हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जुनेली रातको छायाँमा

घनश्याम शर्मा, (हेटौंडा)

कोजाग्रत पूर्णिमाको दिन । कोजाग्रत पूर्णिमाले हिन्दुहरुको महान चाड विजया दशमीको समाप्तिलाई जनाउँछ भने यम पाचकको शुरुवातको संकेत पनि हो । आज कार्यालयमा सार्वजनिक विदा भएका कारण जानुपर्दैन । यो पनि एउटा अवस्था केही फरक लाग्ने गर्छ । भरखर यो निवासको बाहिरपट्टिको चौरमा करिब एक घण्टा बसें । शरद यामको पूर्ण शरदचन्द्रलाई धेरैबेर नियालेपछि मनमा केही तरङ्गहरु  विचारहरु उत्पन्न भए । मनको भित्रि तह सलबलाउन थालेपछि आफु अक्षरमा अभिव्यक्त हुन मन लाग्छ र यतिखेर पनि यस्तै भयो
काला औंसीका रातहरु डरलाग्दा हुन्छन् । अझ गाउँघरतिर औंसीका दिनमा सूर्यास्त हुने बित्तिकै अँधेरो डाँडा र पाखा खेत आली कान्ला नाघ्दै घरभित्रैसम्म प्रवेश नहुँदै हामी घरभित्र छिरिसकेका हुन्थ्यौं स-साना केटाकेटी छँदाका बेलामा । कालो रंग काला कुराहरुसँग डर लाग्थ्यो । काला रातहरु अझै डरलाग्दा लाग्थे । धेरै भयावह प्रतिक बोकेका हुन्छन् काला बस्तुहरुले  
जून सेतो हुन्छ । सेतो जूनको छायाँ शीतलताको प्रतिविम्ब यसरी यो आँगनमा खसेको छ हेटौंडामा छु म यतिखेर एक्लै यो सरकारी आवासमा । अगाडि र पछाडि उत्तर दक्षिण दुईटा बरण्डा छन् यसका । दक्षिण मोहडा पारेर बनाईएको लाग्छ तर अचेल उत्तरतिरबाट प्रयोग हुँदै आएको एकतले सिमेन्टका च्यादरले छाएको पुरानो शैलीको यो जीर्ण भन्न पनि नमिल्ने पुरानो घर छ । सानो भान्छा  स्नानागार र लघुसंका  दीर्घसंका कक्ष  दुईटा कोठा म जस्तो एक्लै बस्ने मान्छेका निम्ति पर्याप्त कहिलेकाहीँ केटाकेटीहरु आउँदा पनि गुजारा हुनसक्ने  
ठूला ठूला फ्रेम भएका सीसाका झ्यालहरु छन् । दुईटा कोठामा दुईटा झ्याल कति धेरै सरकारी कर्मचारीहरुले प्रयोग गरेको यो आवाशगृह होला थाह छैन । म बस्नु अघि भने बलराम साह बस्थे  तराइवासी थिए । उनकी श्रीमति अत्यन्त धार्मिक विचारकी थिईन् संभवतः उनैले रोपेको तुलसीको मठमा यसपटक मैले तुलसी रोपेको छु । दक्षिणपट्टिको आँगनमा पनि तुलसीका विरुवाहरु उम्रेका छन् यसले एक प्रकारको आनन्दानुभूति प्रदान गर्ने गर्छ ।  
हेटौंडाको आकाशमा जुन छतिवनको डाँडाबाट विस्तारैमाथि माथि उदाउने गर्छ । आज दिउँसो तीन बजेतिर केहीबेर पानी परेकाले आकाश सफा स्नीग्ध छ । सफा आकाशमा छरिएको जुनको उजेलो हेरेर कहिले पो अघाइन्छ र ! आँगनमा ल्पास्टिकको कुर्सि राखेर पूर्वाभिमुख भएर बसेँ । देवकोटालॆ पागल कवितामा उल्लेख गरेको जूनलाई सम्झें । दामन सिमभंज्याङका ओसिला पाखाहरुमा पोखिएको जूनको उजेलोको कल्पना गरेँ एकछिन । सेताम्मे हिउँले छपक्क छोपेको सीम भंज्याङ दामन झीरघारीमा जूनेली रातको चहकले चम्किएका हिउँका अग्ला अग्ला ढिस्का र सेताम्मे टल्किएका पाखाहरु संझे दुईबर्ष अघि त्यहाँ पुगेको बेला आफू निकै हराएको महसुस गरेको थिएँ ।  
यो आवासको आँगनको पूर्वपट्टि झ्याङ्ग परेको सीताफलको सरिफा रुख छ । त्यस मुन्तिर गत वर्षात अगावै रोपेको बाक्लो चाइनिज दूवो छ । रुखका छिद्रबाट जुन बाक्लो दूवोमा टाटेपाटे भएर पोखिएको छ  भर्खरै दुध पीउन सिकेको बच्चाले आफै दूध पिउँछु भन्दै जिद्धि गरेर समातेको तातो दुधको  गिलास कलिला ओंठ पोलेपछि ह्वात्तै जिउमा नै पोखाएपछि बनेका सेता टाटा जस्तै जूनका टाटा । चिसो सिरेटो चलेको छ । हावाविनाको जीवनको परिकल्पना गर्न सकिन्न । राप्तीको सुसाई सुनिन्छ । कुलेखानी पहिलो र दोश्रोबाट बिजुली उत्पादन भएर भैंसे नजिकको खोलामा मिसिएपछि राप्तीले एउटा आकार ग्रहण गर्छ । पूर्व पश्चिम राजमार्गलाई छेडेर निस्केकाले पूल बनाइएको छ । त्यसपछि पूर्वि राप्ती बुढी राप्ती हुँदै चितवनतिर हान्निँदै बग्छ ।  
रात छ अझ त्यो पनि जुनेली रात छ । कवि मित्र साम्ब ढकाललाई जूनेली रातको विम्वलाई टिपेर एउटा कविता लेख्न आग्रह गर्ने विचारमा छु । उनका कविताहरु हृदयस्पर्शी हुन्छन् । मनका भित्री पत्रैपत्र चुँडालेर पस्न खोज्ने खालका लाग्छन् ।
रातको दश बजिसकेको छ । हेटौंडा नगरी जुनेली रातको तन्नामा लम्पसार जीऊ फैलाएर सुतिसकेको छ । रातको अन्धकारमा पनि गाडी चलाउन अभ्यस्त ड्राइभरहरुले बस र ट्रक हाँकीरहेको आवाज बेला बेला आउँछ । मनको एकाग्रता भङ्ग भइदिन्छ मनका तारहरु एक अर्कामा ठोकिन्छन् । र एउटा नमीठो धून जस्तो सिर्जना हुन्छ आफैँ । कोजाग्रात पूर्णिमालाई विशेष रुपमा मैले सम्झिनुपर्ने थुप्रै कारणहरु छन् । पूर्ण चन्द्र देखिएको रात सबैका लागि यसै पनि विशेष हो । मैले बारम्बार जुनेली रातलाई स्पस्र गर्न खोजीरहेको सम्झना हुन्छ । जूनेली रातको छायाँमा बसेर धेरै पटक धेरैबेरसम्म बेतुकका बात मारिरहेका क्षणहरुको संझना छ । प्रसङ्गहिन र श्रृङ्खलाविहीन कुराहरु गर्नुपनि एक प्रकारको स्वान्त सुखाय क्षण मानिन्छ । म धेरै पटक यसो गर्छु । जूनेली रात हुनु हाम्रो परिवार दुई  फरक फरक ठाउँमा हुनु एक प्रकारको पिडादायी क्षण हुन्छ हाम्रा लागि ।  
मेरा अगाडि कोठाको सुन्तला रंग लगाएको भित्तो छ । भित्तामा दुईटा टेबुल जोडेर राखिएका छन् । म पश्चिमाभिमुख भएर लेखिरहेछु टेबुलमा । घडीको आवाज एकनास टिक टिक
यतिखेर रात घर्किँदैछ । जून करिब करिब यो घरकै छानामाथि आइपुग्ने बेला हुन्छ विस्तारै । मनमा जूनेली रातका विगतका स्मृतिहरु तँछाड मछाड गर्दै अभिव्यक्त हुन उत्फुल्ल भइरहेछन् । आँगनको चौरबाट घाँसे किराहरुको किरकिर आवाजले मनलाई तरङ्गित बनाईरहेको छ । तरङ्गहरु एक पछि अर्काे क्रमैसँग उठ्छन् सेतो जून जसरी सालघारी डाँडाको च्यापबाट अर्धकदमा उठेर डाँडाको टुप्पोबाट छरिँदै पोखियो ।  
अछामको तिमिल्सैन मेरो मामाघर हो । पिताका औंलामा समातेर सैनका गह्रामा धेरैपटक कोजाग्रत पूर्णिमाको जूनलाई मेरा निश्चल बाल आँखाहरुले हेरेका छन् । त्यहाँ ठूलो मेला लाग्छ आजको दिनमा । दर्जनौं जवान राँगाहरुलाई वर्दादेवी भगवतीको नाममा बली चढाइन्छ ।
निर्ममतापूर्वक यातना सहित बली चढाईने काटिने त्यो दृश्य किन किन मलाई अथवा म जस्ता धेरै अछामवासीलाई रोमााचक लाग्ने गर्छ । बच्चै देखुन् त्यसरी नै सामाजिकीकरण भएकाले हुनसक्छ  संस्कृतिको यस्तो अनौठो पासविक बिम्बले पनि मनोराजन प्रदान गर्नु आश्चर्य लाग्छ संझिदा आफैलाई । घण्टौसम्म पिताको काँधमा बोकिएर राँगाहरु दौडाइएको खुँडा खुकुरी हँसिया आदिले निर्ममतापूर्वक काटेको दृश्य हेरिरहेको सम्झना छ । म डरले काँप्थे एक प्रकारको आतङ्कको सिर्जना हुने गथ्र्याे मनमा मेरो बालमनोविज्ञानलाई बुझेर पिताले भन्नुहुन्थ्यो- 'डराउनु पर्दैन मानिसहरुले भाकल गरेर देवीलाई खुशी पारेका हुन् । राँगाको रगत देवीको नाममा चढ्छ । देवी खुशी हुन्छिन'
मैले जसरी सुनेँ वहाँलाई पनि त्यसरी नै सुनाइएको होला म यस्तै ठान्थें । सैनका ठूला ठूला गह्राहरुमा बान्नीको डाँडा छेडेर कोजाग्रत पूर्णिमाको जून मुस्कुराउन थालेपछि उपस्थित दर्शकहरु न्याउले  देउडा खेल्न शुरु गर्थे । संस्कृतिको यो अनुपम सूदूरपश्चिमेली संस्कृति छिप्पिँदै गईरहेको जुनेली रातसँगै उत्कर्षमा पुग्ने गर्छ ।
अत्यन्त रमणीय मनमोहक यो स्थानबाट जूनेली रातमा देखिने दृश्य झनै मनका कुना कुना हल्लाईदिने खालका लाग्थे मलाई । जूनेली रात पश्चिम सर्दै जाँदा मंगलसेन र ठूलासैनको लामो घेरा जस्तो डाँडो जसले पूर्विक्षेत्र भैसोलेलाई छुट्याएको छ टल्किन थाल्थ्यो । यसरी म ओखरेको डाँडालाई हेर्दैछु । कुलेखानी  पालुङ  चित्लाङको डाँडाहरुमा जूनेली रातको छायाँ सर्दै गएको देखिरहेछु ।
गोला माँडुका बरपिपलका दुईवटा रुख टाढाबाट हेर्दा चारवटा देखिन्थे । जूनले पारेको छायाँले यस्तो अनूभूति हुन्थ्यो । यस घरको आँगनमा पश्चिमतिर एउटा बूढो आँपको रुख छ आँपका पातहरुमा जून पोखिएर टल्किएका छन् । यी रुखका छायाँहरु विस्तारै सर्दै जान्छन् । उत्तरतिर ठूलो कम्पाउण्ड सहितको हेभि इक्विपमेन्ट डिभिजनको कार्यालय छ त्यसको पनि पूर्वपट्टि जिल्ला प्रहरी कार्यालय छ । ती दुवै कार्यालयका पालो पहरा गर्ने मान्छेहरुले भरखरै एघार वटा घण्टी हानेका छन् । झ्यालबाट छिरेको जूनको उजेलो जस्तै कानमा एघार पटक तीखो आवाज छिरेको छ समयको । हामीलाई समयको संकेत अरुले नै सुनाईदिनु पर्ने । समय बितेको हामी पत्तो पाउँदैनौं जब पत्तो पाउँछौं तब समय त हामीबाट धेरै टाढा धेरै पर पुगिसकेको हुन्छ र हामी समयलाई पछ्याउन असमर्थ बनिसकेका हुन्छौं ।  
अछाम डोटेगाउँको घरको पूर्वपट्टिको बार्दलीबाट बेडुगडातिर बाँसका झाङमा चियाउन लागेको जूनलाई केटाकेटी उमेर देखिनै मैले पछ्याएको छु । मंगलसेनको डाँडामा अवस्थित ढुङ्गा माटोले बनेका घरका बार्दलीबाट रामारोशनको टाकुरा चढ्दै गरेको जूनलाई चारवर्षका धेरै जूनेली रातहरुमा हेर्दै मनभरि जूनेली गङ्गा प्रवाह गराएको छु मैले । सिलगढीबाटदेखिने जूनेली रातको दृश्यले मनमा यस्तो अमिट छाप बसालेको छ जसलाई म कहिले पो बिस्रुंला र  नागबेली बगेको सेती नदीको दृश्य दिपायलको पिपल्लाबजार नजिकैको सेतीपुलमा बसेर धेरै पटक हेरेको छु मैले । अविरल अविश्रान्त सेतीको बगरमा चन्द्रमाको उजेलो मनलाई उत्ताप दिने मोहक दृश्य ।  
भोजपुर डाँडागाउँको रातोमाटोले लपक्क पोतेको घर  काठको भरेङ र सल्लाका काठको सिलिङ र भुईँ भएको कोठाबाट ट्याम्केका डाँडातिर फर्किएको झ्यालको सिरानीमा टाउको राखेर बुट्टेदार झ्यालबाट धेरै रातहरु सेतो जूनलाई ओछ्यानमै ओराल्ने प्रयास पनि गरेको छुँ । खाँदबारीबाट पाथीभरामा उदाउँदै गरेको जून सुन्तलेको डाँडातिर विस्तारै लम्केको धेरैपटक हेरेको छु । मध्यरातमा जूनको उजेलो पछ्याउँदै घुर्विसेको जङ्गलमा भाई सुवास र मोहन राईहरुसँग बाटो बिराएर गाई वस्तुका पाईला पछ्याउँदै घना जङ्गलभित्र पुगेपछि पुनः सोही बाटो फर्केर जून अस्ताएर सूर्याेदय भैदिओस् भन्ने प्रतिक्षाका साथ कुरेको नमीठो अनुभूति सँगालिएको छ
घनकुटा हिलेको गजुर होटेलबाट म्याङलुङतिर उक्लिँदै गरेको जूनको दर्शन गर्दै विहानको सूर्योदयको प्रतिक्षामा रात गुजारेको छु । लेगुवाघाट बाटो छेउको बरको रुखको छानामुनीको तुलसी श्रेष्ठको होटेलमा बास बस्दा बरका हाँगाबाट ओछ्यानमा चियाईरहेको जूनलाई स्पस्र गरेको छु । बरको छायामुनी एउटा जूनेली रात यसरी पनि बितेको छ ।
जीवनको यो यात्रासम्म आइपुग्दा धेरै जुनेली रातहरु आँखाभरि कहिल्यै ओझेल नहुने गरि टाक्सिएका छन् । हाम्रो जीवन पनि यस्तै पूर्ण चन्द्र झैं सदैव उज्यालो हुने भए जीउनुको आनन्द कस्तो हुँदो हो जूनेली रात ओढेर सुतेको हेटौंडालाई सोध्न मन लागेको छ ।

Comments

Dev K Tamang

Hetauda, Achham ra Bhojpurko chitran achha lago . Badhai ani utarottar pragatiko kamana.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |