुस्तक किनीदिइन् । उनकै सुझावमा मैले शमशेर बहादुर िसंह जैनेन्द्रकुमार गोरख पान्डेय धमबीर भारती अमृता प्रीतम साहिर लुधियानवीका पुस्तकहरु पढ्न सुरु गरेँ । मेरो जीवनको सबैभन्दा पि्रय पुस्तक साहिरको 'आओ कि कोइ ख्वाब बुनेँ' मैले यही समय तीन रुपैयाँमा किनेको मलाई आलै  सम्झना छ । स्टार पब्लिकेशनले प्रकाशन गरेको यो पुस्तक पढेपछि म कविता र गीतको मात्र होइन साहिरको ठूलो फ्यान भएँ । उनको कभी कभी मेरे दिल मेँ खयाल आता है र चलो इक बार फिर से अजनबी बन जाए हम दोनो ले हिन्दी सिनेजगतमा तहल्का मचाइसकेको थियो । साहिरलाई जस्तो मैले हिन्दी उर्दू साहित्यमा अरु कविलाई हत्पति आजसम्म मन पराउन सकिनँ । उनकै नाम हेरेर म हिन्दी फिल्म हेर्न थालेँ । सन् १९७५ मा प्रकाशित साहिरको त्यो पुस्तकको कविताको पंक्तिले मन आजसम्म निथोरेकोछ  

 

देखा है जिन्दगी को कुछ इतने करीब से  

चेहरे तमाम लगने लगे है अजीब से  

 

इस तरह जिन्दगी ने दिया है हमारा साथ  

जैसे कोइ निबाह रहा हो रकीब से  

 

कलेज प्रवेशको संघारमा मैले केही हिन्दी र अंग्रेजी नाटक पढ्न थालेँ । अँग्रेजीमा आयुगुने आइनेस्को ग्राहम ग्रीन आर्थर मिलर आदि मेरो रुचिमा पर्न थाले भने हिन्दीमा म जे पनि पढ्न थालेँ । यही क्रममा एकदिन रङ्गकर्मी मित्र बद्री अधिकारीले सोधे 'नाटकमा के पढ्नुहुन्छ '  

पढाइमा मेरो व्यापकता थियो उनले बन्देज लगाइदिए 'नाटक पढ्नुहुन्छ भने भारतका चारजना लेखक पढे पुग्छ मोहन राकेश गिरिश कर्नाड बिजय तेन्डुलकर र बादल सरकार । '

त्यसपछि मैले साँच्चै अध्ययनमा सीमितता ल्याएँ । अब छानेर पढ्न थालेँ । मनपरेका पुस्तक विस्तारै संकलन गर्न थालेँ । घरमा आफ्नै सानो पुस्तकालयको परिकल्पना गर्न थालेँ । पुस्तकको थाकमा विस्तारै अल्वेयर क्यामू ज्याँ पल् सार्त्र प्रुान्ज काफ्का इतालो क्यालविनो आयन् रायन्ड पनि जम्मा हुन थालेँ ।  

कलेजकै दौराना नाट्यकर्म गर्ने क्रममा अध्ययन अनुवाद र प्रस्तुति गर्ने क्रममा धेरै भन्दा धेरै नाटक र उपन्यास पढ्न थालेँ । चेक लेखक मिलन कुन्देरा र इर्शी पि्रुड् त्यही समय पढेका केही नामीगिरामी लेखक हुन् । इर्शी पि्रुड्को चसोवा तिसिङ जसको नेपालीमा अनुवाद गर्ने र त्यसलाई माचन गर्ने क्रममा नाटकको पाण्डूलिपि नै हराएकोमा आज सम्म पनि क्षतविक्षत छु । प्रख्यात हिन्दी लेखक निर्मल बर्माले अनुवाद गरेको यो हिन्दी उपन्यासको नाउँ थियो बाहर परे और । यो किताब त्यसपछि मेरो हात परेन ।  

रङ्गकर्ममा जुटेको समय मैले नक्सलवादी आन्दोलनका धेरै पुस्तक पढ्ने समय जुटाएँ त्यही समय मैले मेरा साथीहरुलाई भारतीय नक्सल आन्दोलनका अगुवा नागभूषण पटनायकको जीवनीमा आधारित अनिल बर्बेको 'थ्याँक यू मिष्टर ग्लाय्ड'लाई मन्चन गर्ने आग्रह राखेँ  र त्यो नाटक हामीले 'उसको कवितामा को रुँदैन' नामबाट मन्चन भयो । पंचायत कालमा यसको मंचनको  गजबको इतिहास बन्यो । समीक्षा साप्ताहिकमा अग्रज नाटककार अशेष मल्लले यसबारे समीक्षा लेखिदिएपछि नाटकमा एक किसिमको प्रतिबन्ध लगाइयो । तर हामी चूप भएनौँ  हामीले अाचलाधीश कार्यालयलाई झुक्याइदियौँ ।  

नाट्यकर्ममा जुटेको समय म रोजगारीको निम्ति होटलमा काम गर्थेँ मैले काम गर्ने होटल रमाइलो थियो । त्यहाँ आउने विदेशी पर्यटकले जाने बेला विभिन्न भाषाभाषीका पुस्तक छोडेर जान्थे । त्यसरी छोडेर गएका पुस्तकको होटलमा किन एउटा लाइब्रेरी नबनाउने मैले व्यवस्थापनालाई सल्लाह दिएँ तर व्यवस्थापन पक्ष राजी भएन कारुणिक अवस्था के  थियो भने लाइब्रेरी खोल्ने वित्तिकै त्यस स्थानमा फेरि एउटा रोजगार थप्नुपर्ने हुन्छ ।  

केही समयपछि व्यवस्थापनको चिन्ता मैले हटाइदिएँ यसरी । विहान र बेलुका म लाइब्रेरीमा निःशुल्कमा बसिदिन्छु । हामी लाइब्रेरी दुईपटक मात्र खोल्छौँ । यो निर्णय स्वीकृत भए पछि साँच्चै मलाई आनन्द महसुस भयो । मैले पत्याएँ होर्हे लुइ बोर्हेसले भनेको  आइ ह्याभ अलवेज् इम्याजिन्ड दैट पाराडाइज विल् बी काइन्ड अफ् लाइब्रेरी ।  

त्यही लाइब्रेरीमा मैले धेरै विधाका धेरै पुस्तक पढ्न पाएँ । एकदिन अपाङ्गता भएकी एक नर्वेजीयन महिलाले मलाई आफ्नो शयनकक्षमा बोलाएर एउटा पुस्तक उपहार दिइन् त्यस पुस्तकले  साँच्चै मेरो जीवनको  रङ बद्लियो दियो । जीवनमा पहिलो पटक नाम सुनेको एक भारतीय दार्शनिकको विचारको संकलन थियो त्यो पुस्तक । त्यस पुस्तकको नाम थियो थिँक अन दिज् थिङ्स् । लेखक तिनै चर्चित बीसौँ शताब्दीका नवीनतम बुद्ध जिद्दु कृष्णमूर्ति थिए । यो पुस्तक पनि जानी नजानी हराउनु भन्दा पहिले नै मेरा मित्र चरण प्रधानलाई दिएँ  उनले यस माथि धेरै काम गरे र यसको नेपाली संस्करण पनि निकाले । आजकाल यो पुस्तक त बजारमा देखिँदैन तर यस्तै संकलनमा अर्को नामको फस्तक देखिन्छ ।  

जे कृष्णमूर्ति पढेपछि  दर्शनतिर  मेरो रुचि बढ्न थाल्यो म बट्रान्ड रसेल, रजनीश, फ्रायड, परमहंस योगानन्द पढ्न थालेँ । यही क्रममा मैले एकदिन जे एफ क्यू भन्ने पत्रिकामा यूजी कृष्णमूर्तिको एउटा लामो अन्तर्वार्ता पढ्न पाएँ यो अन्तर्वार्ता पढेर म अक्बकाएँ । यसपछि मैले यूजीमाथि लेखिएका केही पुस्तक संकलन गर्न थालेँ । लामो समयसम्म   यो कुरा मैले कसैलाई शेयर गर्न सकिनँ । करिब आठवर्षपछि धरानबाट काठमाण्डौँ पढ्न आएका मित्र रमेश केसी र नबीन सुब्बालाई यो पत्रिका पढ्न दिएँ । नवीनले त त्यति रुचि लिएनन् रमेश यसमा गहिरिएर लागे । उनले त यूजीलाई नेपाली पाठकका निम्ति सर्वसुलभ पनि बनाए । त्यसको ठूलो श्रेय रमेशलाई जान्छ ।  

सिनेमा अध्ययन गर्ने क्रममा जब म भारतको फिल्मी सहर मुम्बई पुग्छु त्यहाँ देख्छु म एउटा विशाल पुस्तकको सहर ।  हरेक चोक र नाकामा पुस्तक पसल । हरेक लेनमा सेकेन्ड ह्यान्ड किताब पसल । काठमाण्डूको झोँछ्येँमा देखिइनेजस्ता रिटर्न पुस्तक पसलले मलाई यहाँ आकर्षित गर् यो । सिनेमाबाट आएका अलि अलि पैसा आएपछि म पुस्तक किन्ने र संकलन गर्नेतिर लागि हाल्थेँ । त्यसक्रममा मैले सबभन्दा बढी खारस्थित १३ थत् रोडको हङ्ग्री माइन्डमा मैले धेरै पुस्तक किनेँ । त्यहाँ त्यतिवेलाका चलेका स्टारहरु पनि खोजी खोजी पुस्तक किन्न आउँथे । म आश्चर्यचकित हुन्थेँ त्यहाँ हरेक कलाकार महँगा महँगा किताब किनेर निस्किरहेका हुन्थेँ । हामी कहाँजस्तै अभिनय गर्ने कलाकार न हुन् ई तर अध्ययनमा कति रुचि  म चकित हुन्थेँ ।  

र मैले यही आदत नेपाली कलाकारमा पनि बसोस् भनेर पुस्तक पढ्न दिने बानी बसालेँ जसमध्ये नाट्यकर्ममा हुँदा सूर्यमाला शर्मामा त्यो बानी मैले पाएँ र उनी मसित मागेर धर्मयुग, सारिका, सारंगास्वरजस्ता पत्रपत्रिका पढ्थिइन । चलचित्र जगतमा मैले अभिनेत्री झरना बज्राचार्य, गौरी मल्ल, राजेश हमाल, सुनील मिश्र, हेमन्त बुढाथोकी, उज्ज्वल घिमिरे, सोमनाथ भट्टराईमा त्यो आत्मीयता विकास भएको पाएँ । तर पुस्तक किनेर पढ्ने वा लगेको पुस्तक फर्काउने बानीमा विकास गर्नमा हाम्रा कलाकारमा विस्तारै सुधारौन्नति हुनुपर्छ ।  

पुस्तक हरेक स्थितिमा पढेकोछु मैले दुःखमा सुखमा वा प्रतीक्षामा । पुस्तक मैले प्रायः किनेर नै पढ्ने गरे पनि नपाइने किताब मागेर पनि पढेको छु तर कुनै कुनै किताब मागेर किनेर वा खोजेर पनि नपाइएको संकटमा अत्यन्त दुःख भोगेको छु । त्यस्तै एउटा दुःख मेरो जीवनमा शंकर लामिछानेको किताब पढ्ने प्यासले जगाएको छ । शंकर लामिछानेका निबन्ध वा कथा मैले टुक्रा टुक्रामा पढेको भएपनि सँगलै पढ्न पाएको थिइँन र पछि मैले त्यसलाई जुन दुःखले पढेँ त्यसको इतिहास ताजै छ । र त्यो दुःख मलाई पि्रय लाग्छ ।  

आज सम्म मैले पढ्न चाहेर पढ्न नपाएका धेरै किताबमा इँग्मार बर्गम्यानको म्याजिक लाल्ट्रेन प्रमुख भएको छ यो पुस्तकको नजीक मैले कहिले पुग्न सकिनँ । एकपटक यो किताब मेरो हातमा आएर हराएको भएर पनि मलाई यसको पीडा धेरैसबेर भइरहन्छ  किन हो किन  फिल्मनिर्देशक रमेश शर्माको इमेजेज अफ् सिक्किम, मार्लिन मुनरोको मृत्युपूर्वका दश दिन, इर्शी पि्रुडको चसोवा, तिसिङ नोर्जाङ स्याङदेनका कविताजस्ता मेरा कविताहरु, मूच्र्छना मोहन राकेशको बकलम खुद होर्हे लुई बोर्हेसको दी बुक, विलियम स्टायरनको डार्कनेश भिजीबल, साहिर लुधियानबीको जाग उठी कई ख्वाब ख्वाबेँजस्ता किताब जहिले प्रकाशन भए पनि जहाँ पाइए पनि यसको पहिलो पाठक हुन मलाई अझै मन छ ।  

पुस्तकले मलाई के दियो म अझै पनि कसैलाई केही भन्न सक्दिनँ तर पुस्तकभित्र पाइने आफ्नोपन म कसैलाई भन्न पनि सक्दिनँ र दिन पनि सक्दिनँ । चितवनमा माजरी साहित्यिक परिवारले मेरो पुस्तक 'बर्षादी दिनहरु'को अन्तरकि्रया गर्दा  मैले त्यहाँ भनेको थिएँ "म जीवनमा कहिँकतै हराएँ भने कहिँ भइन भने मेरै पुस्तकालयमा हुनेछु मलाई त्यही खोज्दा पाउनुहुनेछ । " र मेरी जीवनसङ्गिनी मन्चमा त्यो कुरा सुनेर भावुक भएकी थिई तर सत्य त्यही हो । मेरी आमाले पनि मलाई बचपनमा खाना खान बोलाउन आउँदा जहाँ पाउनुहुन्थ्यो अन्जलिले पनि मलाई आज धेरै बेर हराएपछि, मोबाइल नउठ्दा वा फोन नउठ्दा मलाई मेरै घरको लाइब्रेरीमा पाउँछिन् । उनलाई सधैँ थाहा हुन्छ आजकाल बजारमा नयाँ पुस्तक कुन चलिरहेछ र उनी जान्न चाहन्छिन् यो पुस्तकको विशेषता के छ  यही जिज्ञासाका साथ म उनीसित र पुस्तकसित बाँचेको छु ।  

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |