हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भिड

दीप्स शाह, ()

 
त्यो साँघुरो रोडको धुलौटे छातीले
थेग्नै नसक्ने गन्जागोल भिडभाडमा
अंचेटिँदै घचेटिँदै
बेपर्बाह गन्तब्य भेट्न हतारिँदा
अस्तै मात्रै त हो मेरो सारीको सप्को
कुन बदमासले तानिदिएको,
भिड दर्शकमा बदलिनु अगावै
बलपूर्बक सम्हालिएर पल्लो पेटिमा पुगेपछी
नरपशुको अनुहार त चिनिन
घृणा भरि दृष्‍टि फ्याँके सम्पूर्ण भिडमाथि
र बाटो लागेँ मुन्टो घोस्याएर घोर अपराधी झैँ,
 
पन्ध्र सिटको जिर्ण माइक्रो बसमा
पैँतिस यात्रु कोचिएर
मुलाको सिन्की बिर्सँदै, सम्झिँदै
भगवानको दर्शन गर्न जाँदा
हिजै मात्र त हो बाबाको कोटको खल्ती
एक असत्तीले काटिदिएको,
भिडको चेपमा देखेर पनि नदेखे झैँ गरी
माइक्रोबाट झरेपछी
असत्तीमाथि त जाइलागेनौँ
बाँकी एकसाताको सामल तुमल सम्झियौँ
र बाटो लाग्यौँ बाढि पैर्होमा सर्वस्व गुमाएको पीडित झैँ,
 
हाय! को यहाँ असहाय!
बाटो नाप्दै म चिच्याएँ तर मनमनै,
उफ्फ! यो भिडभाड वाहनको?
मान्छेको या अशिक्षाको?
गलत राजनीतिको या अर्थनीतिको?
गलत मान्यताको या ज्ञानको आडम्बरको?
समस्याको जड् भिड,
भिडको उपज अराजकता
अराजकताको जड्  के?
मेरै -हाम्रै मौनता?


deepssanu@gmail.com

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |