हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

काठमाडौँको नयाँ नेपाल

नरनाथ लुइँटेल, (कलङ्की, काठमाडौँ)


कर्णाली हैरान हैरान छ

नूनसमेत किन्न नपाएर

अलिनो छाक टार्न विवश छ

कठै बरा बिचरा

स्याउसँग सिटामोल साट्न चाहन्छ

कालसँग पौँठेजोरी खेल्दै

दुई दिन भएपनि बढी बाँच्न खोजिरहेछ

तर काठमाडौँको कुरा अर्कै छ  

बिहान सात बजे हाइ गर्दै उठ्छ

सातसय पर्ने सेभिङ कि्रम गालामा दल्छ

चौध सयको रेजरले दाह्री खौरन्छ  

चौध हजारको सुटमा अट्ठाइस हजारको जुत्ता टेक्छ

अनि छपन्न लाखको पजेरोमा सवार चलाउँदै

सिंहदरवार छिरेर

नयाँ नेपाल बनाउने

डिङ हाँकिरहेछ काठमाडौँ ।

 

च्याउ खाएर मर्नेहरुको आँसुले  

पोल्दैन काठमाडौँलाई

बोक्सीको आरोपमा नाङ्गेझार

पिटिनेहरुको पीडाले

दुख्दैन काठमाडौँलाई

सत्ता खोस्ने खेलमा ब्यस्त छ ऊ

सत्तामै टिकिरहने जाल र जुक्तिमा

अलमस्त छ अभ्यस्त छ ऊ

दिनहुँ तारे होटेलमा सेमिनार र गोष्ठी जमेका छन्  

काखीमा महँगा महँगा पफर््युम छरेर

चिकेन पुलाउ र पिज्जा डकार्दै  

नयाँ नेपाल बनाउने

उर्दी छाँटिरहेछ काठमाडौँ ।

 

रगतको आहालमा डुबेर मर्नेहरु त मरिहाले

घाइते र अपाङ्गहरुका आशामा  

नूनचुक छर्छ काठमाडौँ

नारायणहिटीको राजा सिद्धिएको घोषणा गर्दै

सिंहदरवारमा अर्को राजा उमार्छ काठमाडौँ

दिनहुँ गिठ्ठा खोज्न जङ्गल पस्ने  

कान्द्राङको शुक्रे चेपाङ विलकुल अनभिज्ञ छ

राजा फाल्ने र राजा पाल्नेहरुको  

कुटिल द्वन्द्वबारे ताप्लेजुङको मोक्तान बेखबर छ

अहिले काठमाडौँमै छन् - बाबुरामहरु

अहिले काठमाडौमै छन् - रामचन्द्रहरु

राजस्वको ठूलो हिस्सा यिनै राम-हरामहरुको

आरामको निम्ति खर्च गरिरहेछ काठमाडौँ

कोही सङ्घीयता नभै हुन्न भनिरहेछन्

कोही केन्द्रीयता नभए देशै रहन्न भनिरहेछन्

निरीह कुखुराका सपेटा चिथोर्दै  

भव्य अन्तरकि्रया चलाइरहेछ काठमाडौँ

तिर्खाएकाहरुलाई-  

शुद्ध पानी पुर्याउन सक्दैन काठमाडौँ

बरु विदेशी विजुलीपानीको बाढी बगाइदिन्छ काठमाडौँ

त्यही बाढीमा पौडिँदै हेलिँदै नुहाउँदै

नयाँ नेपाल बनाउने  

गफ चुटिरहेछ काठमाडौँ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |