हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

ह्यारी अर्थात हरिप्रसाद

राजेन्द्र सलभ, (हाल: अमेरिका)

मेरो साथीको

नेपाली नाम अर्कै भए पनि

अमेरिका आएपछि

उसको नाम ह्यारी भएको छ ।

कुर्सीमा बसी-बसी

अर्कालाई हप्काएर खाएको शरीर

यहां आफ़ै ज्यामी जोतिदैं छ।

काम भनेको काम हो

त्यो सानो र ठूलो हुन्न भन्ने ज्ञान पाएर

ऊ जसलाई देखे पनि मुस्कुराउंछ

'हाई डुईड' र 'थ्याकं यू' भन्न बिर्सिदैन ।

आफ़्नो परिचय र बिचार

सबैलाई कुनै दराजमा थन्क्याएर
ऊ मेशिन झैं काम गर्छ

अझै १२ घन्टाको कामलाई

कसरी १६ घन्टा बनाउने सोच्छ

ऊ डलरमा कमाउंछ

तर खर्च नेपाली रुपियांमा गर्छ ।

ऊ अमेरिकी सुबिधा र कानूनको कुरा गर्छ

बाल र महिला अधिकारको तारीफ़ गर्छ

तर श्रीमतिको फ़ोन आउंदा

नेपालमा जस्तै अर्हाउंछ मात्र

शरीर अमेरिकामा भए पनि

उसको मन अझै नेपाली नै छ ।

ऊ नेपालमा के थियो भन्दा पनि

माओवादीबाट सताइएका

प्रसस्तै प्रमाणहरू छन, ऊसंग

ऊ देश फ़र्कियो भने उसको ज्यान जान्छ

ऊसंग भएका कागजहरूले यसै भन्छन

शरणार्थी बनेर बस्न चाहन्छ ऊ अमेरिकामा ।

परिवारलाई यहां बोलाउनु अघि

खै कसलाई देखाउन हो कुन्नी

ग्रीनकार्ड लिएर ऊ एकफ़ेर नेपाल जान चाहन्छ ।

ग्रीनकार्ड पाएपछि

गर्ने योजनाहरू थुप्रै छन ऊसंग

ढुकुटी खेलाउने जस्ता सामान्य कामहरू त

ऊ अहिले पनि गर्ने गर्छ

पछि पसलदेखि स्कूलसम्मका

थुप्रै योजनाहरू तयार छन, ऊसंग

केही वर्ष मै ऊ यहां पनि

नेपालमा जस्तै कुर्सीमा बसेर

अरूलाई हप्काएर खाने योजनामा छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |