हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

२१ असार……

कुमारी लामा, (काठमाडौं)


हामी सानो छँदा
लाल्टिन बाल्थ्यौं साँमुमा

पढ्न बस्थ्यौं मिलेर वरिपिर
लाल्टिन भन्दा उज्याला थिए आँखाहरु

पक्कै पनि ती आँखाहरु उज्याला थिए । ती आँखाहरु सृजनशील थिए र थिए ती आँखाहरु उज्यालोको खोजीमा । त्यही उज्यालो खोज्ने चहकिला आँखाहरुले उदाहरणीय नयाँ सृजनाको खोजी गरेरै छाड्यो अन्तमा । एउटा कविले आफ्नो जीवनसाथीलाई दिने उपहारहरुमा आफ्ना सुकोमल भावनाहरुले ओतप्रोत एउटा पुस्तक भन्दा ठूलो उपहार के हुन सक्ला र पक्कै नहोला । असार २१ गते एउटा अविस्मरणीय घटना भयो । नेपाली साहित्यिक फाँटमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी कवि गीतकार गीता त्रिपाठीले आफ्ना जीवनसाथी यादव त्रिपाठीको जन्म दिनको उपहारस्वरुप कविता संग्रह  "नृशंस पर्खालहरु" दिइन् । त्यति मात्र हैन गीति एल्वम "सारांश" पनि ।

बिहानको दश बज्दा नबज्दै जम्मा भइसकेको त्यस साहित्यिक जमघटमा वरिष्ठ साहित्यकार चेतन कार्की, कवि मञ्जुल, सङ्गीतकार रत्न बहादुर खड्गी, गायक दीप श्रेष्ठ, लेखक संजीव उप्रेती, लेखक प्रकाश सायमी, गायिका लासमित राई आदिको उपस्थिति भइसकेको थियो । साहित्य र सङ्गीत नजिक रहनुभएका करिब ४०-४५ जनाको सानो जमघट बीच शुरु भएको त्यस माहोलको विशेषता भन्नु नै 'आत्मियता' थियो । सबै जना सबै जनासँग नजिक रही भलाकुसारी गरिरहेका थिए । समयमा नै पुस्तक र सिडी विमोचन भयो । म मनमनै गद्गद थिएँ मेरी सहकर्मी गीताको त्यस उत्कृष्ट उपहारप्रति आफ्नो जीवनसाथीका लागि । एउटी नारी जो जिम्मेवारीबाट सदैव थिचिएकी हुन्छे । गीता पनि कलेजमा शिक्षिकाको रुपमा घरमा श्रीमती आमा बुहारी अनि थुप्रै थुप्रै नाता र जिम्मेवारीबाट बाँधिएकी छिन् । तर पनि उनी भित्रको उर्वरताले उनलाई सदैव धकेली नै रह्यो । आफ्नो सृजनशीलताप्रति फलस्वरुप उनले यो उत्कृष्ट उपहार तयार पारिन् । लेखक संजीव उप्रेतीले गीताका कविताभित्र सरलता र जटिलता एकैसाथ केलाए । नारीशुलभ कोमलता अनि एउटा आन्दोलित मनस्थिति र विद्रोही भावना पनि । म संजीव सरको कुशल टिप्पणी शैलीबाट ज्यादै प्रभावित भएँ । कता कता मभित्र अंकुराइरहेको साहित्यपट्टिको रुचीलाई अलिकति बल दिए झैं लाग्यो । समीक्षक सुलोचना मानन्धरको टिप्पणीको पनि आफ्नै शैली भेटें मैले । वहाँले अलिकति आपत्ति जनाउनुभयो शीर्षकप्रति । कोमल शब्दका फूलहरुले भरिएको पुस्तकलाई किन यति कडा शीर्षक भन्ने प्रश्न उठाउनुभयो वहाँले । खैर आ-आफ्नो अभिव्यक्ति हो बुझाई हो दृष्टि हो । शायद बुझाईमा विविधता नहुने हो भने सृजना कहाँ सृजना हुन्छ र त्यसै तुहिएर जान्छ सृजना ।

वरिष्ठ साहित्यकार चेतन कार्कीले गीताभित्रको सृजनात्मक शक्तिलाई औँल्याइदिनु भयो भने कवि मञ्जुलले त्यतिकै मन छुने भाषामा गीतालाई प्रेरणा र बधाइ दिनुभयो । प्रकाश सायमीले गीताका गीतहरुको सरलता र सजीवताको तारिफ गर्नुभयो । गीताले त्यत्तिकै मीठो ढंगमा आफ्नो १९ वर्ष लामो वैवाहिक जीवन र यादवजीको साथको लागि वहाँको जन्मदिनमा तयार पारेको उपहारको बारेमा बोलिन् । गीताका कुराहरु सुन्दा मलाई इर्ष्या पनि लाग्यो उनको सफल दाम्पत्य जीवन साथै सफल सृजनशीलता प्रति । म गौरवान्वित पनि उत्तिकै भएँ उनीप्रति जसले सम्पूर्ण व्यवहारिक समस्याहरुलाई सुल्झाउँदै आफ्नो रचनात्मकतालाई पनि उत्तिकै अगाडि बढाएकी छिन् । कार्यक्रम अगाडि बढ्दै गर्दा सारांशका गीतहरु बज्न थाल्यो । म एक हिसावले चुर्लुम्म डुबेँ ती गीतहरुमा । कति सजीव, कति सरल अनि कति गहकिला ती गीतहरु । लासमित राई र कर्ण दासको सुरिलो स्वरले भरिएको "सङ्घार नाघी आएँ..." बोलको गीतले मलाई निकै पर एउटा कल्पनाको संसारमा डो-याइलग्यो । वरिष्ठ सङ्गीतकार रत्नबहादरद्वारा सङ्गीतबद्ध शब्द र स्वरको मीठो मिश्रणका ती गीतहरुले सबैलाई भाव विभोर बनाइदियो ।
छोटो तर ज्यादै मीठो यस कार्यक्रममा लेखक कृष्ण धराबासीको ढिलै भए पनि भएको उपस्थितिले सबैमा नयाँ उत्साह थपिदियो । नवोदित गायिका- गायकहरु प्राश्ना, जुना, शैलेश र माण्डवीको उपस्थितिले त्यस समारोहलाई साहित्यिक र सङ्गीतिक दुवैको मिश्रण भएको प्रमाण दिइरहेको थियो । नसिद्धियोस भन्दा भन्दै पनि टुङ्गियो कार्यक्रम, समयको पाबन्दि थियो । तर ज्यादै अमीट छाप छोडीदियो मेरो मस्तिष्कमा । त्यत्ति धेरै आदरणीय व्यक्तित्वहरु एकै ठाउँमा भेट्न पाउँनु मेरो शौभाग्य थियो । स्रष्टाहरु सरल सरस र कोमल हृदयका धनी हुन्छन् भन्ने स्पष्ट प्रमाण पाएँ मैले त्यहाँ । ठूला ठूला साहित्यिक हस्तीहरु चेतन कार्की र  मञ्जुल  देखि सुस्मिता नेपाल रजनी ढकालसम्म सबैजना उत्तिकै आत्मीय र कोमल हृदयका धनी । सङ्गीतपट्टिका वरिष्ट गायक दीप श्रेष्ठदेखि नवोदित गायक शैलेश  सिंह सम्म पनि उत्तिकै सरल र कोमल । ढिलै भए पनि कोमल हृदयकी धनी अनि गीताकी शुभचिन्तक अँजली सुब्बाको उपस्थितिले कार्यक्रममा अर्को रौनक थपिदियो । वास्तवमै एउटा सुमधुर र अविस्मरणीय जमघट रहयो त्यो मेरा लागि । गीताले वाचन गरेका कविताहरु मध्ये एउटाका यी पङतीहरु-

सोच्छन्-
काँढा नभएको भए
फूल
फूल हुने थिएन
जसरी रात नभएको भए
दिन दिन हुने थिएन

ज्यादै हृदयस्पर्शी लाग्यो मलाई । वास्तवमै यस्ता स-हृदयी मानिसहरु संसारमा नभए क्रुरहरुको के अर्थ र गीताले यी हरफहरुमा पोखेको सत्य जस्तै । सानो हल गुम्म अनि गर्मी महसुस भइरहेको बेलामा पनि त्यस अविस्मरणीय समारोहले छुट्टै आनन्द दिइरहेको थियो ।

गीताको यस उपहार उनको जीवन सङ्गीलाई मात्रै हैन बरु यो त नेपाली साहित्यलाई नै हो । उनले विशेष अवसर पारेर एउटा गहकिलो कृति तयार पारिन् अनि हामी समक्ष यसरी प्रस्तुत गरिन् रमाइलो जमघटको सामु । शनिबारको दिन टंटलापुर घाम अनि घरमा थुप्रियका कामहरुलाई लत्याउँदा पनि जीवनमा पहिलो पटक मलाई पटक्कै नराम्रो लागेन । किनकि म एउटा गहकिलो पुस्तकको अनावरणमा सामेल हुन पाएकी थिएँ । कार्यक्रमको समापन पछि फर्कँदै गर्दा आँखा तिर्मिरयाउने घामले तसा्रउँदै थियो तर सामुराइको झ्यालबाट देखिएको लटरम्म फुलेका बेगमबेलीले मनमा नयाँ जोश र उमंगको संचार गरिदिहाल्यो । समय न हो कहाँ रोकिन्छ र बगिरहन्छ आफ्नै रफतारमा । तर पनि हामी सृजनशील मानिसहरु केही नौलो सृजना सहित अगाडि बढ्न सक्छौं गीता झैं नयाँ सृजनाका साथ ।

३० असार २०६५
काठमाडौँ, नेपाल

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |